Friday, March 26, 2010

'गल्ती गरेको भए सजाय भोग्न तयार’

काठमाडौं/ दक्षिण एसियाली खेलकुदका कीर्तिमानी खेलाडी दीपक विष्टले आफूले गल्ती गरेको भए जस्तोसुकै सजाय भोग्न पनि तयारी भएको बताएका छन् । बिहीबार सिंगापुरमा युथ ओलम्पिक खेलकुद प्रतियोगिताको बैठकमा भाग लिएर फर्केपछि उनले सो कुरा बताएका हुन् । उनी चार दिनअघि नेपालको प्रतिनिधित्व गर्दै सेभ द मिसनका रूपमा सिंगापुर गएका थिए ।
नेपाल तेक्वान्दो संघ तथा राष्ट्रिय खेलकुद परिषद्लाई कुनै जानकारी नदिई त्यसतर्फ गएका कारण उनलाई कारबाही गरिएको थियो। संघले दीपकलाई केन्द्रीय सदस्य र खेलाडी संरक्षण समितिको सचिवबाट निलम्बन गरेको छ । संघकै बाटो पछ्याउँदै परिषद्ले उनलाई एक वर्ष प्रतिबन्ध लगायो । संघ तथा परिषद्ले स्टार खेलाडीमाथि कारबाही गर्दा यतिखेर खेलकुद क्षेत्रमा ठूलै भूकम्प चलेको छ ।सिंगापुर पुग्दा आफूलाई कारबाही गरेको सुन्दा निकै दुःखी भएको उनले बताए । 'मुलुकका लागि जीवन अर्पण गरेको खेलाडीमाथि नै कारबाही गरेको सुन्दा निकै दुःखी भएँ,' उनले भने।नेपाल ओलम्पिक कमिटी (एनओसी) को लहलहैमा लागेर सिंगापुर गएर दीपकले ठूलो गल्ती गरेको जनाउँदै संघ र परिषद् थप कारबाही गर्ने प्रक्रियामा छन्। तर, दीपक भने आफूले जानाजान गल्ती नगरेको दाबी गर्छन् । 'जानाजान मैले केही पनि गल्ती गरेको छुइनँ, त्यो अन्जानमा भयो,' दीपकले नयाँ पत्रिकासित भने, 'त्यहाँ राष्ट्रको प्रतिनिधित्व गरी गएको थिएँ, मैले कुनै अपराध गरेको छैन ।राष्ट्रको प्रतिनिधि भएर जानु गल्ती मानिन्छ र ?'सागमा कीर्तिमान राखेका कारण एनओसीले खेलाडीको सम्मानकै रूपमा आफूलाई त्यहाँ पठाएको उनको दाबी छ । एनओसीले एथलेटिक्स कमिटीका अध्यक्षको हैसियतबाट आफूलाई छनोट गरेको स्पष्ट पारे । 'न त्यहाँ म खेलाडी भएरै गएको थिएँ, न परिषद्कै पदाधिकारीका रूपमै गएँ, केवल एक अध्यक्षको हैसियतले गएको हुँ,' जानुको कारण देखाउँदै उनले भने, 'जुन कोहीसँग पनि सम्बन्धित छैन ।' उनका अनुसार एनओसीले जानकारीस्वरूप परिषद्लाई बोधार्थका रूपमा पत्र पठाएको थियो ।राखेपका उपाध्यक्ष पीताम्बर तिमिल्सिना र संघका पदाधिकारीले नजानू भने पनि त्यसवेला हवाईजहाजभित्र भएका कारण नफर्केको उनले जानकारी दिए । 'त्यसवेला म केही पनि गर्नसक्ने अवस्थामा थिइनँ र त्यही वेलादेखि मन खल्लो भइसकेको थियो,' विमानभित्रको क्षणलाई सम्झँम्दै उनले भने।एक तेक्वान्दो खेलाडी भएको नाताले तेक्वान्दो संघप्रति कुनै प्रतिशोध नभएको उनले बताए। आफूलाई हुर्काएको संघप्रति सदैव माया तथा सम्मान रहने उनको भनाइ छ ।एक इमानदार र राष्ट्रप्रति माया गर्ने खेलाडीका कारण कुनै पनि विवादास्पद काम आफूले नगरेको उनको थप दाबी छ। 'मैले १५-२० वर्ष राष्ट्रका लागि नै खेलेँ, खेलाडीकै हितका लागि सिंगापुर गएको थिएँ,' दीपकले भने, 'त्यहाँ मैले हाम्रै खेलाडीको समस्या पनि राखेँ।''आइओसीका अध्यक्ष ज्याकसमक्ष नेपालका चार खेलाडी भिसाका कारण युथ ओलम्पिक खेलमा सहभागी हुन नसक्ने जानकारी दिएँ,' उनले भने, 'अध्यक्ष ज्याकले वाइल्ड कार्डका रूपमा ती खेलाडीलाई सहभागी गराउन सकिने बताए ।'यसैबीच, राष्टिय खेलकुद परिषद् (राखेप) ले बिहीबारै सबै संघका पदाधिकारीसँग दीपकको घटनाप्रति सुझाव तथा सल्लाह लिएको छ । बैठकमा सहभागी पदाधिकारीले यससम्बन्धमा छलफल गरेको तथा उनीहरू दीपकबारे सकारात्मक भएको बैठकमा सहभागी एक सदस्यले जानकारी दिए । यता परिषद्का सदस्य-सचिव हरिबाबु चौधरीले छानबिन समितिको प्रतिवेदनपछि दीपकको बारेमा थप निर्णय हुने बताए । 'अब दीपकले छानबिन समितिलाई दिएको सफाइको आधारमा थप कारबाही हुनेछ,' सदस्य-सचिव चौधरीले बताए । परिषद् स्रोतका अनुसार दीपकमाथि थप कुनै पनि कदम नचाल्न परिषद्लाई दबाब आइरहेको छ ।यता एनओसीका महासचिव जीवनराम श्रेष्ठले परिषद्को कार्य निरंकुश शासकीय प्रणालीअनुरूप भएको बताए। 'खेलाडीलाई सम्मान गर्नुका सट्टा उल्टै कारबाही गर्छ, यो शैली त निरंकुश र निकम्मा व्यक्तिले मात्र गर्न सक्छ,' श्रेष्ठले भने, 'खेलाडीको सम्मान गर्न सक्दैन भने के कामका लागि परिषद्चाहियो ?' ओलम्पिक कमिटीले खेलाडीको सम्मानका लागि नयाँ अभियान थालेको दाबी गर्दै श्रेष्ठले भने, 'दीपक राष्ट्रका महान् खेलाडी हुन्, उनले राष्ट्रलाई अन्तर्राष्ट्रिय जगतमा चिनाएका छन्, उनकै सम्मानका लागि सिंगापुरमा सेभ द मिसनका रूपमा पठाएका हौँ ।' कारबाही स-सम्मान फिर्ता नलिए आफू त्यसविरुद्ध सडकमा उत्रनेसमेत उनले बताए । 'दीपकमाथिको कारबाही फिर्ता नभए सबै पक्ष मिलेर आन्दोलन गर्नेछौँ,' उनले भने, 'खेलाडी हकहितका लागि हामी जे गर्न पनि तयार छौँ ।'

असन्तुष्ट कार्यकर्ताले लगाए एमाले अञ्चल कार्यालयमा ताला


बुटवल , चैत्र १३ - असन्तुष्ट एमाले कार्यकर्ताले बुटवलमा रहेको एमाले लुम्बिनी अञ्चल कार्यालयमा ताला लगाइ दिएका छन् ।
रुपन्देही जिल्ला कमिटीले कारवाही प्रकि्रया अगाडि बढाएका जिल्ला सदस्य एजाज आलमलाई अञ्चल कमिटीले फुकुवा गरेको विरोधमा अन्य कार्यकर्ताहरुले कार्यालयमा तालाबन्दी गरेका हुन् । एमाले क्षेत्रीय सदस्य देवेन्द्र ध्वजुको नेतृत्वमा गएको २५/३० जनाको टोलीले बिहान साढे ११ बजेतिर कार्यालयमा ताला लगाएको हो ।  गएको माघमा रुपन्देही उद्योग संघको अध्यक्ष पदमा पार्टीले क्षेत्रीय सदस्य ध्वजुको नाम सिफारिस गरेपनि जिल्ला सदस्य आलमले आफूखुसी उमेदवारी दिएका र जितेका पनि थिए । तत्पश्चात एमाले जिल्ला कमिटीले माघ ४ गते उनलाई ६ महिनासम्मका लागि जिल्ला सदस्यबाट निलम्बीत गरेको थियो ।  तर चैत ५ गते बसेको अञ्चल कमिटीको बैठकले उनको निलम्बन फुकुवा गरेकाले उक्त निर्णयको विरोधमा तालाबन्दी गरिएको तालाबन्दीमा संलग्न एमाले कार्यकर्ताहरुले बताएका छन् । साथै अञ्चलले निर्णय फिर्ता नलिदासम्म तालाबन्दी जारी राख्ने पनि उनीहरुले चेतावनी दिएका छन् । यता जिल्ला अध्यक्ष लिला गिरीले भने अञ्चलको निर्णयमाथि आफुहरुले प्रश्न नउठाएको र जिल्ला कमिटी तालाबन्दीमा संलग्न नरहेको बताए ।

पूर्व राजाको अभिव्यक्तीबिरुद्ध प्रदर्शन

दाङ, चैत्र १३ - पूर्व राजा ज्ञानेन्द्र शाहको अभिव्यक्ति बिरुद्ध शुक्रबार अखिल क्रान्तिकारीले दाङमा टायर बालेर प्रर्दशन गरेको छ । महेन्द्र बहुमुखी क्याम्पस अगाडी टायर बालेर प्रर्दशन गरिएको छ । प्रर्दशनपछि आयोजित कोणसभालाई सम्वोधन गर्दै महेन्द्र बहुमुखी क्याम्पसका स्ववियु सभापति प्रविण शर्माले देशमा राजतन्त्र अन्त्य भैसकेको अवस्थामा पनि पूर्वराजा ज्ञानेन्द्रले राजतन्त्र समाप्त नभएको भनि दिएको अभिव्यक्ती तत्काल फिर्ता लिनुपर्ने बताउनुभयो । अन्य वक्ताहरुले राजतन्त्रको वकालत गर्ने पूर्व राजा ज्ञानेन्द्रलाई कडा कार्वाही गर्न सरकारसंग माग गरेका थिए ।

पूर्वराजालाई राष्ट्राध्यक्षको सम्मान



काठमाडौ, चैत्र १३ - जानकी मन्दिर गुठी र त्यसका महन्थले नागरिक भइसकेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई संविधानविपरीत राष्ट्राध्यक्षको सम्मान दिएका छन् । गुठी र महन्थले रामनवमीको उपलक्ष्यमा जानकी मन्दिर दर्शन गर्न आएका शाहलाई त्यस्तो सम्मान दिए पनि धनुषा प्रशासन मौन रह्यो । गुठी र महन्थले बुधबार मन्दिरमा पूजाअर्चना गर्न आउँदा र जाँदा पूर्वराजालाई राष्ट्रपति रामवरण यादवलाई सरह राष्ट्राध्यक्षको सम्मान दिएका थिए ।
राज्यको ऐतिहासिक निधि सम्पत्ति र नीति नियमभित्र रहेको जानकी मन्दिरका महन्थ र गुठीले पूर्वराजालाई राष्ट्राध्यक्षको सम्मान दिएर संविधानको मात्र होइन राष्ट्रपतिको समेत अपमान तथा राष्ट्रिय मर्यादाको गम्भीर उल्लंघन गरेको संस्कृति मन्त्रालयका एक अधिकारीले बताए । 'राष्ट्राध्यक्षलाई दिइने सम्मान अरू कसैलाई दिन मिल्दैन । जानकी मन्दिर र त्यसका महन्थसमेत संविधानबमोजिम राष्ट्रिय मर्यादाभित्र रहनुपर्छ, मर्यादाबाहिर जान पाइँदैन,' संस्कृति मन्त्रालयका सचिव मोदराज डोटेलले भने ।
पूर्वराजालाई मन्दिरमा आउँदा र जाँदा राष्ट्राध्यक्षलाई मात्र ओढाइने विशेष प्रकारको छाता ओढाएर स्वागत र बिदाइ गरिएको थियो । मन्दिर र गुठीका तर्फबाट निमित्त महन्थ रामरोशन दासले पूर्वराजाको बिदाइ र स्वागत गरेका थिए । महन्थको आदेशमा मन्दिरकै कर्मचारीले शाह आउँदा र जाँदा विशेष प्रकारको छाता ओढाएर र चँवर हल्लाएर सम्मान दिएका थिए ।
'राष्ट्रपति रामवरण यादव मन्दिरमा पूजाअर्चना गर्न आउँदा र जाँदा जुन छाता ओढाइयो र चँवर हल्लाइएको थियो । निमित्त महन्थले जसरी स्वागत र बिदाइ गरेका थिए, पूर्वराजा आउँदा र जाँदा पनि त्यही छाता ओढाइयो, चँवर पनि त्यही हल्लाइयो,' प्रत्यक्षदर्शीले कान्तिपुरसित भने ।
निमित्त महन्थले राष्ट्रपतिको जसरी स्वागत र बिदाइ गरेका थिए, पूर्वराजालाई पनि त्यसरी नै स्वागत र बिदाइ गरे ।' महन्थ रामतपेश्वर हरिद्वारमा गएकाले निमित्त महन्थ दासले राष्ट्रपति र पूर्वराजाको स्वागत र बिदाइ गरेका थिए । निमित्त महन्थ दासले स्वदेशी र विदेशी राष्ट्राध्यक्षलाई ओढाउने गरिएको छाता पूर्वराजालाई समेत ओढाइएको स्वीकार गरे । उनले पूर्वराजा ज्ञानेन्द्रलाई पूर्वराष्ट्राध्यक्ष भएकाले राष्ट्राध्यक्षकै हैसियतमा छाता ओढाइएको र चँवर हल्लाइएको दाबी गरे ।
'स्वदेशी तथा विदेशी राष्ट्राध्यक्ष मन्दिरमा आउँदा र जाँदा स्वागत र बिदाइका क्रममा यो छाता ओढाइन्छ । पूर्वराजा ज्ञानेन्द्र पनि निवर्तमान राष्ट्राध्यक्ष भएकाले स्वदेशी तथा विदेशी राष्ट्राध्यक्षलाई ओढाउने छाता ओढाएका हौं,' निमित्त महन्थले भने । बुधबार एकै दिन तीन घन्टाको अन्तरालमा राष्ट्रपति यादव र पूर्वराजालाई त्यही छाता ओढाएर स्वागत र बिदाइ गरिएको थियो । राष्ट्रपतिले बिहान ८ बजे र पूर्वराजा ज्ञानेन्द्रले बिहान ११ बजे जानकी मन्दिरमा पूजाअर्चना गरेका थिए ।
'अति विशिष्ट अतिथिको सेवामा प्रयोग हुने छाता एउटामात्र भएकाले राष्ट्रपति र पूर्वराजालाई एउटै छाता प्रयोग गरिएको दाबी निमित्त महन्थको छ ।
उनका अनुसार त्यसबाहेक यो छाता विश्वविख्यात सन्त, महन्थको स्वागत र बिदाइ तथा हरेक वर्ष विवाह पञ्चमीमा राम-जानकीको डोली र सीताको जन्म भएको दिन जानकी नवमीको उपलक्ष्यमा जानकीको डोली निकाल्दामात्र ओढाउने गरिन्छ ।
गुठी संस्थानका प्रशासक वीरेन्द्र थपलियाले जानकी मन्दिर गुठी र महन्थबाट पूर्वराजालाई राष्ट्राध्यक्षको सम्मान दिएको घटनाबारे गुठीले भन्दा पनि प्रहरी प्रशासनले हेर्नुपर्ने विषय भएको बताए । 'सम्मान कसलाई दिने या नदिने कुरा प्रहरी प्रशासनको हो ।
जनकपुर मन्दिर गुठी र महन्थबाट कसरी गल्ती हुन गएको हो म पनि बुझ्छु,' उनले भने । त्यसबारेमा धनुषाका प्रमुख जिल्ला अधिकारी हरिराज पन्त र प्रहरी प्रमुख सर्वेन्द्र खनालसित बुझ्न खोज्दा सम्पर्क हुन सकेन ।

Thursday, March 25, 2010

पत्रकारमाथि कुटपिट राज्य आतंकः दाहाल

काठमाडौ, चैत्र १२ - माओवादी अध्यक्ष पुष्पकमल दाहालले जनकपुरमा पत्रकारमाथि भएको कुटपीटलाई राज्य आतंकको संज्ञा दिएका छन् । राजधानीमा उपचार गराइरहेका घाइते पत्रकारहरुसंगको भेटपछि बिहीबार संवाददाताहरुसंग उनले राज्य बर्बरढंगले प्रस्तुत भएकोसमेत आरोप लगाए ।
एक नवदुलहीलाई प्रहरी अधिकृतले बलत्कार गरेको आरोपमा जनकपुरमा भएको प्रदर्शनको समाचार संकलन गर्न गएका पत्रकारहरुलाई गतसाता प्रहरीले कुटपिट गरेका थिए । कुटपीटबाट गम्भीर घाइतेहरुको राजधानीस्थित कान्तिपुर हस्पिटलमा उपचार भइरहेको छ ।
'राज्यस्तरबाटै पत्रकारमाथि कुटपिट हुनुलाई राज्य आतङ्ककै रूपमा मान्न सकिन्छ' दाहालले भने । उनले राज्यले गरेको यस प्रकारको दमन निन्दनीय भएकोसमेत उल्लेख गरे । उनी पार्टी उपअध्यक्ष बाबुराम भट्टराईसहित हस्पिटल पुगेका थिए ।

बर्दियामा सेनाद्वारा अत्यधिक बल प्रयोगः महिला आयोग


काठमाडौ, चैत्र १२ - बासपानी घट्नामा सेनाको अत्याधिक बल प्रयोगका कारण बालिकासहित तीन महिलाको मृत्यु भएको राष्ट्रिय महिला आयोगले निष्कर्ष निकालेको छ ।
गत फागुन २६ गते बर्दिया राष्ट्रिय निकुञ्जको भित्र पर्ने सुर्खेतको बासपानी क्षेत्रमा काउलो काट्न गएका १२ बषिर्य चन्द्रकला विक, उनकी आमा देवीसरा र कान्छी आमा अमृताको सैनिकले चलाएको गोलीबाट मृत्यु भएको थियो ।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा सेनाको गोलीबाट मृत्यु भएको घटनाको स्थलगत अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै आयोगका अध्यक्ष नैनकला थापाले मृतकहरु काउलो सङ्कलक भएको पुष्टी भएको जानकारी दिइन् ।
उनले मृतकको कपडा घटनास्थलमा यत्रतत्र छरिएको अवस्थामा रहेको मृतकका आफन्त तथा गाउँलेको भनाइ रहेकाले घटना थप रहस्यपूर्ण  रहेपनि जिल्ला जनस्वास्थ कार्यलयका  चिकित्सक र फरेेन्स चिकित्सकको प्रतिवेदनमा गोली लागी उनीहरुको मृत्यु भएको र शरीरमा अन्य चोट नदेखिएकाले बलात्कार गरेर हत्या भएको भन्न नसकिने उल्लेखसमेत गरिन् ।
स्वतन्त्र छानबिन आयोग गठन गरी घटनाको सत्यतथ्य बाहिर ल्याई दोषीलाई कारबाही र मृतकका परिवारलाई उचित क्षतिपूर्ति प्रदान गर्न आयोगले सरकारलाई सिफारिस गरेको छ । रासस

पूर्व राजा ज्ञानेन्द्रलाई जनकारवाही गरिने, राजतन्त्र समाप्त भइनसकेको अभिव्यक्ति प्रतिक्रान्तिकारी षड्यन्त्र भएको ठहर


एकिकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पुर्वराजा ज्ञानेन्द्र शाहलाई जनकारवाही गरिने बताउनुभएको छ। राजधानीमा आज आयोजित साक्षात्कार कार्यक्रममा श्रेष्ठले राजतन्त्र अंझै समाप्त भएको छैन भन्ने पुर्वराजाको अभिव्यक्ती प्रतिक्रान्तिकारी षडयन्त्रको गन्ध भएको टिप्पणी गर्नुभयो। पुर्वराजालाई सरकारले दिंदै आएको सेवासुविधा तत्काल रोक्नु पर्ने बताउँदै श्रेष्ठले चिहानमा गाडिसकिएको राजतन्त्र कुनैपनि हालतमा पुर्नवाहली हुन नसक्ने ठोकुवा गर्नुभयो।  
 
राजनीतिक संयन्त्रको नेतृत्व विवादको टुंगो भने दलहरुबीचको आपसी समझदारीबाट गर्नुपर्ने उहाँको भनाई थियो। शान्तिप्रक्रियामा पुर्‍याएको योगदान स्वरुप काँग्रेस सभापति गिरिजाप्रसाद कोइरालालाई संयन्त्रको नेतृत्व दिईएको स्पष्ट पार्दै श्रेष्ठले अब भने माओवादी अध्यक्ष दाहालले संयन्त्रको नेतृत्व गर्ने बताउनुभयो।।