Tuesday, January 8, 2013

मिस यू कालापानी


‘Will miss you’ कम्प्युटरको स्क्रिनमा एकैसाथ आयो ‘हाहाहा’। ‘कालापानी तिर जादैछु’ टाइप गरेर कि–बोर्डको इन्टर थिच्दा उनले जिस्काएकी थिइन् ‘will miss you’ भनेर। मैले ‘1 week लाग्छ’ भन्दा जिस्काउदै थपिन ‘दिक्क लाग्यो।’ मलाई भने अघिल्लो दिन अघिदेखि नै दिक्क लागेको थियो।
४ असार, ६:२५ बजे बिहान। दिक्क मानिमानि, अनलाईनमा यसरी नै ‘कालापानी यात्रा’ को सपना बाड्दै थिए। दुई सातादेखिको योजना दुई दिन अघि मात्रै तुहिएको थियो। म कालापानी यात्रामा नजाने पक्का पक्की भो। त्यसैले झिसमिसेमै कम्प्युटर खोले। Google मा कालापानी खोज्न थाले। जि–मेल र फेसबुक अनलाईनमा भेटिएका साथीहरुलाई कालापानी यात्राको गफ चुट्न थाले। ‘आधा घण्टा पर्खिन्छौं। जसरी पनि आउ’ एक्कासी पत्रकार राजेश बागचन्दको फोन आयो। ‘डिएफओसाप जोर गर्दै छन, जसरी पनि आउ। बरु छिट्टै फर्किऔला’ उनी एकहोरो बोल्न थाले। यहि कुरा दाई (पत्रकार कर्ण बोहरा) लाई ‘सेयर’ गरेको त उनले झन ढिपी कसे। अब भने जानै पर्ने भो। अनलाईमा चुट्न थालेको गफ अनायासै साँचो हुने भो।
उनकै झोला समाते। कम्प्युटर अफ नगरी हिडे। कोठामा छरपस्टिएका जे–जे सामान हात परे, झोलामा कोचे। बसपार्क पुग्दा बिहानको ७ बजि सक्यो। म.१ ज.६३ नम्बरको जीप गुड्ने तयारीमा थियो। झोला पछाडी फाले, भित्र छिरेको त हुइकिहाल्यो। यस्तै गञ्जागोलका बीच अचानक ४ असारको बिहान कञ्चनपुरको महेन्द्रनगरबाट हिमाली पद यात्राका लागि निस्के। दार्चुलाका जिल्ला बन अधिकृत रमेश चन्द, नेपाल वान टेलिभिजनका राजेश बागचन्द र नागरिक दैनिकका विक्रम गिरी सहयात्री थिए। दार्चुला सदरमुकाम खलङ्गासम्मका लागि बन र महिला विकास कार्यालयका दुई जना लेखापाल अगाडी र पछाडी बसे।
समुद्र सतहदेखि ३ सय फिटको उचाईमा रहेको महेन्द्रनगर, पानी नपर्दा सूर्यको रापले तातेको छ। सूर्य नमुस्कुराउदै पसिनाले निथ्रुक्क भिजाउछ। यहि उधुम गर्मिलाई छल्दै जीप पश्चिमतिर हुइकियो। दार्चुला जानु पर्ने, तर जीपले विना रोकटोक महाकाली तरेर भारत टेक्यो। आफ्नै हिमाली जिल्ला पुग्न पनि भारत हुदै हिड्यौ। नेपालकै बाटो दार्चुला पुग्न अझै सहज छैन्। भारतीय सडकमै नेपाली नम्बर प्लेटको गाडी हुईकायौं। ‘बन विभाग’ लेखिएको नेपाली गाडी हुईकिदा पनि नेपालमा जस्तो सुरक्षाको नाममा खानतलासी र सास्ती खेप्नु परेन्। एघार घण्टापछि भारतको धार्चुला पुग्यौं। गाडी भारतमै छोडेर महाकाली माथिको झोलुङ्गेमा झुम्दै दार्चुलामा पाइला राखे।
हतपतको हिडाई लतपत भो। हिमाली पद यात्रामा, तयारी शुन्य। दार्चुला जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक दिल्लीराज विष्टको ‘स्लिपिङ्ग ब्याग’ समाते। बन कार्यालयको ‘म्याट’। चप्पलमै दार्चुला पुगेछु। एक जोडी जुता किने। अलिअलि औषधी र अरु सरसामान किनमेल गरे। क्यामेराको व्याट्रीले हैरान पार्‍यो। आफ्नो क्यामेरा भए पो थाहा हुन्थ्यो। दार्चुला पुगेपछि क्यामेरा हात लाग्यो। एउटै व्याट्रीले हिमालमा काम नगर्ने। थप ब्याट्रीका लागि दार्चुला र धार्चुलाका सबै पसलमा छापा हाने, कतै भेटिन्। एक दिन यस्तै सरसामानको चाँजोपाँजोमा वित्यो। ब्याट्रीको चिन्ताले त्यो रात महाकाली किनारमा उभिएको ‘कसरौल गेष्ट हाउस’ले पनि निन्द्रा दिन सकेन्।
७ः२६ बजे, ६ असारको बिहान। हिमाली पदयात्राका लागि ८ जनाको टोली फेरी भारततिर हानियो। दार्चुला भएर दुई दिन हिड्नु पर्ने बाटो, भारत भएर अढाई घण्टा गाडीमा हुईकिदा कट्छ। त्यहि फाईदा लिन भारतको धार्चुलाबाट महाकालीलाई दाहिने पारेर उत्तरतिर लाग्यौं। डिएफओ रमेश चन्द, पत्रकार राजेश बागचन्द, विक्रम गिरी त छदैथिए बन रक्षक मोहन धामी, जगतबहादुर विष्ट, रुकुम राज पन्त र देवेन्द्र लेखक थपिए। ‘यार्सागुम्बा रिसोर्स इन्भेन्ट्री मोनिटरिङ्ग’ का लागि डिएफओ रमेश चन्दले हिमाली यात्राको साईत जुराएका थिए।
अढाई घण्टामा दुई वटा गाडी फेरेर भारतको गर्ब्याङधार पुगे। केही मिनेटको हिडाईपछि भारतीय बाटो कट्यो। ठूलो ढुङ्गोमा लगाएको भर्‍याङ ओर्लेर महाकाली नदिको किनार छामे। दार्चुलाको राप्ला गाविस–८ दुम्लिङ्गमा समुद्र सहतदेखि ५ हजार ८ सय फिटको उचाईबाट झर्ने महाकाली नदीमा ठूल–ठूला ढुङ्गामाथि तेर्साएका डाडाहरुमा हातखुट्टाले हिड्दै महाकाली तरे। जीउ जिरिङ्ग भयो। ढुङ्गामा भर्‍याङ ओर्लिनु पर्थ्यो, डुङ्गामै तेर्साएका डण्डीमा हातखुट्टाले हिड्नु पर्थ्यो। अनि ठूल–ठूला ढुङ्गामा हाम फालेर किनार पुग्नु पर्थ्यो। यो दार्चुलाका उत्तरी भेगका बासिन्दाको दैनिकी हो।  हिउ पग्लियो की उनीहरुको नूनतेल पनि ठप्प हुन्छ, महाकालीमा तर्न नपाएर।
ढुङ्गा माथिको भर्‍याङ ओर्लिएर पदयात्रा सुरु भएको छनक मिल्यो। एक घण्टा उकालो चढेर दुम्लिङ्गमा पुगे। त्यही पेट पूजा गरे। बास बस्ने अर्को ठाउँ धेरै टाढा नभएकाले होला तत्कालै हिड्नु परेन्। महाकालीको पूर्वि किनारै किनार उत्तरतिर हानियौं। महाकालीमा मिसिदै गरेको कल्चु खोलाको पुल नटेकेरै उकालो लाग्यौं। साँझ ढल्किनै लाग्दा राप्ला गाविसको ‘कल्चु’ गाउँ पुगे। ७ हजार ९० फिटको उचाईमा रहेको कल्चु यो यात्राको अन्मित गाउँ हो। यो तीन वटा घरको गाउँ हो, चार परिवार बस्छन्। बादलुसंगको लुकामारी, हिउसंगको ख्यालठट्टा यहि डाँडामाथिको सानो गाउँबाट सुरु हुन्छ। उकाली ओरालीहरुले भोकाई सकेका थियौं। मोहीसंगको भात साह्रै स्वादिलो भो। बाक्ला लुगा र स्लिपिङ्ग ब्यागले पनि काम पाए। रातीको ९ बज्दो हो, उनीहरुसंग भलाकुसारी गर्दै थिए। सहयात्री ७ जना भने भतल्याङ्ग भुतलुङ्ग सुतेछन्। मेसो नै पाइन्, म पनि स्लिपिङ्ग ब्यागभित्र कोचिए।
डिएफओसाप कराउन थाले। यसो घढीमा हेरेको त २ बज्दै थियो। यति बेलै के आँखा खुल्थे। कुनै दिन राती २ बजेसम्म कम्प्युटरमै हुन्थे। चुपचाप पल्टिए। उनको व्युझाउने ध्याउन्ने एकनासको थियो। यताउता हेरे। सबै आ–आफ्नै सुरमा थिए, तैपनि मतलब राखिन्। कोही सरसामान मिलाउदै त कोही जुत्ता कस्दै। एक्कैछिनमा दैलोमा उभिएर कराउन थाले। नउठि सुकै पाइन्। हतार हतार बाहिर निस्के। आकाशभरी तारा थिए। यत्रतत्र कालो थियो। ३ बज्न १० मिनेट मात्रै बाँकि थियो। एउटा टर्च लाईट मेरो हातमा पनि पर्‍यो। आँखा मिच्दै पछिपछि लागे। आधा घण्टापछि खोला आयो। अञ्जुलीले खोलाको पानी अनुहारमा छ्याप छ्याप्ती फाले। बल्ल निन्द्रा खुल्यो। गुह्य कुरा बल्ल पत्तो पाए। राती नै नहिडेपछि समयमै गन्तव्यमा नपुगिने रैछ। बास बस्ने अर्को ठाउँ पनि रहेन्छ। खोलासंगै उकालो सुरु भो।
दुई घण्टा पहाड चढे। अलिअलि उज्यालो भो। डाँडाकाँडा, रुखविरुवा देखिन थाले। महाकालीको सुसाहट सुनिन थाल्यो। कुन्नी के हुदो रैछ, रातीमा महाकाली पनि नकराउने हो की निन्द्राले कान नखुलेका हुन्, पत्तै पाइन्। कल्चीको उकोलो आधाउधि पनि भएको थिएन्। डिएफओसापको अल्टी–मिटरले ८ हजार २ सय ३५ फिट उचाई देखायो। पेट खाली थियो। अरुले पानीको बोतलको विर्को खोले, मैले चाउचाउको पाकेट। घ्यू फाले, नून र खुर्सानी पाकेटभित्रै खन्याए। स्वाँस्वाफ्वाँफ्वा गर्दै केहीले हात ताने। उसो त १२ हजार फिट भन्दा माथि अक्सिजनको कमिले स्वास फेर्न गाह्रो हुन्छ, तर कल्चीको उकालोले लामो स्वास लिन बाध्य पार्‍यो। छैटौं टेकाइपछि उकालो काटेर ‘तल्लो कोठेरी’ पुग्यौं। यतिबेला बिहानको सवा ७ बजेको थियो भने दश हजार ६७ फिट नाघिएको थियो। सिरसिर हावाले पसिना आफै सुक्न थाले।
तल्लो कोटेरीमा प्रेमसिंह धामीको चिया पसल रैछ, दुई महिने। खाने कुरा केही नपाउने यो पसलमा रुपैयाका दुई गोटा आउने चकलेट, एउटैको पाँच रुपैया तिर्नु पर्छ, अरु सामानको त कुरै नगरे भो। किन्न पनि नपाईने, धित मरुन्जेल पिउन पनि नदिने पानी मिल्छ। अपिको फेदको ‘दुधीबन’ पुग्ने बाटोमा यो अन्तिम टहरा हो। यसपछि मान्छेको नाउमा बस्न,े ओढार पनि भेटिन्न्। चाउचाउ उमाल्यौं, चिउरा हालेर खान थाल्यौं। मनले मानेन्। चाउचाउको झोलमा तैरिदै गरेका चिउराको थाली समातेर पसल भित्र पसे। बासि रोटी देखेको थिए। केही नबोल्दै प्रेमसिंहको हात तीन रोटी समातेर मतिर तन्कियो। तीन रोटी, आठ जना। डिएफओसापले खान्न भने, उनकै छेउमै बसेका जगतले पनि खान्छु भन्न सकेन्। अरुलाई सोध्दै सोधिन, ६ टुक्रा पारेँ। सबैको थालीमा राखे। साह्रो रैछ, आधा रोटी पनि सिध्याएको थिइन, डिएफओसापका पाईला चलिहाले।
ओरालो र तेर्सोको नाम नै थिइन्। जति जति उक्लियो, उति उति बोटविरुवाहरु स–साना भेटिदै थिए। साढे ९ बजे कोटेरीको उकालो सक्यौं। ११ हजार ५१ फिटको उचाइको कोटेरी पहाडले स्वाँसप्रस्वाँसको गतिमा पनि तिव्रता ल्यायो। नहिड्दा पनि स्वाँस्वा र फ्वाँफ्वा उस्तै थियो। ठिक मध्यान्ह, हुमदुम्ती पुग्यौं। प्रेमसिंहको रोटीको म्याद सकिएको थियो। यार्सागुम्बा खोज्नेहरुको भिडभाड यहिबाट सुरु हुन्छ। हुमदुम्तीबाट नै हात र घुँडा टेकेर भूई नियाली रहेका मान्छेहरु देखिन थाले। स–साना टेण्टले मान्छे भएको आभास दिन थाल्यो। तर नजिक भने कोही थिएन्। चिउरा, नमकिन र चाउचाउ मिसायौंं। बोकेको पानी सकिएको थियो। खोक्दा खोक्दै बलजफ्ती निले। चपाउदा चपाउदै फेरी डिएफओसाप हिडि हाले। ५ मिनेट भन्दा बढि विश्राम मिल्दैन्थ्यो। जति बढि विश्राम गर्‍यो त्यति नै बाटो लम्बिन्थ्यो।
लगातार हिडेको साढे १० घण्टा भइसकेको थियो। बल्ल एउटा टेण्ट भेटियो। यो हुमदुम्ती खोलाको किनार हो। जहाँ डिएफओसापको अल्टीमिटरले १२ हजार फिट देखाइसकेको थियो। हिउ पग्लिएर आएको खोलाकै पानी पियौं। टेण्टमा बुढि आमा थिइन्। पाँच लिटरको प्रेसर कुकरमा आधाउधि चिया बसालिन्। चियापत्ती र दुध थिएन्। आमैले बझखार (बाँझको रुखबाट निकालिने सिलाजित जस्तै पदार्थ, चियापत्तीको सट्टा प्रयोग हुने) हालिन्। ठुलो कटौरा थियो। दुई कटौरा एक्लैले सिध्याए। सबैले थपिथपि पिए। तेस्रो पटक थप्न पालै पुगेन्। विस्कुट भएको झोला रित्तियो। हिउसंगको संगत सुरु भो। डिएफओसापले ‘हाई अल्टिच्युड’ शब्द पनि निकाले। खोला किनारमै हुमदुम्ती हिमाल टक्क अडियो। यसको टुप्पो आकाशमै जोडिएको जस्तो देखिन थाल्यो। हाईअल्टिच्युड शब्ले खुर्सानीको अचार खान दवाव दियो। आम मिसाएको एक डिब्बा अचार फेदमा रित्तियो।
दुई बज्नै लाग्दा हुमदुम्ती हिमालका लागि उकालो लाग्यौं। सिढि चढ्नुमा कुनै फरक थिएन्। अघिअघि लाग्ने डिएफओसाव आठौ्र नम्वरमा झरे। सबैको होसहवास उड्यो। पाईलै पिच्छे स्वाँस्वाफ्वाँफ्वाको कोकाहल सुनिन थाल्यो। ‘मेरो त व्याक गेयर लाग्दैछ’ डिएफओ रमेश चन्दले यति के भनेका थिए अर्कोले थपे ‘पुरानो गाडीको व्याक गेयर नै चल्छ।’ तीन पाईले चाल भो। दुई पाईला अगाडी त एक पाईला पछाडी। सबैलाई मेरै चिन्ता थियो। तर हुमदुम्तीको मध्यभागमा पुग्दासम्म म पहिलो नम्बरमा थिए। जगत र देवेन्द्र फर्किने कुरा गर्न थाले। हिमालसंग परिचित मोहनसंग उकालोको औषधी रैछ ‘छ्याङ’। एउटै जरकिन चार जनाको घाँटीसम्म पुग्यो। अनि त फकिन्छु भन्ने जगत र देवेन्द्रसंगै मोहन र राजेशले पनि सुइकुच्चा ठोके। छ्याङको अगाडी हाइअल्टिच्युडको प्रभाव परेन्। डिएफओ, पत्रकार विक्रम, बन रक्षक रुकुम र म ट्वाल्ल परे। हामी चारलाई भने झन झन समस्या बढ्न थाल्यो। हुमदुम्तीले साह्रै च्याप्यो।
साढे १३ हजार फिट उचाई पार गरिसकेका थियौं। हिड्नै नसक्ने भए। विक्रमको त झोला पनि मोहनले बोके। पाईला पिच्छे विश्राम लिन्थे। बेलुकीको ५ बज्नै लाग्दा हुमदुम्तीको टुप्पो चुम्यौं। सबै लम्पसार भए। यसको उचाई १३ हजार ९ सय ४० फिट थियो। टुप्पोमा धेरै समय बसेनौं, समस्या बढ्न सक्थ्यो। क्यामेरा झमिक झमिक गरेर दुधिबनका लागि ओरालो लागे। खुट्टा खलबलिए। जीउ लखतरान भो। पेटमा केही थिएन्। चाउचाउ र चिउरा निल्नै सकिन्। रुकमले काजु र किसमिस दियो। बेस्सरी चपाए, मुख भरियो। घाँटी भित्र छिरेन, बाहिर फाले। यो आरोलोमा भने म अन्तिम नम्बरमा झरे। सबै पछाडी फर्किदै हिड्दै थिए। राती ८ बजे दुधिबन पुगे। भोकभोकैको १७ घण्टा यात्रा टुङ्गियो। सुटुक्क टेण्टभित्र छिरे। निदाएको पत्तै पाइन्।
८ असारको सुरुवात थियो। गड्याम्म गुडुम्म आवाज आवाज आयो। एक्कासी निन्द्रा खुल्यो। घढीले सवा १ देखायो। हिम पहिरो गएछ। टेण्टभित्र सबै स्लिपिङ्ग व्यागमा मस्त थिए। जुरुक्क उठे। बाहिर निस्के। सेताम्य हिउमा बादलु लरखराउदै थियो। बादलु छामे, त्यसमाथि बम्किए। असाध्यै मजा आयो। संसारै विर्सिए। दुधिबन टल्किएको थियो। तारा, जुनकिरी जस्तै देखिदै थिए, हिउको चमक अगाडी। क्यामेरा क्लिकक्लिक गरे। थकान आफै हरायो। क्यामेरा प्ले गर्दा अनलाईन, आँखामा झुल्कियो। ४ असारको बिहान सम्झे। कम्प्युटर ‘सट–डाउन’ नगरी हिडेको थिए। जि–मेल र फेसबुक खुल्लै थियो। नयाँ मेसेज आयो होला। हिमाली यात्राको सपना बाँडेको थिए। अपिको काखमा सुस्ताउदै हिमाली पद यात्राको गफ चुट्न कति मजा आउथ्यो। अँ, ‘विल मिस यू’ भनेर जिस्काउने पेरिसकी लेक्चरर शोभा चन्दलार्ई भनिदिन्थे ‘अलवेज, विथ यू’। मेरो के विग्रिन्थ्यो। तर भन्न सम्भव भएन र छैन्। न बत्ती छ, न त इन्टरनेट नै। न स्काई मोवाइलमा नेटवर्क छ न त डाको लगाउदा आवाज पुग्छ। किनकी म अपिको काख दुधिबनमा छु उहाँ पेरिसमा।
नसुतेरै ताराहरुलाई हात हल्लाए। हिमालको चमक उस्तै थियो। झसमिसेमै टेण्ट चहारे। चियाको स्वागत मिल्थ्यो। कति चिया पिए गिन्ती नै छैन्। हिउमा चिया पिउनु पर्ने रैछ। पिउदा मजा पनि आउदो रैछ। दुधको खोजीमा थिए। अन्तिम टेण्ट भित्रमा पसे। दुध सोध्दा, मनिरा बुढाथोकी (१८) ले मनतातो पानीमा सेतो धुलो खन्याइन्। दाउराको छेस्कोले केही बेर चलाएर गिलास मतिर बढाइन्। गाईभैसीको होला भनेको त डिब्बाको मिल्यो। त्यहि दुधले पनि ज्यान आयो। त्यो दिन यार्सागुम्बा र यार्सागुम्बा खोज्नेहरुका गफ सुने। पुरै दुधिबन चहारे। हिउसंग मज्जाले लडिबुड खेले। धित मरुन्जेल हिउ खाए। बादलुसंग लुकामारी खेले।  दिन ढल्केको पत्तै भएन्। टेण्टभित्र छिर्न थाले, छ्याङ खोज्न। म उही अन्तिम टेण्टभित्र पसे। कसैलाई सुईको दिइन्। दुध पिएको कुन्नी कसरी थाहा पाएछन् रातभरी जिस्काए। ‘बच्चाबच्चीलाई भोक लाग्यो होला दुध चुसाउ’ मलाई जिस्काउदै भन्थे ‘पल्लो टेण्टमा बुढि आमैछिन त्यही पुर्‍याइदेउ, दुध चुसाउलिन।’ यस्तै यस्तै हासिमजाक मै निन्द्राले च्याप्यो।
हरे, फेरी उहि डिएफओसापको आवाजले निन्द्रा खुल्यो। असार ९ को बिहान हो, ३ बजेको थियो। ‘हिड्ने तयारी गर’ भन्दै कराउन थाले। उनले कराउदा कराउदै एक घण्टा वित्यो। दुधिबनको छेउमै ‘नन्जु’ हिमाल टल्किएको थियो, उत्तरमा ‘जेठाजु र बुहारी’ हिमाल ठिङ्ग उभिएका थिए। हात हल्लाउदै उकालो लागे। टेण्टहरु मस्त निन्द्रामा थिए। सित्तैमा दुध खुवाउने मनिरालाई पनि ‘बाई’ भन्न पाइन्। १२ हजार ९ सय ३० फिट उचाईमा रहेको दुधिबनबाट तीन घण्टामै १३ हजार ९ सय ५६ फिट उचाइ चढिएछ। त्यही दुधिबनको टुप्पोबाट फेरी जोखिमको यात्रा सुरु भो। हिउ नै हिउ, भिरै भिर हिड्नु पर्थ्यो। मोहनले इशारा गर्दै हिड्ने बाटोको के देखाएका थिए, जगत, देवेन्द्र र रुकुम पछाडी फर्के। तीनै जना छुट्टिएर ओरालो लागे। ४८ वर्षीय डिएफओ रमेश चन्दले साहस भरे, अनि राजेश, विक्रम, मोहन र म हिमालको टुप्पै टुप्पो चहार्न थाले।
जता हिड्यौ त्यतै बाटो हुन्थ्यो। हिउ नै हिउ थियो। तीन घण्टाको हिडाईपछि ‘नान्था’ हिमाल चुम्यौं। यहाँ पुग्दा अल्टीमेटरले १५ हजार फिट देखाउदै थियो। केही समय फोटो सेसन चल्यो। चार जनाले विस्कुट, चिउरा र नमकिन खायौं। मंगलवार, डिएफओसापको व्रत रैछ। काजु र किसमिस चपाए। यो उचाईबाट हिमाललाई नाघ्दै हिड्दा थकित जीउमा आफै ज्यान भरिन्थ्यो। बादल तल तल झथ्योे, पहाड निचो निचो हुदै खस्किन्थ्यो। नान्थाकै रेञ्जमा ४ घण्टा हिडे। त्यसपछि हिउमा तेर्सो तेर्सो हिड्दा हिड्दै १४ हजार १ सय फिटमा ओर्लियौं। त्यहिबाट अपिलाई हात हल्लाए, अर्को पल्ट भेट्ने बाचा गरी। अनि ओह्रालो झर्‍यौं। मध्यान्ह १ बजे ५ हजार १ सय ३७ फिटमा झरिसकेका थियौं। यसपछि भने स्वाँसप्रस्वासको गति कम भयो तर थकान बढ्न थाल्यो। लगातार हिडेको नौ घण्टा भएको थियो। चिउरा, चाउचाउ र विस्कुटले ज्यान भर्ने गरेपनि ब्रत बसेका डिएफओसापले भने पानी पनि पाएन्। ‘कसैले अहिले दुधिबन जानैपर्छ भन्यो भने, या त उ मर्थ्यो या म’ कुन्नी के झोक चलेछ डिएफओसाप फतफताए। अनायासै आएको यो वाक्यले थकानको मापन गर्थ्यो।
भिरबाट तल झर्दा या त डिएफओसाप अन्तिम हुन्थे या म। बाँया खुट्टाले काम गर्न छोडिसकेको थियो। लठ्ठीको सहारा लिए। एक प्याकेट मुभ सिध्याए। कति रिलिफ भएन्। खुच्लिक्क खुच्लिक्क गर्दै बाँया खुट्टो घिसारे। १५ घण्टापछि राप्ला गाविस–८ दुम्लिङ्ग पुग्यौं। पेट खाली थियो। चिया, विस्कुट, चाउचाउ र चिउराले काम गरेन्। सुटुक्क होटल भित्र पसे, उही सेता धुलो मततातो पानीमा हालेर मस्तले पिए। रात त्यही वित्यो। सबै मस्त निदाए, मलाई भने खुट्टाले हैरान पार्‍यो। राती २ बजेपछि मात्रै आँखा लागे।
१० असार, दुम्लिङ्गबाट तल झर्न खोज्यौ। हिउ पग्लिएछ, महाकाली उर्लेर आयो। ढुङ्गामाथिको भर्‍याङ, काठका डण्डी सबै लगेछ। महाकाली तर्नै गाह्रो भो। तल्लो दुम्लिङमा तुइन रैछ, त्यसकै सहरा लिन हिडे। मोहन घरतिर लागेपछि हामी ७ जना मात्रै रह्यौं। साढे ८ बजेतिर महाकाली किनारमा पुग्यौं, तुइनको नजिक। असारी, मथुरा, जानकी र दिवान बुढाथोकी हामीलाई महाकाली तार्न कस्सिए। दुई पटक झोला तारे। तेस्रो पटक डिएफओसापलाई तारे। हाम्रो टोलीका पाँच जना तुईनमा महाकाली तरिसकेका थिए। छैटौं नम्वर जगत तर्दै थिए। बीचमा पुग्दा डोरी चुडिँयो। विचरा महाकालीको विचमा अडिए। सबैको सातो पुत्लो गयो। उनलाई गुमाउने पक्का जस्तै भयो। कोही केही बोल्न सकेन्। मान्छे न हो, साहस भर्न सके जेपनि गर्न सक्छ। उनलाई साहस दिदै गर्दा, हात चाल्दै फिर्ता भए। बल्ल ढुक्क भइयो। झन्नै उनको ज्यान गएको।
उनलाई त दोस्रो प्रयासमा तारियो तर अन्तिम म थिए। करिब एक घण्टाको अवधिमा उनीहरु चार जनाले तुईमान २५/२६ चक्कर लगाईसकेका थिए। जसले गर्दा तान्ने डोरी चुँडिएकेा थियो। जगत त बचे अब मेरो के हुने? सबैको अनुहार मलिन थियो। मुटु काप्न थाल्यो। त्यही तुईनमा दुई जनाले ज्यान गुमाएका थिए। जे होला, होला भन्ने सोचेको त सहजै तारे। म त हलुको नै रहेछु, उनीहरुले कष्ट गर्नै परेन्। हलुको पनि किन नहुनु, हिमाली यात्रामा ८ किलोग्राम तौल गुमाइसकेको थिए। चारै जनासंग हात हल्लाए। एक्कासी असारी बोलिन ‘अर्को वर्ष पनि आउनु होला, कालापानी जानेगरी।’ अनायासै असारीको कालापानीले फेरी झस्कायो।
पेरिसकी लेक्चररले त जिस्काउन ‘will miss you’ भनेकी थिइन् तर मैले साच्चै कालापानी मिस गरे। मन मनै भने ‘miss you, कालापानी।’ हुन पनि हो, कालापानी मिस हुन बेर छैन्। कालापानीका लागि नेपालीलाई अनुमित छैन्। आफ्नै भूमिमा टेक्न पनि दार्चुला जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनु पर्छ। दार्चुलाका सिडिओसापले हत्तपत्त अनुमति दिदैनन्। सिडिओसापबाट पाएको अनुमतिले भारतीय सुरक्षाफौजबाट अर्को अनुमति लिनु पर्छ। जुन सम्भव छैन्। नेपाली भन्ने वित्तिक्कै प्रतिबन्धित जस्तै छ। भारतीय सुरक्षाफौजले नेपालीलाई कालापानीका लागि अनुमति दिदैन्। त्यही भएर हाम्रो यात्रा कालापानीतिर हानिएको रहेन्छ, तुईन तर्दा चेत आयो।
अहिले कालापानीमा भारतीय सुरक्षाकर्मी परेड खलिरहेका छन्। भारतीय झण्डा फरफराइ रहेको छ। सामरिक महत्वको यस क्षेत्रमा नेपाल तर्फसमेत नेपाली सुरक्षाकर्मीको उपस्थिति छैन्। अन्य देशका मानिसले कालापानी हेर्न र चहार्न पाउछन् तर नेपाली भन्ने वित्तिक्कै प्रतिबन्धित हुन्छ। यस्तै अवस्था रहने हो भने नेपाल र अढाई करोड नेपालीले ‘मिस यू कालापानी’ भन्न बाहेक केही रहने छैन्। नचाहादा नचाहदै पनि महाकालीको किनारै किनार दक्षिणतिर हुईकिए। आँखा चिम्ले, दुबै हात हल्लाउदै भने ‘Miss you, कालापानी।’

तपाईलाई सुस्ता र कालापानी दुख्छ कि दुख्दैन?

तपाईलाई सुस्ता र कालापानी दुख्छ कि दुख्दैन? टिष्टा र नालापानी तपाई भुल्न सक्नुहुन्छ कि हुँदैन? तपाईको एक इन्च पनि जमिन छिमेकीले मिच्यो भने तपाई सहन सक्नुहुन्छ? अवस्य कसैले पनि सहदैन। तर राष्टको ५४ भन्दा बढी ठाँउमा सिमाना अतिक्रमण भएर ६०० वर्ग कि मी राष्टिय भुभाग गुमाउदा पनि हामी मौन छौ र हाम्रो सरकार मौन छ। किन? के हामीलाई नेपालको माया छैन? किन हामी र हाम्रो सरकार सच्चालन गर्नेहरु आफ्नो व्यत्तिगत स्वार्थ भन्दा माथी उठेर राष्टिय स्वार्थको लागि एकजुट हुन सकिरहेका छैनौं। अहिलेको कठिन र संकटपुर्ण घडीमा तँ तँ र म म त्यागेर हामी नेपाली भन्ने भावना सहित नेपाललाई स्वतन्त्र र आर्थिक रुपले समुन्नत वनाउन पाइला अगाडि बढाएनौं भने संभवत आउने पुस्ताले नेपाल भन्ने स्वतन्त्र राष्ट इतिहासको पानामा मात्र पाउनेछन्। के तपाईले अनुमान गर्नु भएको छ? त्यहि नेपालको पुरानो सिमाना र हाल भारतले अतिक्रमण गरिरहेको सुस्ता लगाएतका क्षेत्रको बिषयमा तयार पारिएको “सिमानाको खोजि” नामक डकुमेन्ट्रि प्रदर्शनमा रोक लगाईएको कुरा सुन्दा अति नै दुःख लागेको छ। वास्तवमा सिमा अतिक्रमणको बारेमा सरकार समेत मौन रहदा पनि ग्रेटर नेपालको सिमा बचाउँ यो अभियानले देशको कुना काप्चामा पुगेर आफ्नो बृतचित्र मार्फत देशको सिमा बचाउने अभियानमा लागिरहेको थियो र जनतालाई जुटाईरहेको थियो। प्रदर्शनको क्रममा आज त्यहि अभियानलाई भारतिय राजदुतावासको पहलमा रोक लगाईएको छ। त्यो अभियान र त्यो बृतचित्र साच्चिकै नेपालिको मन जित्ने अभियान थियो त्यस्तो अभियानमा सरकारले समेत अझ प्रोत्साहन र बढाबा दिने बेलामा सरकार आज मौन रहेको छ। देशको सिमा बचाउन खटनुपर्ने नेपाल सरकाले उल्टो भारतिय राजदुताबासको पक्षमा बृतचित्र प्रदर्शनमा रोक लगाउनु साच्चिकै लाजमर्दो कुरा हो। नेपालको सिमाना केवल एक धर्को मात्र होइन, हामी नेपालीको अस्तित्व हो। यदी सिमाना मिचिन्छन् भने हाम्रो अस्तित्व माथी गरिएको ठाडो हस्तक्षेप हो। त्यसकारण हालसम्म भएका र भईरहेको सिमाना अतिक्रमणको हामी सवै नेपालीले एक आवाजमा विरोध गर्नु पर्दछ। र जुन बृतचित्र प्रदर्शनमा रोक लगाईएको छ त्यसको बिरुद्धमा समेत एकजुट भएर लाग्नुपर्ने जरुरी रहेको छ। इतिहासमा पुर्व टिष्टादेखी पश्चिम सतलजसम्मको विशाल नेपाल अंग्रेज साम्राज्यवादको हस्तक्षेपको कारण पुर्वमा मेची र पश्चिममा महाकाली विचको सानो नेपालका खुम्चिन वाध्य पारियो। अव भारतियहरुकोे कारण त्यही मेची महाकालीको नेपाल पनि खुम्चिदै छ। कति चुप लागेर बस्ने? कति तँ र म भनिरहने? कहिलेसम्म खोस्रो राजनीति मात्र गरिरहने? राष्टियताको राजनीति गर्ने दिन कहिले आउला? सुगौलीमा वि्रटिशलाई गुमाएका भुभाग जुन हाल भारतमा छन्, जसमाथी अन्तर्राष्टिय कानुनका आधारमा नेपालको कानुनी अधिकार छ। तर हामी मौन छौं, सरकार अनभिज्ञ छ, इतिहासको पुनर्मुल्यांकन गर्न। जहाँ सुगौली पछि बाँकी रहेको भुभाग (वर्तमान नेपालको भुभाग) समेत हामी जोगाउन सकिरहेका छैनौ। कस्तो विडम्वना। कति कमजोर र लाचार भएका छौ हामी नेपाली, आफ्नो मातृभुमी जोगाउन नसक्ने। आफ्नी आमाको छातीमा विदेशी सेनाले परेड खेल्दा समेत मुकदर्शक वनेर गुलामी गर्ने सरकार र नेताले राष्टियताका वारेका सोच्ने दिन कहिले आउला? एक पछि आर्को सिमाना माथी भएको अतिक्रमणलाई सम्झदै टुलुटुलु हेरेर बस्ने की जन्मभुमी प्रतिको आफ्नो कर्तव्य पनि पुरा गर्ने? देशमा तरल राजनीतिक अवस्था र संक्रमणकाल भएका बेला फेरी पनि नेपाली आमाका अंगहरुमा अतिक्रमण हुन सक्छ। सारा नेपाली सतर्क बनौ। अतिक्रमणकारीलाई खवरदारी गरौं। जित्नका लागि एक पाइला अगाडि बढ्दै पर्छ। निदाएर नयाँ नेपाल बन्दैन। सुतेकाहरु जाग। सुतेका वहाना गर्नेहरु पनि यथार्थतालाई हेर। गाँउ गाँउबाट उठ, बस्ती बस्तीबाट उठ। नेपाली आमाको मुहार हसाउ। नेपाली आमाको सन्तती भएकामा गर्व गर। देशलाई माया गर। तपाइर्, म अनी हामी, जो नेपाललाई माया गर्छौ। नेपाली आमाको गर्भबाट जन्मन पाएकोमा गौरव गर्छौ। जसको शरीरमा नेपाली रगत वगेको छ। जसले कहिल्यै दासता स्विकारेन र स्विकार्दैन।

सीमाअतिक्रमणका सन्दर्भमा कालापानी समस्या तथा समाधान


- रतन भण्डारी
वैभवशाली एवं गौरवमय इतिहास बोकेको विशाल नेपाल आजभन्दा १९५ वर्ष अघि पूर्वमा टिस्टादेखि पश्चिम कुमाउँ गढवाल अठार र बाह्रठकुराइ श्रीमोर हुँदै काँगडासम्म फैलिएको थियो । सन् १८१४-१५ बीच चलेको नेपाल-अङ्गे्रजसँगको युद्धमा नेपालले हार बेहोर्नु पर्दा सन् १८१५ को डिसेम्बर २ का दिन अङ्गे्रजद्वारा नियोजितरुपमा प्रस्तावित सुगौली सन्धि स्वीकार्न नेपाल बाध्य भयो । सुगौली सन्धिकै कारण नेपाल मेचीपूर्व र महाकाली पश्चिमको आफ्नो सम्पूर्ण भूभागमाथिको दाबी त्याग्न पुग्यो । यसको लगत्तै सन् १८१६ डिसेम्बर ८ मा इष्ट इण्डिया कम्पनी सरकारले नेपाललाई मर्का परेको भन्दै एड्वार्ड गार्डनरको नामबाट नेपाललाई पत्र पठाइ केही भूभाग फिर्ता गर्ने निर्णय गर् यो । जसअनुसार सन् १८१६ डिसेम्बर ११ का दिन नेपाल र कम्पनी सरकारबीच एक सहमतिपत्रमा हस्ताक्षर भइ कुसाह र गण्डक नदीबीचको तिरहुत र सरुन तथा गण्डक र राप्ती नदीबीचको तल्लो भाग अर्थात बुटवल सेवराजलगायतको भूभाग नेपालले फिर्ता पायो । त्यसैगरी सन् १८५७ को बङ्गाली सेना तथा त्यसपछिको लखनऊ विद्रोह दमनमा नेपालले सेना पठाई सहयोग गरेकोमा त्यसबाट खुसी भई इष्ट इण्डिया कम्पनी सरकारले महाकाली र राप्ती नदीबीचको बाँके बर्दिया कैलाली र काचनपुर नेपाललाई फिर्ता गर् यो । त्यसैकारण यी जिल्लाहरुलाई नयाँमुलुक भन्ने गरिएको हो ।
सीमा अतिक्रमणको थालनी
सन् १८१५ मा इष्ट इण्डिया कम्पनी र नेपालबीच भएको सुगौली सन्धिको धारा ५ अनुसार “नेपालका राजा तथा तिनका उत्तराधिकारी वा वारेसले काली नदीको पश्चिममा पर्ने देशहरुसितका सम्बन्ध र सबै दाबीहरु परित्याग गर्ने र ती देशहरु वा तिनका बासिन्दासित कुनै चासो नराख्ने” भन्ने सहमतिअनुसार नेपालको पश्चिमी सिमाना महाकाली नदी पूर्व कायम हुनपुग्यो । उक्त सन्धिका कारण महाकाली नदीको सिरानीमा रहेको १२ ब्यास र १४ चौदासका अर्थात ब्यास प्रगन्नाका नामले चिनिने ब्यास क्षेत्रका १२ वटा गाउँहरु दुईतिर बाँडिन पुगे । जसमध्ये गुन्जी नाभी कुटी टिङ्कर र छाङ्ग्रुलगायतका ६ वटा गाउँहरु नेपालतिर पर्न गए भने बाँकी ६ वटा गाउँ भारततिर । यस विषयमा बेलायती एक्टिङ चिफ सेक्रेटरी जे आडम्सले काठमाडौँस्थित बेलायती आवाशीय प्रतिनिधि एडवार्ड गाडर्नरलाई ४ फेबुअरी १८१७ मा पठाएको पत्रको बुँदा ३ मा यसरी लेखेका छन् :  ”With respect to the Bum Shah’s claim to the track on the eastern side of Kali, the Governor General in council is of opinion, that according to the Letter of the Treaty, the Government of Nipaul is entitled to the restoration of it, notwithstanding its hither to having been regarded as annexed to the British province of Kumaoon. I am accordingly directed to intimate to you that the acting commissioner for Kumaoon will be instructed to surrender it to the officers of the Nipaulese government.”

टिष्टा र राबी नदीका सपनाहरु


                                - टंक वनेम

इतिहासको गर्भ मै टुहुरा भएर
दाम्साङ गढी र राबी नदी
सुगौली सन्धिले बारेको
मेचीको धार चिमोटिन्छ
दिनदहाडै कोपारिन्छन्
जङ्गे पिलरको नाङ्गो छाती
सुस्केरा हालेर हर्रर ....
बग्छ रे टिस्टा नदी ।

असल छिमेकी रोजेर नपाइने भए पछि
सुस्ता महेशपुर सुसाउन सकेनन्
कालापानी टिङ्कर भन्ज्याङ्
टिकापुर, भजनी टिक्न सकेनन्र्
बर्तमान
राक्षसले अपहरण गरेको
दन्त्य कथाको राजकुमारी झैं
मध्य रात र मध्य दिनमा
बिरही भाका हालेर
बास्छ रे टिस्टा नदी ।

सहेर आर्दश हुनुको पनि त
पिडा हुन्छ क्यारे
बलत्कार भएर बाँच्नु त
झनै कति गाह्रो हुँदो हो
शायद
तिनै अब्याक्त बेदनाहरु मा
सुस्केरा हालेर हरहर
रुन्छ रे राबी नदी ।

सीमास्तम्भ रुङ्ने बन्दुकहरु
आफ्नै स्वाभिमान झोसि रहेछन्
माटोको लागी लड्ने सङ्गिनहरु
आफ्नै छाती घोचि रहेछन्
रगतको गन्धमा सप्रन्दो छ
स्वाभिमानी देश प्रेम ।

अनि त
राबी नदी रोए जस्तै
रुन नसकेर
टिस्टा नदी बासे जस्तै
हाँस्न नसकेर
कबि हुनुको नियति
कबिताको बाँझो खेतमा
स्वाभिमानि हिमाल ठड्याउनु
के अनौंठो भो र ?

तरै पनि
सपनाको ताँदोमा
बिपनाको बाण चढाएर
इतिहासको बूढी आमा
सकि नसकि
राबी नदीको जङघार
तर्दै गरेकी हुन्छे
दालिमहाटको भन्ज्याङ्
नाँघ्दै गरेकी हुन्छे ।

हो
स्वाभिमानी छातीले
कति सहनु ?
अतिक्रमणको नाङ्गो प्रहार
अहङ्कारको पर्दाले छोपिएर
कति लड्नु
सकुनि युद्ध ?
कि दृष्टिहिन धृतराष्ट्र झैं
बन्ने हो स्वयम्भू आँखा ?

नत्र अलिकति
दुख्नु पर्दथ्यो टिकापुर
पिडाले छटपटाउनु पर्दथ्यो
माने भन्ज्याङ्
बिद्रोहि स्वारःले
कराउनु पर्दथ्यो
महेशपुर
जङ्गेको जोशमा
तरवार निकाल्नु पर्दथ्यो
जङ्गे पिलर
बिद्रोहको तोप पड्काउदै
कांगडा र दालिमहाट ।

तर
जिम्मेवार छातीहरुमा
स्वाभिमानको लेउ नपलाए पछि
पराजयको पिडा भोगेर
इतिहास र बर्तमानको
सारङ्गी रेट्दै
बिरही भाकामा बास्छ रे
बिचरा ! टिष्टा नदी
बिपनामै ऐँठन लागेर
सपनै देख्न छाड्यो क्यारे
बिचरा ! छम्ब भूमी ।
-----------
हाल ,वेलायत

नेपालको सिमाना टिष्टा र सतलज फेरि पनि कायम हुन्छ


- फणिन्द्र नेपाल, 

अध्यक्ष : एकीकृत नेपाल राष्ट्रिय मोर्चा

० नेपाल-भारत वीच भएका असमान सन्धिहरू के-के हुन् , प्रस्टाईदिनुहोस न् ?

-  नेपालको इतिहासमा तात्कालिन व्रिटेनसँग ब्रिटिस पक्षले १८१५ डिसेम्वर २ मा प्रस्ताव गरेको र नेपालले १८१६ मार्च ४ तारिखमा सही गरेको सुगौली सन्धि सवैभन्दा पहिलो र हानिकारक असमान सन्धि हो । यो जत्तिको असमान सन्धि कुनै पनि छैन ।

० सुगौली सन्धि वाहेक  अन्य पनि असमान सन्धि  छन्, भारतसँग नेपाल पक्षले गरेको ?

- होइन, नेपाल र भारत वीचमा भएको १९५० जुलाई ३१ तारिखको सन्धि पनि असमान सन्धिको रुपमा पर्ने कुरा हो । त्यसलाई पनि असमान सन्धिको प्राथमिकतामै राखिन्छ । त्यो देखि वाहेक नेपाल-भारतवीच भएका वाणिज्य सन्धिहरूले नेपाली पक्षलाई जहिले पनि तल पारेको कारण   ति पनि असमान नै छन् । त्यसैगरी जलस्रोतका सवालमा पनि जे-जति सम्झौता भएका छन् ती सवै सन्धिहरू असमान छन् । तर सवैभन्दा असमान सन्धि भनेको चाहिं सुगौली सन्धि नै हो ।

० के छ, सुगौली सन्धिमा जसले नेपाललाई हानि पुर्‍याएको छ ? वुंदागत रुपमा भनिदिनुहोस् न ?

- असमान वुँदाहरूको कुरा गर्दा सुगौली सन्धिभन्दा पहिला  नेपालको सिमाना  अर्थात क्षेत्रफल  २ लाख ४ हजार ९ सय १७ वर्ग किलोमिटर थियो । नदीलाई आधार   मानेर गरिएको सिमानामा पूर्वमा टिस्टा र  पश्चिममा सतलजसम्म थियो । सतलज भन्दा पारि काँकडासम्म नेपाल पुगेपनि काँकडाको राजासँग हारेको कारण नेपालको दावी त्यहाँ लाग्दैन । तर टिष्टामा भने त्यो भन्दा पनि ७० किलोमिटर पूर्वसम्म नेपालको क्षेत्रफल पुग्छ । वंगलादेशको वोर्डरसम्म र वंगलादेशभित्र रहेको अहिलेको दिननाथपुर र रम्भापुर पनि तात्कालिन विशाल नेपालकै क्षेत्र हुन् । तर यो सुगौली सन्धिका कारण नेपालको सिमाना मेची र महाकालीमा सिमित भईदियो ।

० भनेपछि कति भु-भाग नेपालले गुमाएको हो सुगौली सन्धिका कारण ?

-   २ लाख ४ हजार ९ सय  १७  वर्ग किलोमिटर रहेको हाम्रो विशाल नेपालको भु-भाग घटेर १ लाख ४७ हजार १ सय ८१ वर्ग किलोमिटरमा झरेको छ । त्यसलाई हामीले घटाएर हेर्ने हो भने ५६/५७ हजार वर्गकिलोमिटरको भु-भाग अहिले भारतको कब्जामा छ । सुगौली सन्धिले हामीलाई   पारेको प्रत्यक्ष असर यो हो । अर्को असर भनेको त्यो सन्धिमा नेपालले वेलायतसँग नसोधीकन कुनैपनि युरोपियन, अमेरिकनहरूलाई आफनो सेवामा लिन नपाउने भनिएको छ  । सररल्ललाह गर्न नपाउने भनिएको छ । त्यसले नेपालको स्वतन्त्र परराष्ट्र  नीतिलाई अत्यन्तै संकुचित  पारेको छ र हामी उसको प्रभाव क्षेत्रभित्र पदै आएका छौं ।

० तपाईले भने जस्तै हो भने, अहिले हामीले पूर्व टिष्टा र कागडा माथी दावी गर्न मिल्छ की मिल्दैन ?

- एकदमै मिल्छ । किनभने सुगौली सन्धि हामीले व्रिटिसहरूसँग गरेका हौं । व्रिटिसहरूसँग गरेको सन्धि भारतसँग लागु हुँदैन । अमेरिकासँग गरेको सन्धि वेलायतसँग लागु हुन्छ र ? अर्थात हामीले वंगलादेशसँग सन्धि गरेर भारतसँग लागु हुनुपर्छ भनेर लागु हुन्छ र ? त्यसकारण वेलायतसँग गरेको सम्झौता भारतसँग लागु हुन सक्दैन । त्यसैगरी वेलायतको संसदले १९४७ को जुलाई १८ मा पारित गरेको ‘इन्डीया इन्डीपेन्डेन्ट ऐक्ट’ मा स्पष्टरुपमा हामी जुन अवस्थामा भारत आएका थियौं, त्यही अवस्थामा छाडेर जाँदैछौं भनेर लेखिएको छ । त्यसकारण त्यो आधारले पनि ति भु-भाग माथी हामीले दावी गर्न पाउँछौं । अर्को, १९५०को नेपाल र भारतको वीचमा भएको शान्ति  र मैत्रीसन्धिको धारा ८ ले यो मितिभन्दा पहिले नेपालले वेलायतसँग गरेको तमाम सन्धि/सम्झौता  रद्ध हुन्छन् भनिएको छ । त्यसमा नेपाल र भारत दुवै स्वतन्त्र देशले हस्ताक्षर गरेर सुगौली सन्धि मान्दैनौं भनीसकेपछि नेपाली भुमि कब्जा गरेर राखीरहन मिल्छ ? त्यस्तै १९५० अक्टोवर ३० तारिखमा  नेपाल र वेलायतका वीचमा  भएको अर्को सन्धिको धारा ८ ले पनि सुगौली सन्धि रद्ध गरेको छ । त्यसले पनि नेपालको सिमाना टिष्टा  र सतलज फेरि पनि कायम हुन्छ ।

० त्यसो भए असमान सन्धि खारेजीको प्रक्रिया के हुनसक्छ ? कानुनी प्रक्रिया छ की छैन ?

- मुख्य कुरा १९५०  को सन्धिको धारा ८ ले यो सन्धिलाई खारेज गर्ने भनीसकेपछि सन्धिको अक्षरशः पालना गर्ने भन्नेवित्तिकै हाम्रो सिमाना टिष्टा र सतलज पुगिहाल्छ । नेपालले आफ्नो सेना पठाएर त्यहां आफनो सुरक्षा ब्यवस्था कायम गरी झण्डा गाड्ने काम गर्न सक्छ, अन्तर्राष्ट्रिय जगतलाई नै भनेर । तर नेपालले त्यसो गर्ने साहसै गर्न सकेन । त्यसो गर्न सरकारलाई डर लाग्छ भने सन् १९५० को सन्धिको धारा ८ को कार्यान्वयनका निम्त्ति कार्यसमिति वनाएर हामी अगाडी वढौं भनेर प्रवेश गर्नुपर्‍यो  । त्यसो गर्ने आंट पनि नेपालसरकार संग छ/छैन भन्न सकिने स्थिती छैन । तर एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले सल्यानमा व्रिटिसहरूसँग भएको सुगौलीसन्धि भारतसँग लागु हुन सक्दैन त्यसकारण नेपालको सिमाना टिष्टा र कांगडा हो त्यसलाई अव कार्यान्ययन गर्नुपर्छ भनेर बोल्नु भएको छ । एउटा विशाल र सशक्त पार्टी  अध्यक्षले नै त्यसरी वोल्नु ले वातावरण राम्रो वनाएको मैले महसुस गरेको छु ।

० नेपालको राष्ट्रियता यति सम्वेदनशिल हुंदाहुंदैपनि यो मुद्दाले आन्दोलनको रुप भने अहिलेसम्म लिन नसक्नुमा भने कारण के होला ?

-  भारतले नेपालको राष्ट्रवादी आन्दोलनलाई नेपालीहरूको आफ्नो राष्ट्रिय हितका निम्त्ति उनीहरूले उठाएको मुद्धा, उनीहरूले गरेको लडाई, उनीहरूको स्वाभिमानको आवाज, स्वाधिनताको निम्त्ति गरिएको संघर्षको रुपमा नलिएर यो भारतविरोधी आन्दोलन हो भनेर वुझेका छन् । नेपालमा उसले सिमाना मिच्छ, हामी विरोध गर्छौं, उसले भारतविरोधी गतिविधी वढ्यो भन्छ । यो स्थिती भएकोले नेपालका राजनीतिक दलहरूलाई भारत रिसाउला र सरकारमा पुग्न वा पुगिएको छ भने हट्नुपर्लाकी भन्ने ठूलो डर छ । यो उनीहरूको दरिद्र मानसिकताका कारण यस्तो भएको हो । तर अहिले त्यसमा अलिकति भने पनि आईसब्रेक एकीकृत नेकपा माओवादीले गर्न खोजेको छ ।

० त्यसो हो भने, यो मुद्दालाई लिएर एकीकृत नेकपा माओवादीसँग मिलेर  तपाईहरूले संयुक्त आन्दोलन चाहिं किन वनाउन नसक्नु भएको त ?

- होइन, एकीकृत नेकपा माओवादीका नेताहरूले देशभक्त र बामपन्थीहरूको एउटा साझा मोर्चा वनाउनुपर्छ र लडनुपर्छ भनेर वारम्वार भन्नुभएको छ । तर उहांहरूले यसलाई मुर्त रुप किन दिनु हुन्न? उहांहरूले नेपालभित्र उपलब्ध जसलाई राष्ट्रवादी ठान्नुहुन्छ त्यस्ता व्यक्ति, समुह र शक्तिहरूलाई वोलाएर राष्ट्रवादी मोर्चा वनाउने ठोस काम किन गर्नुहुँदैन? त्यो काम उहांहरूले शुरुवात गर्नुभयो भने यसले एउटा आकार ग्रहण गर्छ । त्यसका लागी हामी त सदैव उहांहरूलाई सहयोग गर्न तयार छौं ।

महिमा साप्ताहिक वर्ष २६, अंक ४१, २०६६ पुस ३० गते विहिवार

 

के छ सुगौली सन्धिमा ?

सुगौली सन्धि,

(ई.सं. १८१५ डिसेम्बर २)

१. माननीय इस्ट-इन्डिया कम्पनी र नेपाल राजाका बीच चिरस्थायी शान्ति र मैत्री कायम रहनेछ ।

२.     युद्ध हुनुभन्दा पहिले दुवै राज्यका बीच जुन भू-भागका सम्बन्धमा विवाद थियो, ती भूभागहरू नेपालको राजाले परित्याग गर्छन् र ती भूभागहरूमाथि माननीय कम्पनीको प्रभूसत्ता स्वीकार गर्छन् ।

३.     नेपालका राजा माननीय इस्ट इन्डिया कम्पनीलाई तल उल्लिखित इलाकाहरू सदाका निम्ति समर्पण गर्छन् ।

-       काली र राप्ती नदीको बीचकाख सम्पूर्ण तल्ला भागहरू,

-       राप्ती र गण्डकी बीचको सम्पूर्ण तल्लो भूमि,

-       गण्डकी र कोशीबीचको समस्त तल्लो भूगाग,

-       मेची र टिस्टाबीचको समस्त तल्लो भूमि,

-       मेची नदीभन्दा पूर्वतर्फको सम्पूर्ण पहाडी इलाकाहरू

-       नागरीको दुर्ग र जमिन तथा नगरकोटको घाटी जसमा मोरङबाट पहाडतिर जान बाटो छ, यससंगै सो घाटी र नागरीका बीचका सबै भूभाग यस मितिदेखि ४० दिनभित्र गोर्खाली सेनाले खाली गरिदिनु पर्नेछ ।

४.     नेपाल राज्यका प्रमुख र भारदारहरू ज-जसको स्वार्थमा माथि उल्लिखित अभिधाराले हानी पुर्‍याएको छ, क्षतिपूर्तिका लागि ब्रिटिश सरकारले ती प्रमुखहरूलाई जम्माजम्मी सालना दुईलाख रुपैया पेन्सनको रुपमा दिन स्वीकार गर्छ । यो रकम नेपालका राजाको तजबिजअनुसार समानुपातमा बांडिनेछ । नेपालका राजाबाट यस रकमको अनुपात निश्चित भएपछि पेन्सनका लागि गभर्नर जनरलको मोहर र हस्ताक्षरसहितको सनदपत्र सम्बन्धित पेन्सनवालालाई दिइनेछ ।

५.     नेपालका राजा स्वयं आफ्ना सम्बन्धी तथा उत्तराधिकारीहरूको तर्फबाट काली नदीको पश्चिमी भूभागको सम्पूर्ण अधिकार परित्याग गर्छन र साथै त्यो इलाका तथा त्यस इलाकाका निवासीहरूसंग कुनै किमिसको सम्बन्ध नराख्ने कटिबद्ध हुन्छन् ।

६.     नेपालका राजा सिक्किमका राजालाई उनको प्रादेशिक अधिकारका सम्बन्धमा कुनै तरहबाट परिसान नगर्न र साथै शान्ति भंग नगर्न स्वीकार गर्छ र साथै के पनि यदि नेपाल अधिरज्य र सिक्किमका राजा अथवा सिक्किमका प्रजाहरूबीच कुनै मतभिन्नता उत्पन्न भएमा उक्त मतभिन्नता समाधान गर्न मध्यस्थका रुपमा ब्रिटिश सरकारलाई सुम्पनेछन् र नेपालका राजाको ब्रिटिश सरकारको निर्णय स्वीकार गर्नुपर्नेछ ।

७.     नेपालका राजा यस नियमलाई स्वीकार गर्छन कि ब्रिटिश सरकारको अनुमतिबिना कुनै ब्रिटिश प्रजा तथा युरोपेली प्रजा अथवा अमेरिकीलाई आफ्नो सेवामा कहिले पनि राख्ने छैनन् ।

८.     दुवै राज्यका बीचमा मित्रता र शान्ति संवन्ध सुदृढ र समुन्नत गराउनका लागि उक्त राज्यका विश्वासपात्र मिनिस्टर दोस्रो राज्यमा रहनेछ भन्ने पनि स्वीकार गर्छन् ।

९.     यो सन्धि जसमा नौ अभिधारा समाविष्ट छन्, नेपालका राजाद्वारा आजको मितिदेखि १५ दिनभित्र अनुमोदन गरिनेछ । उक्त अनुमोदन लेफ्टिनेन्ट कर्नल ब्रेडशालाई प्रदान गरिनेछ र उनले बीस दिनभित्र अथवा सम्भव भए सोभन्दा पनि अगावै गभर्नर जनरलबाट अनुमोदन गराई नेपालका राजालाई सो अनुमोदित सन्धिपत्र दिनेछन् । यस सन्धिमा विवादमा नपरेका नेपाल अधिकृत भू-भागहरू पनि कम्पनी सरकारलाई सुम्पने प्रावधान भएकाले नेपालले यस सन्धिमा परेका केही अभिधाराप्रति आफ्नो सहमति र असन्तुष्टि प्रकट गरेको हुंदा नेपाल र कम्पनी सरकारबीच केही तराई फिर्ता गर्ने प्रयोजनका नीम्ति अर्को आंशिक सन्धि भयो । ८ डिसेम्बर १८१६ मा भएको पूरक सन्धिबाट कोशी र राप्तीका बीचको तराई फिर्ता भयो तर मूल सन्धिको धारा ४ को प्रावधानलाई खारेज गरियो ।

 सन् १९५० को सन्धि

(सन् १९५० जुलाई ३१)

१.     नेपाल सरकार र भारत सरकारका बीच अटल शान्ति र मित्रता रहनेछ । दुवै सरकारले परस्परमा एकले अर्काको पूर्ण राज्यसत्ता, राज्य क्षेत्रको अक्षुण्णता र स्वाधीनता स्वीकार र आदर गर्न मन्जुर गर्छन् ।

२.     कुनै राष्ट्रसंग ठूलो खलबल र  फाटो पर्न आई त्यसबाट दुई सरकारको बीचमा रहेको मैत्रीको सम्बन्धमा खलल पर्न जाने सम्भावना देखिएमा दुवै सरकारले परम्परामा सो कुराको समाचार दिने जिम्मेवारी कबुल गर्छन् ।

कर्मचारी वर्गसहित प्रतिनिधिहरूद्वारा परस्परमा प्रचलित अन्तर्राष्ट्रिय सम्बन्ध र राजदूतस्तरीय राख्न मन्जुर गर्छ ।

४.     दुवै सरकारले परस्परमा कन्सुलेट जनरलहरू, कन्सुलेटहरू, भाईस कन्सुलेटहरू, अरु प्रकारका कन्सुलेट र प्रतिनिधिहरूको नियुक्ति मन्जुर भएका शहर, बन्दरगाह र अरु स्थानहरूमा निवास गर्नेछन् ।

५.     नेपाल सरकारलाई भारत राज्य क्षेत्रबाट अथवा सो राज्य क्षेत्रको बाटो गरी नेपालको सुरक्षाको निमित्त चाहिने हातहतियार, कलपूर्जा, गोलीगठ्ठा, खरखजाना, मालसामानका पैठारी गर्नेअधिकार छ । दुई सरकारले परम्परामा सल्लाह गरी यो बन्दोबस्तलाई चालू गराउने कारवाहीको तय गर्नेछन् ।

६.     भारत र नेपालको छिमेकी मैत्रीभावको प्रतीकस्वरुप दुवै सरकारले आफ्नो राज्य क्षेत्रमा रहेका आदर्श सरकारका रैतीलाई आफ्ना मुलुकको औद्योगिक र आर्थिक विकास र त्यस्तो विकास सम्बन्धी निर्यात र ठेक्काहरूमा भाग लिनलाई राष्ट्रिय व्यवहार दिन कबुल गर्छ ।

७.     नेपाल सरकार र भारत सरकारले आफ्नो राज्य क्षेत्रमा रहेका अर्को मुलुकका रैतीलाई निवास, सम्पत्तिको भोग, व्यापार, वाणिज्यमा भाग लिन, चलफिर गर्न र अरु त्यस्तै प्रकारका विशेषाधिकारहरूको विषयमा पारस्परिक तौरले समान विशेषाधिकार लिनलाई कबुल गर्छन् ।

८.     जहांतक यहाँ जिकिर गरिएका कुराहरूको सम्पर्क छ, ती सबैमा यो सन्धिपत्रले भारतको तर्फबाट ब्रिटिश सरकार र नेपाल सरकारका बीचमा भएका अघिका सव सन्धिपत्र, स्वीकारपत्र, कबुलियतनामाहरूलाई खारेज गर्छ ।

९.     हस्ताक्षर गरिएकै मितिदेखि यो सन्धि लागू गरिन्छ ।

१०.   यो सन्धि कुनै एक मुलुकले १ वर्षको भाखा दिई सो सन्धिपत्रको अन्त्य गर्न नखोजेसम्म जारी रहनेछ ।

 १९५० को सन्धिसँगै भएको गोप्य पत्राचार

(पत्राचारका मूल बुँदाहरू)

१.     विदेशी हमलाद्वारा एकअर्काको सुरक्षामाथि आघात परेमा कुनै सरकारले त्यसलाई सहने छैन । कुनै त्यस्तो खतरासंग जुध्न दुई सरकारले एक अर्कासंग सरसल्लाह गर्नेछन्  र प्रतिरोधका लागि प्रभावकारी पाइला चाल्नेछन् ।

२.     नेपालको सुरक्षाका लागि आवश्यक कुनै हातहतियार, खरखजाना वा युद्धजन्य सामग्रीहरू र औजारहरू, जो नेपाल सरकारले भारतीय सीमा भएर पैठारी गर्छ, त्यस्तो पैठारी भारत सरकारसंगको सहयोग र सम्झौताबाट गर्नेछ, भारत सरकारले त्यस्तो हातहतियार छिटोछरितो पारवहनका लागि कदम चाल्नेछ ।

३.     शान्ति र मैत्री सन्धिको राष्ट्रिय व्यवहार दिने दफा ६ को सम्बन्धमा नेपालमा नेपाली रैतीहरूलाई अनियन्त्रित प्रतिस्पर्धाबाट संरक्षण केही समयका लागि आवश्यक हुनसक्छ भन्ने कुरालाई भारत सरकार मान्यता दिन्छ । यस संरक्षणका प्रकृति र हद दुई सरकारहरूबीच पारस्परिक संझौता निर्धारित गरिनेछन् ।

४.     यदि नेपाल सरकारले प्राकृतिक स्रोतको विकास वा नेपालमा कुनै औद्योगिक परियोजनाका लागी विदेशी सहयोग प्राप्त गर्ने निर्णय गरेमा ने्पाल सरकारले अरु विदेशी सरकार वा अरु विदेशी नागरिकले दिने सहुलियतभन्दा कम नभएमा भारत सरकार वा भारतीय नागरिकलाई नै प्राथमिकता दिनेछ । संयुक्त राष्ट्रसंघ वा यसका कुनै विशेषीकृत एजेन्सीहरूबाट नेपाल सरकारले प्राप्त गर्ने सहायतामा उक्त कुरा लागू हुनेछैन ।

५.     एकअर्काको सुरक्षामाथि प्रभाव पर्ने क्रियाकलाप भएमा कुनै विदेशीहरूलाई काममा नलगाउन दुवै सरकार मन्जुर गर्छन् । कुनै एक सरकारले आवश्यक परेको बेला अर्को पक्षसमक्ष यसबारे कुरा राख्नेछ ।

 सन् १९६५ को नेपाल भारत गोप्य सन्धि :-

शाही नेपाली राजदूतावास

बाह्रखम्बा रोड ,नयाँदिल्ली, भारत

जनवरी ३०, १९६५

महामहिम,

यहाँले हामीलाई लेख्नुभएको आजको मितिको पत्र प्राप्त गरी निम्न व्यहोरा अवगत भयो ।

१.     सन् १९६३ को अगस्तमा आफ्नो दिल्ली भ्रमणको अवसरमा नेपालका महाराजाधिराजबाट नेपाली सेनाको पुनःव्यवस्थापन र आधुनिकीकरणका सम्बन्धमा प्रश्न उठाइबक्सेको थियो । प्रत्यूत्तरमा भारत सरकारले आवश्यक मद्दत पुर्‍याउने इच्छा प्रकट गरेको थियो । तदनुरुप नेपाली सेनाको पुनः व्यवस्थापन र आधुनिकीकरणका लागि नेपाल सरकारले मागअनुसार भारतले कस्तो सहयोग  प्रदान गर्ने हो सोको विस्तृतस्वरुप निर्धारण गर्न सन् १९६३ को डिसेम्बरमा श्री ५ को सरकारको प्रतिनिधिमण्डल एवम् भारत सरकारका प्रतिनिधिबीच छलफल सम्पन्न भयो । छलफलमा नेपाली प्रतिनिधिमण्डलले भारत सरकारले एक नयाँ ब्रिगेड समूहलाई व्यवस्थित र स्तरीय तुल्याउनुपर्ने प्रस्ताव प्रस्तुत गरेको थियो ।

२.     भारत सरकारले श्री ५ को सरकारद्वारा प्रस्तुत प्रस्तावउपर पूर्ण र विस्तृत ध्यान दिएको छ । हाम्रा दुवै देशबीच विद्यमान घनिष्ट र परम्परागत मैत्री सम्बन्धलाई दृष्टिगत गर्दै भारत सरकार नेपालको सुरक्षा र स्वतन्त्रतालाई सुदृढ पार्ने उद्देश्का साथ नेपाललाई यथासम्भव सम्पूर्ण सहयोग प्रदान गर्न चिन्तित छ ।

३.     उपयुक्त उद्देश्य परिपूर्ति गर्ने दिशामा निम्नानुसारको सम्झौता सम्पन्न भएको छ :-

क)     ४ वटा मान्यता प्राप्त ब्रिगेडसहितको १७ हजार सैन्य बलका आधारमा भारत सरकारले सम्पूर्ण नेपाली सेनालाई हातहतियार, गोलीगठ्ठा र उपकरणहरू आपूर्ति गर्नेछ । उल्लिखित ४ वटा ब्रिगेडहरूमा वर्तमानको हिमालय सेना, गृह रक्षक, घरेलु सेना, मिलिसिया कम्पनी आदि रहेका छन् ।

ख)    भारत सरकारले नेपाली सेनाले प्रयोग गरिरहेका हातहतियारलाई शीघ्रातिशीघ्र आधुनिक हातहतियारहरूद्वारा प्रतिस्थापित गर्नेछ, यसका साथै भारत सरकारले नयाँ पुराना सबै किसिमको हातहतियारको फेरबदल र मर्मतसम्भार कार्यसमेत गर्नेछ ।

ग)     भारत सरकारले सशस्त्र नेपाली सैन्य अधिकारीहरूलाई आवश्यकताअनुसार भारतका विभिन्न तालिम केन्द्रहरूमा सम्पूर्ण तालिमका अवसर प्रदान गर्नुका साथै श्री ५ को सरकारको अनुरोधमा आफ्ना प्रशिक्षकहरूलाई नेपाल पठाउनेछ । तालिमको अवधिभर ती अधिकारीहरूलाई भारतीय सैन्य अधिकृतहरूसरह दैनिक खर्चसमेत जुटाइनेछ । भारत सरकारले उनीहरूको डेरामा बस्दा लाग्ने खानेपानी र विद्युत महसुलवापत रकमसमेत बेहोर्नेछ । त्यसैगरी तालिम अवधिभर विभिन्न भैपरी हुने खर्चका लागि आवश्यक रकम चुक्ता गर्न नेपाली सैनिक अधिकारीहरूलाई एक विशेष भत्ता प्रदान गरिेछ । कोही अन्य दर्जाका अधिकारीहरूका लागि निःशुल्क भोजनादिको समेत प्रबन्ध गरिनेछ ।

घ)     भारत सरकारले नेपाली सेनाका जवान र अधिकृतहरूका लागि आवश्यक हरियो अभ्यास पोशाक बुट आदि भारतमै नगद तिरी खरिद कारोबार गर्नेतर्फ नेपाल सरकारलाई पूर्ण सहयोग प्रदान गर्नेछ ।

ङ)     उधारो कारोबार अन्तर्गत सैन्य उपकरणहरूको आपूर्ति गर्ने कार्यक्रम पूरा भएका कारण अब उप्रान्त भारत सरकारबाट उपलब्ध गराइने सैन्य सहयोग अनुदानका रुपमा यसै पत्रानुसार हुनेछ ।

च)     भारत सरकारबाट उपलब्ध गराइने उपकरण र अन्य सहयोग नेपाली सेनाको प्रयोजनका लागि मात्र हुनेछ र कुनै पनि तेस्रो मुलुकमा तिनको विचलन गर्न पाइने छैन ।

छ)    भारत र नेपालका प्रतिरक्षा अधिकारीबीच त्यस्ता सैन्य सहयोग वा उपकरणहरूको आपूर्तिको समयमा तालिका, कार्यविधि र विस्तृत विवरणबारे सम्झौता संपन्न हुनासाथ यस सहयोगअन्तर्गतको आपूर्ति कार्य आरम्भ हुनेछ ।

ज)     भारतीय सहयोगको पूरकको रुपमा अमेरिका र संयुक्त अधिराज्यले समेत श्री ५ को सरकारलायई प्रतिरक्षा सहयोग गर्ने विषयमा परस्पर सम्झौता गरेका छन् । कारणबश भारतले हातहतियार र उपकरणहरूको आपूर्ति गर्न नसकेका बेला अमेरिका र संयुक्त अधिराज्यका सरकारहरूले यथाशक्य सो रिक्तता पूरा गर्ने वचन भारतलाई दिएको छ । उपयुक्त समयमा पूर्णविवरणबारे यथोचित समन्वय गर्न सकिनेछ ।

५.     यस्ता प्रावधानले कुनै पनि सरकारको स्वतन्त्र विदेश नीतिमाथि बन्देज लगाउने छैन । नेपाल सरकारले भारतबाट वा भारतको बाटो भएर नेपालको सुरक्षाका लागि आवश्यक हातहतियार, गोलीगठ्ठा वा युद्धसम्बन्धी सामग्री र उपकरणहरूको स्वतन्त्रतापूर्वक आयात गर्न पाउनेछ ।

६.     दुवै देशले परम्पर विचार विमर्श गरी यस किसिमको व्यवस्था लागू गर्न आवश्यक कार्यविधी तय गर्नेछन् ।

७.     भारत सरकार तथा श्री ५ को सरकारले आपसमा विचार विमर्श गरी यस पत्रमा उल्लिखित कुराहरूको समीक्षा गर्न सक्नेछन् ।

८.     महामहिम, यहाँले हामी दुवै पक्षबीच भएको समझदारीअनुरुप उपरिलिखित कुराहरू सही ढंगमा वर्णन गरिएका छन् भनी पुष्ट्याई दिए म यहाँप्रति कृतज्ञ हुने थिएँ । साथै महामहिमको जवाफसंगै यस पक्षले भारत सरकार र श्री ५ को सरकारबीच भएका समझदारीलाई सम्झौताको रुप दिनेछ भन्ने कुरा सुनिश्चित गरी दिनुभए कृतज्ञ हुने थिएँ । महामहिमको जवाफ प्राप्त भएका मितिदेखि सो सम्झौता लागू हुने कुरासमेत अनुरोध गर्दछु ।

९.     हामीबीचको समझदारीअनुरुप माथिवणिर्त साँचो भएको कुरा म सुनिश्चित गर्न चाहन्छु । म यो पनि सुनिश्चित गर्छु – यहाँले जनवरी ३०, १९६५ मा पठाउनुभएको पत्रको साथसाथै यस जवाफले दुवै सरकारबीच सम्झौता सम्पन्न भएको कुराको पुष्टि गर्छ । सम्झौता आजकै मिति जनवरी २०, १९६५ देखि लागू हुने कुरा पनि अनुरोध छ । महामहिम, कृपया मेरो यो आग्रहलाई स्वीकारी दिनुहुनेछ भन्ने विश्वास व्यक्त गर्दछु ।

महामहिम श्री वाईडी गुँडभिया                                           सरदार वाई एन खनाल

भारत सरकारका विदेश सचिव                                           शाही नेपाली राजदूत