कुसुम भट्टराई
काठमाडौं
। धापासीमा म बसेको घर छेउमै केही तन्नेरीहरु गितार बोकेर गाना प्राक्टीस
गरिरहेका थिए । हेर्दा ट्यापेजस्ता देखिए पनि उनीहरु असल संस्कारमै
हुर्किएका केटाहरु थिए, प्लस टु कलेज पढ्दै गरेका । उनीहरुको पोशाक अली
हिप–हप भएपनि उनीहरु आधुनिक नेपालका शिक्षित पुस्ता थिए ।उनीहरु आशीकी–२ को गित अभ्यास गरिरहेका थिए, ‘क्यों की तुम ही हो, मेरी जिन्दगी बस तुम ही हो ।’
एउटा भाईको हातमा हलो गितार थियो । छेउमा एउटा भाई ड्रम बजाइरहेका थिए । लामो कपाल पालेका भाई लिड गितार र अर्का भाई बेस गितारमा थिए ।
मलाई देख्नासाथ केटाहरुले गाउन बन्द गरे । ‘ओ ब्रो आयो, अब गित जम्ने भो’ भन्दै उनीहरु हौसिए ।
‘ल दाई आज कैलाश खेरको जाओस है’, एउटा भाइले भन्यो । अर्कोले थप्यो, ‘हैन नुसरत फतेह अलीको अल्ला हु जाओस् ।’
‘ओके ओके, तर केटा हो, यसपाली तिमीहरुले भैलो खेल्न नपाउने भयौ नी । सात बजेपछि देउसी भैलो नखेल्नू भनेर गृह मन्त्रालयले सूचना निकालेको छ नी’, मैले भनें ।
‘ओ ब्रो, देउसी भैलो खेल्न ब्याण्ड ग¥यो रे सरकारले । बुलसीट’, लिड गितारिस्ट भाइ जंगीए ।
अर्का भाईले आक्रोशीत हुँदै भने, ‘हामीले भैलो खेल्दा सरकारलाई किन टेन्सन ? सरकार चलाउनु नी, किन देउसी भैलोमा डिस्टर्ब ?’
मैले भनें ‘राती–राती देउसी भैलो खेल्दा शान्ति सुरक्षामा खतरा उत्पन्न भएकाले सात बजेपछि ब्याण्ड गरेको रे ।’
‘कुन चाँही पाजीको निर्णय हो त्यो ?’, ड्रमर भाईले रन्कीदै भने ।
मैले भनीदिएँ, ‘पाजीको निर्णय हैन क्या । काजीको निर्णय रे । बामदेव काजीको ।’
‘रडीज भो, बामदेव काजीलाई हाम्रो देउसी भैलोले के गर्याथ्यो यार । के हामी टेरोरिस्ट हो ? वर्षमा एक पटक आउने देउसी खेलेर हल्का गाँठ जम्मा गरौं भनेको, बोर भो नी यार’, इलेक्ट्रीक गितार बोकेका भाईले गितारको स्ट्रीङमा दरीलो झट्का दिएर गोडाले ग्याजेट थिचे । चर्को साउण्ड निकालेर उनले सरकारको निर्णयप्रति खेद प्रकट गरे ।
तिहारको रमाइलो बातावरणमा सरकारी निर्णय आफैमा आतंक बनिरहेको थियो । सानैदेखि रातभरी देउसी भैलो खेलेर मनोबिनोद गरेका केटाहरु निराश देखिन्थे । देउसी भैलो खेल्नेहरुका कारण राति शान्ति सुरक्षा खलबलिन्छ भन्ने सरकारको तर्क उनीहरुलाई हास्यास्पद लागिरहेको थियो ।
‘विश्वका जुनसुकै शहरहरुमा रातभरी चहल पहल हुन्छ । त्यहाँ शान्ति सुरक्षा हुँदैन ? नेपालमा मात्रै पुलीसहरु आफ्नो कमजोरी र लाचारीबाट बच्न जनतालाई दुःख दिन्छन्’, यतिबेरसम्म मौन रहेका भोकलीस्ट भाइ बोले ।
भोकलिस्ट भाईको तर्क थियो, ‘यदि देउसी भैलो खेल्दा आतंककारीहरु, असामाजिक तत्वहरुले मौका पाउने हो भने दियो र बत्ती पनि त बाल्नु भएन । आतंककारीहरुले त्यही दियोको दुरुपयोग गरेर पुरै शहरमा आगो लगाउनसक्छन् ।’
अर्को भाईले थपे, ‘त्यसो भए होली पर्व पनि खेल्नु भएन । होलीको रङ धारण गरेर आतंककारीले बहुरुपी भएर आतंक मच्चाउनसक्छ । होलीको रङमा विष मिसाएर आतंककारीले सबैलाई मार्न सक्छ ।’
ड्रमर भाईले ड्रम ठटाउँदै भने, ‘नदी किनार, ताल या पोखरीको छेउमा गएर छठ मनाउन पनि भएन । आतंककारी र असामाजिक तत्वले छठ मनाउनेहरुलाई नदी, ताल वा पोखरीमा धकेलेर मार्नसक्छ नी । त्यो पनि सुरक्षाका दृष्टिले जोखीमपूर्ण नै छ ।’
मलाइ पनि उनीहरुको कुरा रमाइलो लाग्यो । थपीदिएँ, ‘माघे संक्रान्ति पनि मनाउनु भएन । त्यो त झन् चाकुको पर्व । अब चाकु याने चक्कु त सुरक्षाका दृष्टिले झन् खतरनाक । आतंककारीहरु चाकु प्रहार गर्दै हिंडनसक्छन् । गृहले चाकु नखानु भनेर विज्ञप्ति जारी गर्न के बेर ?’
सबै बाजाहरुको सम्मीलनमा एउटा ब्रिजजस्तो ध्वनी निकाले भाइहरुले । साथमा हाँसोको फोहरा छुट्यो ।
हलो गितार समाइरहेका भाईले भने, ‘दाई, त्यसो भए त शिवरात्री झन् मनाउनै भएन । त्यो त रातभरी धुनी बालेर मनाउनुपर्ने पर्व । सरकारका ब्रोहरुले शिवरात्रीको नाम फेरेर अब शिव दिन राख्ने हुन की ?’
मलाई उनको तर्क मन प¥यो । हो त । शिवरात्री त रातिमा मनाइने हो । अब त्यसमा पनि प्रतिबन्ध लगाउने होलान् गृहमन्त्रीले ।
यसरी हेर्दा त नेपालका हरेक पर्व मनाउन नपाइने पो देखियो । नाग पञ्चमी त मनाउनै भएन । आतंककारी र असामाजिक तत्वहरुले त्यही बहानामा घर–घरमा नाग छोडिदिनसक्छन् । जैविक हतियार भने झैं नाग हतियारको प्रयोग गर्न सक्छन् । सरकारले देउसी भैलो रातमा नखेल्न भनेर जुन दलील दियो, त्यस अनुसार त जनै पूर्णिमा झन मनाउनै भएन । आतंककारी र असामाजिक तत्वहरुले डोरो र जनैको दुरुपयोग गरेर त्यसैलाई घाँटीको पासो बनाइदिनसक्छन् । पण्डितको भेष धारण गरेर डोरो हतियार लिएर उनीहरुले जे पनि गर्नसक्छन् ।
ओहो, कृष्ण जन्माष्टमी त झन् मान्नै भएन । हिन्दु पौराणीक ग्रन्थ अनुसार कृष्णको जन्म राती १२ बजे भएको मानिन्छ । भक्तजनहरु मध्यरातसम्म जागै बसेर कृष्णको जन्मको प्रतिक्षा र भजन किर्तन गर्ने गर्छन् । सायद अब गृह मन्त्रालयले भगवान कृष्णलाई नै सोझै पत्र लेखेर कृष्ण जन्माष्टमीमा सात बजे अगावै अवतार लिन भन्ने हो की ? कृष्ण मध्यरातमा जन्मिदा कलीयुगका कंशहरुले शान्ति सुरक्षा खलल गर्न सक्ने भएकाले कृष्णले पनि सुर्य अस्ताउनुअगावै जन्मीएर शान्ति सुरक्षा कायम राखीदिनुपर्ने हो की ?
हिन्दुहरुको महान पर्व बडा दशैं झन मान्नै भएन । यसको त नाम नै नवरात्र । रातभरी जाग्राम बस्ने पर्व । रातभरी जागै बसेर देवीको आराधना गर्ने पर्व । यसरी नवरात्र मनाउँदा कलीयुगका महिशासुरहरुले समाजको शान्ति सुरक्षा खलबल्याउनसक्छन्, त्यसैले नवरात्रको नाम फेरेर ‘नव दिन’ राख्ने हो की गृहले ? कि कसो ?
मेरो कुरा सुनेर केटाहरु हाँसे । तर कुरो गम्भीर थियो । भोकलीस्ट भाइले अन्त्यमा एउटा गहकिलो कुरा भने, ‘ब्रो, रात हाम्रो लागि हैन । यो देशमा रातिको समयमा हामी देउसी भैलो खेल्नेलाई छुट छैन । यो देशमा राति रेस्टुरेन्टमा रमझम गर्नेहरुलाई छुट छैन । यो देशमा रातिमा भोज र जात्रामा सहभागी भएर फर्कन सहज छैन । बस एउटा बर्ग छ, जसलाई रातिमा जे पनि गर्न छुट छ ब्रंो…’
मैले सोधें, ‘यो देशमा अहिले राति–राति कसलाई जे गर्न पनि छुट छ भाई ?’
भोकलीस्ट भाईले भने, ‘तस्कर र कालो बजारीयालाई ब्रो । हाम्रो नेपालमा रात भनेको तस्करहरुको हो । कालो बजारीयाहरुको हो । रातमा हामीलाई निषेध गरिन्छ, तर तस्करहरुको लाइन खुल्छ ब्रो ।’
भोकलीस्ट भाईको कुरा सोह«ै आना सही लाग्यो । अहिले रात भनेको तस्करहरुकै हो ।
ठिक त्यसैबेला लिड गितारिस्ट भाइले मेरै गितको धुन निकाले । अनी म गाउन थालें । भाइहरु पनि सँगसँगै गाउन थाले । सरकार र राजनीतिको गन्दा खेलभन्दा पर हामी केहीबेर सँगीतको स्निग्ध, निश्छल, निराकार र निर्वेद रसमा पौडियौं । त्यसले केही विरेचन ग¥यो ।