Wednesday, November 21, 2012

चड्कनले बढाउँछ रोग


बालबालिकालाई सुधार्ने नाममा गाली गर्नु, चड्कन चिउरा लगाउनुले अभिभावकलाई क्षणिक आत्मसन्तुष्टि दिए पनि केटाकेटीका लागि भने दीर्घकालीन असर गर्छ । उनीहरूलाई नराम्रा रोगहरूको फन्दामा पार्न सक्छ ।
प्लाइमाउथ युनिभर्सिटीका अनुसन्धाताहरूले २ सय ५० स्वस्थ वयस्कमा अध्ययन गरेपछि यो निष्कर्ष सार्वजनिक गरेका हुन् । उक्त युनिभर्सिटीको स्कुल अफ साइकोलोजीका प्राध्यापक माइकल हल्यान्डले अध्ययनको नेतृत्व गरेका थिए । त्यस अनुसार, बाल्यकालमा गाली, कुटपिट, चड्कन खाएका बालबालिकालाई भविष्यमा दम, मुटु रोग वा क्यान्सर हुने जोखिम बढी हुन्छ । बालबालिकालाई थप्पड हान्दा वा गाली गर्दा उनीहरूमा तनावको स्तर बढ्छ । तनाव बढ्दा जैविक परिवर्तन हुन थाल्छ, जसले गर्दा क्यान्सर, दम, मुटु रोग जस्ता स्वास्थ्य सम्बन्धी गम्भीर समस्याको आशंका हुन्छ ।
अध्ययनकर्ताहरूले २ सय ५० स्वस्थ वयस्कहरूसँग उनीहरूको बाल्यकालबारे प्रश्न गरेका थिए र उनीहरूको जवाफको तुलना मुटु रोग भएका १ सय ५० वयस्कसँग, क्यान्सर भएका १ सय ५० वयस्कसँग र दम भएका १ सय ५० वयस्कसँग गरेका थिए । उनीहरूलाई बाल्यकालमा कुटपिट भागिदार बनेका थिए भने कति पटक बनेका थिए, अनुमानित कति पटक गाली खाएका थिए जस्ता प्रश्न सोधिएका थिए । अध्ययन दलका नेतृत्वकर्ता प्रा. हल्यान्ड भन्छन्, 'जीवनको प्रारम्भिक अवस्थामा कुनै पनि प्रकारको तनाव, आघात र दुव्र्यवहारले दुरगामी असर पार्छ र पछि गम्भीर रोग निम्त्याउन सक्छ ।'
समय नपुगी जन्म र सिकाइ  
उमेर वृद्घ िसँगसँगै हुने स्मरण र सिकाइ समस्याको सम्बन्ध समय अगावैको जन्मसँग हुन्छ । जर्नल अफ न्युरो साइन्समा प्रकाशित यो अध्ययन अस्टे्रलियाका अनुसन्धाताले गरेका हुन् । यो अध्ययन मस्तिष्क सम्बन्धी समस्याले ग्रस्त भएकाहरूमा गरिएको हो ।
अध्ययनकर्ताहरूका अनुसार, ३७ साताको समयभन्दा अगावै जन्म भएकाहरूलाई 'प्लास्टिसिटी' को समस्या हुन्छ । गर्भावस्थामा बीसौं सातादेखि सैतीसौं साताबीच मस्तिष्कको विकास तीव्र गतिले हुन्छ । समय अगावै जन्म भएमा मस्तिष्कको सुक्ष्म संरचना, स्नायुको सम्पर्क र स्नायु रसायनमा परिवर्तन हुन्छ । व्यायाम र तनाव उत्पन्न गर्ने 'कार्टिसोल' हार्मोनको स्तर वृद्धिसहित मस्तिष्कको कार्यप्रणालीमा सुधार हुन सक्छ, जसले सिकाइ क्षमता बढाउन सहयोग मिल्छ । आम व्यक्तिमा कार्टिसोलमा वृद्घकिो सम्बन्ध तनावसँग हुने मान्यता छ, तर चौबीस घन्टाकै अवधिमा पनि कार्टिसोलको मात्रा कम वा बढी भइरहन्छ ।
(By: ekantipur.com)

दुर्घटनामा ज्यान गुमाएका गङ्गारामका छोराछोरी पढाउने जिम्मा माओवादीले लियो

गोलबजार (सिरहा) - शिक्षामन्त्री दीनानाथ शर्मालाई स्वागत गरेर फर्किने क्रममा दुर्घटनामा ज्यान गुमाउन पुगेका गङ्गारामका छोराछोरीलाई पढाउने जिम्मा एमाओवादी सिरहाले लिएको छ। 
पिप्रा प्रपी-४ घर भएका मृतक माओवादी कार्यकर्ता गङ्गारामका दुई छोरा, एक छोरी र श्रीमती छन्। माओवादीका मिथिला मधेस राज्य संयोजक तथा केन्द्रीय पोलिटब्यूरो सदस्य विश्वनाथ साह, प्रधानमन्त्रीका प्रेस सल्लाहकारसमेत रहेका केन्द्रीय सदस्य रामरिझन यादवलगायतका नेताहरु मृतक गङ्गारामको घरमै पुगेर उनको छोराछोरीलाई पढाउने प्रतिबद्धता जनाएका हुन्।
मृतक गङ्गारामको किरियाकर्म खर्चका लागि तत्काल रु १० हजार सहयोग स्वरुप प्रदान गरेको एमाओवादी सिरहाका सहसेक्रेटरी जिवछ यादवले जानकारी दिए । उनले भने, 'हामीले सक्दो सहयोग निरन्तर गरिरहने छौँ।'
गङ्गारामको गत आइतबार सिरहा चौहर्वा सडकखण्डको नहरामा मोटरसाइकल दुर्घटनामा मृत्यु भएको थियो। शिक्षामन्त्री दीनानाथ शर्मालाई बन्दीपुरमा स्वागत गरेर फर्किने क्रममा उनी दुर्घटनामा परेका थिए। रासस

दश महिनादेखि कुवेतको अस्पतालमा दीलमाया


कुवेत सीटी । सुन्दर भबिष्यको कल्पना गर्दै घरेलु महिला कामदारको रुपमा खाडी मुलुक कुबेत पुगेकी नुवाकोट जिल्ला दियाले १ कि दीलमाया मोक्तान नेपाल फर्कने आशामा अस्पतालको शैयामा आसु बगाउदैँ दिन रात काटिरहेकी छिन् । कुबेत आएकै भोलिपल्ट घर मालिकले कुटेर बेहोस भएकी दिलमायको बिगत १० महिनादेखि कुबेतस्थित फर्वानिया अस्पातलको वार्ड नं-२० को बेड नं-१४मा उपचार भईरहेको छ ।
फर्वानिया अस्पतालमा नेपाली चेली उपचार गराईरहेको खबर पाएर बुझ्न पुगेका नेपाल तामाङ घेदुङ कुवेतका अध्यक्ष राम लामा, उपाध्यक्ष डुन्डुप तामाङ, अमृत तामाङ र बबिता तामाङसंगको कुराकानीमा आफु २०६८ साल माघ १ गते घरसल्लाहमा रोजगारीको शिलसिलामा एजेन्ट दिनेश परियारमार्फत कुबेत आएको मोक्तानले जानकारी दिइन् । कुवेतीको घरमा पुगेकै भोलिपल्ट कुवेती मालिकले बलात्कार गर्न खोजेको र आफुले नमानेपछि ढोका थुनेर मरासन्न हुनेगरी पिटेको मोक्तानले बताइन् । दिलमायालाई बेहोस अवस्थामा अस्पातल पुर्याइएको थियो भने तीन दिनपछि मात्र उनले आफु अस्पातलमा रहेको थाहा पाएकी थिइन । श्रीमान रामबहादुर थिङ ३जना छोरीहरु र १ छोरा आफ्नो प्रतिक्षामा बाटो हेरेर बसेका होलान भन्दै दीलमायाले जसरी घरपरिवारसँग पुर्याइदिन घेदुङ्ग प्रतिनिधिसंग बिलौना गरेकी थिइन् ।
दुताबासले मुद्दा लडेपनि मालिक विरुद्द दिलमायाको आरोप पुस्टि नभएकोले कुनै क्षतिपूर्ति नपाउने अबस्था रहेको घेदुङका अध्यक्ष राम लामाले अनलालाइनखबरलाई बताए । हाल खतरामुक्त रहेकी उनलाई नेपाली दुताबास कुवेतको पहलमा छिट्टै डिपोर्टेशनमार्फत नेपाल फर्काउने तयारी भईरहेको थाहा भएको छ । नेपाल तामाङ घेदुङ कुवेतले नेपाली दुताबास, एनआरएन कुबेत लगायत नेपाली संघ-संस्था कुवेतबासी नेपालीहरुलाई दिलमाया मोक्तानको सहयोगका लागि अनुरोध गरेको छ ।
(By: onlineknabar.com)

किन गर्ने सरकार परिवर्तन ?

मानौँ एमाले–कांग्रेसको आग्रहमा डा. बाबुराम भट्टराईले सरकार छोड्लान् । त्यसपछि के एमाले–कांग्रेसले सहमतीको सरकार बनाउन सक्छ ? के एमाले–कांग्रेसले जनवादी संविधानको लागि वातावरण सिर्जना गर्छन् ? के एमाले–कांग्रेसले राजनीतिक स्थिरता बनाउन सक्छन ? २०४६ सालको जनआन्दोलन पछिदेखि अहिलेसम्मका एमाले–कांग्रेसको नाङ्गो नाच र काला कर्तुतहरु नेपाली जनताहरुले देख्दै, झेल्दै र भोग्दै आएका छैनन् र ? अब फेरी जनताले के आधारमा यिनीहरुलाई विश्वास गर्ने ? किन विश्वास गर्ने ? विश्वास गर्नको लागि यिनीहरुले गरेका राम्रा कामहरु के छन् ? भट्टराई सरकारपछि बन्ने एमाले–कांग्रेसको सरकारको विरुद्ध फेरी जनताले आन्दोलन गर्ने ? अनी फेरी सरकार परिवर्तनको नारा घन्काउने ? के अहिले देश र जनताले खोजेको यही हो ? देश र जनताको भविष्यलाई लत्याएर किन मरिहत्ते गरेका सरकार र सत्ताको लागि एमाले–कांग्रेस ? सहमती र सहकार्यबाट यहि सरकारलाई समर्थन गरी राजनीतिक किचलोलाई किन हल गर्न चाँहदैनन् उनीहरु ? यदी यो सरकारलाई चाम्रो भन्ने हो भने माकुनेको सरकार पनि जनताले देखेको र भोगेकै हो ।

अब यस्तो गल्ती कहिल्यै गर्दिनँ : प्रकाश

‘जीवन भनेको नै सङ्घर्ष, उतार–चढाव, घुम्ती गोरेटो हो, यसमा विभिन्न बाधा–अडचन र मोडहरू आउनु त स्वाभाविक नै हो । जीवनको जुन लक्ष्य र गोरेटोमा म हिँडिरहेको थिएँ र छु, गोरेटो त्यही हो । खालि यत्ति हो कि कहिलेकाहीँ काँडाहरू आउँदारहेछन् र त्यो गोरेटो भत्किएजस्तो देखिँदोरहेछ । निश्चय नै अहिले मेरो निकै व्यक्तिगत जीवनमाथि भएको घटनालाई बढाइचढाइ व्याख्या गरेर भत्किएजस्तो देखाइएको छ, तर यो घटनापछि मलाई झन् सशक्त रूपमा अघि बढ्न शिक्षा मिलेको छ ।

० निजी खुसीका लागि तपाईंले सार्वजनिक जीवन त्याग्न चाहनुभएको हो ?
– त्यस्तो होइन । किनकि, निजी जीवनमा खुसी नभई कुनै पनि व्यक्तिले सफलतातिर अग्रसरता पाउँछ जस्तो लाग्दैन । कुनै उच्च नेता वा व्यक्ति वा उनका परिवारको निजी जीवन हुन्न भन्नु नै गलत हो । सबैको निजी जीवन हुन्छ, फरक यति हो कि उनको जिम्मेवारी समाज र राष्ट्रप्रति बढी हुन्छ । मान्छेबाट नै गल्ती हुने हो तर त्यो गल्तीबाट डराएर झन् अर्को गल्ती गर्ने र भाग्नेभन्दा पनि त्यो गल्तीमा आत्मालोचित हुँदै त्यसबाट उचित पाठ लिएर सही बाटोमा अघि बढ्नु नै उपयुक्त हुन्छ र म पनि त्यही बाटोमा अघि बढिरहेको छु । मैले निजी खुसीका लागि सार्वजनिक जीवन त्यागेको भन्ने मलाई लाग्दैन ।
० तपार्इंको वैवाहिक जीवनलाई लिएर धेरैले खिल्ली उडाउने गरेका छन्, तर त्यसो हुनुमा तपाईंका आफ्नै कुराहरू होलान् नि, के छ त्यस्तो ?
– नेपाली समाजमा अति रुढीवादी र पुरातनवादीहरूको बाहुल्य रहेको जस्तो मलाई लागेको छ । वास्तवमा मैले पहिल्यै भनेजस्तो मेरो जीवनमा उतारचढाव आएको जस्तो देखिएको छ । त्यो उतारचढावलाई नेपालमा धेरैले धेरै किसिमले अतिरञ्जित तरिकाले व्याख्या गरेका छन् र मेरोबारे अनेकौँ अनेक चर्चा–परिचर्चा गरेका छन् । कहिले प्रकाश यस्तो कहिले
प्रकाश त्यस्तो, यस्तो सुन्दा मलाई सारै दुःख र पीडाबोध हुन्छ । जसमा मेरो वैवाहिक जीवन पनि पर्छ, जुन कुरा हरेकको जीवनमा पर्न सक्ने कुरा हो । यस विषयमा यति भन्न चाहन्छु कि मैले कुनै रहर, चाहना वा इच्छाले यो गरेको छैन र यो मेरो नितान्त व्यक्तिगत कुरा हो । माओवादी त्यसमा पनि अध्यक्षलाई कतिबेला हानौँ भनेर बसेका स्यालहरूका लागि मात्र यो मुद्दा बनेको हो र त्यहीअनुसार यसलाई खिल्ली उडाउने काम गरिएको मात्र हो ।
० तपाईंकी पत्नी सिर्जनासँग त मागीविवाह नै भएको हो क्यारे, उहाँलाई छोडेर किन निस्कनुभयो त ?
– हो, सिर्जनासँग मेरो मागीविवाह भएको हो । मम्मी र मामाहरूले खोज्नुभएको रहेछ । वास्तवमा सिर्जनासँग विवाह भएर पनि हामीले त्यो वैवाहिक जीवनलाई सुमधुर बनाउन सकेनौँ । यसमा मेरो पनि गल्ती हुन सक्छ र सिर्जनाको पनि । जहाँसम्म म निस्कने कुरा छ, अति तनावमा भएको बेला मैले यहीँनेरको प्रक्रियामा गल्ती गरेँ । सिर्जनाको मलाई छोड्ने चाहना र माग हुँदाहुँदै मैले केही समय धैर्य गर्न नसकी यो प्रक्रिया अपनाएर गल्ती गरेँ ।
० अचानक विना मगर तपाईंको निकट हुनुभएछ, यस्तो निर्णय गर्नुपर्ने अवस्था किन आयो नि ?
– सगरमाथा चढेर फर्केपछि त्यहाँ चढ्नेमध्येका केही साथीले तिर्नुपर्ने ४० लाखको माग गर्नुभएको थियो र सगरमाथामा हुँदा पनि पार्टी र नेतृत्वप्रति अतिरञ्जित तरिकाले उहाँहरूको अभिव्यक्तिको खण्डन गर्थें । त्यहाँदेखि नै उहाँहरूले प्रकाशलाई कसरी हान्ने भनेर योजना बनाउन थालेका रहेछन् । बेसक्याम्पमा हुँदा मलाई प्रचण्डको छोरा भनेर कतिपयले विशेष महत्व दिन्थे तर उहाँहरूलाई आफूहरू सीसीएम र पीएलएका कमाण्डर भएर पनि वास्ता गरेनन् भन्ने लागेको रहेछ । त्यही पीडाबाट ग्रसित भएर योजनाबद्ध किसिमले एउटा साप्ताहिक पत्रिकालाई साथीहरूले गलत रिपोर्ट दिनुभयो । उहाँहरूले यो सोच्नुभएन कि यो रिपोर्टले कति गर्छ भन्ने । यति सोचेको भए साप्ताहिक पत्रिकाभन्दा अध्यक्ष प्यारो लागेर उहाँलाई कुरा राख्न सक्नुपथ्र्यो । यही रिपोर्टका कारण सिर्जनाले ‘बाबुको कसम म अब आउँदिनँ, सम्बन्ध छैन’ भनेर गएपछि म त अप्ठ्यारोमा परिहालेँ । विनाजीकोमा पनि यस्तै भएको रहेछ । यस घटनाले हामी नजिक भएका हौँ ।
० अहिले तपाईं कहाँ हुनुहुन्छ ? के गर्दै हुनुहुन्छ ?
– अहिले म इन्डियामा छु र केही पुस्तक किनेको छु । प्रायः समय त्यसलाई अध्ययन गर्दै बिताउँछु । कोठामा इन्टरनेट लगाएको छु, पत्रपत्रिका हेर्न सामाजिक सञ्जालमा कुरा गर्न सजिलो भएको छ । यसैगरी बितिरहेछ ।
० भविष्यमा के गर्ने विचार छ नि ?
– म राजनीतिभन्दा बाहिर वा पृथक कदापि हुन सक्दिनँ ।
० तपार्इं सानैदेखि राजनीतिक माहोलमा हुर्किनुभएको मान्छे, अहिले एक्कासि त्यो माहोलबाट अलग हुनुपर्दा कस्तो महसुस भइरहेको छ ?
– अहिले बाहिरबाट हेर्दा आफूलाई पृथक पाउने गरेको छु । केही गर्न सक्दैन प्रकाशले भन्थे तर मैले केही समय काम पनि गरेँ । त्यो अनुभव पनि बटुलेँ जसको मलाई छेउटुप्पो थाहा थिएन । तैपनि व्यक्तिगत रूपमा राजनीतिभन्दा बाहिर देखिए पनि मेरो मन–मस्तिष्कभित्र राजनीति चौबीसै घण्टा घुमिरहेको छ र म आफूलाई राजनीतिभन्दा बाहिर छुजस्तो लागेको पनि छैन । म राजनीतिक किताबहरू अध्ययन गर्छु अन्य किताबहरू पनि अध्ययन गरिरहेको छु, मलाई त्यस्तो लाग्दैन ।
० नेपाल कहिले फर्कनुहुन्छ त ?
– सबै चिजको एउटा समय हुन्छ । यो समयमा मैले धेरै चिजहरूको ज्ञान हासिल गरेको छु । सम्भवतः छिट्टै आउनेछु ।
० तपाईंलाई सबैभन्दा बढी माया कसको लाग्छ ?
– म माओवादी पार्टीको सदस्य भएको हुँदा सबैभन्दा बढी माया आफ्नो पार्टी र अध्यक्षको लाग्छ । म कसैको छोरा भएको हुँदा आमाबुबाको नै बढी माया लाग्ने गर्दछ ।
० सबैभन्दा बढी आदर÷सम्मान कसलाई गर्नुहुन्छ नि ?
– म प्रायः आफूभन्दा ठूलालाई आदर गर्दछु, त्यसमा पनि हाम्रो पार्टीका अध्यक्ष क. प्रचण्ड मेरो आदर्श हुनुहुन्छ । उहाँ नै सबैभन्दा मेरो आदर र सम्मानको पात्र हुनुहुन्छ ।
० साथीभाइ या आफन्तसँग सम्पर्क छ कि छैन ?
– निश्चय नै म फेसबुक चलाउँछु, मलाई न्यास्रो लाग्छ । साथीभाइहरू, आफन्तहरूसँग कुराकानी हुन्छ । मेरो दुःखपीडा पोख्छु, सम्झाउनुहुन्छ, नेपाल आउनु भन्नुहुन्छ । सबैमा हुने कुरा हो भन्नुहुन्छ । सान्त्वना पाउँछु, सुझाव पाउछु, खुसी लाग्छ ।
० परिवारसँग सम्पर्क कसरी भइरहेको छ नि ?
– जति गल्ती गरे पनि आमाको मन भनेको आमाकै हुँदोरहेछ । म मेरी आमासँगको सम्पर्कभन्दा बाहिर छैन ।
० जीवनको सानै उमेरमा धेरै कुरा भोग्नुभो, साथीभाइ आफन्तजस्ता कुराहरूले जीवनमा के अर्थ राख्दो रहेछ ?
– समय र परिस्थितिले सबै चिज उब्जाउँदो रहेछ । मेरो जीवनमा त्यस्तै परिस्थिति आइप¥यो । साथीभाइ, आफन्त जीवनमा नभइनहुने जीवनको परिपूरक वस्तु हुन् जुन प्रत्यक्ष रूपमा अहिले मिस गरिरहेको छु ।
० खासमा जीवन आफैंमा के रहेछ ?
– पहिला नै भनिसकेँ, जीवन एक सङ्घर्ष हो र उतारचढाव र घुम्तीहरूले भरिएको एउटा सुन्दर गोरेटो हो ।
० तपार्इं दीनदशामा विश्वास गर्नुहुन्छ ?
– म दीनदशा, भगवान् इत्यादि धर्मकर्मप्रति विश्वास गर्दिनँ । मलाई मेरो पार्टी र परिवारले यही सिकायो । तर, म अरू सबै धर्मको सम्मान गर्छु ।
० यो वर्ष एक मात्र छोराले घर छोडेर हिँड्यो, यसैपालि बाबुले नेतृत्व गरेको पार्टी फुट्यो, सार्वजनिक स्थलमा झापड आइप¥यो, प्रचण्ड–परिवारलाई के भएको हो यो ?
– बुबाले धेरै बचाउन खोज्दा पनि पार्टी फुट्यो । तर, त्योभन्दा दुःख फुटेर जाने नेताहरूले बुबामाथि भए–नभएको झुटा आरोप लगाए । जो अहोरात्र राष्ट्र, पार्टी, जनता भनेर सबै आफ्नो व्यक्तिगत कुरा त्यागेर लाग्नुभयो, उहाँमाथि आरोप लगाउँदा दुःख लाग्छ । अब भाग नमिलेर लोभीपापी गए भन्दैमा त्यति दुःख लाग्ने कुरा आउँदैन । अर्को मैले छोडर हिँडेको देखिए पनि पछि अध्यक्ष क. प्रचण्डको सदा सहयोगमै जीवन फाल्नेछु, यो मेरो प्रतिज्ञा हो । तेस्रो, मङ्सिर १ गते बुबामाथि जे भयो त्यसबाट म साह्रै दुःखी छु र रोइरहेको छु । मलाई पीडा भएको छ, उहाँसामु उपस्थित भएर रुनसमेत पाइनँ । त्यो षडयन्त्रकारी योजनाकारीहरूसँग मुकाबिला गर्न सकिरहेको छैन । त्यत्रो जनयुद्धकालभरि साथ हुने म अहिले यो अवस्थामा साथ नहुँदा साह्रै दुःख लागेको छ । छिट्टै नै कसको योजनामा बुबामाथि हात हालियो यो बाहिर आउनेछ र जनताले ती योजनाकारलाई नाङ्गेझार पार्नेछन् भन्ने लागेको छ ।
० तपाईं परिवारको एउटै छोरा, हाम्रोजस्तो पितृसत्तात्मक समाजमा छोराको महत्व ठूलो छ, बाबु–आमाप्रतिको कर्तव्य कसरी निर्वाह गर्नुहुन्छ ?
– म परिवारको एउटै छोरा भए पनि तीन दिदीहरू हुनुहुन्छ । मेरो परिवार राजनीतिक परिवार मात्र नभएर उत्पीडित वर्गीय, जातीय, लिङ्गीय र समुदायको मुक्तिको खातिर क्रान्तिको नेतृत्व गर्ने परिवार भएको हुँदा छोरा र छोरीमा समान व्यवहार र समान अपेक्षा हुनु स्वाभाविक हो । यसो भनिरहँदा परिवारको अपेक्षा ममाथि कम छ भन्न खोजेकोचाहिँ बिलकुल होइन । म परिवारको एउटा सन्तान भएको हुँदा बुबाआमाप्रतिको कर्तव्य निर्वाह गर्न मैले आफूलाई जुन जनताको निम्ति सर्वहारावर्गको मुक्तिको निम्ति समर्पण हुनु नै मेरो पारिवारिक कर्तव्य हो जस्तो लाग्छ र म त्यही गर्छु ।
० तपाईं एउटा बच्चाको बाबु पनि होइन र ? उसप्रतिको कर्तव्य ?
– म एउटा बच्चाको बाबु पनि हो र बाबुको जति कर्तव्य बच्चाप्रति हुनुपर्छ मबाट हुनेछ ।
० प्रचण्डजस्ता नेताको छोरा हुनुमा तपाईंलाई गर्व त होला, तर त्यही कारणले बढी दुःख पनि झेल्नुप¥यो जस्तो लाग्दैन ?
– मलाई दुःखभन्दा पनि गर्व नै बढी लाग्दछ । त्यस्ता जो पार्टी र अध्यक्षलाई नङ्ग्याउन र भलो देख्न नचाहने, देश विकास भएको देख्न नचाहनेले ममाथि लगाउने आरोप हो जो इतिहासकालदेखि त्यस्ता केही व्यक्तिले जरा गाडेर बसेका छन् । सही बाटोमा हिँड्नु काग कराउँदै जान्छ पिना सुक्दै जान्छ ।
० परदेशमा रहँदा सबैभन्दा बढी घरको सम्झना कस्तो बेलामा आउँदोरहेछ ?
– आफ्नो घरपरिवारको सम्झना नआउने शायद कुनै त्यस्तो पल होला, झन् यो अवस्थामा । हरेक अवस्थामा आउँदोरहेछ, मङ्सिर १ को घटनाले कतिबेला बुबालाई भेटुँ भएको छ ।
० जिन्दगीमा सबैभन्दा बढी दुःख र खुसी तपाईंलाई के कुरामा छ ?
– जिन्दगीमा अनेकौँ यस्ता दुःख र खुसीका घडीहरू आए । तैपनि मलाई साह्रै दुःख लागेको जो व्यक्ति निस्वार्थ भावले आमूल परिवर्तनमा लागेको छ जसको सफल नेतृत्वले गर्दा देशमा गणतन्त्र आएको छ त्यसमाथि यस्तो व्यवहार देख्दा दुःख लाग्छ । जब म पार्टी र जनताको सेवामा पुनः समर्पित हुनेछु त्यो बेला मेरो जीवनको सबैभन्दा खुसीको पल हुनेछ ।
० अन्त्यमा, तपाईंका विषयमा रुचि राख्नेहरूका लागि के भन्नुहुन्छ ?
– अहिले मैले चालेको कदम र मेरो अवस्थाले धेरै कमरेड, मित्र र जनतालाई निराश तुल्याएको ठानेको छु । जुन अवस्थामा अध्यक्षको सहयोग गर्नुपर्ने हो त्यही बेला मेरो सहयोग नरहनुको कारण पनि मलाई दुःख लागेको छ । गल्तीबाट ठूलो पाठ अहिले सिकिसकेको छु । अब आइन्दा यस्तो हुने छैन र तपाईंहरू सबैलाई दुःखी तुल्याउने छैन भन्ने अठोट पनि सबैसामु राख्न चाहन्छु । आफूलाई रूपान्तरण गर्दै सर्वहारा वर्गीय आन्दोलनमा नयाँ सिराबाट आफ्नो भूमिका निर्वाह पनि गर्ने नै छु ।
(By: Nepal24Hours.com)