Saturday, March 27, 2010

काँग्रेस कार्यकर्ताद्वारा महिलामाथी कुट्पीट

रुकुम, १४ चैत । नेपाली काँग्रेसका पुरुष कार्यकर्ताहरुको समुहले एक स्थानिय महिलालाई कुटपिट गरेका छन् । सार्वजनिक ठाउँमा निजि घर बनाएको विषयमा छलफल भइरहेको वेला शुक्रबार बिहान रुकुमको काँडामा कांग्रेसका कार्यकर्ताले अखिल नेपाल महिला संघ क्रान्तिकारीकी जिल्ला सदस्य माया छिनाल र गाउँ इकाई समितिकी सदस्य सरिता छिनाललाई आक्रमण गरी घाइते बनाएका छन् । 

रुकुम जिल्लाको काँडा गाविस वडा नं.४ सेरावाङ्ग गाउँको सार्वजनिक चौतारीमा निजि घर बनाएको विषयमा उत्पन्न भएको विवाद अन्त्य गर्न छलफल भइरहेको बेला नेपाली काँग्रेसका कार्यकर्ता भक्तिराम बुढा, नारायण बुढा र शान्तबहादुर बुढाले आक्रमण गरी घाइते बनाएका हुन् ।

विवाद अन्त्यका लागि भइरहेको छलफलमै आक्रमण गरेपछि माया छिनाल र सरिता छिनालले प्रतिकार गर्दा दोहोरो झडप पछि उनीहरु पनि सामान्य घाइते भएको बताइएको छ । घाइते महिलाहरुमध्ये माया छिनालको आँखामा गहिरो चोट लागेको छ । घाइते माया र सरितालाई जिल्ला अस्पताल सल्ले ल्याईएको छ ।

हड्ताल गर्ने डाक्टरलाई कारवाही गरिने


काठमाडौ, चैत्र १४ - त्रिवि शिक्षण अस्पतालले आन्दोलनका नाममा स्वास्थ्यजस्तो सम्वेदनशील क्षेत्रमा खेलवाड गर्न खोज्ने प्राध्यापक, चिकित्सक, विद्यार्थी तथा कर्मचारी जो कोहीलाई आइतबारदेखि कारबाही गर्ने चेतावनी दिएको छ ।
हालै लिएको स्नातकोत्तर तहको प्रवेश परीक्षामा अनियमितता भएको आरोपसहित दोषीलाई कारबाही गर्नुपर्ने र परीक्षा पुनः लिइनुपर्ने माग गर्दै आवासीय प्राध्यापक, चिकित्सक, र विद्याथ्र्ाीहरु आन्दोलनमा उत्रिंदा १५ दिनदेखि आˆनो सेवा ठप्प भएको सन्दर्भमा अस्पताल प्रशासनले यस्तो चेतावनी दिएको हो ।
जापान सरकारको सहयोगमा तीनदशकअघि स्थापना भएको मुलुकको पहिलो र ठूलो शिक्षण अस्पताल १५ दिन बन्द हुंदा सयौं बिरामी अलपत्र परेका छन् ।
अस्पताल बन्दका कारण करिब २५ हजार बिरामी उपचार सेवाबाट वञ्चित भइसकेका छन्भने दैनिक ५० भन्दा बढी जटिल र २० भन्दा बढी सामान्य प्रकृतिका शल्यक्रियासमेत अवरुद्ध हुन पुगेको छ ।   
सो अस्पताल बन्द हुंदा अहिले वीर अस्पतालमा बिरामीको चाप २० प्रतिशत वृद्धि भई आफूहरूलाई भ्याइनभ्याई भएको डा.विष्णु पोखरेलले जानकारी दिए ।
यसैगरी दैनिक करिब रु. १३ लाख आम्दानी गरिरहेको अस्पतालले आन्दोलनका कारण अहिलेसम्म रु. डेढ करोड गुमाइसकेको शिक्षण अस्पताल प्रशासनले जनाएको छ ।
प्रवेश परीक्षासम्बन्धी विवाद समाधान गरी अस्पतालको सेवा सुचारु गर्ने उद्देश्यले त्रिवि शिक्षण सङ्कायका डीन, सहायक डीन, क्याम्पस प्रमुख, आन्दोलनरत विद्यार्थी, प्राध्यापक र चिकित्सकका प्रतिनिधिबीच विभिन्न चरणको जारी वार्ता अहिले शिक्षा मन्त्रालय हुँदै प्रधानमन्त्री तहसम्म पुगेको छ ।
आन्दोलनरत पक्षको मागबमोजिम स्नातकोत्तर तहको प्रवेश परीक्षा रद्द गरिसकेको, छानबिन आयोगको प्रतिवेदनबमोजिम आरोपित डीन् निर्दोष देखिएको, स्थानीय बासिन्दाले अस्पतालको सेवा खुलाउन दबाब दिइरहेको, अधिकांश विद्यार्थी तथा चिकित्सक काममा र्फकन चाहिरहेको र क्याम्पस स्व्ातन्त्र विद्यार्थी यूनियन सरकारी पक्षबाट आयोग गठन गरी दोषीलाई हदैसम्मको कारबाही गरी यस किसिमको प्रवृत्ति सदैव अन्त्य गरिनुपर्ने पक्षमा अडिग रहेको अवस्था छ ।

चिनले ल्हासा हुँदै नेपालसम्म रेलमार्ग जोड्ने

हङकङ, चैत १४ - चीनले तिब्बतको राजधानी ल्हासाबाट नेपालको सिमानासम्म रेल लाईन विस्तार गर्ने भएको छ। रक्षामन्त्री विद्या भण्डारीसँग शुक्रबार बेइजिङमा भएको भेटमा चिनियाँ कम्युनिष्ट पार्टी स्थाई समितिका पोलिटब्यूरो सदस्य जोउ योङकाङले उक्त जानकारी दिएका हुन्।'योङकाङले तिब्बतको राजधानीबाट नेपालको सिमासम्म रेल पुर्‍याउने बचन दिएका छन्,' बेइजिङमा मन्त्री भण्डारीसँगै रहेका प्रेस सल्लाहकार सुवास देवकोटाले भने। केही वर्षदेखि द्विपक्षीय छलफलमा यो कुरा उठ्दै आए पनि विस्तृत योजना बनेको छैन।
ग्रेट हल अफ दि पीपुलमा भएको ४५ मिनेट लामो भेटमा ५५ वर्ष पुरानो नेपाल-चीन सम्बन्धलाई अझै सुदृढ बनाउनेबारे छलफल भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ। 'राष्ट्रिय स्वाधिनता, सार्वभौमिकता तथा अखण्डताको रक्षाका लागि नेपालको प्रयासलाई चीन समर्थन गर्दछ र नेपालले छनोट गर्ने विकासको मोडलको पनि सम्मान गर्दछ", वरिष्ठ चिनियाँ नेता योङकाङको भनाई उद्धृत गर्दै सिन्ह्वाले लेखेको छ।
कम्युनिष्ट नेता योङकाङले नेपालसँग भ्रमण आदान-प्रदान र सहयोग बढाउने बताउँदै १४ सय किलोमिटर लामो नेपाल-तिब्बत सिमा क्षेत्रको सुरक्षाका लागि सहकार्यमा जोड दिएका छन्। उनले तिब्बत विरोधी गतिविधि नियन्त्रण गरेकोमा नेपालको प्रशंशा पनि गरे।
भेटमा मन्त्री भण्डारीले निस्वार्थ सहयोग गर्ने चीनको तरिकालाई नेपाली जनताले सम्मान गरेको बताइन। चीन भ्रमणमा रहेकी रक्षामन्त्री भण्डारीले बिहिबार चिनियाँ रक्षामन्त्री जनरल लियाङ ग्वाङलिएसँग भेट गरेकी थिइन।

दक्षिणपन्थी सल्बलाहट


काठमाडौ, चैत्र १४ -  रामनवमी अवसर पारी राष्ट्रपति रामवरण यादवलाई पछ्याउँदै जनकपुर पुगेका पूर्वराजा ज्ञानेन्द्र शाहले यस्तो अभिव्यक्ति सार्वजनिक गरे जसले नेपाली राजनीतिमा तरंग ल्यायो । नल्याओस् पनि किन ?
धार्मिक आडमा ज्ञानेन्द्रले राजनीतिक तीर चलाइदिए 'राजसंस्था समाप्त नभइसकेको' दाबी गरेर ।
राजतन्त्रको अवसानपछि धेरथोर नै सही नेपाली राजनीतिको आन्तरिक शक्ति केन्द्र बनेका थिए, कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला । उनको निधनसँगै त्यो शक्ति केन्द्रको अवसान भयो, ठीक त्यही बेलामा पूर्वराजा ज्ञानेन्द्र राजनीतिक दृश्यमा देखिन खोजे ।
'फेरि राजा हुनेभन्दा पनि धर्मको रूपमा मोर्चाबन्दी गरेर दक्षिणपन्थी धारको नेता बन्ने चाहना उनमा देखिएको छ,' राजनीतिक विश्लेषक सीके लालले भने, 'तर पटकपटक फेल भएजस्तै यसपटक पनि ज्ञानेन्द्रको राजनीतिक आँकलन असफल हुनेछ, किनकि नेपाली जनता निकै सचेत भइसकेका छन् ।' 
राजतन्त्रका पक्षपाती राप्रपा नेपालका अध्यक्ष कमल थापा पूर्वराजाको 'राजतन्त्र अन्त्य भइनसकेको' भन्ने अभिव्यक्तिमा प्रमुख रूपमा तीनवटा अर्थ रहेको तर्क अघि सार्छन् । पहिलो, मुलुक अन्तरिम कालमा रहेकाले अहिलेका सबै व्यवस्था अन्तरिम हुन् भन्ने अर्थ दिनु । दोस्रो, नेपाली मन, मष्तिस्कमा अहिले पनि राजसंस्थाप्रति सम्मान छ भनेर संकेत गर्नु । र तेस्रो, मुलुकको भूराजनीतिक बनोट, रणनीतिक/राजनीतिक अवस्थाका कारण राजतन्त्र आवश्यक रहेको प्रस्ट्याउन खोज्नु ।
उच्च स्रोतका अनुसार नारायणहिटीबाट बहिर्गमन भएदेखि नै ज्ञानेन्द्रले नागार्जुनमै बोलाएर आफूनिकट सञ्चारकर्मी, पेसाकर्मी र व्यक्तिहरूसँग अनौपचारिक गफगाफ जारी राखेका छन् । स्रोत भन्छ, 'सार्वजनिक अभिव्यक्ति हालैमात्र दिए पनि भौतिक रूपमा उनको सक्रियता भने केही समययता निकै बढेको छ, त्यो पनि आफूलाई राष्ट्रपतिसँग जोड्दै ।' काभ्रेको पनौतीमा भएको १२ वर्षे मकर मेलामा पनि राष्ट्रपतिलाई पछ्याउँदै पूर्वराजा ज्ञानेन्द्र माघ २५ गते मेला भर्न पुगे । सुरक्षाको कारण देखाएर लगातार दुईवटा महाशिवरात्रिमा पशुपति नगएका उनले यो वर्ष माघ २९ मा पशुपति पुगेर पूजाअर्चना गरे, त्यो पनि राष्ट्रपति फर्केलगत्तै ।
यसबाट उनले आफू पनि राष्ट्रपतिभन्दा कम नभएको सन्देश दिन खोजेको उनीनिकटका एक जानकारले बताए । संविधानमै लिपिबद्ध धर्मनिरपेक्षताको विरोधमा यज्ञ लगाउने 'कालीबाबा' हरूका यज्ञमा पुगेर लाख/दुई लाख रुपैयाँ दान दिनसमेत थालेका छन्, पूर्वराजा ।
विश्लेषक लालका शब्दमा यतिखेर मुलुकमा दिनहुँ हुने दस कार्यक्रममध्ये ८ धर्मसँग जोडिएका छन् र भारतमा रहेका करिब एक अर्ब हिन्दुहरू करिब तीन करोड जनसंख्या भएको नेपालमाथि हावी भइरहेका छन् । भारतका दर्जनौं धर्माधिकारीहरू नेपाललाई हिन्दु राष्ट्र बनाउन लागिपरेका छन् । दिनहुँजसो यज्ञ, महायज्ञ आयोजना भइरहेका छन् । 'त्यही मेसोमा धर्म अभियानको नेता बन्न सकिन्छ कि भनेर ज्ञानेन्द्र सल्बलाएका हुन्,' उनले भने । हालैमात्र भारतीय जनता पार्टीका पूर्वअध्यक्ष राजनाथ सिंहले नेपालमै आएर हिन्दु राज्यको अभियानमा सघाउने उद्घोष गरेका थिए । आफू राजावादी भए पनि ज्ञानेन्द्रको अभिव्यक्तिबाट अन्य दल अत्तालिएजस्तो उत्साहित नभएको थापाले बताए । 'राजनीतिक दलहरूले किन यति आक्रामक रूपमा प्रतिक्रिया जनाए मैले बुझेको छैन,' उनले भने, 'पार्टीहरूले आफ्नो अकर्मण्यता ढाक्न ओभररियाक्ट गरेजस्तो लाग्छ ।' पूर्वराजाको अभिव्यक्तिका तमाम सकारात्मक कुरालाई बिर्सेर दलहरूले एउटा वाक्यको मात्रै व्याख्या, अपव्याख्या गरिरहेको आरोप उनले लगाए ।
लोकतान्त्रिक आन्दोलनपछिका तीन प्रमुख उपलब्धि हुन्, गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता । संघीयतामा गए मुलुक विभाजन हुन्छ भन्ने उपप्रधानमन्त्री सुजाता कोइराला र आगामी संविधानमा मुलुक हिन्दु राज्यकै रूपमा रहने अर्का उपप्रधानमन्त्री विजयकुमार गच्छदारको अभिव्यक्ति सार्वजनिक भइसकेका छन् । त्यसैगरी राजतन्त्रका पक्षमा पनि नेतृत्व तहबाटै कुनै अभिव्यक्तिको अपेक्षा पूर्वराजाको रहेको उनीनिकट स्रोतले बतायो ।  
लामो समय सत्ता र शक्तिको प्रयोग गरेको व्यक्ति परिस्थिति फेरिएर त्यसबाट विमुख हुनुपरेपछि पुनः सत्ता र शक्तिप्राप्तिका लागि मूलधार होइन, जस्केलाबाट पस्ने प्रयत्न गर्छ । कुनै समयका कांग्रेस, एमालेजस्ता ठूला दल त्यागेर मधेसको क्षेत्रीय राजनीतिमा लागेर फेरि शक्तिको अभ्यास गरिरहेको उदाहरण प्रशस्त छ । विजय गच्छदार, शरदसिंह भण्डारी, महन्थ ठाकुर, जयप्रकाशप्रसाद गुप्ता, रामचन्द्र राय यादव, रामजनम चौधरी आदि । यतिखेर यीमध्ये केही सरकारमा छन्, केही दलको शक्तिशाली ओहोदामा ।
यसैगरी माओवादीले बीजारोपण गरेको जातीय राज्यको अवधारणाका कारण आफ्नो अस्तित्व समाप्त हुने भन्दै जातीय संगठन निर्माणको क्रम तीव्र छ । खासगरी वामपन्थी माओवादी सत्तामा पुगेका बेला दक्षिणपन्थी सक्रियता निकै बढेको विश्लेषक लालको बुझाइ छ । 'सत्ताबाहिर भए पनि अहिलेको मूल राजनीतिक शक्ति माओवादी नै हो, उसलाई समाप्त पार्न दक्षिणपन्थीहरू सल्बलाइरहेका छन्,' उनले भने । अहिलेको सरकार नै दक्षिणपन्थी भावको भएको विश्लेषक लालको बुझाइ छ ।
'शान्ति प्रक्रियालाई स्याबोटेज गर्नकै लागि यो सरकार गठन भएको हो, सत्तामा रहेकाले रूपमा मध्यमार्गी देखिए पनि सारमा यो सरकार दक्षिणपन्थी हो,' उनले भने, 'शक्तिशाली प्रतिपक्षी भएकाले सत्ताबाहिर पनि माओवादीलाई विस्थापन गर्न अन्य दक्षिणपन्थी अघि सरेका छन् ।' सत्ता र सत्ताबाहिर दुवैमा दक्षिणपन्थी हावी गराएर माओवादीलाई गलाउने प्रयत्न भइरहेको उनले बताए ।
मुलुकमा बढ्दो दक्षिणपन्थी दबदबामा भारतको समेत सहयोग रहेको र ठाडो हस्तक्षेप तथा मुठभेडको अवस्था आउन नदिनका लागि मात्रै माओवादीले संयमता अपनाएको उनको बुझाइ छ ।
'माओवादी माधव नेपालको सरकार र सेनासँग डराएर चुप बसेको होइन,' उनले भने, 'एकखाले अराजकता सिर्जना गरेर बाह्य मुलुकबाट हुनसक्ने ठाडो हस्तक्षेपलाई मध्यनजर गरेर संयमता अपनाएको मात्र हो ।'
संविधान निर्माण अनिश्चिततातर्फ धकेलिएका बेला राष्ट्रपतिलाई अघि सारेर एकखाले दक्षिणपन्थ लाद्ने गाइँगुइँसमेत राजनीतिक वृत्तमा चल्न थालेको छ । एमाले पोलिटब्युरो सदस्य प्रदीप ज्ञवाली भने तत्कालका लागि त्यस्तो सम्भावनालाई नकार्छन् । 'फेरि पनि सहमतिमै अघि बढ्नुको विकल्प छैन दलहरूसँग । शान्ति प्रक्रिया र संविधान लेखनलाई अन्तिम रूप दिन बरु केही समय संविधानसभाको समयावधि थपेर अघि बढ्ने दिशामा सहमति बन्न सक्छ,' उनले भने ।
माओवादीको व्यापक राजनीतिक परिचालन र तल्लो तहसम्मको संगठन विस्तारका कारण दक्षिणपन्थीमा तत्काल राष्ट्रपति शासन लगाउने हिम्मत नपलाएको विश्लेषक लालको बुझाइ छ । 'अहिलेको राजनीतिक नेतृत्व र एकपटक हारेको सेना दुवैमा माओवादीलाई दबाउन सक्ने आँट छैन,' अब के हुन्छ त ? भन्ने प्रश्नको उत्तरमा उनले भने, 'संविधानसभामा माओवादी नै ठूलो दल छ । तीन महिना, छ महिना गरेर म्याद थपेर संविधानसभाको वैधानिकता कमजोर पार्नेजस्ता विभिन्न तरिका अपनाएर माओवादीलाई कमजोर पार्दै अघि बढ्ने नै दक्षिणपन्थीको तत्कालीन रणनीति हुनेछ ।'

माओवादी कार्यकर्ताको हत्या


लहान, चैत्र १४ - अज्ञात व्यक्तिको गोली प्रहारबाट शुक्रबार राति सिरहाको रामपुरविर्ता मल्हनियामा  माओवादी कार्यकर्ताको मृत्यु भएको छ ।
प्रहरीका अनुसार रामपुरविर्तास्थित मल्हनियाबाट रामनवमी मेलाबाट राति साढे १२ बजे घरतर्फ आइरहेको बेला अज्ञात व्यक्तिको गोली प्रहारबाट माओवादी कार्यकर्ता सिरहा चन्द्रअयोध्यापुर-९ पानवारीका ३५ वर्षीय रामअयोधी यादवको मृत्यु भएको हो । मृतक यादवलाई पछाडिबाट घाटीमा गोली हानिएको थियो ।
मृतक यादव माओवादी  भातृसंगठन मिथिला राज्य समिति सदस्य एवं ट्रेड युनियन महासंघका मिथिला संयोजक थिए ।

Friday, March 26, 2010

त्रिशूली ३ 'बी’ मा टेलिकमले लगानी गर्ने


काठमाडौं, १२ चैत
नेपाल टेलिकमले माथिल्लो तामाकोसीपछि त्रिशूली-३ बी जलविद्युत् आयोजनामा पनि लगानी गर्ने भएको छ ।
स्वदेशी लगानीमा बन्न लागेको माथिल्लो तामाकोसीमा ६ अर्ब ऋण र ६० करोड सेयर लगानी गर्ने निर्णय गरेको टेलिकमले त्रिशूली-३ बी आयोजनामा लगानी गर्ने भएको हो । टेलिकमले लगानी विविधीकरण गर्ने क्रममा नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्न लागेको ३७ मेघावाट क्षमताको सो आयोजनामा लगानीको तयारी गरेको छ । टेलिकमले अगामी सोमबार हुने दोस्रो वाषिर्क साधारणसभामा त्रिशूली-३ बीमा गर्ने लगानी औपचारिक घोषणा गर्नेछ ।
लगानीका विषयमा प्राधिकरण र टेलिकमबीच पटक-पटक भएको छलफलमा ५० करोडसम्म लगानी गर्ने मौखिक प्रतिबद्धता टेलिकमका अधिकारीले जनाइसकेका छन् । तर, लगानीको विषयमा औपचारिक निर्णय भने भइसकेको छैन । 'प्राधिकरणले निर्माण गर्ने आयोजनामा लगानी गर्न हामी इच्छुक भएका हौँ,' टेलिकम सञ्चालक समितिका अध्यक्ष सञ्चारसचिव सुशील घिमिरेले भने, 'त्रिशूली-३ बीका विषयमा प्रारम्भिक चरणको सहमति भएको छ ।'
घिमिरेका अनुसार, कम्पनीले पाउने सेयर हिस्सा र संरचनाको टुंगो लगाउन टेलिकमले नायव प्रबन्ध निर्देशक कन्हैयालाल गुप्ताको संयोजकत्वमा समितिसमेत गठन गरिसकेको छ । 'समितिले सैद्धान्तिक सहमतिका लागि खाका तयार गरेपछि मात्र सम्झौताको प्रक्रिया अघि बढ्छ,' घिमिरेले भने । घिमिरेले ऊर्जा संकटका कारण दूरसञ्चार क्षेत्र बढी समस्यामा परेकाले जलविद्युत्मा लगानी गर्न लागिएको जानकारी दिए । लामो लोडसेडिङका कारण दूरसञ्चार टावर एवं प्राविधिक केन्द्रहरूमा विद्युत् आपूर्ति हुन नसक्दा गुणस्तर खस्कँदै गएकाले ऊर्जा उत्पादन गर्ने क्षेत्रमा लगानी गर्ने नीति टेलिकमले लिएको उनले बताए ।
त्रिशूली-३ ए आयोजनाबाट निस्केको पानीबाट क्यास्केड आयोजनाका रूपमा त्रिशूली-३ बीको प्राधिकरणले निर्माण गर्न लागेको हो । ६० मेघावाटको त्रिशूली-३ ए चीन सरकारको सहयोगमा निर्माण भइरहेको छ । त्रिशूली-३ बीको निर्माणका लागि कम्पनी दर्ता गर्न प्रक्रिया अघि बढिरहेको प्राधिकरणका आयोजना विकास विभागका निर्देशक विष्णुबहादुर सिंहले बताए । उनले सार्वजनिक-निजी-साझेदारी
(पिपिपी) अवधारणामा विकास गर्न लागिएको आयोजनामा टेलिकमलाई लगानी गर्न आग्रह गरिएको जानकारी दिए । 'लगानीका लागि टेलिकमले अनौपचारिक सहमति जनाइसकेको छ,' उनले भने, 'स्थानीयवासीलाई दिने सेयर हिस्साको टुंगो लागेपछि टेलिकमको लगानी टुगो लाग्नेछ ।'
त्रिशूली-३ ए मा विदेशी लगानी भएका कारण आयोजना प्रभावित बासिन्दालाई सेयर दिन नसकेको प्राधिकरणले त्रिशूली-३ बीमा भने आयोजना प्रभावित रसुवा र नुवाकोटका स्थानीयवासीलाई प्राथमिकतामा राखेको छ । 'हामीले त्रिशूली-३ बीमा अधिकतम सेयर स्थानीयवासीलाई दिने निर्णय गरेका छाँै,' सिंहले भने । यसका लागि प्राधिकरणले स्थानीवासीलाई दिने सेयरको विषयमा आगामी मंगलबार छलफल गरी टुंगो लगाउनेछ ।
त्रिशूली-३ बी आयोजनाको कुल अनुमानित लागत ६ अर्ब छ । जसमा ७० प्रतिशत ऋण र ३० प्रतिशत सेयर हुनेछ । ३० प्रतिशतमध्ये स्थानीयवासीले लिने सेयरको टुंगो लगाई बाँकी सेयर प्राधिकरण र अन्य कम्पनीले लिनेछन् । आयोजना निर्माणमा स्थानीयवासीलाई बढीभन्दा बढी सहभागी गराई प्राधिकरणले प्राविधिक सहयोग गर्नेछ । यो आयोजना त्रिशूली-३ ए आयोजनासँगै अघि बढ्ने सिंहले जानकारी दिए । आगामी तीन वर्षभित्र दुवै आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

एसएलसी गतिविधि : परीक्षा विगि्रएपछि आत्महत्या


स्याङ्जा, चैत्र १३ - स्याङ्जा- परीक्षा विगि्रएको तनावमा एक विद्यार्थीले आत्महत्या गरेका छन् । बिहीबार एसएलसीको अग्रेजी विषय परीक्षा दिएर घर फर्किएका दिपक पौडेलले घर नजिकैको रुखमा झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । उनलाई १२ गते ५ वजे रुखमा झुण्डिएको अवस्थामा भेटिएको थियो ।
पुतलीबजार नगरपालिका ९ लामागेका १६ वषिर्या पौडेल श्रवण माविका विद्यार्थी हुन् । घर र्फकने क्रममा अंग्रेजी विषयको परीक्षा विग्रेको साथीहरुसँग गुनासो गरेकाले परीक्षाकै कारणले आत्महत्या गरेको हुनसक्ने अभिभावकको अनुमान छ ।
लहानमा परीक्षामा चिट चोराउन सहयोग गरेको र परिक्षा अनियमितता गरेको भन्दै सिरहाको लहानस्थित विभिन्न चारवटा परीक्षा केन्द्रबाट शुक्रबार ११ जना गार्ड र परिक्षार्थी पक्राउ परेका छन् । 
वडा प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक विपीन रेग्मीका अनुसार लहानस्थित पशुपति आर्दशमावि परीक्षा केन्द्रबाट अनियमितता गराएको भन्दै गार्डहरु सिरहा देविपुर २ का रामवावु सिंह, फुल्काहाकटीका अमिर कुमार मण्डल, बस्तीपुरका महेश कुमार यादव, महेशवारीका केदारनाथ यादव, लक्ष्मीपुरका मदन कुमार सिंह पक्राउ परेका छन् ।
त्यसैगरी ललकु मावि केन्द्रबाट लहान ५ का कमलेश्वर चौधरी, विष्णुपुरकटीका रविन्द्र कुमार यादव, सफटेक परीक्षा केन्द्रबाट सीतापुरका राजकुमार राम, विष्णुपुरकटीका रमेश यादव र एपोलो परिक्षा केन्द्रबाट महादेवा पोर्ताहाका महेन्द्र चौधरी र लालपुरका पृथ्वी सुनार पक्राउ परेका हुन् । उनीहरुलाई सिरहाका प्रमुख जिल्ला अधिकारी बिरेन्द्र यादव नेतृत्वको अनुगमन टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेका सबैलाई परीक्षा सम्वन्धी नियमावली अनुसार चिट चोराउने लगायतका गतिविधीमा संलग्न भएको प्रावधान अनुसार कारवाही गरिने जिल्ला परिक्षा समितिले जनाएको छ ।
परिक्षा केन्द्रमै परिक्षार्थी सुत्केरी
सिन्धुली- सिन्धुलीको खुर्कोट परिक्षा केन्द्रमा शुक्रबार अनिबार्य नेपाली विषयको एसएलसी परिक्षा दिदादिदै एक परिक्षार्थीले छोरी जन्माएकी छन् । जलकन्या उच्च मावि चपौलीबाट एसएलसी परिक्षामा सहभागि भएकी १९ वषिर्या कमला श्रेष्ठले परिक्षा केन्द्रमै बच्चा जन्माएकी ईलाका प्रहरी कार्यालय खुर्कोटले जनाएको छ । बैतडीकी २१ वषिर्या आरती थापापछि परिक्षाकेन्द्रमै सुत्केरी हुने श्रेष्ठ दोस्रो भएकी छिन् । सुत्केरी परिक्षार्थी आमा र बच्चा दुवैको अवस्था सामान्य रहेको छ । जिल्ला शिक्षा कार्यालयका अनुसार नेपाली विषयको परिक्षा शान्तिपुर्ण रहृयो ।
पर्वत ठुलीपोखरीस्थित जनता सुर्दशन उच्चमाबि परीक्षा केन्द्रमा एसएसलसी परिक्षाको दोस्रो दिन शुक्रबार नेपाली विषयको परिक्षा आधा घण्टा ढिलो भएको छ । परिक्षाकेन्द्रमा बिद्यार्थीले सिट प्लानिङ्गका बारेमा बिबाद निकालेपछि परिक्षा साढे आठ बजे सुरु भएको हो ।
अघिल्लो दिनको सिट प्लानिङ्गमा हेरफेर गरिएपछि बिबाद भएको थियो । तर जिल्ला  शिक्षा अधिकारी नारायणप्रसाद भट्टले कुर्सी र बेञ्चको बिबाद भएको बताए । उनले बिबाद समाधान गरी परीक्षा सुचारु गरिएको जानकारी दिए ।
नक्कली परीक्षार्थी पक्राउ
झापाको बेलडांगी स्थित भूटानी शरणार्थी शिबिरको एसएलसी परिक्षा केन्द्रबाट शुक्रबार दुई जना नक्कली परिक्षार्थी समातिएका छन् ।
इलाका प्रहरी कार्यलय दमकका अनुसार त्यहांक्ो त्रिरत्न माबि परीक्षा केन्द्रबाट सागर सुजीको नाममा परीक्षा दिइरहेका प्रल्हाद सुब्बा र तिलक सुब्बाको नाममा परीक्षा दिइरहेका तारानाथ घिमिरे समातिएका हुन् ।प्रल्हाद मेची बहुमुखी क्याम्पस भद्रपुरमा कक्षा १२मा अध्ययनरत छन् भने घिमिरे दमक बहुमुखी क्याम्पसमा कक्षा ११मा अध्ययनरत रहेको प्रहरीले जनाएको छ ।दुबैजना भूटानी शरणार्थी हुन् ।
केन्द्राध्यक्ष द्रोण श्रेष्ठका अनुसार परीक्षार्थीको थर र परीक्षा दिनेको अनुहार नमिलेपछि अनुसन्धान गर्दा उनीहरु नक्कली परीक्षार्थी भएको खुलेको हो ।दुबैलाई अहिले अनुसन्धानका लागि  इलाका प्रहरी कार्यलय दमकमा ल्याइएको छ  । शिक्षा ऐन अनुसार नक्कली परीक्षार्थीलाई १ लाख रुपैंया जरिवाना र छ महिना जेल सजांय हुन सक्ने प्रहरी निरीक्षक नबिन कार्कीले बताए ।
बच्चा जन्मेको एक घण्टापछि परीक्षा
दाङ
 दाङमा आज बच्चा जन्माएको एक घण्टामै एक सुत्केरी महिलाले एसएलसी परिक्षा दिएकी छिन् । पुरन्धारा गाविसको मावि हंशपुर परीक्षा केन्द्रबाट परीक्षा दिइरहेकी स्थानीय तारा मल्लले बच्चा जन्माएको एक घण्टामै परीक्षा दिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । बिहान करिव सात वजेतिर बच्चा जन्माएकी ताराले ८ बजेदेखि सुरु भएको नेपाली बिषयको परिक्षा शिक्षा कार्यालयका परीक्षा अधिकृत शेरवहादुर केसीले जानकारी दिनुभएको छ ।