Wednesday, March 24, 2010

दलहरुले बाँडिचुडी खाए जिविसको बजेट

रौतहट, ११ चैत । राजनैतिक दलहरुको मिलेमतोमा रौतहट जिल्ला विकास समितीको विकास वजेटको चरम दुरुपयोग भएको छ । रौतहटका सरकारमा सहभागी सबै दलहरुले जिल्लाको विकासका योजना भागवण्डा गर्दै आएको स्थानिय वासिन्दाले आरोप लगाएका छन् । रौतहटको जिल्ला विकास समितीमा २२ दलका प्रतिनिधीहरु सहभागी हुने गरेका छन् । जसमध्ये कांग्रेस, एमाले, फोरम र तमलोपालगायतका साना दलहरु रहेका छन् ।



स्थानिय सरकार नहुँदा अहिले स्थानिय विकास अधिकारीको संयोजकत्वमा सर्वदलिय संयन्त्रले काम गर्दै आएको भएपनि दलहरुको मिलेमतोमा योजना वाँडफाँड हुने गरेको खुल्न आएको छ । नेपाल देशभक्त संघका अध्यक्ष अशोक कुमार राजपुतले दलहरुले उपभोक्ता समितीको नाममा जनताको खुन पसिनावाट जम्मा भएको राजस्वको चरम दुरुपयोग भएको आरोप लगाए ।



उनले राजनैतिक दलहरुको कारण कार्यालय प्रमुख समेत व्यक्तिमुखि भएको बताए । रौतहटमा सवै राजनैतिक दलहरुले विकास निर्माणका काम आफु नजिकका ठेकेदारलाई र आफ्ना भातृ संगठनलाई बाढ्ने गरेको र त्यसवाट निश्चीत प्रतिशत रकम लिने गरेका छन् । स्थानिय वासिन्दा शन्नी खानले दलहरुका प्रतिनीधीलाई ठेकेदारले किनेकोे  बताए । उनले उपभोक्ता समिती मार्फत भएका काम कुनै पनि गुणस्तरीय नभएको र समयमै सम्पन्न नभएको दावि समेत गरे । 



रौतहटका साना र ठुला दलहरुले विकासका योजनामा दलहरुको हैसियत अनुसार बजेट बाँडचुड गर्दै आइरहेका छन् । नागरिक समाज रौतहटका अध्यक्ष जगन्नाथ प्रसाद केहरिले दलहरुले बजेटको भागवण्डा गरेर अरुलाई विक्री गर्ने काम गरीरहेको दावि गरे । उनले भागवण्डाको राजनीतिले राज्यकोषको चरम दुरुपयोग भएको आरोप समेत लगाए । एमाले निकट युवा संघका रौतहट सचिव शिवशंकर प्रसाद गुप्ताले आफुले काम गरेवाफत खाने गरेको स्वीकार गरे । उनले जिल्ला विकासवाट आफुले पनि ठेक्का लिएर काम गरीरहेको र १० प्रतिशत काम गरे वाफत खाने गरेको बताए ।



रौतहटका माओवादी सह-इञ्चार्ज उमेश यादवले आफ्नो पार्टीले जिविसको बजेटको दुरुपयोग नगरेको दाबी गरे । उनले संक्रमणकाल भएको र तराईमा सुरक्षाको स्थिती नाजुक भएकाले केही पार्टीले कर्मचारीलाई दवाव दिएर ठेक्का लिने गरेको बताए । स्रोतका अनुसार दलहरुका नेताहरुले भनेजस्तो काम नगर्ने हो भने रौतहटमा कर्मचारीमाथी दुर्व्यवहार हुने गर्छ ।



स्थानिय वासिन्दाले दलहरुले राज्यकोषको दुरुपयोग गरेको आरोप लगाइरहेकै वेला रौतहटका स्थानिय विकास अधिकारी विष्णु लामिछानेले माथि सत्तामा बाँडफाँट भएकाले स्थानिय स्तरमा योजना बाँडफाँट हुनु स्वभाविक भएको खुलासा गरे । उनले सवै राजनैतिक दलका नेताहरुले आफ्नो क्षेत्रमा वजेट विनीयोजन गर्न दवाव दिने गरेको गुनासो समेत व्यक्त गरे ।

नेपाली भूमिमा भारतको सडक


झापा १० चैत
पश्चिमी झापाको खजुरगाछीमा भारतले नेपाली भूमि मिचेर सडक निर्माण गरेको छ । खजुरगाछी- १ को फत्तेपुरबाट खनियाँबाँधसम्मको दसगजा क्षेत्रमा भारतले करिब सात सय मिटर सडक निर्माण गरिसकेको छ । भारतले दसगजाको दुई किलोमिटर क्षेत्रमा एक सातादेखि सडक निर्माण गर्न थालेको हो ।
सीमासम्बन्धी अन्तर्राष्ट्रिय नियमअनुसार दुई देशको सीमारेखाको दुवैपट्टी नौ मिटर भूभागमा बसोबास र भौतिक पूर्वाधार निर्माण गर्न पाइँदैन । तर, भारतीय पक्षले ३४ र ३५ नम्बर सीमास्तम्भको सात सय मिटर क्षेत्रमा बाटो बनाइसकेको सीमासुरक्षा बेस क्याम्प खजुरगाछीले जनाएको छ । सडक १२ फिट चौडाइँको छ ।
'सरकारकै निर्देशनअनुरूप बाटो बनाएको भन्ने जवाफ भारतीय सुरक्षाकर्मीले दिएका छन्,' बेसक्याम्पका प्रहरी निरीक्षक श्याम राउतले भने, 'पटकपटक सडक निर्माण कार्य रोक्न निर्देशन दिँदासमेत भारतीय पक्षले टेरेको छैन ।' पाँच दिनअघि मात्र झापाका प्रमुख जिल्ला अधिकारी नेतृत्वको टोलीले सीमाक्षेत्रको निरीक्षण गरी सडक निर्माण कार्य रोक्न निर्देशन दिएको थियो ।
नेपाली टोलीसँगको छलफलमा भारतीय अर्धसैनिक बल एसएसबीका एस आई समीर दासले उच्चतहमा सहमति गरेर मात्र सडक निर्माणलाई निरन्तरता दिने सहमति जनाएका थिए । तर, सो सहमतिविपरीत भारतीय पक्षले सडक निर्माण कार्य जारी राखेको छ । भारतीय पक्षले सडकमा ग्राभेलिङ गर्न थालेको खबर पाएपछि त्यसबारे बुझ्न गएका जनपद र सशस्त्रका दुई प्रहरीले भागेर ज्यान जोगाएका छन् ।
यसअघि भएको सहमतिविपरीत भारतीय पक्षले सडक निर्माण कार्यलाई निरन्तरता दिएपछि नेपाली सुरक्षाकर्मी त्यसबारे बुझ्न गएका थिए । सडक ग्राभेलिङ भइरहेको पाइएपछि त्यसलाई रोक्न खोज्दा भारतीय पक्षले उनीहरूमाथि आक्रमण गरेको इलाका प्रहरी कार्यालय गौरीगञ्जले जनाएको छ । उनीहरूले प्रयोग गरेको एउटा मोटरसाइकल भारतीय पक्षले नियन्त्रणमा लिएको छ । सीमासुरक्षा बेस क्याम्प खजुरगाछीका सशस्त्र प्रहरी निरीक्षक श्याम राउतले नेपाली सुरक्षाकर्मीलाई भारतीय पक्षले कुटपिट गरी मोटरसाइकल नियन्त्रणमा लिएको बताए । उनले नेपाली सुरक्षाकर्मीले प्रयोग गरेको मे१प ८३११ नम्बरको मोटरसाइकल भारतीय पक्षले नियन्त्रणमा लिएको जानकारी दिए । प्रहरीले कुटाइ खानेहरूको नाम भने सार्वजनिक गरेको छैन ।     
भारतीय पक्षले भने सडक निर्माण गर्न प्रयोग गरिएको ट्रयाक्टरका चालकलाई नेपालका प्रहरीले बाँधेर कुटपिट गरेकाले आफूहरूले त्यसको प्रतिकार गरेको दाबी गर्दै आएको छ । प्रहरीको कुटपिटबाट ट्रयाक्टरचालक बेहोस भएपछि नियन्त्रणमा लिन खोज्दा ती प्रहरी भागेको एक भारतीयले बताए । बाटो निर्माण कार्य रोक्न र मोटरसाइकल फिर्ता गर्ने विषयमा मंगलबार भएको छलफलमा भारतीय पक्षले चालकको साथबाट हराएको १० हजार भारतीय रुपैयाँ र एउटा मोबाइलवापतको पैसा नदिएसम्म मोटरसाइकल फिर्ता नदिने अडान राखेको छ ।

जिशिअलाई कालोमोसो दलेकोमा बिरोध

स्याङ्जा, चैत्र ११ - नेपाल विद्यार्थी संघले जिल्ला शिक्षा अधिकारी दुर्गा प्रसाद श्रेष्ठलाई कालोमोसो दलेको विरोधमा  विभिन्न संघसंस्थाले विरोध जनाएका छन् ।

जिल्ला शिक्षा कार्यालय , नेपाल राष्ट्रिय शिक्षक संगठन, पेशागत महासंघ नेपाल, नेपाल निजामती कर्मचारी संगठन, नेपाल राष्टिय कर्मचारी संगठन, नेपाल बुद्धिजीवी परिषद, प्याब्सन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, त्रिभुवन आर्दश बहुमुखी क्याम्पस, वालिङ बहुमुखी क्याम्पस, गल्याण बहुमुखी क्याम्पस, फेदिखोला बहुमुखी क्याम्पस, मिर्मी बहुमुखी क्याम्पसका स्ववियुले विज्ञप्ती जारी गरी जिशिअ श्रेष्ठलाई गरेको दुव्र्यवहारले स्तव्ध बनाएको भन्दै दोषीलाई कारबाहिको माग गरेका छन् । नेपाल राष्ट्रिय शिक्षक संगठनले आज ४ बजेसम्म दोषिलाई कारबाहि नभए भोली १२ गतेबाट सुरु हुने प्रवेशिका परीक्षामा आफ्नो सहभागिता नहुने बताएको छ ।

गत ८ गते काग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको निधनको शोक मनाउन दिइएको विदामा परीक्षा संचालन गरेको भन्दै नेविसंघले १० गते जिशिअलाई कार्यकक्षमा नै गई कालोमोसो दलेका थिए । जिशिअ श्रेष्ठले भने बोर्डको सहमतिमा आफूले परीक्षा संञ्चालन गरेको जनाएका छन् । यस घटनाले जिल्ला तनावमय भएको छ । तनावले भोलिबाट सुरु हुने प्रवेसिका परीक्षा समेत प्रभावित हुने देखिएको छ ।

गिरिजाको शोकसभामा परिक्षा संचालन गरेको भन्दै जिशिअलाई कालोमोसो

स्याङ्जा, १० चैत । राजाहरुको निधनमा प्रशासनले जबरजस्ती रुपमा कपाल काट्न लगाउने चलन झैं नेपाली काँग्रेसका कार्यकर्ताले पनि पुर्वप्रधानमन्त्री तथा नेपाली कांगे्रसका सभापति गिरीजाप्रसाद कोइरालाको निधनमा राष्ट्रिय शोक मनाउन दिइएको विदाको दिनमा परिक्षा सञ्चालन गरेको भन्दै जिल्ला शिक्षा अधिकारीलाई कालोमोसो दलेका छन् ।



उनीहरुले स्याङ्जामा जिल्ला शिक्षा अधिकारीलाई कालोमोसो लगाइएको छ । राष्ट्रिय शोक विदाको दिन वाषिर्क तथा जिल्लास्तरीय परीक्षा संचालन गर्न निर्देशन दिएको भन्दै नेपाल विद्यार्थी संघ समर्थित विद्यार्थीहरुले आज जिल्ला शिक्षा अधिकारी दुर्गाप्रसाद श्रेष्ठलाई कालोमोसो दलेका हुन् । 



नेपाल विद्यार्थी साघले उक्त दिनमा परीक्षा स्थगित गर्न जिशिअसँग अनुरोध गरेको थियो । नेपाल विद्यार्थीर् संघ स्याङ्जाका सभापति गुरुप्रसाद भट्टराईको नेतृत्वमा गएको विद्यार्थीहरुको एक समुहले ७४ जिल्लाका परीक्षा स्थगित हुँदा स्याङ्जामा परीक्षा सञ्चालन गरेको भन्दै जिल्ला शिक्षा अधिकारीलाई कालोमोसो दलेको नेविसंघले बताएको छ ।



उता जिल्ला शिक्षा अधिकारीले भने सो दिन परीक्षा स्थगित गरिएको व्यहोरा परिक्षा समितिको बैठकबाट अनुमोदन गरिएको बताउनुभयो । उहाँले केही विद्यार्थीहरु कार्यकक्षमै गई अभद्र व्यवहार गर्दै कालोमोसो दलेको स्वीकार गर्नुभयो । सो दिन जिल्लाका अधिकांश विद्यालयमा परीक्षा सञ्चालन भएको थियो भने केही विद्यालयमा परीक्षा स्थगित भएको थियो ।

'कुनै हालतमा हिन्दु राष्ट्र कायम गर्छु'


काठमाडौं, चैत्र ११ - उपप्रधानमन्त्री विजयकुमार गच्छदारले कुनै पनि हालतमा हिन्दु राष्ट्र कायम गरेरै छाड्ने बताएका छन् । अन्तिरम संविधानबाटै धर्मनिरपेक्ष राष्ट्र घोषणा भइसकेको अवस्थामा सरकारका बरिष्ठ मन्त्रीको यस्तो अभिव्यक्ति आएको हो ।
'म पनि हिन्दु हुँ,' विश्व हिन्दु महासंघको स्थापना दिवसको अवसरमा बुधवार राजधानीको बाँसबारीमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री गच्छदारले भने, 'हिन्दु राष्ट्र बनाउन म सवै नेताहरुको ध्यानाकर्षण गराउनेछु ।'
अब बन्ने संविधानमै हिन्दु राष्ट्र कायम गर्ने र संविधानबाट हिन्दुहरुको पहिचानलाई मेट्न नदिने उनको भनाइ थियो । हिन्दुहरुको अस्तित्वलाई कायम राख्न सरकार भित्रै बाट संघर्ष गर्ने उपप्रधानमन्त्री गच्छदारको भनाइ थियो ।
राष्ट्रको अखण्डतालाई अछुण राख्न हिन्दु राष्ट्रको विकल्प नभएको भन्दै उपप्रधानमन्त्री गच्छदारले सबै नेपालीहरुलाई एक सुत्रमा बाँध्न हिन्दु राष्ट्र नै चाहिनेमा जोड दिए ।  कार्यक्रममा उपप्रधानमन्त्री गच्छदारले विश्व हिन्दु महासंघको मानर्थ सदस्यता समेत लिएका छन् ।

कांग्रेस र एमाले संविधान जारी गर्न चाहँदैनन् : यादव

वीरगन्ज, चैत ११- मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले कसैगरी पनि तोकिएकै समयमा संविधान जारी गर्नुपर्ने बताएका छन्।
संविधान निर्माण कार्यमा अवरोध पुर्‍याउन विभिन्न शक्ति लागिपरेको बताउँदै उनले जनताले प्राप्त गरेको उपलब्धिलाई व्यवस्थित गर्नका लागि  जेठ १४ गते नै संविधान जारी हुनुपर्ने बताए।

'दलबीच यस्तै खिचातानी रहे जेठ १४ गते संविधान बन्ने अवस्था  छैन', वीरगन्जको तेजारथ टोलमा बुधबार पार्टी कार्यालय उदघाटन गर्दै  यादवले भने-  संविधान चाहने आम नागरिकले समयमै संविधान जारी गराउन दलहरुलाई बाध्य गराउनुपर्छ।' समयमै संविधान जारी गर्ने नसके मुलुक अन्यौल र अराजकतातर्फ उन्मुख हुने उनले सुनाए। 

वर्तमान सरकार अहिलेसम्मकै असफल सरकार रहेको दाबी गर्दै  अध्यक्ष यादवले शान्ति, सुरक्षा र आर्थिक सुरक्षा दिन नसकेकाले यसको हैसियत समाप्त भएको बताए। कङ्ग्रेस र एमालेले  संविधान जारी गर्न नचाहेको उनको आरोप छ। राज्य पुनर्संरचना समितिले जारी गरेका १४ प्रदेशको अवधारणा न्यायसङ्गत नरहेको बताउँदै यादवले मधेश हकहितका लागि आन्दोलनमा उत्रने बताए।

सङ्गठन निर्माण र आन्दोलनको तयारीमा आफ्नो पार्टी जुटेको बताउँदै उनले मधेशी दलसँग भएको सम्झौता लागू गराउन चैत २६ र २७ गते मधेश बन्द आह्वान गरेको जानकारी पनि उनले दिए।