Thursday, March 25, 2010

पत्रकारमाथि कुटपिट राज्य आतंकः दाहाल

काठमाडौ, चैत्र १२ - माओवादी अध्यक्ष पुष्पकमल दाहालले जनकपुरमा पत्रकारमाथि भएको कुटपीटलाई राज्य आतंकको संज्ञा दिएका छन् । राजधानीमा उपचार गराइरहेका घाइते पत्रकारहरुसंगको भेटपछि बिहीबार संवाददाताहरुसंग उनले राज्य बर्बरढंगले प्रस्तुत भएकोसमेत आरोप लगाए ।
एक नवदुलहीलाई प्रहरी अधिकृतले बलत्कार गरेको आरोपमा जनकपुरमा भएको प्रदर्शनको समाचार संकलन गर्न गएका पत्रकारहरुलाई गतसाता प्रहरीले कुटपिट गरेका थिए । कुटपीटबाट गम्भीर घाइतेहरुको राजधानीस्थित कान्तिपुर हस्पिटलमा उपचार भइरहेको छ ।
'राज्यस्तरबाटै पत्रकारमाथि कुटपिट हुनुलाई राज्य आतङ्ककै रूपमा मान्न सकिन्छ' दाहालले भने । उनले राज्यले गरेको यस प्रकारको दमन निन्दनीय भएकोसमेत उल्लेख गरे । उनी पार्टी उपअध्यक्ष बाबुराम भट्टराईसहित हस्पिटल पुगेका थिए ।

बर्दियामा सेनाद्वारा अत्यधिक बल प्रयोगः महिला आयोग


काठमाडौ, चैत्र १२ - बासपानी घट्नामा सेनाको अत्याधिक बल प्रयोगका कारण बालिकासहित तीन महिलाको मृत्यु भएको राष्ट्रिय महिला आयोगले निष्कर्ष निकालेको छ ।
गत फागुन २६ गते बर्दिया राष्ट्रिय निकुञ्जको भित्र पर्ने सुर्खेतको बासपानी क्षेत्रमा काउलो काट्न गएका १२ बषिर्य चन्द्रकला विक, उनकी आमा देवीसरा र कान्छी आमा अमृताको सैनिकले चलाएको गोलीबाट मृत्यु भएको थियो ।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा सेनाको गोलीबाट मृत्यु भएको घटनाको स्थलगत अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै आयोगका अध्यक्ष नैनकला थापाले मृतकहरु काउलो सङ्कलक भएको पुष्टी भएको जानकारी दिइन् ।
उनले मृतकको कपडा घटनास्थलमा यत्रतत्र छरिएको अवस्थामा रहेको मृतकका आफन्त तथा गाउँलेको भनाइ रहेकाले घटना थप रहस्यपूर्ण  रहेपनि जिल्ला जनस्वास्थ कार्यलयका  चिकित्सक र फरेेन्स चिकित्सकको प्रतिवेदनमा गोली लागी उनीहरुको मृत्यु भएको र शरीरमा अन्य चोट नदेखिएकाले बलात्कार गरेर हत्या भएको भन्न नसकिने उल्लेखसमेत गरिन् ।
स्वतन्त्र छानबिन आयोग गठन गरी घटनाको सत्यतथ्य बाहिर ल्याई दोषीलाई कारबाही र मृतकका परिवारलाई उचित क्षतिपूर्ति प्रदान गर्न आयोगले सरकारलाई सिफारिस गरेको छ । रासस

पूर्व राजा ज्ञानेन्द्रलाई जनकारवाही गरिने, राजतन्त्र समाप्त भइनसकेको अभिव्यक्ति प्रतिक्रान्तिकारी षड्यन्त्र भएको ठहर


एकिकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पुर्वराजा ज्ञानेन्द्र शाहलाई जनकारवाही गरिने बताउनुभएको छ। राजधानीमा आज आयोजित साक्षात्कार कार्यक्रममा श्रेष्ठले राजतन्त्र अंझै समाप्त भएको छैन भन्ने पुर्वराजाको अभिव्यक्ती प्रतिक्रान्तिकारी षडयन्त्रको गन्ध भएको टिप्पणी गर्नुभयो। पुर्वराजालाई सरकारले दिंदै आएको सेवासुविधा तत्काल रोक्नु पर्ने बताउँदै श्रेष्ठले चिहानमा गाडिसकिएको राजतन्त्र कुनैपनि हालतमा पुर्नवाहली हुन नसक्ने ठोकुवा गर्नुभयो।  
 
राजनीतिक संयन्त्रको नेतृत्व विवादको टुंगो भने दलहरुबीचको आपसी समझदारीबाट गर्नुपर्ने उहाँको भनाई थियो। शान्तिप्रक्रियामा पुर्‍याएको योगदान स्वरुप काँग्रेस सभापति गिरिजाप्रसाद कोइरालालाई संयन्त्रको नेतृत्व दिईएको स्पष्ट पार्दै श्रेष्ठले अब भने माओवादी अध्यक्ष दाहालले संयन्त्रको नेतृत्व गर्ने बताउनुभयो।।

Wednesday, March 24, 2010

दलहरुले बाँडिचुडी खाए जिविसको बजेट

रौतहट, ११ चैत । राजनैतिक दलहरुको मिलेमतोमा रौतहट जिल्ला विकास समितीको विकास वजेटको चरम दुरुपयोग भएको छ । रौतहटका सरकारमा सहभागी सबै दलहरुले जिल्लाको विकासका योजना भागवण्डा गर्दै आएको स्थानिय वासिन्दाले आरोप लगाएका छन् । रौतहटको जिल्ला विकास समितीमा २२ दलका प्रतिनिधीहरु सहभागी हुने गरेका छन् । जसमध्ये कांग्रेस, एमाले, फोरम र तमलोपालगायतका साना दलहरु रहेका छन् ।



स्थानिय सरकार नहुँदा अहिले स्थानिय विकास अधिकारीको संयोजकत्वमा सर्वदलिय संयन्त्रले काम गर्दै आएको भएपनि दलहरुको मिलेमतोमा योजना वाँडफाँड हुने गरेको खुल्न आएको छ । नेपाल देशभक्त संघका अध्यक्ष अशोक कुमार राजपुतले दलहरुले उपभोक्ता समितीको नाममा जनताको खुन पसिनावाट जम्मा भएको राजस्वको चरम दुरुपयोग भएको आरोप लगाए ।



उनले राजनैतिक दलहरुको कारण कार्यालय प्रमुख समेत व्यक्तिमुखि भएको बताए । रौतहटमा सवै राजनैतिक दलहरुले विकास निर्माणका काम आफु नजिकका ठेकेदारलाई र आफ्ना भातृ संगठनलाई बाढ्ने गरेको र त्यसवाट निश्चीत प्रतिशत रकम लिने गरेका छन् । स्थानिय वासिन्दा शन्नी खानले दलहरुका प्रतिनीधीलाई ठेकेदारले किनेकोे  बताए । उनले उपभोक्ता समिती मार्फत भएका काम कुनै पनि गुणस्तरीय नभएको र समयमै सम्पन्न नभएको दावि समेत गरे । 



रौतहटका साना र ठुला दलहरुले विकासका योजनामा दलहरुको हैसियत अनुसार बजेट बाँडचुड गर्दै आइरहेका छन् । नागरिक समाज रौतहटका अध्यक्ष जगन्नाथ प्रसाद केहरिले दलहरुले बजेटको भागवण्डा गरेर अरुलाई विक्री गर्ने काम गरीरहेको दावि गरे । उनले भागवण्डाको राजनीतिले राज्यकोषको चरम दुरुपयोग भएको आरोप समेत लगाए । एमाले निकट युवा संघका रौतहट सचिव शिवशंकर प्रसाद गुप्ताले आफुले काम गरेवाफत खाने गरेको स्वीकार गरे । उनले जिल्ला विकासवाट आफुले पनि ठेक्का लिएर काम गरीरहेको र १० प्रतिशत काम गरे वाफत खाने गरेको बताए ।



रौतहटका माओवादी सह-इञ्चार्ज उमेश यादवले आफ्नो पार्टीले जिविसको बजेटको दुरुपयोग नगरेको दाबी गरे । उनले संक्रमणकाल भएको र तराईमा सुरक्षाको स्थिती नाजुक भएकाले केही पार्टीले कर्मचारीलाई दवाव दिएर ठेक्का लिने गरेको बताए । स्रोतका अनुसार दलहरुका नेताहरुले भनेजस्तो काम नगर्ने हो भने रौतहटमा कर्मचारीमाथी दुर्व्यवहार हुने गर्छ ।



स्थानिय वासिन्दाले दलहरुले राज्यकोषको दुरुपयोग गरेको आरोप लगाइरहेकै वेला रौतहटका स्थानिय विकास अधिकारी विष्णु लामिछानेले माथि सत्तामा बाँडफाँट भएकाले स्थानिय स्तरमा योजना बाँडफाँट हुनु स्वभाविक भएको खुलासा गरे । उनले सवै राजनैतिक दलका नेताहरुले आफ्नो क्षेत्रमा वजेट विनीयोजन गर्न दवाव दिने गरेको गुनासो समेत व्यक्त गरे ।

नेपाली भूमिमा भारतको सडक


झापा १० चैत
पश्चिमी झापाको खजुरगाछीमा भारतले नेपाली भूमि मिचेर सडक निर्माण गरेको छ । खजुरगाछी- १ को फत्तेपुरबाट खनियाँबाँधसम्मको दसगजा क्षेत्रमा भारतले करिब सात सय मिटर सडक निर्माण गरिसकेको छ । भारतले दसगजाको दुई किलोमिटर क्षेत्रमा एक सातादेखि सडक निर्माण गर्न थालेको हो ।
सीमासम्बन्धी अन्तर्राष्ट्रिय नियमअनुसार दुई देशको सीमारेखाको दुवैपट्टी नौ मिटर भूभागमा बसोबास र भौतिक पूर्वाधार निर्माण गर्न पाइँदैन । तर, भारतीय पक्षले ३४ र ३५ नम्बर सीमास्तम्भको सात सय मिटर क्षेत्रमा बाटो बनाइसकेको सीमासुरक्षा बेस क्याम्प खजुरगाछीले जनाएको छ । सडक १२ फिट चौडाइँको छ ।
'सरकारकै निर्देशनअनुरूप बाटो बनाएको भन्ने जवाफ भारतीय सुरक्षाकर्मीले दिएका छन्,' बेसक्याम्पका प्रहरी निरीक्षक श्याम राउतले भने, 'पटकपटक सडक निर्माण कार्य रोक्न निर्देशन दिँदासमेत भारतीय पक्षले टेरेको छैन ।' पाँच दिनअघि मात्र झापाका प्रमुख जिल्ला अधिकारी नेतृत्वको टोलीले सीमाक्षेत्रको निरीक्षण गरी सडक निर्माण कार्य रोक्न निर्देशन दिएको थियो ।
नेपाली टोलीसँगको छलफलमा भारतीय अर्धसैनिक बल एसएसबीका एस आई समीर दासले उच्चतहमा सहमति गरेर मात्र सडक निर्माणलाई निरन्तरता दिने सहमति जनाएका थिए । तर, सो सहमतिविपरीत भारतीय पक्षले सडक निर्माण कार्य जारी राखेको छ । भारतीय पक्षले सडकमा ग्राभेलिङ गर्न थालेको खबर पाएपछि त्यसबारे बुझ्न गएका जनपद र सशस्त्रका दुई प्रहरीले भागेर ज्यान जोगाएका छन् ।
यसअघि भएको सहमतिविपरीत भारतीय पक्षले सडक निर्माण कार्यलाई निरन्तरता दिएपछि नेपाली सुरक्षाकर्मी त्यसबारे बुझ्न गएका थिए । सडक ग्राभेलिङ भइरहेको पाइएपछि त्यसलाई रोक्न खोज्दा भारतीय पक्षले उनीहरूमाथि आक्रमण गरेको इलाका प्रहरी कार्यालय गौरीगञ्जले जनाएको छ । उनीहरूले प्रयोग गरेको एउटा मोटरसाइकल भारतीय पक्षले नियन्त्रणमा लिएको छ । सीमासुरक्षा बेस क्याम्प खजुरगाछीका सशस्त्र प्रहरी निरीक्षक श्याम राउतले नेपाली सुरक्षाकर्मीलाई भारतीय पक्षले कुटपिट गरी मोटरसाइकल नियन्त्रणमा लिएको बताए । उनले नेपाली सुरक्षाकर्मीले प्रयोग गरेको मे१प ८३११ नम्बरको मोटरसाइकल भारतीय पक्षले नियन्त्रणमा लिएको जानकारी दिए । प्रहरीले कुटाइ खानेहरूको नाम भने सार्वजनिक गरेको छैन ।     
भारतीय पक्षले भने सडक निर्माण गर्न प्रयोग गरिएको ट्रयाक्टरका चालकलाई नेपालका प्रहरीले बाँधेर कुटपिट गरेकाले आफूहरूले त्यसको प्रतिकार गरेको दाबी गर्दै आएको छ । प्रहरीको कुटपिटबाट ट्रयाक्टरचालक बेहोस भएपछि नियन्त्रणमा लिन खोज्दा ती प्रहरी भागेको एक भारतीयले बताए । बाटो निर्माण कार्य रोक्न र मोटरसाइकल फिर्ता गर्ने विषयमा मंगलबार भएको छलफलमा भारतीय पक्षले चालकको साथबाट हराएको १० हजार भारतीय रुपैयाँ र एउटा मोबाइलवापतको पैसा नदिएसम्म मोटरसाइकल फिर्ता नदिने अडान राखेको छ ।

जिशिअलाई कालोमोसो दलेकोमा बिरोध

स्याङ्जा, चैत्र ११ - नेपाल विद्यार्थी संघले जिल्ला शिक्षा अधिकारी दुर्गा प्रसाद श्रेष्ठलाई कालोमोसो दलेको विरोधमा  विभिन्न संघसंस्थाले विरोध जनाएका छन् ।

जिल्ला शिक्षा कार्यालय , नेपाल राष्ट्रिय शिक्षक संगठन, पेशागत महासंघ नेपाल, नेपाल निजामती कर्मचारी संगठन, नेपाल राष्टिय कर्मचारी संगठन, नेपाल बुद्धिजीवी परिषद, प्याब्सन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, त्रिभुवन आर्दश बहुमुखी क्याम्पस, वालिङ बहुमुखी क्याम्पस, गल्याण बहुमुखी क्याम्पस, फेदिखोला बहुमुखी क्याम्पस, मिर्मी बहुमुखी क्याम्पसका स्ववियुले विज्ञप्ती जारी गरी जिशिअ श्रेष्ठलाई गरेको दुव्र्यवहारले स्तव्ध बनाएको भन्दै दोषीलाई कारबाहिको माग गरेका छन् । नेपाल राष्ट्रिय शिक्षक संगठनले आज ४ बजेसम्म दोषिलाई कारबाहि नभए भोली १२ गतेबाट सुरु हुने प्रवेशिका परीक्षामा आफ्नो सहभागिता नहुने बताएको छ ।

गत ८ गते काग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको निधनको शोक मनाउन दिइएको विदामा परीक्षा संचालन गरेको भन्दै नेविसंघले १० गते जिशिअलाई कार्यकक्षमा नै गई कालोमोसो दलेका थिए । जिशिअ श्रेष्ठले भने बोर्डको सहमतिमा आफूले परीक्षा संञ्चालन गरेको जनाएका छन् । यस घटनाले जिल्ला तनावमय भएको छ । तनावले भोलिबाट सुरु हुने प्रवेसिका परीक्षा समेत प्रभावित हुने देखिएको छ ।

गिरिजाको शोकसभामा परिक्षा संचालन गरेको भन्दै जिशिअलाई कालोमोसो

स्याङ्जा, १० चैत । राजाहरुको निधनमा प्रशासनले जबरजस्ती रुपमा कपाल काट्न लगाउने चलन झैं नेपाली काँग्रेसका कार्यकर्ताले पनि पुर्वप्रधानमन्त्री तथा नेपाली कांगे्रसका सभापति गिरीजाप्रसाद कोइरालाको निधनमा राष्ट्रिय शोक मनाउन दिइएको विदाको दिनमा परिक्षा सञ्चालन गरेको भन्दै जिल्ला शिक्षा अधिकारीलाई कालोमोसो दलेका छन् ।



उनीहरुले स्याङ्जामा जिल्ला शिक्षा अधिकारीलाई कालोमोसो लगाइएको छ । राष्ट्रिय शोक विदाको दिन वाषिर्क तथा जिल्लास्तरीय परीक्षा संचालन गर्न निर्देशन दिएको भन्दै नेपाल विद्यार्थी संघ समर्थित विद्यार्थीहरुले आज जिल्ला शिक्षा अधिकारी दुर्गाप्रसाद श्रेष्ठलाई कालोमोसो दलेका हुन् । 



नेपाल विद्यार्थी साघले उक्त दिनमा परीक्षा स्थगित गर्न जिशिअसँग अनुरोध गरेको थियो । नेपाल विद्यार्थीर् संघ स्याङ्जाका सभापति गुरुप्रसाद भट्टराईको नेतृत्वमा गएको विद्यार्थीहरुको एक समुहले ७४ जिल्लाका परीक्षा स्थगित हुँदा स्याङ्जामा परीक्षा सञ्चालन गरेको भन्दै जिल्ला शिक्षा अधिकारीलाई कालोमोसो दलेको नेविसंघले बताएको छ ।



उता जिल्ला शिक्षा अधिकारीले भने सो दिन परीक्षा स्थगित गरिएको व्यहोरा परिक्षा समितिको बैठकबाट अनुमोदन गरिएको बताउनुभयो । उहाँले केही विद्यार्थीहरु कार्यकक्षमै गई अभद्र व्यवहार गर्दै कालोमोसो दलेको स्वीकार गर्नुभयो । सो दिन जिल्लाका अधिकांश विद्यालयमा परीक्षा सञ्चालन भएको थियो भने केही विद्यालयमा परीक्षा स्थगित भएको थियो ।