Tuesday, January 8, 2013

तपाईलाई सुस्ता र कालापानी दुख्छ कि दुख्दैन?

तपाईलाई सुस्ता र कालापानी दुख्छ कि दुख्दैन? टिष्टा र नालापानी तपाई भुल्न सक्नुहुन्छ कि हुँदैन? तपाईको एक इन्च पनि जमिन छिमेकीले मिच्यो भने तपाई सहन सक्नुहुन्छ? अवस्य कसैले पनि सहदैन। तर राष्टको ५४ भन्दा बढी ठाँउमा सिमाना अतिक्रमण भएर ६०० वर्ग कि मी राष्टिय भुभाग गुमाउदा पनि हामी मौन छौ र हाम्रो सरकार मौन छ। किन? के हामीलाई नेपालको माया छैन? किन हामी र हाम्रो सरकार सच्चालन गर्नेहरु आफ्नो व्यत्तिगत स्वार्थ भन्दा माथी उठेर राष्टिय स्वार्थको लागि एकजुट हुन सकिरहेका छैनौं। अहिलेको कठिन र संकटपुर्ण घडीमा तँ तँ र म म त्यागेर हामी नेपाली भन्ने भावना सहित नेपाललाई स्वतन्त्र र आर्थिक रुपले समुन्नत वनाउन पाइला अगाडि बढाएनौं भने संभवत आउने पुस्ताले नेपाल भन्ने स्वतन्त्र राष्ट इतिहासको पानामा मात्र पाउनेछन्। के तपाईले अनुमान गर्नु भएको छ? त्यहि नेपालको पुरानो सिमाना र हाल भारतले अतिक्रमण गरिरहेको सुस्ता लगाएतका क्षेत्रको बिषयमा तयार पारिएको “सिमानाको खोजि” नामक डकुमेन्ट्रि प्रदर्शनमा रोक लगाईएको कुरा सुन्दा अति नै दुःख लागेको छ। वास्तवमा सिमा अतिक्रमणको बारेमा सरकार समेत मौन रहदा पनि ग्रेटर नेपालको सिमा बचाउँ यो अभियानले देशको कुना काप्चामा पुगेर आफ्नो बृतचित्र मार्फत देशको सिमा बचाउने अभियानमा लागिरहेको थियो र जनतालाई जुटाईरहेको थियो। प्रदर्शनको क्रममा आज त्यहि अभियानलाई भारतिय राजदुतावासको पहलमा रोक लगाईएको छ। त्यो अभियान र त्यो बृतचित्र साच्चिकै नेपालिको मन जित्ने अभियान थियो त्यस्तो अभियानमा सरकारले समेत अझ प्रोत्साहन र बढाबा दिने बेलामा सरकार आज मौन रहेको छ। देशको सिमा बचाउन खटनुपर्ने नेपाल सरकाले उल्टो भारतिय राजदुताबासको पक्षमा बृतचित्र प्रदर्शनमा रोक लगाउनु साच्चिकै लाजमर्दो कुरा हो। नेपालको सिमाना केवल एक धर्को मात्र होइन, हामी नेपालीको अस्तित्व हो। यदी सिमाना मिचिन्छन् भने हाम्रो अस्तित्व माथी गरिएको ठाडो हस्तक्षेप हो। त्यसकारण हालसम्म भएका र भईरहेको सिमाना अतिक्रमणको हामी सवै नेपालीले एक आवाजमा विरोध गर्नु पर्दछ। र जुन बृतचित्र प्रदर्शनमा रोक लगाईएको छ त्यसको बिरुद्धमा समेत एकजुट भएर लाग्नुपर्ने जरुरी रहेको छ। इतिहासमा पुर्व टिष्टादेखी पश्चिम सतलजसम्मको विशाल नेपाल अंग्रेज साम्राज्यवादको हस्तक्षेपको कारण पुर्वमा मेची र पश्चिममा महाकाली विचको सानो नेपालका खुम्चिन वाध्य पारियो। अव भारतियहरुकोे कारण त्यही मेची महाकालीको नेपाल पनि खुम्चिदै छ। कति चुप लागेर बस्ने? कति तँ र म भनिरहने? कहिलेसम्म खोस्रो राजनीति मात्र गरिरहने? राष्टियताको राजनीति गर्ने दिन कहिले आउला? सुगौलीमा वि्रटिशलाई गुमाएका भुभाग जुन हाल भारतमा छन्, जसमाथी अन्तर्राष्टिय कानुनका आधारमा नेपालको कानुनी अधिकार छ। तर हामी मौन छौं, सरकार अनभिज्ञ छ, इतिहासको पुनर्मुल्यांकन गर्न। जहाँ सुगौली पछि बाँकी रहेको भुभाग (वर्तमान नेपालको भुभाग) समेत हामी जोगाउन सकिरहेका छैनौ। कस्तो विडम्वना। कति कमजोर र लाचार भएका छौ हामी नेपाली, आफ्नो मातृभुमी जोगाउन नसक्ने। आफ्नी आमाको छातीमा विदेशी सेनाले परेड खेल्दा समेत मुकदर्शक वनेर गुलामी गर्ने सरकार र नेताले राष्टियताका वारेका सोच्ने दिन कहिले आउला? एक पछि आर्को सिमाना माथी भएको अतिक्रमणलाई सम्झदै टुलुटुलु हेरेर बस्ने की जन्मभुमी प्रतिको आफ्नो कर्तव्य पनि पुरा गर्ने? देशमा तरल राजनीतिक अवस्था र संक्रमणकाल भएका बेला फेरी पनि नेपाली आमाका अंगहरुमा अतिक्रमण हुन सक्छ। सारा नेपाली सतर्क बनौ। अतिक्रमणकारीलाई खवरदारी गरौं। जित्नका लागि एक पाइला अगाडि बढ्दै पर्छ। निदाएर नयाँ नेपाल बन्दैन। सुतेकाहरु जाग। सुतेका वहाना गर्नेहरु पनि यथार्थतालाई हेर। गाँउ गाँउबाट उठ, बस्ती बस्तीबाट उठ। नेपाली आमाको मुहार हसाउ। नेपाली आमाको सन्तती भएकामा गर्व गर। देशलाई माया गर। तपाइर्, म अनी हामी, जो नेपाललाई माया गर्छौ। नेपाली आमाको गर्भबाट जन्मन पाएकोमा गौरव गर्छौ। जसको शरीरमा नेपाली रगत वगेको छ। जसले कहिल्यै दासता स्विकारेन र स्विकार्दैन।

सीमाअतिक्रमणका सन्दर्भमा कालापानी समस्या तथा समाधान


- रतन भण्डारी
वैभवशाली एवं गौरवमय इतिहास बोकेको विशाल नेपाल आजभन्दा १९५ वर्ष अघि पूर्वमा टिस्टादेखि पश्चिम कुमाउँ गढवाल अठार र बाह्रठकुराइ श्रीमोर हुँदै काँगडासम्म फैलिएको थियो । सन् १८१४-१५ बीच चलेको नेपाल-अङ्गे्रजसँगको युद्धमा नेपालले हार बेहोर्नु पर्दा सन् १८१५ को डिसेम्बर २ का दिन अङ्गे्रजद्वारा नियोजितरुपमा प्रस्तावित सुगौली सन्धि स्वीकार्न नेपाल बाध्य भयो । सुगौली सन्धिकै कारण नेपाल मेचीपूर्व र महाकाली पश्चिमको आफ्नो सम्पूर्ण भूभागमाथिको दाबी त्याग्न पुग्यो । यसको लगत्तै सन् १८१६ डिसेम्बर ८ मा इष्ट इण्डिया कम्पनी सरकारले नेपाललाई मर्का परेको भन्दै एड्वार्ड गार्डनरको नामबाट नेपाललाई पत्र पठाइ केही भूभाग फिर्ता गर्ने निर्णय गर् यो । जसअनुसार सन् १८१६ डिसेम्बर ११ का दिन नेपाल र कम्पनी सरकारबीच एक सहमतिपत्रमा हस्ताक्षर भइ कुसाह र गण्डक नदीबीचको तिरहुत र सरुन तथा गण्डक र राप्ती नदीबीचको तल्लो भाग अर्थात बुटवल सेवराजलगायतको भूभाग नेपालले फिर्ता पायो । त्यसैगरी सन् १८५७ को बङ्गाली सेना तथा त्यसपछिको लखनऊ विद्रोह दमनमा नेपालले सेना पठाई सहयोग गरेकोमा त्यसबाट खुसी भई इष्ट इण्डिया कम्पनी सरकारले महाकाली र राप्ती नदीबीचको बाँके बर्दिया कैलाली र काचनपुर नेपाललाई फिर्ता गर् यो । त्यसैकारण यी जिल्लाहरुलाई नयाँमुलुक भन्ने गरिएको हो ।
सीमा अतिक्रमणको थालनी
सन् १८१५ मा इष्ट इण्डिया कम्पनी र नेपालबीच भएको सुगौली सन्धिको धारा ५ अनुसार “नेपालका राजा तथा तिनका उत्तराधिकारी वा वारेसले काली नदीको पश्चिममा पर्ने देशहरुसितका सम्बन्ध र सबै दाबीहरु परित्याग गर्ने र ती देशहरु वा तिनका बासिन्दासित कुनै चासो नराख्ने” भन्ने सहमतिअनुसार नेपालको पश्चिमी सिमाना महाकाली नदी पूर्व कायम हुनपुग्यो । उक्त सन्धिका कारण महाकाली नदीको सिरानीमा रहेको १२ ब्यास र १४ चौदासका अर्थात ब्यास प्रगन्नाका नामले चिनिने ब्यास क्षेत्रका १२ वटा गाउँहरु दुईतिर बाँडिन पुगे । जसमध्ये गुन्जी नाभी कुटी टिङ्कर र छाङ्ग्रुलगायतका ६ वटा गाउँहरु नेपालतिर पर्न गए भने बाँकी ६ वटा गाउँ भारततिर । यस विषयमा बेलायती एक्टिङ चिफ सेक्रेटरी जे आडम्सले काठमाडौँस्थित बेलायती आवाशीय प्रतिनिधि एडवार्ड गाडर्नरलाई ४ फेबुअरी १८१७ मा पठाएको पत्रको बुँदा ३ मा यसरी लेखेका छन् :  ”With respect to the Bum Shah’s claim to the track on the eastern side of Kali, the Governor General in council is of opinion, that according to the Letter of the Treaty, the Government of Nipaul is entitled to the restoration of it, notwithstanding its hither to having been regarded as annexed to the British province of Kumaoon. I am accordingly directed to intimate to you that the acting commissioner for Kumaoon will be instructed to surrender it to the officers of the Nipaulese government.”

टिष्टा र राबी नदीका सपनाहरु


                                - टंक वनेम

इतिहासको गर्भ मै टुहुरा भएर
दाम्साङ गढी र राबी नदी
सुगौली सन्धिले बारेको
मेचीको धार चिमोटिन्छ
दिनदहाडै कोपारिन्छन्
जङ्गे पिलरको नाङ्गो छाती
सुस्केरा हालेर हर्रर ....
बग्छ रे टिस्टा नदी ।

असल छिमेकी रोजेर नपाइने भए पछि
सुस्ता महेशपुर सुसाउन सकेनन्
कालापानी टिङ्कर भन्ज्याङ्
टिकापुर, भजनी टिक्न सकेनन्र्
बर्तमान
राक्षसले अपहरण गरेको
दन्त्य कथाको राजकुमारी झैं
मध्य रात र मध्य दिनमा
बिरही भाका हालेर
बास्छ रे टिस्टा नदी ।

सहेर आर्दश हुनुको पनि त
पिडा हुन्छ क्यारे
बलत्कार भएर बाँच्नु त
झनै कति गाह्रो हुँदो हो
शायद
तिनै अब्याक्त बेदनाहरु मा
सुस्केरा हालेर हरहर
रुन्छ रे राबी नदी ।

सीमास्तम्भ रुङ्ने बन्दुकहरु
आफ्नै स्वाभिमान झोसि रहेछन्
माटोको लागी लड्ने सङ्गिनहरु
आफ्नै छाती घोचि रहेछन्
रगतको गन्धमा सप्रन्दो छ
स्वाभिमानी देश प्रेम ।

अनि त
राबी नदी रोए जस्तै
रुन नसकेर
टिस्टा नदी बासे जस्तै
हाँस्न नसकेर
कबि हुनुको नियति
कबिताको बाँझो खेतमा
स्वाभिमानि हिमाल ठड्याउनु
के अनौंठो भो र ?

तरै पनि
सपनाको ताँदोमा
बिपनाको बाण चढाएर
इतिहासको बूढी आमा
सकि नसकि
राबी नदीको जङघार
तर्दै गरेकी हुन्छे
दालिमहाटको भन्ज्याङ्
नाँघ्दै गरेकी हुन्छे ।

हो
स्वाभिमानी छातीले
कति सहनु ?
अतिक्रमणको नाङ्गो प्रहार
अहङ्कारको पर्दाले छोपिएर
कति लड्नु
सकुनि युद्ध ?
कि दृष्टिहिन धृतराष्ट्र झैं
बन्ने हो स्वयम्भू आँखा ?

नत्र अलिकति
दुख्नु पर्दथ्यो टिकापुर
पिडाले छटपटाउनु पर्दथ्यो
माने भन्ज्याङ्
बिद्रोहि स्वारःले
कराउनु पर्दथ्यो
महेशपुर
जङ्गेको जोशमा
तरवार निकाल्नु पर्दथ्यो
जङ्गे पिलर
बिद्रोहको तोप पड्काउदै
कांगडा र दालिमहाट ।

तर
जिम्मेवार छातीहरुमा
स्वाभिमानको लेउ नपलाए पछि
पराजयको पिडा भोगेर
इतिहास र बर्तमानको
सारङ्गी रेट्दै
बिरही भाकामा बास्छ रे
बिचरा ! टिष्टा नदी
बिपनामै ऐँठन लागेर
सपनै देख्न छाड्यो क्यारे
बिचरा ! छम्ब भूमी ।
-----------
हाल ,वेलायत

नेपालको सिमाना टिष्टा र सतलज फेरि पनि कायम हुन्छ


- फणिन्द्र नेपाल, 

अध्यक्ष : एकीकृत नेपाल राष्ट्रिय मोर्चा

० नेपाल-भारत वीच भएका असमान सन्धिहरू के-के हुन् , प्रस्टाईदिनुहोस न् ?

-  नेपालको इतिहासमा तात्कालिन व्रिटेनसँग ब्रिटिस पक्षले १८१५ डिसेम्वर २ मा प्रस्ताव गरेको र नेपालले १८१६ मार्च ४ तारिखमा सही गरेको सुगौली सन्धि सवैभन्दा पहिलो र हानिकारक असमान सन्धि हो । यो जत्तिको असमान सन्धि कुनै पनि छैन ।

० सुगौली सन्धि वाहेक  अन्य पनि असमान सन्धि  छन्, भारतसँग नेपाल पक्षले गरेको ?

- होइन, नेपाल र भारत वीचमा भएको १९५० जुलाई ३१ तारिखको सन्धि पनि असमान सन्धिको रुपमा पर्ने कुरा हो । त्यसलाई पनि असमान सन्धिको प्राथमिकतामै राखिन्छ । त्यो देखि वाहेक नेपाल-भारतवीच भएका वाणिज्य सन्धिहरूले नेपाली पक्षलाई जहिले पनि तल पारेको कारण   ति पनि असमान नै छन् । त्यसैगरी जलस्रोतका सवालमा पनि जे-जति सम्झौता भएका छन् ती सवै सन्धिहरू असमान छन् । तर सवैभन्दा असमान सन्धि भनेको चाहिं सुगौली सन्धि नै हो ।

० के छ, सुगौली सन्धिमा जसले नेपाललाई हानि पुर्‍याएको छ ? वुंदागत रुपमा भनिदिनुहोस् न ?

- असमान वुँदाहरूको कुरा गर्दा सुगौली सन्धिभन्दा पहिला  नेपालको सिमाना  अर्थात क्षेत्रफल  २ लाख ४ हजार ९ सय १७ वर्ग किलोमिटर थियो । नदीलाई आधार   मानेर गरिएको सिमानामा पूर्वमा टिस्टा र  पश्चिममा सतलजसम्म थियो । सतलज भन्दा पारि काँकडासम्म नेपाल पुगेपनि काँकडाको राजासँग हारेको कारण नेपालको दावी त्यहाँ लाग्दैन । तर टिष्टामा भने त्यो भन्दा पनि ७० किलोमिटर पूर्वसम्म नेपालको क्षेत्रफल पुग्छ । वंगलादेशको वोर्डरसम्म र वंगलादेशभित्र रहेको अहिलेको दिननाथपुर र रम्भापुर पनि तात्कालिन विशाल नेपालकै क्षेत्र हुन् । तर यो सुगौली सन्धिका कारण नेपालको सिमाना मेची र महाकालीमा सिमित भईदियो ।

० भनेपछि कति भु-भाग नेपालले गुमाएको हो सुगौली सन्धिका कारण ?

-   २ लाख ४ हजार ९ सय  १७  वर्ग किलोमिटर रहेको हाम्रो विशाल नेपालको भु-भाग घटेर १ लाख ४७ हजार १ सय ८१ वर्ग किलोमिटरमा झरेको छ । त्यसलाई हामीले घटाएर हेर्ने हो भने ५६/५७ हजार वर्गकिलोमिटरको भु-भाग अहिले भारतको कब्जामा छ । सुगौली सन्धिले हामीलाई   पारेको प्रत्यक्ष असर यो हो । अर्को असर भनेको त्यो सन्धिमा नेपालले वेलायतसँग नसोधीकन कुनैपनि युरोपियन, अमेरिकनहरूलाई आफनो सेवामा लिन नपाउने भनिएको छ  । सररल्ललाह गर्न नपाउने भनिएको छ । त्यसले नेपालको स्वतन्त्र परराष्ट्र  नीतिलाई अत्यन्तै संकुचित  पारेको छ र हामी उसको प्रभाव क्षेत्रभित्र पदै आएका छौं ।

० तपाईले भने जस्तै हो भने, अहिले हामीले पूर्व टिष्टा र कागडा माथी दावी गर्न मिल्छ की मिल्दैन ?

- एकदमै मिल्छ । किनभने सुगौली सन्धि हामीले व्रिटिसहरूसँग गरेका हौं । व्रिटिसहरूसँग गरेको सन्धि भारतसँग लागु हुँदैन । अमेरिकासँग गरेको सन्धि वेलायतसँग लागु हुन्छ र ? अर्थात हामीले वंगलादेशसँग सन्धि गरेर भारतसँग लागु हुनुपर्छ भनेर लागु हुन्छ र ? त्यसकारण वेलायतसँग गरेको सम्झौता भारतसँग लागु हुन सक्दैन । त्यसैगरी वेलायतको संसदले १९४७ को जुलाई १८ मा पारित गरेको ‘इन्डीया इन्डीपेन्डेन्ट ऐक्ट’ मा स्पष्टरुपमा हामी जुन अवस्थामा भारत आएका थियौं, त्यही अवस्थामा छाडेर जाँदैछौं भनेर लेखिएको छ । त्यसकारण त्यो आधारले पनि ति भु-भाग माथी हामीले दावी गर्न पाउँछौं । अर्को, १९५०को नेपाल र भारतको वीचमा भएको शान्ति  र मैत्रीसन्धिको धारा ८ ले यो मितिभन्दा पहिले नेपालले वेलायतसँग गरेको तमाम सन्धि/सम्झौता  रद्ध हुन्छन् भनिएको छ । त्यसमा नेपाल र भारत दुवै स्वतन्त्र देशले हस्ताक्षर गरेर सुगौली सन्धि मान्दैनौं भनीसकेपछि नेपाली भुमि कब्जा गरेर राखीरहन मिल्छ ? त्यस्तै १९५० अक्टोवर ३० तारिखमा  नेपाल र वेलायतका वीचमा  भएको अर्को सन्धिको धारा ८ ले पनि सुगौली सन्धि रद्ध गरेको छ । त्यसले पनि नेपालको सिमाना टिष्टा  र सतलज फेरि पनि कायम हुन्छ ।

० त्यसो भए असमान सन्धि खारेजीको प्रक्रिया के हुनसक्छ ? कानुनी प्रक्रिया छ की छैन ?

- मुख्य कुरा १९५०  को सन्धिको धारा ८ ले यो सन्धिलाई खारेज गर्ने भनीसकेपछि सन्धिको अक्षरशः पालना गर्ने भन्नेवित्तिकै हाम्रो सिमाना टिष्टा र सतलज पुगिहाल्छ । नेपालले आफ्नो सेना पठाएर त्यहां आफनो सुरक्षा ब्यवस्था कायम गरी झण्डा गाड्ने काम गर्न सक्छ, अन्तर्राष्ट्रिय जगतलाई नै भनेर । तर नेपालले त्यसो गर्ने साहसै गर्न सकेन । त्यसो गर्न सरकारलाई डर लाग्छ भने सन् १९५० को सन्धिको धारा ८ को कार्यान्वयनका निम्त्ति कार्यसमिति वनाएर हामी अगाडी वढौं भनेर प्रवेश गर्नुपर्‍यो  । त्यसो गर्ने आंट पनि नेपालसरकार संग छ/छैन भन्न सकिने स्थिती छैन । तर एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले सल्यानमा व्रिटिसहरूसँग भएको सुगौलीसन्धि भारतसँग लागु हुन सक्दैन त्यसकारण नेपालको सिमाना टिष्टा र कांगडा हो त्यसलाई अव कार्यान्ययन गर्नुपर्छ भनेर बोल्नु भएको छ । एउटा विशाल र सशक्त पार्टी  अध्यक्षले नै त्यसरी वोल्नु ले वातावरण राम्रो वनाएको मैले महसुस गरेको छु ।

० नेपालको राष्ट्रियता यति सम्वेदनशिल हुंदाहुंदैपनि यो मुद्दाले आन्दोलनको रुप भने अहिलेसम्म लिन नसक्नुमा भने कारण के होला ?

-  भारतले नेपालको राष्ट्रवादी आन्दोलनलाई नेपालीहरूको आफ्नो राष्ट्रिय हितका निम्त्ति उनीहरूले उठाएको मुद्धा, उनीहरूले गरेको लडाई, उनीहरूको स्वाभिमानको आवाज, स्वाधिनताको निम्त्ति गरिएको संघर्षको रुपमा नलिएर यो भारतविरोधी आन्दोलन हो भनेर वुझेका छन् । नेपालमा उसले सिमाना मिच्छ, हामी विरोध गर्छौं, उसले भारतविरोधी गतिविधी वढ्यो भन्छ । यो स्थिती भएकोले नेपालका राजनीतिक दलहरूलाई भारत रिसाउला र सरकारमा पुग्न वा पुगिएको छ भने हट्नुपर्लाकी भन्ने ठूलो डर छ । यो उनीहरूको दरिद्र मानसिकताका कारण यस्तो भएको हो । तर अहिले त्यसमा अलिकति भने पनि आईसब्रेक एकीकृत नेकपा माओवादीले गर्न खोजेको छ ।

० त्यसो हो भने, यो मुद्दालाई लिएर एकीकृत नेकपा माओवादीसँग मिलेर  तपाईहरूले संयुक्त आन्दोलन चाहिं किन वनाउन नसक्नु भएको त ?

- होइन, एकीकृत नेकपा माओवादीका नेताहरूले देशभक्त र बामपन्थीहरूको एउटा साझा मोर्चा वनाउनुपर्छ र लडनुपर्छ भनेर वारम्वार भन्नुभएको छ । तर उहांहरूले यसलाई मुर्त रुप किन दिनु हुन्न? उहांहरूले नेपालभित्र उपलब्ध जसलाई राष्ट्रवादी ठान्नुहुन्छ त्यस्ता व्यक्ति, समुह र शक्तिहरूलाई वोलाएर राष्ट्रवादी मोर्चा वनाउने ठोस काम किन गर्नुहुँदैन? त्यो काम उहांहरूले शुरुवात गर्नुभयो भने यसले एउटा आकार ग्रहण गर्छ । त्यसका लागी हामी त सदैव उहांहरूलाई सहयोग गर्न तयार छौं ।

महिमा साप्ताहिक वर्ष २६, अंक ४१, २०६६ पुस ३० गते विहिवार

 

के छ सुगौली सन्धिमा ?

सुगौली सन्धि,

(ई.सं. १८१५ डिसेम्बर २)

१. माननीय इस्ट-इन्डिया कम्पनी र नेपाल राजाका बीच चिरस्थायी शान्ति र मैत्री कायम रहनेछ ।

२.     युद्ध हुनुभन्दा पहिले दुवै राज्यका बीच जुन भू-भागका सम्बन्धमा विवाद थियो, ती भूभागहरू नेपालको राजाले परित्याग गर्छन् र ती भूभागहरूमाथि माननीय कम्पनीको प्रभूसत्ता स्वीकार गर्छन् ।

३.     नेपालका राजा माननीय इस्ट इन्डिया कम्पनीलाई तल उल्लिखित इलाकाहरू सदाका निम्ति समर्पण गर्छन् ।

-       काली र राप्ती नदीको बीचकाख सम्पूर्ण तल्ला भागहरू,

-       राप्ती र गण्डकी बीचको सम्पूर्ण तल्लो भूमि,

-       गण्डकी र कोशीबीचको समस्त तल्लो भूगाग,

-       मेची र टिस्टाबीचको समस्त तल्लो भूमि,

-       मेची नदीभन्दा पूर्वतर्फको सम्पूर्ण पहाडी इलाकाहरू

-       नागरीको दुर्ग र जमिन तथा नगरकोटको घाटी जसमा मोरङबाट पहाडतिर जान बाटो छ, यससंगै सो घाटी र नागरीका बीचका सबै भूभाग यस मितिदेखि ४० दिनभित्र गोर्खाली सेनाले खाली गरिदिनु पर्नेछ ।

४.     नेपाल राज्यका प्रमुख र भारदारहरू ज-जसको स्वार्थमा माथि उल्लिखित अभिधाराले हानी पुर्‍याएको छ, क्षतिपूर्तिका लागि ब्रिटिश सरकारले ती प्रमुखहरूलाई जम्माजम्मी सालना दुईलाख रुपैया पेन्सनको रुपमा दिन स्वीकार गर्छ । यो रकम नेपालका राजाको तजबिजअनुसार समानुपातमा बांडिनेछ । नेपालका राजाबाट यस रकमको अनुपात निश्चित भएपछि पेन्सनका लागि गभर्नर जनरलको मोहर र हस्ताक्षरसहितको सनदपत्र सम्बन्धित पेन्सनवालालाई दिइनेछ ।

५.     नेपालका राजा स्वयं आफ्ना सम्बन्धी तथा उत्तराधिकारीहरूको तर्फबाट काली नदीको पश्चिमी भूभागको सम्पूर्ण अधिकार परित्याग गर्छन र साथै त्यो इलाका तथा त्यस इलाकाका निवासीहरूसंग कुनै किमिसको सम्बन्ध नराख्ने कटिबद्ध हुन्छन् ।

६.     नेपालका राजा सिक्किमका राजालाई उनको प्रादेशिक अधिकारका सम्बन्धमा कुनै तरहबाट परिसान नगर्न र साथै शान्ति भंग नगर्न स्वीकार गर्छ र साथै के पनि यदि नेपाल अधिरज्य र सिक्किमका राजा अथवा सिक्किमका प्रजाहरूबीच कुनै मतभिन्नता उत्पन्न भएमा उक्त मतभिन्नता समाधान गर्न मध्यस्थका रुपमा ब्रिटिश सरकारलाई सुम्पनेछन् र नेपालका राजाको ब्रिटिश सरकारको निर्णय स्वीकार गर्नुपर्नेछ ।

७.     नेपालका राजा यस नियमलाई स्वीकार गर्छन कि ब्रिटिश सरकारको अनुमतिबिना कुनै ब्रिटिश प्रजा तथा युरोपेली प्रजा अथवा अमेरिकीलाई आफ्नो सेवामा कहिले पनि राख्ने छैनन् ।

८.     दुवै राज्यका बीचमा मित्रता र शान्ति संवन्ध सुदृढ र समुन्नत गराउनका लागि उक्त राज्यका विश्वासपात्र मिनिस्टर दोस्रो राज्यमा रहनेछ भन्ने पनि स्वीकार गर्छन् ।

९.     यो सन्धि जसमा नौ अभिधारा समाविष्ट छन्, नेपालका राजाद्वारा आजको मितिदेखि १५ दिनभित्र अनुमोदन गरिनेछ । उक्त अनुमोदन लेफ्टिनेन्ट कर्नल ब्रेडशालाई प्रदान गरिनेछ र उनले बीस दिनभित्र अथवा सम्भव भए सोभन्दा पनि अगावै गभर्नर जनरलबाट अनुमोदन गराई नेपालका राजालाई सो अनुमोदित सन्धिपत्र दिनेछन् । यस सन्धिमा विवादमा नपरेका नेपाल अधिकृत भू-भागहरू पनि कम्पनी सरकारलाई सुम्पने प्रावधान भएकाले नेपालले यस सन्धिमा परेका केही अभिधाराप्रति आफ्नो सहमति र असन्तुष्टि प्रकट गरेको हुंदा नेपाल र कम्पनी सरकारबीच केही तराई फिर्ता गर्ने प्रयोजनका नीम्ति अर्को आंशिक सन्धि भयो । ८ डिसेम्बर १८१६ मा भएको पूरक सन्धिबाट कोशी र राप्तीका बीचको तराई फिर्ता भयो तर मूल सन्धिको धारा ४ को प्रावधानलाई खारेज गरियो ।

 सन् १९५० को सन्धि

(सन् १९५० जुलाई ३१)

१.     नेपाल सरकार र भारत सरकारका बीच अटल शान्ति र मित्रता रहनेछ । दुवै सरकारले परस्परमा एकले अर्काको पूर्ण राज्यसत्ता, राज्य क्षेत्रको अक्षुण्णता र स्वाधीनता स्वीकार र आदर गर्न मन्जुर गर्छन् ।

२.     कुनै राष्ट्रसंग ठूलो खलबल र  फाटो पर्न आई त्यसबाट दुई सरकारको बीचमा रहेको मैत्रीको सम्बन्धमा खलल पर्न जाने सम्भावना देखिएमा दुवै सरकारले परम्परामा सो कुराको समाचार दिने जिम्मेवारी कबुल गर्छन् ।

कर्मचारी वर्गसहित प्रतिनिधिहरूद्वारा परस्परमा प्रचलित अन्तर्राष्ट्रिय सम्बन्ध र राजदूतस्तरीय राख्न मन्जुर गर्छ ।

४.     दुवै सरकारले परस्परमा कन्सुलेट जनरलहरू, कन्सुलेटहरू, भाईस कन्सुलेटहरू, अरु प्रकारका कन्सुलेट र प्रतिनिधिहरूको नियुक्ति मन्जुर भएका शहर, बन्दरगाह र अरु स्थानहरूमा निवास गर्नेछन् ।

५.     नेपाल सरकारलाई भारत राज्य क्षेत्रबाट अथवा सो राज्य क्षेत्रको बाटो गरी नेपालको सुरक्षाको निमित्त चाहिने हातहतियार, कलपूर्जा, गोलीगठ्ठा, खरखजाना, मालसामानका पैठारी गर्नेअधिकार छ । दुई सरकारले परम्परामा सल्लाह गरी यो बन्दोबस्तलाई चालू गराउने कारवाहीको तय गर्नेछन् ।

६.     भारत र नेपालको छिमेकी मैत्रीभावको प्रतीकस्वरुप दुवै सरकारले आफ्नो राज्य क्षेत्रमा रहेका आदर्श सरकारका रैतीलाई आफ्ना मुलुकको औद्योगिक र आर्थिक विकास र त्यस्तो विकास सम्बन्धी निर्यात र ठेक्काहरूमा भाग लिनलाई राष्ट्रिय व्यवहार दिन कबुल गर्छ ।

७.     नेपाल सरकार र भारत सरकारले आफ्नो राज्य क्षेत्रमा रहेका अर्को मुलुकका रैतीलाई निवास, सम्पत्तिको भोग, व्यापार, वाणिज्यमा भाग लिन, चलफिर गर्न र अरु त्यस्तै प्रकारका विशेषाधिकारहरूको विषयमा पारस्परिक तौरले समान विशेषाधिकार लिनलाई कबुल गर्छन् ।

८.     जहांतक यहाँ जिकिर गरिएका कुराहरूको सम्पर्क छ, ती सबैमा यो सन्धिपत्रले भारतको तर्फबाट ब्रिटिश सरकार र नेपाल सरकारका बीचमा भएका अघिका सव सन्धिपत्र, स्वीकारपत्र, कबुलियतनामाहरूलाई खारेज गर्छ ।

९.     हस्ताक्षर गरिएकै मितिदेखि यो सन्धि लागू गरिन्छ ।

१०.   यो सन्धि कुनै एक मुलुकले १ वर्षको भाखा दिई सो सन्धिपत्रको अन्त्य गर्न नखोजेसम्म जारी रहनेछ ।

 १९५० को सन्धिसँगै भएको गोप्य पत्राचार

(पत्राचारका मूल बुँदाहरू)

१.     विदेशी हमलाद्वारा एकअर्काको सुरक्षामाथि आघात परेमा कुनै सरकारले त्यसलाई सहने छैन । कुनै त्यस्तो खतरासंग जुध्न दुई सरकारले एक अर्कासंग सरसल्लाह गर्नेछन्  र प्रतिरोधका लागि प्रभावकारी पाइला चाल्नेछन् ।

२.     नेपालको सुरक्षाका लागि आवश्यक कुनै हातहतियार, खरखजाना वा युद्धजन्य सामग्रीहरू र औजारहरू, जो नेपाल सरकारले भारतीय सीमा भएर पैठारी गर्छ, त्यस्तो पैठारी भारत सरकारसंगको सहयोग र सम्झौताबाट गर्नेछ, भारत सरकारले त्यस्तो हातहतियार छिटोछरितो पारवहनका लागि कदम चाल्नेछ ।

३.     शान्ति र मैत्री सन्धिको राष्ट्रिय व्यवहार दिने दफा ६ को सम्बन्धमा नेपालमा नेपाली रैतीहरूलाई अनियन्त्रित प्रतिस्पर्धाबाट संरक्षण केही समयका लागि आवश्यक हुनसक्छ भन्ने कुरालाई भारत सरकार मान्यता दिन्छ । यस संरक्षणका प्रकृति र हद दुई सरकारहरूबीच पारस्परिक संझौता निर्धारित गरिनेछन् ।

४.     यदि नेपाल सरकारले प्राकृतिक स्रोतको विकास वा नेपालमा कुनै औद्योगिक परियोजनाका लागी विदेशी सहयोग प्राप्त गर्ने निर्णय गरेमा ने्पाल सरकारले अरु विदेशी सरकार वा अरु विदेशी नागरिकले दिने सहुलियतभन्दा कम नभएमा भारत सरकार वा भारतीय नागरिकलाई नै प्राथमिकता दिनेछ । संयुक्त राष्ट्रसंघ वा यसका कुनै विशेषीकृत एजेन्सीहरूबाट नेपाल सरकारले प्राप्त गर्ने सहायतामा उक्त कुरा लागू हुनेछैन ।

५.     एकअर्काको सुरक्षामाथि प्रभाव पर्ने क्रियाकलाप भएमा कुनै विदेशीहरूलाई काममा नलगाउन दुवै सरकार मन्जुर गर्छन् । कुनै एक सरकारले आवश्यक परेको बेला अर्को पक्षसमक्ष यसबारे कुरा राख्नेछ ।

 सन् १९६५ को नेपाल भारत गोप्य सन्धि :-

शाही नेपाली राजदूतावास

बाह्रखम्बा रोड ,नयाँदिल्ली, भारत

जनवरी ३०, १९६५

महामहिम,

यहाँले हामीलाई लेख्नुभएको आजको मितिको पत्र प्राप्त गरी निम्न व्यहोरा अवगत भयो ।

१.     सन् १९६३ को अगस्तमा आफ्नो दिल्ली भ्रमणको अवसरमा नेपालका महाराजाधिराजबाट नेपाली सेनाको पुनःव्यवस्थापन र आधुनिकीकरणका सम्बन्धमा प्रश्न उठाइबक्सेको थियो । प्रत्यूत्तरमा भारत सरकारले आवश्यक मद्दत पुर्‍याउने इच्छा प्रकट गरेको थियो । तदनुरुप नेपाली सेनाको पुनः व्यवस्थापन र आधुनिकीकरणका लागि नेपाल सरकारले मागअनुसार भारतले कस्तो सहयोग  प्रदान गर्ने हो सोको विस्तृतस्वरुप निर्धारण गर्न सन् १९६३ को डिसेम्बरमा श्री ५ को सरकारको प्रतिनिधिमण्डल एवम् भारत सरकारका प्रतिनिधिबीच छलफल सम्पन्न भयो । छलफलमा नेपाली प्रतिनिधिमण्डलले भारत सरकारले एक नयाँ ब्रिगेड समूहलाई व्यवस्थित र स्तरीय तुल्याउनुपर्ने प्रस्ताव प्रस्तुत गरेको थियो ।

२.     भारत सरकारले श्री ५ को सरकारद्वारा प्रस्तुत प्रस्तावउपर पूर्ण र विस्तृत ध्यान दिएको छ । हाम्रा दुवै देशबीच विद्यमान घनिष्ट र परम्परागत मैत्री सम्बन्धलाई दृष्टिगत गर्दै भारत सरकार नेपालको सुरक्षा र स्वतन्त्रतालाई सुदृढ पार्ने उद्देश्का साथ नेपाललाई यथासम्भव सम्पूर्ण सहयोग प्रदान गर्न चिन्तित छ ।

३.     उपयुक्त उद्देश्य परिपूर्ति गर्ने दिशामा निम्नानुसारको सम्झौता सम्पन्न भएको छ :-

क)     ४ वटा मान्यता प्राप्त ब्रिगेडसहितको १७ हजार सैन्य बलका आधारमा भारत सरकारले सम्पूर्ण नेपाली सेनालाई हातहतियार, गोलीगठ्ठा र उपकरणहरू आपूर्ति गर्नेछ । उल्लिखित ४ वटा ब्रिगेडहरूमा वर्तमानको हिमालय सेना, गृह रक्षक, घरेलु सेना, मिलिसिया कम्पनी आदि रहेका छन् ।

ख)    भारत सरकारले नेपाली सेनाले प्रयोग गरिरहेका हातहतियारलाई शीघ्रातिशीघ्र आधुनिक हातहतियारहरूद्वारा प्रतिस्थापित गर्नेछ, यसका साथै भारत सरकारले नयाँ पुराना सबै किसिमको हातहतियारको फेरबदल र मर्मतसम्भार कार्यसमेत गर्नेछ ।

ग)     भारत सरकारले सशस्त्र नेपाली सैन्य अधिकारीहरूलाई आवश्यकताअनुसार भारतका विभिन्न तालिम केन्द्रहरूमा सम्पूर्ण तालिमका अवसर प्रदान गर्नुका साथै श्री ५ को सरकारको अनुरोधमा आफ्ना प्रशिक्षकहरूलाई नेपाल पठाउनेछ । तालिमको अवधिभर ती अधिकारीहरूलाई भारतीय सैन्य अधिकृतहरूसरह दैनिक खर्चसमेत जुटाइनेछ । भारत सरकारले उनीहरूको डेरामा बस्दा लाग्ने खानेपानी र विद्युत महसुलवापत रकमसमेत बेहोर्नेछ । त्यसैगरी तालिम अवधिभर विभिन्न भैपरी हुने खर्चका लागि आवश्यक रकम चुक्ता गर्न नेपाली सैनिक अधिकारीहरूलाई एक विशेष भत्ता प्रदान गरिेछ । कोही अन्य दर्जाका अधिकारीहरूका लागि निःशुल्क भोजनादिको समेत प्रबन्ध गरिनेछ ।

घ)     भारत सरकारले नेपाली सेनाका जवान र अधिकृतहरूका लागि आवश्यक हरियो अभ्यास पोशाक बुट आदि भारतमै नगद तिरी खरिद कारोबार गर्नेतर्फ नेपाल सरकारलाई पूर्ण सहयोग प्रदान गर्नेछ ।

ङ)     उधारो कारोबार अन्तर्गत सैन्य उपकरणहरूको आपूर्ति गर्ने कार्यक्रम पूरा भएका कारण अब उप्रान्त भारत सरकारबाट उपलब्ध गराइने सैन्य सहयोग अनुदानका रुपमा यसै पत्रानुसार हुनेछ ।

च)     भारत सरकारबाट उपलब्ध गराइने उपकरण र अन्य सहयोग नेपाली सेनाको प्रयोजनका लागि मात्र हुनेछ र कुनै पनि तेस्रो मुलुकमा तिनको विचलन गर्न पाइने छैन ।

छ)    भारत र नेपालका प्रतिरक्षा अधिकारीबीच त्यस्ता सैन्य सहयोग वा उपकरणहरूको आपूर्तिको समयमा तालिका, कार्यविधि र विस्तृत विवरणबारे सम्झौता संपन्न हुनासाथ यस सहयोगअन्तर्गतको आपूर्ति कार्य आरम्भ हुनेछ ।

ज)     भारतीय सहयोगको पूरकको रुपमा अमेरिका र संयुक्त अधिराज्यले समेत श्री ५ को सरकारलायई प्रतिरक्षा सहयोग गर्ने विषयमा परस्पर सम्झौता गरेका छन् । कारणबश भारतले हातहतियार र उपकरणहरूको आपूर्ति गर्न नसकेका बेला अमेरिका र संयुक्त अधिराज्यका सरकारहरूले यथाशक्य सो रिक्तता पूरा गर्ने वचन भारतलाई दिएको छ । उपयुक्त समयमा पूर्णविवरणबारे यथोचित समन्वय गर्न सकिनेछ ।

५.     यस्ता प्रावधानले कुनै पनि सरकारको स्वतन्त्र विदेश नीतिमाथि बन्देज लगाउने छैन । नेपाल सरकारले भारतबाट वा भारतको बाटो भएर नेपालको सुरक्षाका लागि आवश्यक हातहतियार, गोलीगठ्ठा वा युद्धसम्बन्धी सामग्री र उपकरणहरूको स्वतन्त्रतापूर्वक आयात गर्न पाउनेछ ।

६.     दुवै देशले परम्पर विचार विमर्श गरी यस किसिमको व्यवस्था लागू गर्न आवश्यक कार्यविधी तय गर्नेछन् ।

७.     भारत सरकार तथा श्री ५ को सरकारले आपसमा विचार विमर्श गरी यस पत्रमा उल्लिखित कुराहरूको समीक्षा गर्न सक्नेछन् ।

८.     महामहिम, यहाँले हामी दुवै पक्षबीच भएको समझदारीअनुरुप उपरिलिखित कुराहरू सही ढंगमा वर्णन गरिएका छन् भनी पुष्ट्याई दिए म यहाँप्रति कृतज्ञ हुने थिएँ । साथै महामहिमको जवाफसंगै यस पक्षले भारत सरकार र श्री ५ को सरकारबीच भएका समझदारीलाई सम्झौताको रुप दिनेछ भन्ने कुरा सुनिश्चित गरी दिनुभए कृतज्ञ हुने थिएँ । महामहिमको जवाफ प्राप्त भएका मितिदेखि सो सम्झौता लागू हुने कुरासमेत अनुरोध गर्दछु ।

९.     हामीबीचको समझदारीअनुरुप माथिवणिर्त साँचो भएको कुरा म सुनिश्चित गर्न चाहन्छु । म यो पनि सुनिश्चित गर्छु – यहाँले जनवरी ३०, १९६५ मा पठाउनुभएको पत्रको साथसाथै यस जवाफले दुवै सरकारबीच सम्झौता सम्पन्न भएको कुराको पुष्टि गर्छ । सम्झौता आजकै मिति जनवरी २०, १९६५ देखि लागू हुने कुरा पनि अनुरोध छ । महामहिम, कृपया मेरो यो आग्रहलाई स्वीकारी दिनुहुनेछ भन्ने विश्वास व्यक्त गर्दछु ।

महामहिम श्री वाईडी गुँडभिया                                           सरदार वाई एन खनाल

भारत सरकारका विदेश सचिव                                           शाही नेपाली राजदूत

Monday, January 7, 2013

सीमामा जंगे स्तम्भ सार्दै भारतीय एसएसपी

नेपालको सिमाना खुम्चिदै छ , नेपाल झन झन सानो हुँदै छ , !!!   सुस्ता को ५० बीघा जग्गा मिचियो !!!    सुस्तामा फेरी १४ हजार हेक्टर नेपाली भूमि भारत द्वारा मिचियो !!!! सर्लाहिमा दशगजा लाइ सारेर ३ किलोमीटर भित्र गाडियों !!!!!    कालापानिको नेपाली भूमिमा भारतीय सैनिक क्याम्प !!!!! इलाममा भारतीय हरु द्वारा नियोजित रुपमा नेपाली भूभाग अतिक्रमण !!!!! यस्ता शीर्षक बाट सुरु भएका समाचार हरुले मनै नपिरोल्ने र एकाएक देशप्रेम को भावना जागृत नहुने नेपाली शायद धेरै थोरै मात्र होला !हरेक २,४ महिना मा यस्ता समाचार हरुले नेपाली पत्रिका हरु रंगिने गर्छ र यसरी रंगिने क्रम पंचायती शाशन काल देखि नै अटूट रुपमा चली रहेकोछ मात्र फरक के छ भने उ बेला थोरै हुन्थ्यो भने आजकाल धेरै रंगिने गर्छ र यो क्रम चलिनै रहनेछ जब सम्म भारतीय आश्रीवाद ले नेपाल को राजनैतिक पार्टी हरु र नेताहरुको राजनैतिक भविष्य निर्धारित गर्छ ! र भारतद्वारा नेपाली भूमि मिचिने अनि नेपाली हरु लखेटियर आफ्नै देशमा शरणार्थी बन्ने क्रम तब सम्म रोकिन्न जब सम्म भारत परस्त नेता हरु अनि RAW ( Research and analysis wing ) का चम्चा हरु नेपालमा सल्बलाई रहन्छन !

भन्नेनै हो भने बुझ्नेलाई इशारा नै काफी भनेझै हाम्रा आदर्श र देश भक्ति को भाषण छाँटदै अनि नेपाल लाइ खतरा छ भन्दै सोझा सीधा वर्ग लाई सधै शोषण गर्दै हिंड्ने नेता हरुलाई र त्यसका कार्यकर्ता हरुलाई यही सानो हेडलाइन र एउटा दयनीय तस्वीर मात्रै काफी छैन र ? देशको लागी बोल्ने र केही गर्ने हो भने ?
सरसरी यिनीहरुका चरित्र का पानाहरू पल्टाएर हेर्ने हो भने वास्तविक रुपमा देश लाई कतै बाट कसै बाट खतरा छ भने यिनै नेता हरु बाट छ ! नत्र किन कसैले यस्तो सम्बेदंशील विषय हरुको समाधान खोज्न चाहदैन ? नेपाल-भारत सिमावर्ती क्षेत्रमा डेढ सय भन्दा बढी सिमा स्तम्भहरु हराएका छन्
, एसएसबीले नेपाली भूमि मिचिरहे पनि यसबारे नेपाल सरकार भने कानमा तेल हालेर बसिरहेको छ ।

धम्की न दे भारत

– मेदिनीनाथ सुवेदी


हाम्रो खास छिमेक भै स्थिति निकै मिल्दा दुबै देशको,
धेरै वर्ष अगाडिदेखि बलियो मित्रत्व सम्बन्ध भो ।
त्यो नै पुष्ट गराउँदै अघि बढ्यौँ भूल हाम्रो छ त ?
सोझै राख्छु दबाबमा म त भनी धम्की न दे भारत !

सानो गर्दछ के सबै किसिमले मै हूँ ठुलो देश त,
खाँचो हुन्छ अनेक चीज न दिए नेपालमा के छ र ?
भन्ने भाव लिएर तुच्छपनका ठानेर हामीसित,
लत्री आउँछ, भित्र यो मत लिँदै धम्की न दे भारत !

यो नेपाल पवित्र नै छ अरुको दासत्वले शून्य छ,
धेरै वर्ष त मुस्लिमी बृटिसको दासत्वमा भारत ।
बाँचेको इतिहास भन्छ भवमा साक्षी बनी स्पष्ट त,
ठूलो पेट नचाउँदै समरको धम्की न दे भारत !

हाम्रा वीर सपूत छन् समरमा यो विश्व थर्काउने,
हाम्रा जोश र होस छन् मुलुक यो आकल्प जोगाउने ।
यो सांसारिक शत्रुको बल लिने नेपालमा शक्ति छ,
तेरो तागत छैन कत्ति यसमा, धम्की न दे भारत !

हिंसाहीन बनी लडाइँ नगरी शान्ति–प्रथा ल्याउन,
गान्धीवाद चल्यो त्यही मुलुकमा स्वातन्त्र्य फर्काउन ।
जन्मी नेहरुबाट नै अब म¥यो त्यो पञ्चशील स्वतः,
त्यत्रो धाक कहाँ गयो ? समरको धम्की न दे भारत !

गर्दे सन्धि छिटै कि पारबहनी वाणिज्य सम्बन्ध यो,
साठी (१९६०) को जुन शर्तमा छ बलियो त्यै शर्तमा चल्छ यो ।
सम्झी राख भविष्य इज्जत नयाँ मित्रत्वले प्रेरित,
भै त्यो भूल सुधार झट्ट गरिदे, धम्की न दे भारत !

सं.रा.सं. प्रति फर्कंदा वचनमा बल्छी परेको दिन,
लाग्ने लाज तँसाथ छैन कि त्यसै गर्छस् अमैत्री किन ?
नाकाबन्द गरेर दुर्नियतको छारो उडाइस् कि त,
तेरो हुन्न भलाइ कत्ति अहिले, धम्की न दे भारत !

ठूला चीन अमेरिका रुसहरुलाई बरु हाँक दे,
साना देश अँठ्याउने कलुषता राख्ने प्रथा छोडिदे
तेरो यो स्थिति ठीक छैन अरुले भन्छन् सधैँ स्पष्टः,
नेपालीसँग मिल्नुपर्छ कहिल्यै धम्की न दे भारत !

टिस्टा पूर्व दिशा र पश्चिम दिशा किल्ला त त्यो काँगडा,
हाम्रो साँध थियो लडेर बलले सीमा गरेको खडा ।
त्यो ताजा इतिहास आज सबले आँट्यौँ भने सर्वतः,
आफ्नै देश बढाउँछौँ अघि बढी, धम्की न दे भारत !

आफ्नो नैतिकता कतातिर गयो सोचेर राम्रैसँग,
राख्नै पर्दछ मित्रता दृढ अझै सम्झेर हामीसित ।
हिन्दू राष्ट्र भनेर एक भवमा यो देश प्रख्यात छ,
हाम्रो शक्ति बुझेर बोल्नु, कहिल्यै धम्की न दे भारत !

मान्दैनस् यदि सन्धि गर्न सुरिँदै गर्छस् भने निर्णय,
गर्छौँ पूर्ण विरोध कत्ति नझुकी हौँ वीरका वंशज ।
हाम्रा मानिस छन् त्यहाँ जति यहाँ फर्काई दे सैनिक,
लड्नै पर्छ भने लडौँ अघि सरी धम्की न दे भारत !
(२०२७ सालमा नेपाल–भारत पारवहन सन्धि बिग्रेको बेला भारतले नाकाबन्द गरी नेपाललाई दुःख दिएको थियो । त्यसैबेला लेखिएको प्रस्तुत कविता अहिले पनि उत्तिकै सान्दर्भिक रहेको ठानी हामीले यहाँ प्रकाशन गरेका हौँ – सं.)

Sunday, January 6, 2013

नेपाली जीवन नालापानीदेखि काँगडासम्म


  • नेपाल राज्य विस्तार अभियानसँगै फैलिएका नेपाली बस्तीहरू
पश्चिम नेपालको पोखरातिरका गुमानसिंह खड्का बडाकाजी अमरसिंह थापाको नेपाल राज्य विस्तार अभियानका एक सदस्य थिए। त्यही क्रममा उनी हाल भारतको हिमाचल प्रदेशमा पर्ने काँगडा पुगे। कुरा आजभन्दा दुई सय वर्षअघिको हो। 

नेपाली सेनाको फौजले काँगडा कब्जा गरी त्यहाँका राजा संसार चन्दलाई ढुंगैढुंगाको किल्लाभित्र थुन्यो। नेपालको सिमाना सतलजभन्दा पनि पर व्यास नदीसम्म कायम भयो। हाल पाकिस्तान, चीन र भारतबीच कचिंगलको विषय रहेको कश्मीरसमेत विशाल नेपाल राज्यभित्र एकीकृत गर्ने त्यो फौजको सपना थियो। काँगडा वरपरका दर्जनौँ राज्यलाई कज्याएका सम्राट नेपालीको शक्तिसामु निरीह भए। उनको विशाल साम्राज्य खुम्चिँदै गएर काँगडाको एउटा थुम्कोमा बनाइएको ढुंगे किल्लाभित्र सीमित हुन पुग्यो। 

हो, त्यही बेला नेपाली फौज, प्रशासक र सामाजिक क्षेत्रका अभियन्ताहरू काँगडा क्षेत्रमा छरएि। यतै घरबार बसाए। तिनैमध्येका एक थिए, गुमानसिंह। आज यो भूमि नेपाल राज्यको सीमाभित्र छैन। भूगोल नेपालभित्र नरहे पनि त्यो पुरानो इतिहास सम्झाउने गरी नेपालीहरू यस क्षेत्रमा पुस्तौँदेखि छरिएर बसेका छन्। तीमध्ये पनि सीमित परिवार आफ्नो नेपाली पहिचान जोगाएर बसेका छन्। गुमानसिंहको पाँचौँ पुस्ता सुनीलविक्रम खड्का, ५६, आज पनि परविारका साथ भेटिन्छन्, काँगडा जिल्लाको भाग्सु क्षेत्र अन्तर्गत दाडी गाउँमा। 

सुनीललाई दाडी गाउँका नेपाली समुदायले मुखिया नियुक्त गरेको छ। आफूलाई नेपालीभन्दा भारतका अरू समुदाय र प्रशासनले नेपालको राष्ट्रियतासँग दाँजेर हेर्ने हुँदा तिनलाई नेपाली भन्न गाह्रो छ। त्यसैले उनी भारतीयभित्रै गोर्खाली समुदायका रूपमा छुट्टै पहिचान राख्न चाहन्छन्। "हाम्रो दाडी गाउँमा मात्रै गोर्खालीका ४ सय ५० घरपरिवार छन्," सुनीलसँग आँकडा कण्ठस्थ छ, "यो हिमाचल प्रदेशमा सबैभन्दा बाक्लो नेपाली बस्ती भएको गाउँ पनि हो।" 

खड्काका अनुसार भाग्सु क्षेत्रमा यस्ता नेपालीबहुल १६ गाउँ छन्। यस क्षेत्रको नाम धर्मशाला पनि हो। तर, भाग्सु नाममा बढी अपनत्व महसुस गर्छन् नेपालीहरू। "नेपालीले नै राखेको नाम हो, भाग्सु। त्यसैले हामीलाई यही नाम प्यारो लाग्छ," सुनील भन्छन्। 

खड्का परिवारकै इतिहास नियाल्ने हो भने यहाँ नेपाली समुदायको अविच्छिन्न इतिहास छर्लंग हुन्छ। गुमानसिंहले यतै घरजम गरे। उनका छोरा तेजु खड्का भारतीय सेनामा जागिरे बने। वीर नेपाली जातिका सन्तान भन्नेबित्तिकै रणजित सिंहदेखि इस्ट इन्डिया कम्पनी र बि्रटिस सरकारले समेत रातो कार्पेट बिछ्याए। त्यसैले नेपालीहरूको मूल पेसा नै फौजी जागिर बन्न पुग्यो। तेजु खड्काका छोरा पूरणसिंह, नाति जंगबहादुर र पनाति सुनीलले समेत पुख्र्यौली बिँडो थामे। फरक यति हो कि कसैले नेपाल राज्यको पक्षमा लडे। कसैले बि्रटिस साम्राज्यको पक्षमा त कसैले स्वतन्त्र भारतको पक्षमा। 

अमर सिंह थापाको राज्य विस्तार अभियानमा फौजी मात्रै थिएनन्। फौजका सहयोगी, व्यवस्थापक, प्रशासक र धार्मिक-सामाजिक क्षेत्रमा काम गर्ने गैरसैनिक नेपालीको जत्था पनि साथै गएको थियो। सायद तिनैमध्येका एक थिए, उनका पुर्खा। उनी अर्थात् जगदीशसिंह प्रधान, ८८, जो भारतीय सेनामा सम्पूर्ण युवावय खर्चेर निवृत्त जीवन बिताइरहेका छन्, भाग्सुको सल्लाघारीमा। 

त्यस परिवारमा उनी पाँचौँ पुस्ताका हुन्, भाग्सु आएर बस्ने। त्यसअघि त्यो परविार हिमाचल प्रदेशकै जोगेन्द्रनगरतिर बस्यो। जगदीशका जिज्यूबाजे भाग्सु पुगे। "नेपाली फौज लड्दै कब्जा गर्दै पश्चिमतिर आउँदा विभिन्न ठाउँमा नेपालीको बस्ती विस्तार हुँदै आयो," जिज्यूबाजेको नाम थाहा नभए पनि यी पाका नेपालीले आफ्ना बाबुबाट सुनेका यति कुराचाहिँ 'नोट' गरेका रहेछन्, "शोले चलचित्रमा गब्बर सिंहको खौफ जस्तो देखिन्छ, एकताका त्यस्तै नेपालीको थियो।" 

उनकै विश्लेषणमा नेपाली समुदायको प्रभुत्व घट्दै जाँदा त्यो खौफ पनि ओरालो लाग्यो। अहम् र हीनभावको चक्रमा जेलिँदै कतै नेपाली भाषा र संस्कृति भारतीयमा विलीन भयो। केही भने यस्तै सुदूर इलाकामा बस्न आए। कि यसरी अलग बस्नेहरूले नेपाली पहिचानलाई जोगाए कि त बढी संख्यामा साथै बस्नेले।

नेपाली गाउँहरूको सहर 
"पाल्पा घर भन्छन् तर कुन गाउँ, कुन ठाउँ थाहा छैन," एउटै वाक्यमा नेपालसम्बन्धी जानकारीको बिट मारे, टेकबहादुर गुरुङ, ७२, ले। बाबुआमा दुवै नेपाली भए पनि भारतमै जन्मे, पढे, हुर्के, बढे। ३२ वर्ष सैन्य जागिर गरे। लक्ष्मणपुर, देहरादुनमा घरबार बसाएका उनको पनि पारिवारिकि पेसा नै सैन्य बनेको छ। बाबु पदमसिंह गुरुङले थालेको यो पेसालाई टेकबहादुरका छोराले समेत निरन्तरता दिएका छन्। सुरुका केही वर्ष धर्मशालामा बसे पनि पदमसिंह जागिरे जीवनका अन्तिम दिन देहरादुन आइपुगे। यतै निवृत्तिभरण लिने गरी घर बनाए। उनको परिवार देहरादुन बसेको पनि ५३ वर्ष भइसकेको छ।

देहरादुन सहर उनीजस्तै सेवानिवृत्त फौजीहरूको पर्याय बनेको छ। छाउनी सहरको परचिय भिरेको देहरादुनलाई यस रूपमा विकास गर्न बेलायती उपनिवेशकालदेखि प्रयास भएको देखिन्छ। अझ नालापानीको खलंगा (अंग्रेजद्वारा कलिंगा लेखिएको) मलाउ युद्धमा नेपालीहरूको बहादुरीपूर्ण प्रदर्शनबाट प्रभावित भएर तिनै नेपालीलाई मिलाएर गोरखा पल्टन बनाइदिए अंग्रेजले। साथै, नेपाली किशोर तथा युवाहरूलाई सैन्य भर्ती र तालिम दिनका लागि चारवटा केन्द्र यहीँ स्थापना गरएि। "पछि सैन्य परिवारका लागि घरजग्गा, स्कुल, अस्पतालको व्यवस्था गरिएपछि भारतीय सेनामा काम गर्ने सबैतिरका नेपाली यहीँ केन्द्रीकृत भए। त्यसैले जता हेरे पनि फौजी नेपाली देखिन्छन् यहाँ," गोर्खा सुधार सभाका अध्यक्ष भगवानसिंह क्षेत्री भन्छन्। 

पूरनसिंह प्रधान, ५८, देहरादुनको नयाँगाउँमा किराना पसल गरी बसेका छन्। भारतीय सेनाको निवृत्तिभरण त यहाँका हरेक प्रौढको अभिन्न अंग नै हो। उनी अपवाद बन्ने कुरै छैन। "पुख्र्यौली घर कहाँ भन्ने थाहा छैन," देहरादुनी वासमती चामल तौलँदै उनी भन्छन्, "आमा भने दैलेखतिरको भन्छन्।" 

बाबु नेपालकै कुनै गाउँबाट भागेर लखनउ गएको र त्यतै भारतीय सेनामा प्रवेश पाएको हुन सक्ने अनुमानसम्म गरेका छन्, उनले। यसले के देखाउँछ भने देहरादुनमा पनि विभिन्न चरणमा आएर बसेका छन्, नेपालीहरू। 

देहरादुनको सहस्रधारा रोडमा नेपाली फौजका कमान्डर बलभद्र कुँवर र अंग्रेज कमान्डर जनरल जिलेस्पीको सम्मानमा अंग्रेजहरूले बनाएको स्मारक छ। त्यससँगै जोडिएको जंगलको भिरालो शिरमा नेपालीहरूले केही वर्षअघि बनाएको बलभद्र खलंगा युद्ध स्मारक छ। त्यही स्मारकको केही तल सागरतालमा हरेक वर्ष नेपालीहरूले खलंगा मेला मनाउँछन्। गएको २४ नोभेम्बरमा ३८औँ खलंगा मेला मनाए उनीहरूले। तर, नालापानी क्षेत्रवरपर नेपाल राज्य विस्तारका क्रममा आई बसेका नेपाली परविार खोज्ने हो भने भेट्न मुस्किल छ। 

विभिन्न समयमा आएका सेवानिवृत्त फौजीहरूकै बाहुल्य भएकाले पनि दुई सय वर्षअघिका र नालापानी युद्धपछिका को हुन् भन्ने छुट्याउन गाह्रो भएको नयाँगाउँ ग्राम पञ्चायतका उपप्रधान खेमबहादुर थापा, ७१, बताउँछन्। धेरै पुस्ताअघिको बसाइँ भए पनि कतिपय नेपालीले आफ्नो भाषा, संस्कृतिलाई जोगाउन नसकेका कारण पनि यहाँका पुराना नेपालीको पहिचान हुन नसकेको धेरैजसो अगुवाहरूको भनाइ छ। 

देहरादुनका नयाँगाउँ, अनारवाला, जोहडी गाउँ, गजियावाला, घट्टेखोला, इन्द्रनगर, वाणगंगा, जयतनवाला, चाँदमारी, नागनाथ, गढी, कौलागढ, पण्डितबाडी, चन्द्रमणि, चोइला, लाडपुर, बान्लावाला, लछीवाला, छिद्दरवाला, सेलाकुई, भरोटेवाला, गुच्चुपानी, ठाकुरपुर, श्यामपुर, रायपुर, रायवाला, गढी क्यान्ट, डाकरा, चानमारी, विकास नगर, लक्ष्मणपुर, नेहरुग्राम यस्ता नाम हुन्, जहाँ नेपालीको बाक्लो बसाइ छ। यहाँका अधिकांश नेपाली अंग्रेज-नेपाल युद्धको समाप्तिपछि भारतीय वा इस्ट इन्डिया कम्पनी सरकारको सेनामा जागिर गरेर निवृत्त भएका हुन्। छिटपुट मात्र अन्य पेसामा बाँधिएका छन्। उत्तराखण्डको राजधानी देहरादुन र त्यसवरपरको क्षेत्रमा धेरै नेपालीबहुल बस्ती छन्, जहाँ अहिले पनि नेपाली भाषा नै चल्छ। कुनै बेला देहरादुन, कुमाउ र गढवाल क्षेत्रमा सम्पर्क भाषाकै स्थानमा पुगेको नेपाली पछिल्लो समयमा भने ओरालो लाग्दो छ। 

गोर्खाली सुधार सभाका महासचिव गोविन्द थापाका अनुसार उत्तराखण्ड राज्यमा १० देखि १२ लाख नेपाली मूलका भारतीयको बसोवास छ। बाँकी बंगाली, पन्जाबी, मद्रासी छन्। उत्तराखण्ड राज्यको कुल जनसंख्या भने १ करोड १ लाख रहेको गत वर्षको जनगणनाले देखाएको थियो। तर, यहाँ जनगणनामा जातीयताका आधारमा लगत नलिइने हुँदा ठोस आँकडा नभएको थापाको भनाइ छ। 

अल इन्डिया गोर्खा एक्ससर्भिसमेन वेलफेयर एसोसिएसनको केन्द्रीय कार्यालय पनि देहरादुनमै छ, जसले पूर्वसैन्यको परविार कल्याणसम्बन्धी काम गर्छ। भारतीय रक्षा मन्त्रालयबाट वाषिर्क आठ लाख रुपियाँ अनुदान पाउने यस संस्थाले दार्जीलिङपछि देहरादुन र धर्मशाला क्षेत्रमै बढी खर्च गरेको छ। यसले पनि सेवानिवृत्त फौजीहरूको बाक्लो उपस्थितिलाई प्रस्ट पार्छ।

गोर्खा धर्मसभाको अध्ययन अनुसार हिमाचल प्रदेशमा एक लाखभन्दा बढी नेपाली मूलका भारतीय पुस्तौँदेखि बसेका छन्। उनीहरू मुस्किलले नेपाली भाषा बोल्छन्। उनीहरूको नेपाली भाषामा अधिकांश शब्द र लबज हिन्दीकै काँगडा भाषिकाको प्रभाव छ। हिमाचली संस्कृतिले उनीहरूलाई छपक्कै छोपेको छ। युवा उमेर भारतीय र बि्रटिस सेनामा बिताएर निवृत्त जीवन मात्र घरमा बित्नु यस क्षेत्रका पुराना नेपालीको विशेषता हो। "९० प्रतिशत त फौजी पृष्ठभूमिकै छौँ," हिमाचल प्रदेशका नेपाली र भाग्सुको इतिहासबारे पुस्तक प्रकाशनको तयारी गररिहेका प्रतापसिंह गुरुङ, ७५, भन्छन्।

काँगडा र नालापानीबाट नेपाली फौजको फिर्ती, सन् १८९० को हैजाको महामारी र सन् १९०५ को भुइँचालो पनि नेपालीको पहिचान र इतिहास विस्तारमा उथलपुथल ल्याउने मुख्य घटना थिए। नेपालीको पुरानो बसोवासलाई झल्काउने चिनोमध्येको एक हो, सन् १९०५ मा आएको ७ दशमलव ८ रेक्टर स्केलको भुइँचालोमा पनि नढलेको भाग्सुको एक घर। भाग्सुको गब्ली दाडी पञ्चायतकी प्रधान सबिता कार्की, ५६, को उक्त घरमा नेपाली परविारका पाँच पुस्ता हुर्किसकेका छन्। हिमाचल प्रदेशमा भाग्सुबाहेक नेपाली समुदाय धेरै बसोवास भएका ठाउँहरूमा नाहान, बक्लोह, पालमपुर, सिमलालगायत पर्छन्। 

काँगडाका राजा संसार चन्दलाई तीन वर्षसम्म किल्लाभित्र थुनियो। यसबीचमा कैयौँ लडाइँ भए। सामाजिक उथलपुथल भए। युद्धनीतिमा मतभेद हुँदा नेपाली फौजको प्रदर्शन कमजोर बन्यो। उता संसार चन्दले पन्जाबका अर्का शक्तिशाली रणवीर सिंहसँग सहायता मागे। लामो समयको राजनीतिक अन्योल र युद्धबाट स्थानीय समुदाय आजित भइसकेको थियो। सुरुमा नेपालको स्वामित्व स्वीकार गरेका रजौटाहरूको लगाव पनि नेपालप्रति कम हुँदै गयो। परिणामतः नेपालले त्यस क्षेत्रको स्वामित्व गुमायो। राजनीतिक नक्सामा त्यो ठाउँ नेपालभित्र नपरे पनि कैयौँ नेपालीले त्यही भूमिलाई आफ्नो बनाए। र, आज लाखौँको संख्याका नेपालीले काँगडालगायत हिमाचल र उत्तराखण्डको विशाल भूगोल ओगटेका छन्। यही ठाउँलाई उनीहरू आफ्नो मातृभूमि भनेर गर्व गर्छन्। 

नेपाली फौज र प्रशासन यहाँबाट फर्किएपछि यहीँ बसेका धेरै नेपाली भारतीय भाषा र संस्कृतिमै सम्मिलित भए। उनीहरूको सांस्कृतिक सम्मिलन एक प्रकारले विलय थियो। एकातिर, राज्यसत्तामा नेपाली जातिको पराजय, अर्कोतिर अल्पसंख्यक उपस्थिति। यसले भाषिक र सांस्कृतिक पहिचानमा संकट ल्याउनु स्वाभाविक थियो। त्यस कारण धेरै नेपालीका थर पनि भारतीय जाति र थरसँग मिल्दाजुल्दा भए। भाषा, संस्कृति र रीतिरिवाज बिस्तारै भारतीयकरण भए। कतिपय त स्थानीय समुदायमा यसरी भिजे कि नेपाली पहिचान नै विलीन भयो। बरू वीर गोर्खालीका लागि त्यस क्षेत्रका रजौटादेखि इस्ट इन्डिया कम्पनीका सेनामा जागिर सधैँ खुला रह्यो। त्यसैले आज पश्चिमोत्तर भारतको जुनसुकै भूगोलमा पुगे पनि अधिकांश नेपाली फौजी पृष्ठभूमिकै भेटिन्छन्। 

भाग्सुमा नेपालीबहुल बस्ती बन्नुको कारण त्यहाँको सरकारी नीति पनि हो। भारतमा बेलायती साम्राज्य छँदै भाग्सु क्षेत्रलाई ९९ वर्षका लागि लिजमा दिइएको थियो। फस्ट गोर्खा राइफल्स, ६६-नर्सरी बटालियनबाट निवृत्त भएका नेपालीलाई यहाँ बस्न दिइन्थ्यो। त्यसबेला सेनामा काम गर्न उमेर हद थिएन। काम गर्न सक्ने हुन्जेल खट्नुपथ्र्यो। बूढो उमेरमा न घर फर्किने तागत हुन्थ्यो, न अहिलेजस्तो यातायातका साधन नै थिए। त्यसैले यस सल्लाघारी क्षेत्रमा जंगल फाँडेर निवृत्त नेपालीलाई त्यहीँ बस्न दिइएको थियो। जग्गाको भाडा पनि कमै थियो। "जसले जति जंगल फाँड्न सके, त्यति नै जग्गा उपयोग गरे," प्रधान भन्छन्, "पछि भारत सरकारले भाडा पनि तिर्न नपर्ने गरी दर्ता प्रमाणपत्र दियो। अब त बाबुबाजे बसेको ठाउँ छाडेर छोरानाति जाऊन् नै कहाँ ?" 

फौजी अर्थतन्त्र

नयाँगाउँ, देहरादुनकी रीता गुरुङ आउँदो होलीसम्म नयाँ घरमा बस्ने योजनामा छिन्। भारतीय सेनामा जागिरे श्रीमान्को कमाइ नै उनको परिवार धान्ने प्रमुख आधार हो। परिवार धान्ने मात्रै होइन, त्यस क्षेत्रका औसत घरभन्दा केही ठूलो आवासीय भवन बनाउने धुनमा छिन् उनी। भन्छिन्, "२७ लाख रुपियाँजतिमा घरको काम पूरा होला भनेकी थिएँ, लागत केही बढ्ला जस्तो छ।" यो नेपाली ४३ लाख रुपियाँभन्दा बढी रकम हो। सेनामा जागिरे भएपछि राम्रो विद्यालयमा छोराछोरीको पढाइ, राम्रो अस्पतालमा नियमित स्वास्थ्य जाँच, कम्तीमा एउटा मोटर र फराकिलो घडेरीमा डेढ-दुई तलाको घर बनाउनु हरेक परिवारको विशेषता नै बनेको छ। नेपालीबहुल धेरैजसो गाउँटोलमा चिल्ला र सुकिला डेढ-दुई तलाका घर, घरको फराकिलो आँगन, आँगनमा एक चारपांग्रे र एकाध दुईपांग्रे सवारीसाधन भेटिन्छन्। 

देहरादुनको गढी क्यान्टतर्फ जाने मुख्य सडकसँगै जोडिएको छ, बलराजसिंह घर्तीको अटो सप (गाडी मर्मत पसल)। सडकसँगै सोझिएको उनको पसललाई बायाँ पारी भित्रतिर छिर्ने हो भने उनको घरमा पुगिन्छ। भर्खरै छोरी रुचिका घर्तीको विवाह गरिदिएका बलराज भन्दै थिए, "६ लाख रुपियाँको कार उपहार दिएँ। १० लाख अरू खर्च भयो।" यो करबि २६ लाख नेपाली रुपियाँ हो। घर्तीले छोरीको विवाहमा गरेको खर्चको मोटो विवरणले प्रस्ट पार्छ, फौजीबहुल बस्तीको सामान्य अर्थशास्त्र। फेसन डिजाइनको क्षेत्रमा भविष्य बनाउँदै गरेकी रुचिकाको विवाह भारतीय सेनामा क्याप्टेन रहेका युवक विकास गुरुङसँग भएको थियो। घर्ती भन्छन्, "सामान्य विवाहमा पनि ८ देखि १० लाख भारतीय रुपियाँ त खर्च लाग्छ नै। छोरीको विवाहमा अझ धेरै लाग्छ। कार दाइजो दिनु सामान्यजस्तै बनेको छ।" 

कतिपयका भनाइमा भारतभरमिा सबैभन्दा राम्रो आर्थिक अवस्था भएका नेपाली देहरादुनमा बस्छन्। अन्यत्र चौकीदारी र खेतीमा संलग्न नेपाली मूलका भारतीयको बसोवास बढी छ। उत्तराखण्डमै पनि देहरादुनबाहिर निवृत्त फौजीभन्दा बढी अरू पेसा-व्यवसायमा लागेका नेपालीभाषी छन्। सेनामा दोस्रो उच्च पदसम्म पुगे पनि अन्य क्षेत्रमा यहाँका नेपालीको उपस्थिति कमजोर छ । नेपाली मूलकी मालाराज्यलक्ष्मी शाह यस क्षेत्रकी अहिलेसम्मकै एक्लो लोकसभा सदस्य हुन् । 

युवा पुस्ताको अलग बाटो 

दीपक खत्री, ४२, ले फौजी बाबुबाजेको पेसा पछ्याएनन्। उनले सहिद मेघ गुरुङ मार्ग, देहरादुनमा एउटा रेस्टुराँ र होस्टेल (छात्रावास) चलाएका छन्। सहरमा मध्यमस्तरको व्यवसायीमा गनिन्छन् उनी। आफूबाहेक श्रीमती र फौजी सेवाबाट निवृत्त बाबुलाई समेत त्यही व्यवसायमा व्यस्त राखेका उनले थप तीन जनालाई रोजगारी दिएका छन्। प्यूठान, भिंगृबाट दीपकका जिज्यूबाजे भारतीय सेनामा जागिर गर्न पुगेका थिए। त्यसपछि उनको परिवार देहरादुनमै बस्दै आएको छ। जिज्यूबाजेदेखिको सेनामा जागिर गर्ने क्रमलाई उनले भंग गरिदिए। "हाम्रो पुस्ता सरकारी जागिरको विकल्प खोज्दै छ। आफ्नै व्यवसायले बढी स्वतन्त्र र आत्मनिर्भर भएको महसुस हुन्छ," दीपक भन्छन्। 

दीपक यस्ता उदाहरण हुन्, जो देहरादुनमा रहेको नेपाली समुदायको पछिल्लो पुस्ताको प्रतिनिधित्व गर्छन्। उनीजस्तै आज धेरैजसो भारतीय नेपाली युवक स्वतन्त्र पेसा र व्यवसायको खोजीमा छन्। त्यसैले कतिपय आफ्नै व्यवसाय सञ्चालन गर्दै छन् भने कतिपय निजी क्षेत्रको जागिरमा फैलिँदै छन्। पेसा र व्यवसायका विविध क्षेत्रसँग परिचित हुनु, विभिन्न प्राविधिक तथा उच्च शिक्षाको सहज पहुँचमा पुग्नु र सरकारले सैन्य भर्तीमा आरक्षणको कटौती गर्नु आजको पुस्ता विविध क्षेत्रमा फैलिनाका प्रमुख कारण हुन्। भारतीय सेनाका बि्रगेडियरबाट निवृत्त भएका पीएस गुरुङ भन्छन्, "अवसर र बाध्यता दुवै कारण नयाँ पुस्ता फौजी जागिरको विकल्प खोज्दै छ।"

नेपाली भाषा, संस्कृति र पहिचानबाट पनि युवा पुस्ता थप टाढिँदै छ। भारतीय राष्ट्रिय सैन्य प्रतिष्ठानको परेडस्थलछेवैको बाटो भएर कार्यालयतर्फ जाँदै गरेकी सोनाली चन्द, २३, लाई नै हेरौँ। उनको घरमा नेपाली भाषा चले पनि कम हुँदै गएको छ। देहरादुनकै एक सूचना तथा सञ्चार प्रविधि कलेजकी कम्प्युटर शिक्षक सोनालीका लागि कम्प्युटर, इन्टरनेट, आइप्याड, स्कुटी र अंग्रेजी भाषा जति अनिवार्य छ, त्यति आवश्यक छैन, नेपाली भाषा। त्यसैले उनी घरमा पनि अधिकांश हिन्दी र केही अंगे्रजी बोल्छिन्। स्टिल कारखानामा काम गर्ने बाबु र फौजी काकाहरू पनि हिन्दीमै अभ्यस्त भइसकेकाले परविारमा नेपाली भाषाको उपस्थिति कम हुँदै गएको हो। 

नयाँगाउँ, देहरादुनकी नयना थापा, २२, एयर होस्टेस हुन्। दिल्ली अन्तर्राष्ट्रिय विमानस्थलमा केन्दि्रत उनको जागिरका कारण वर्षमा एकाधपटक मात्र घरपरविारसँग बित्छ। अंग्रेजी स्कुलमा पढेकी, परष्िकृत हिन्दी लबजमा अभ्यस्त भएकी नयनालाई नेपाली बोल्न भने झन्झट लाग्न थालिसकेको छ। तैपनि, बाबुआमालाई भेट्न देहरादुन आइपुग्दा हिन्दी र अंग्रेजीमिश्रति नेपाली बोल्ने प्रयास गर्छिन्। 

उनका बाबु प्रीतमकुमार थापा र बाजे पनि सेनामा जागिरे थिए। उनीहरू आबद्ध पल्टनमा नेपालीकै बाहुल्य हुँदा अनौपचारकि कुराकानी नेपालीमा नै हुन्थ्यो। नेपाली गीतसंगीतमा रमाउँथे। तर, नयना यस्तो माहोलबाट निकै टाढा पुगिसकेकी छन्। अमरसिंह थापासँगै काँगडा पुगेका योद्धा गुमानसिंह खड्काका पाँचौँ उत्तराधिकार सुनीलविक्रमको चिन्ता पनि यही छ, "हामी गोर्खाली जातिको भाषा, धर्म, संस्कृति नै नामेट पो हुने हो कि ? हाम्रो जातिको सभ्यता नामेट भयो भने हाम्रो अस्तित्व केमा खोज्ने ?" 

मास्टर मित्रसेनको तोतारानी

टाउको उठाएर हेर्दा नाकैमा ठोकिएलाजस्तो हिउँको पहाड अगाडि उभिन्छ। त्यसैको फेदीमा छ, भाग्सु धर्मशाला। यही भाग्सु क्षेत्रको तोतारानी गाउँमा आजभन्दा करबि ५० वर्षअघि मास्टर मित्रसेन थापाले झर्रा शब्दमा झ्याउरे गीतका बान्की भट्याएका थिए। हरियो जंगलको भित्रभित्रै हुर्कंदै गरेको यही भूमिबाट उनले नेपाली वीर जातिको गौरवगाथा गाएका थिए। लाहुरे जीवनको यथार्थलाई देश-देशावर पुर्‍याएका थिए। हो, तिनै मित्रसेनलाई जन्माउने यो भूमिमा, यो नेपाली बस्तीमा आज त्यस्ता विभूतिको खडेरी छ। मित्रसेनका झर्रा शब्द भट्याउने, नेपाली जनजीवनको स्पन्दन ठम्याउने नयाँ पिँढी खोज्नुपर्ने अवस्था छ। मलाई खुत्रुक्कै पार्‍यो जेठान तिम्रो बहिनीले, धानको बाला झुल्यो हजुर देशै रमाइलो, लाहुरेको रेलिमाई फेसनै राम्रो, चुइँचुइँ चुइँकिने जुत्ता, छड्के टोपी ढल्काई ढल्काई खुकुरी चम्काई, अब त जाऊँ कान्छी घर बाटो छ उकाली ओरालीजस्ता शब्दलाई झ्याउरे भाकामा कर्णपि्रय स्वरमा ग्रामोफोनमा रेकर्ड गराएर नेपाली ढुकढुकीमा बस्न सफल भएका मास्टर मित्रसेनकै घरमा नेपाली भाषा बुझाउन दोभाषे राख्नुपर्ने अवस्था त आउने होइन भन्ने स्थितिमा भाग्सु पुगेको छ। उनकै छिमेकी गाउँ दाडीका चन्दन कार्की, ५९, हिमाचली कुल्लु मिलाउँदै भन्छन्, "घरभित्र त नेपाली नै बोल्छौँ। तर, अचेलका केटाकेटीले नेपाली बोल्न र बुझ्नै छाडिसके।"

तैपनि, यहाँ मित्रसेनकै नाममा मित्रसेन साहित्य संगीत सभा स्थापना गरिएको छ। यस संस्थाले बेलाबेला साहित्यिक जमघट र सांस्कृतिक कार्यक्रम गर्दै आएको स्थानीय प्रतापसिंह गुरुङ बताउँछन्। त्यसबाहेक देवीदेवताको पूजा, दसैँतिहार, भैलो, चाडपर्व नेपाली चलन अनुसार मनाउने गरएिको उनको भनाइ छ। अर्को रोचक पक्ष के भने यहाँका नेपालीमूलका भारतीयहरू आफ्नो अलग र ऐक्यबद्ध सांस्कृतिक पहिचानका लागि हरेक वर्ष चाडपर्वको पात्रो प्रकाशित गर्छन्। "त्यो पात्रो भाग्सुलगायत काँगडा जिल्लाका हरेक गोर्खालीका घरमा पुर्‍याउँछौँ। र, एउटै रीति र तिथिमा ती चाडपर्व मनाउँछौँ," काँगडाकै द्रमण, प्रीतमनगरका एक मात्र गोर्खाली परिवारका मूली लालबहादुर भण्डारी भन्छन्। 

यता, उत्तराखण्डको देहरादुनमा नयाँ पुस्तालाई नेपाली भाषा र संस्कृति हस्तान्तरण गर्न कतिपय विद्यालयमा नेपाली अध्यापन नै गराउन खोजियो। तर, विद्यार्थी त्यसतर्फ आकषिर्त हुनै सकेनन्। अहिले त्यो अभियान बन्द छ। "बरू, गीत र सांस्कृतिक क्षेत्रबाट गोर्खाली पहिचानप्रति नयाँ पुस्तालाई सचेत बनाउन सकिन्छ कि भनेर लागिएको छ," गुराँस सांस्कृतिक कला केन्द्रकी कोषाध्यक्ष प्रभा शाह भन्छिन्। 

केन्द्रकी नृत्य निर्देशिका सुम्निमा शर्मा गुरुङले स्वयंसेवी रूपमा झ्याउरे, सोरठी, कौरा, मारुनी, तामाङ सेलोजस्ता नेपाली नृत्य स्कुले बालबालिकालाई सिकाउँदै आएकी छन्। कोषाध्यक्ष शाहका अनुसार गोर्खालीलाई एकतामा बाँध्न र आफ्नो जातीय संस्कृतिप्रति सबैको ध्यान आकषिर्त गर्न यो तरिका बढी प्रभावकारी भएको छ। "प्रदेशस्तरमा हुने प्रतियोगितात्मक कार्यक्रम, सरकारी स्तरबाट आयोजना हुने सभा, समारोह, राजनीतिक संगठनका कार्यक्रम र नेपाली चाडपर्वका अवसरमा समेत हामी ठेट नेपाली प्रस्तुति दिन्छौँ," शाह भन्छिन्, "हाम्रो प्रस्तुति हेरेपछि आफ्नो जातीय संस्कृतिप्रति हरेक गोर्खाली सोच्न बाध्य हुन्छ।" 

देहरादुनमा देउसीभैलोको प्रचलन भए पनि त्यसमा संस्कृति, कला र धार्मिक पक्ष कम तर पैसा माग्ने पक्ष बढी हावी भएको देखेर सेनाका पूर्वबि्रगेडियर पीएस गुरुङ चिन्तित बने। त्यसपछि उनले प्रस्ताव ल्याए, असली देउसीभैलो खेलेर देखाइदिनुपर्‍यो। गोर्खालीहरूको बैठकै डाकेर केही दिन देउसीभैलोको रहिर्सल गरियो र गएको तिहारमा गाउँगाउँमा गएर परम्परागत देउसीभैलो खेलियो। भन्छन्, "मौलिक संस्कृति हराउँदै गएको ठानेर हामीले असली देउसीभैलोको अभ्यास थालेका छौँ।" अहिले नेपाली कला र संस्कृतिसम्बन्धी पुस्तक, वाद्य, तस्बिर र भिडियो संकलन गर्नु उनको दैनिकी बनेको छ। 

साहित्य, कला, संगीतका क्षेत्रमा उर्वर बन्न नसकेको यस क्षेत्रमा जागरणको लहर ल्याउन कठिन रहेको लेखक भूपेन्द्र अधिकारीको ठम्याइ छ। तर, यही क्षेत्रमा मरिमेट्ने हो भने पुनःजागरणको सम्भावना पनि उत्तिकै रहेको उनको भनाइ छ। "हरेक वर्ष २९ असारमा भानुजयन्ती धुमधामका साथ मनाउँछौँ। खलंगा मेलामा सहभागी हुन बाहिर रहेका गोर्खालीसमेत घर फिर्छन् र यसमा राजनीतिक नेता र सरकारी ओहोदावाल पनि सहभागी हुन थालेका छन्," नेपाली भाषाका शिक्षकसमेत रहेका अधिकारी भन्छन्, "यसले नेपाली जातीय पहिचान र सांस्कृतिक जागरणको पक्षमा झीनो आशाको संकेत गर्छ।"