
माधव नेपालको दस महिना पुरानो सरकार शान्ति र संविधानको मूल उद्देश्यमा मात्र होइन, शासनका सबै मोर्चामा असफल भइसकेको छ र मुलुकले अब जतिसक्दो छिटो यो बोझ बिसाउने वेला भइसकेको छ । सँगसँगै, सरकार बनाउन र ढाल्न फेरि अर्को गणितको खेल सुरु हुनुअघि नै आमसहमतिका आधारमा संविधानसभाको जनादेशको सम्मान हुनेगरी राष्ट्रिय सरकार गठन गर्न दलहरूले सार्थक संवाद सुरु गर्नुपर्छ । त्यो यसर्थ कि मुलुकलाई अहिले गणित होइन, शान्ति र संविधान चाहिएको छ र शान्तिप्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउन अनि नयाँ संविधान लेख्न केवल ३०१ को खेलमात्र पर्याप्त हुने छैन ।
सरकार औचित्यको हरेक कसीमा असफल भइसकेको छ । सरकारको प्राथमिक कार्यसूची शान्ति र संविधान थियो । यो सूची त यतिखेर अलपत्र छ नै, सरकार राज्यको न्यूनतम उपस्थिति देखाउन पनि असफल भएको छ । सरकारको असफलता जति खेदजनक छ, संवेदनहीनता त्योभन्दा पनि आपत्तिजनक छ । प्रधानमन्त्री रकम बाँडिरहेका, भोज खुवाइरहेका, रिबन काटिरहेका वा विमोचन गरिरहेका भेटिन्छन्, यद्यपि सरकार ढल्ने चर्चापछि मात्र उनले केही दिनका लागि यो रमाइलो ँस्थगित’ गरेका छन् । मन्त्रीहरू आफू चढेको गाडी तोडफोड गर्नेदेखि सिडिओ र सिडिओका भान्सेसम्मलाई पिट्दै हिँडिरहेका छन् । भ्रष्टाचार समाचार मानिन छोडेको छ र राज्यकोषको दुरुपयोगले अहिलेसम्मका सबै सीमा नाघेको छ । शान्तिसुरक्षा अहिलेसम्मकै सबैभन्दा कमजोर बिन्दुमा छ तर सरकार केवल लास गनिरहेको छ । यो सरकारले मुलुकलाई शान्ति र नयाँ संविधान त परको कुरा, न्यूनतम शासन र सुरक्षा पनि दिन सक्दैन भन्ने तथ्य पछिल्ला दस महिनामा यति बलियोसँग र यति धेरै कोणबाट प्रमाणित भइसकेको छ कि त्यसलाई पुष्टि गर्न माधव नेपाललाई प्रधानमन्त्रीका रूपमा अरू एक दिन, एक घन्टा र एक मिनेट पनि झेल्न आवश्यक छैन ।
१४ जेठभित्र नयाँ संविधान घोषणा पनि नगर्ने र संविधानसभाको म्याद पनि नथप्ने वातावरण निर्माणमा प्रधानमन्त्री नै संलग्न भएको छनक देखिँदै छ । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारले अन्तरिम संविधान कायमै राखेर यो सरकारले संविधानसभाको अर्को चुनाव गराउनुपर्ने धारणा अत्यन्त आत्मविश्वासपूर्वक र सार्वजनिक रूपमै राखिरहेका छन् । उता जिम्मेवार मन्त्रीहरूले निर्धक्कसँग शान्तिसम्झौताकै औचित्यमाथि प्रश्न गरिरहेका छन् र प्रधानमन्त्री केवल सुनिरहेका छन् । त्यसो भएमा १४ जेठपछि मुलुक राजनीतिक र संवैधानिक दृष्टिले शून्यमा पुग्नेछ । त्यो शून्यले क्षणिक रूपमा कसैलाई लाभ र कसैलाई हानि होला तर त्यसले मुलुकलाई अन्ततः सम्हाल्नै नसकिने अराजकता र गृहयुद्धमा मिल्काउनेछ । सरकार शान्ति र संविधानको कार्यसूचीबाट विचलित भइसकेको योभन्दा ठूलो प्रमाण अरू के हुनसक्छ ?
प्रधानमन्त्री नेपाल र उपप्रधानमन्त्री सुजाता कोइरालादेखि अधिकांश मन्त्री संविधानसभा निर्वाचनमा पराजित भएका हुनाले संविधानसभाप्रति उनको प्रतिशोधपूर्ण व्यवहार मुलुकलाई बिझाउने अर्को पक्ष भएको छ । यो एउटा सरकार थिएन, केवल प्रतिक्रिया थियो भन्ने प्रमाणित भइसकेको छ । माधव नेपालले पछिल्ला दस महिनामा सरकार होइन, भन्डारा चलाए । आफ्नो निवासमा कहिल्यै कालो चियासँग थिन आरारुट बिस्कुटसम्म नखुवाउने उनले राज्यकोष दुरुपयोग गर्दै बालुवाटारमा हरेक दिनजसो भव्य भोज आयोजना गरे । माधव नेपालको सरकार स्वयं एमाले, कांग्रेस र गठबन्धनका अरू घटकका लागि पनि हानिकारक भइसकेको छ । यसले गठबन्धनका घटकहरूको जनाधारलाई थप सीमित गरेको छ । सभासद्हरू, संविधान नै नलेखी र शान्तिप्रक्रियालाई मझधारमै छाडेर जिल्ला र्फकंदा जनताले गर्ने व्यवहारको अनुमान गर्नोस् र माधव नेपाललाई हटाउनोस् ।
No comments:
Post a Comment