साहित्य

मान्छे
(शिव सस्मित)

अचेल मान्छेको परिभाषा फेरिन थालेको महसुस भइरहेको छ । मान्छेलाई ‘अर्कै’ रुपमा हेरिन थालेको अनुभूति भइरहेको छ । नेपालमा गणतन्त्र आएपछि, लोकतन्त्र ल्याएपछि त झन् मान्छे रुप न रङको, आफैं बेढङ्गको बन्न थालेको पनि देखिएको छ । मैले मात्र यस्तो भोगेको हूँ कि अरुले पनि हो त्यो खोजीको विषय होला । तर भएको छ नै त्यस्तै, अहिले नेपालको सन्दर्भमा मान्छे भनेको को हो ? भनेर कसैलाई सोधे स्पष्ट होला । सूचना र सञ्चारको जगत् साक्षी छ । 

झट्ट कसैलाई मान्छे भनेको को हो ? कसलाई मान्छे भन्छन् ? भनेर सोध्दा ऊ मजैसितै हाँस्ने कुरा पक्का छ । मान्छेले मान्छेलाई मान्छे भनेको के हो ? भनेर सोध्दा राष्ट्रिय न्तराष्ट्रियस्तरका बुज्रुक र उपबुज्रुकहरु त हाँस्छन् भने सामान्य माइकलालहरुका के कुरा ? परीक्षणका लागि एकजना बुद्धिजीवीलाई मैले पनि सोधेर हेरेको हुँ, उनी पहिले अट्टहास गर्दै हाँसे । पछि थामिएपछि मलाई नै उल्टै हकारेपछि लामो लामो सास पनि फेरेको हुँ । उनले यसरी हकारे– “ए ! तपाईंले पनि यस्तो बकवास प्रश्न गर्ने हो ? मान्छे भनेको को रे ? मान्छेको परिभाषा के रे ? अब के भन्नु ? मान्छे भनेको मान्छे नि । तपाईं मान्छे, म मान्छे, ऊ त्यो पनि मान्छे (उताबाट आइरहेको मान्छेलाई देखाउँदै) । ऊ त्यसलाई गोरु भन्छन् (चर्दै गरेको गोरुलाई देखाउँदै) । अन्न खानेजति सबै मान्छे । के तपाईंले अन्न खानुहुन्न ? 

उनका कुराले मलाई चसक्कै बिझायो । अन्नै नखाने बनाए मलाई । हुन त उनलाई वास्तविक मान्छे हुनपरेको भए थाहा हुन्थ्यो होला । त्यस्तालाई पनि के बुद्धिजिवी भन्नु ? तर मैले मलाई बुद्धिजिवी भन्न खोजेको भने पटक्कै होइन । आपूm बुद्धिजीवी भएको भए के मान्छे भनेको के हो ? भन्दै अखलवाङ्गे प्रश्नको उत्तर खोज्दै हिँड्थेँ होला र ? जे होस् म मूर्खलाई यो प्रश्नको उत्तर चाहिएकै छ, उत्तरको खोजीमा धाइएकै छ । 

मान्छेको परिभाषालाई मैले परिवर्तन गर्न खोजेको होइन, मजस्तो नाथेले परिवर्तन गर्न खोजेर हुने पनि होइन । यो त नेपालमा बहुदल छिरेपछि परिवर्तन हुन थालेको हो । लोकतन्त्र र गणतन्त्र स्थापना भएपछि त झन् यसले महादेवको शिर चढ्न थालेको हो । आपूmलाई गणतन्त्र र लोकतन्त्रका हिमायती ठान्नेहरुले यसको परिभाषा बदलेका हुन् । गणतन्त्र र लोकतन्त्रजस्तो पवित्र व्यवस्थामा समेत मान्छेलाई मान्छे भन्ने परिपाटी हराएपछि अब साँच्चै मान्छेको परिभाषा खोज्नुपर्ने बेला आएको छ । जो सुकैले जे भनुन्, असली मान्छेको पहिचान खोज्नै पर्ने बेला आएको छ । 

अचेल तपाईं जता जानुस्, यदि तपाईंसँग कुनै राजनीतिक पार्टीको लाइसेन्स छैन भने तपाईंलाई मान्छे भनिँदैन, मान्छेको कित्तामा गनिँदैन । यदि कुनै राजनीतिक पार्टी, अझ पार्टीका टाउकेहरुको पुच्छर भएर हिँड्नुहुन्न भने तपाईं यो दुनियाँको दुच्छर प्राणीमा दरिनुहुनेछ, मान्छे होइन । यसैले त अहिले के पत्रकार, के शिक्षक, के बुद्धिजीवी सबैलाई ‘मान्छे’ बन्ने चटारो छ । आफ्नै स्थानमा रहेर मान्छेको परिचय स्थापित गर्नुपर्नेमा उनीहरुलाई ‘मान्छ’ेको कित्तामा पर्नै हतारो छ । 

उदाहरणहरु प्रसस्तै छन् । तपाईं जुनसुकै सङ्घसंस्था वा सरकारी कार्यालयमा कुनै कामका लागि जानुस्– त्यहाँका टाउकेहरुबाट प्रश्न तेर्सिहाल्छ– तपाईंसँग कुन पार्टीको सिफारिस छ ? अथवा तपाईंको नाम कुनै सामाजिक जिम्मेवारी वा सेवासुविधाका लागि पर्न गयो भने सबभन्दा पहिलो तपाईंको ढङ्ग नहेरेर राजनीतिक रङ हेरिन्छ । यदि तपाईंसँग त्यस्तो रङ छैन भने तपाईंको नाम सीधै रद्दीको टोकरीमा फालिन्छ । सर्वदलीय सिफारिसमा नपरेपछि तपाईं कसरी मान्छे हुनुभयो ? तपाईं त कुनै विचारै नभएको रे लौ ! तपाईहरुले चुनावमा ज्ञानेन्द्रलाई भोट दिएर जिताउनुभएको त थिएन होला नि ! कि कसो ? सामन्तवादको अन्त्य ग¥यौं भन्नेहरुका सामन्तवादी प्रवृत्ति देख्दा हाँस पनि उठ्छ । अर्कालाई सामन्तवादी भन्दै आफ्नै थाप्लामा तीन किलाको सामन्तवादी पोको झुण्ड्याएर हिँड्नेहरु मान्छे रे अरु अमान्छे रे कस्तो अचम्म । अब त राजनीतिक पार्टीका टाउकेहरुको झोला बोकिएन भने, बारम्बार तिनका पाउ मोल्न गइएन भने, चाकरी धसिएन भने, स्वाभिमानी र स्वतन्त्र भई, आफ्ना हक र अधिकारहरुको प्रयोगमात्रमा बाँच्न खोजियो भने अब मान्छे नै नबनिने भइयो होइन त ? कस्तो जमाना आएछ । 

मान्छे नै मान्छेहरुको यस्तो भीडमा अमान्छे भएर हराउनुभन्दा मलाई पनि मान्छे बन्ने खूब रहर लागेको छ तर रहर लागेर पनि हुँदोरहेनछ । सबै रहर पूरा हुने हो भने के यो पृथ्वी भन्ने ठाउँमा बसिँदो हो र ? फेरि विचारका नाउँमा विचारलाई अचार बनाउन आफुलाई मरे आउँदैन । कुनै व्यक्तिविशेषको खोपी धाउने, चाकडीवादको भजन गाउने, कहिले कसको कहिले कसको टोपी लाउन पनि जानिँदैन । यसो गर्न नजान्नेले मान्छे बन्ने रहर लाग्यो भन्दैमा होला ? एक¬मनको दोस्रो मनले यस्तो आदेश दिएपछि त्यस्तो ‘मान्छे’ बन्नुभन्दा ‘मान्छे’ हरुका नजरमा ‘अमान्छे’ बनेरै बस्नु बेस लागेको छ । बरु हामीजस्ता ‘अमान्छे’ हरुले नेपाली शब्दकोषमा ‘मान्छे’ को अर्थ नै फेर्न दबाद दिने हो कि ? भाषा र शब्दका विशेषज्ञहरुले टाउको खियाउँदै गर्दा जायज होला । जय ! ‘मान्छे’ । 
- म्याग्दी

No comments:

Post a Comment