Sunday, November 25, 2012

३० हजार मेगावाटको क्षेत्रलाई बेवास्ता

काठमाडौं, मंसिर १० (नागरिक) -मुलुकको कुल जलविद्युत उत्पादन क्षमताको एक तिहाइभन्दा पनि बढी सम्भावना बोकेको सुदूरपश्चिमाञ्चल क्षेत्रलाई राज्यले सधैं बेवास्ता गर्दे आएको व्यवसायीले गुनासो गरेका छन्।
सुदूरपश्चिमका व्यवसायीहरूका अनुसार त्यस क्षेत्रमा ३० हजार मेगावाटभन्दा बढी जलविद्युत उत्पादन गर्न सकिने जलाधार क्षेत्र छन्। तर, सरकार वा जलविद्युत लगानीकर्ताले ध्यान नदिएको भन्दै उनीहरूले गुनासोसहित लगानी गर्न आग्रह गरेका छन्।
कैलाली उद्योग वाणिज्य संघको आयोजनामा मंसिर २२ देखि दस दिनसम्म हुन लागेको सातौं 'सुदूरपश्चिम महोत्सव' बारे जानकारी दिँदै संघका अध्यक्ष कर्ण कुवँरले सुदूरपश्चिम सधैं राज्यको बेवास्तामा परेको बताए। 'सुदूरपश्चिम पछाडि परेको क्षेत्र होइन, यो पछाडि पारिएको क्षेत्र हो,' उनले भने, 'यो क्षेत्रको विकासका लागि सरकारले हालै आयोग गठन गरेर प्रमाणित गरिसकेको छ।'
कुवँरका अनुसार राज्यको ध्यानाकर्षण र समग्र क्षेत्रलाई उजागर गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो। प्रधानमन्त्रीले उद्घाटन गर्ने महोत्सवमा यसपालि न्यूनतम १५ करोड रुपैयाँबराबरको कारोबार गर्ने र ६ लाख दर्शक ल्याउने लक्ष्य छ। धनगढीमा आयोजना हुने महोत्सवमा ३ सयभन्दा बढी स्टल रहने छ। १० करोडको कारोबार भएको गत वर्षको महोत्सवमा ५ लाख दर्शक सहभागी थिए। महोत्सवमा भारतका लखनऊ, बरेली, पलिया, सम्पूर्णानगर, चन्दनचौकी, पिलिभित, वनबासालगायत भारतीय सहरबाट पनि दर्शक आउने गरेका छन्।
महोत्सवले स्थानीय उत्पादन, भाषा, संस्कृति प्रवर्द्धन गर्ने मूल लक्ष्य पनि राखेको उनले बताए। 'यो महोत्सवलाई सुदूरपश्चिमेलीले दसैं-तिहारभन्दा पनि ठूलो चाडका रूपमा प्रतीक्षा गरिरहेका हुन्छन्,' उनले भने, 'राज्य सञ्चालन प्रक्रियामा रहेका जिम्मेवार अधिकारीहरूलाई समग्र सुदूरपश्चिमको विकासमा ध्यानाकर्षण गराउन हामी निरन्तर लागेका छौं। र, यसमा महोत्सव एउटा प्रमुख कारक तत्व हो।'
संघका सल्लाहकार संयोजक झपट बोहोराले महोत्सव आयोजना गरेर मनोरञ्जन गर्नेमात्र नभई सुदूरपश्चिममा व्यापक सम्भावना छ भन्ने पुष्टि गराउने उद्देश्य भएको बताए। स्थानीय उत्पादन, कृषि, पशुपालन, जडिबुटी, वन पैदावरलगायतमा यो क्षेत्र धनी रहेको उनको भनाइ छ।
'सरकारले आर्थिक समानतामा सुदूरपश्चिमलाई जहिले पनि पछाडि पारेको छ, शायद सिंहदरबार त्यहाँबाट टाढा भएर हो कि,' उनले भने, 'गएको १० वर्षमा सरकारको कूल बजेटको १२ प्रतिशतभन्दा बढी हिस्सा सुदूरपश्चिमले पाउनै सकेन। जबकि अन्य क्षेत्रले १६ देखि २० प्रतिशत पाइरहेका छन्। यो भनेको हाम्रो क्षेत्रलाई हेलाँ गरिएको हो। हामीले पनि २० प्रतिशत बजेट पाउनैपर्छ।'
उनका अनुसार सुदूरपश्चिमेलीले विगतमै सरकारलाई २१ बुँदे मागपत्र बुझाए पनि हालसम्म तीनवटामात्रै पूरा भएको छ। २१ बुँदे माग पेस गरेपछि विगतमा आयोजित महोत्सव उद्घाटनमा आएका प्रमुख अतिथिलाई २१ किलो तौलकै फूलको माला लगाइएको थियो। जति माग कम हुँदै जान्छ, त्यत्ति नै मालाको तौल पनि घट्दै जान्छ।
'सुरक्षित लगानी तथा औद्योगिक विकासका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्तालाई सम्भावनाले भरिपूर्ण सुदूरपश्चिममा लगानी गर्न महोत्सवमार्फत् आग्रह गर्छौं,' बोहोराले भने, 'बाँकी माग पूरा नभएसम्म सुदूरपश्चिमसँग सम्बन्धित राष्ट्रिय स्तरका नेतालाई अब निमुखा र गरिब जनताको नाम भजाएर राजनीति नगर्न चेतावनी दिन्छौं,' उनले भने, 'अब कति सहने, अति भयो।'
उनका अनुसार सुदूरपश्चिमले कृषिलाई पहिलो प्राथमिकता दिएको छ। त्यसपछि पर्यटन, जडिबुटी र जलविद्युत छन्। सरकारले ध्यान दिन सके यो क्षेत्रमात्र नभई समग्र देशको अर्थतन्त्रमा ठूलो योगदान पुग्ने निश्चित छ।
संघका अनुसार सुदूरपश्चिममा खप्तड, रामारोसन, सूर्मासरोवर, बडिमालिका, शुक्लाफाँटा, सइपाल, अपी, नाम्पा, घोडाघोडी, कर्णालीलगायत धेरै पर्यटकीय गन्तव्य छन्। त्यसै गरी भाषिक, धार्मिक, सांस्कृतिक तथा प्राकृतिक रूपमा सम्पन्न क्षेत्र पनि हो।
(By: Nagariknews.com)

No comments:

Post a Comment