Thursday, March 25, 2010

पत्रकारमाथि कुटपिट राज्य आतंकः दाहाल

काठमाडौ, चैत्र १२ - माओवादी अध्यक्ष पुष्पकमल दाहालले जनकपुरमा पत्रकारमाथि भएको कुटपीटलाई राज्य आतंकको संज्ञा दिएका छन् । राजधानीमा उपचार गराइरहेका घाइते पत्रकारहरुसंगको भेटपछि बिहीबार संवाददाताहरुसंग उनले राज्य बर्बरढंगले प्रस्तुत भएकोसमेत आरोप लगाए ।
एक नवदुलहीलाई प्रहरी अधिकृतले बलत्कार गरेको आरोपमा जनकपुरमा भएको प्रदर्शनको समाचार संकलन गर्न गएका पत्रकारहरुलाई गतसाता प्रहरीले कुटपिट गरेका थिए । कुटपीटबाट गम्भीर घाइतेहरुको राजधानीस्थित कान्तिपुर हस्पिटलमा उपचार भइरहेको छ ।
'राज्यस्तरबाटै पत्रकारमाथि कुटपिट हुनुलाई राज्य आतङ्ककै रूपमा मान्न सकिन्छ' दाहालले भने । उनले राज्यले गरेको यस प्रकारको दमन निन्दनीय भएकोसमेत उल्लेख गरे । उनी पार्टी उपअध्यक्ष बाबुराम भट्टराईसहित हस्पिटल पुगेका थिए ।

बर्दियामा सेनाद्वारा अत्यधिक बल प्रयोगः महिला आयोग


काठमाडौ, चैत्र १२ - बासपानी घट्नामा सेनाको अत्याधिक बल प्रयोगका कारण बालिकासहित तीन महिलाको मृत्यु भएको राष्ट्रिय महिला आयोगले निष्कर्ष निकालेको छ ।
गत फागुन २६ गते बर्दिया राष्ट्रिय निकुञ्जको भित्र पर्ने सुर्खेतको बासपानी क्षेत्रमा काउलो काट्न गएका १२ बषिर्य चन्द्रकला विक, उनकी आमा देवीसरा र कान्छी आमा अमृताको सैनिकले चलाएको गोलीबाट मृत्यु भएको थियो ।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा सेनाको गोलीबाट मृत्यु भएको घटनाको स्थलगत अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै आयोगका अध्यक्ष नैनकला थापाले मृतकहरु काउलो सङ्कलक भएको पुष्टी भएको जानकारी दिइन् ।
उनले मृतकको कपडा घटनास्थलमा यत्रतत्र छरिएको अवस्थामा रहेको मृतकका आफन्त तथा गाउँलेको भनाइ रहेकाले घटना थप रहस्यपूर्ण  रहेपनि जिल्ला जनस्वास्थ कार्यलयका  चिकित्सक र फरेेन्स चिकित्सकको प्रतिवेदनमा गोली लागी उनीहरुको मृत्यु भएको र शरीरमा अन्य चोट नदेखिएकाले बलात्कार गरेर हत्या भएको भन्न नसकिने उल्लेखसमेत गरिन् ।
स्वतन्त्र छानबिन आयोग गठन गरी घटनाको सत्यतथ्य बाहिर ल्याई दोषीलाई कारबाही र मृतकका परिवारलाई उचित क्षतिपूर्ति प्रदान गर्न आयोगले सरकारलाई सिफारिस गरेको छ । रासस

पूर्व राजा ज्ञानेन्द्रलाई जनकारवाही गरिने, राजतन्त्र समाप्त भइनसकेको अभिव्यक्ति प्रतिक्रान्तिकारी षड्यन्त्र भएको ठहर


एकिकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पुर्वराजा ज्ञानेन्द्र शाहलाई जनकारवाही गरिने बताउनुभएको छ। राजधानीमा आज आयोजित साक्षात्कार कार्यक्रममा श्रेष्ठले राजतन्त्र अंझै समाप्त भएको छैन भन्ने पुर्वराजाको अभिव्यक्ती प्रतिक्रान्तिकारी षडयन्त्रको गन्ध भएको टिप्पणी गर्नुभयो। पुर्वराजालाई सरकारले दिंदै आएको सेवासुविधा तत्काल रोक्नु पर्ने बताउँदै श्रेष्ठले चिहानमा गाडिसकिएको राजतन्त्र कुनैपनि हालतमा पुर्नवाहली हुन नसक्ने ठोकुवा गर्नुभयो।  
 
राजनीतिक संयन्त्रको नेतृत्व विवादको टुंगो भने दलहरुबीचको आपसी समझदारीबाट गर्नुपर्ने उहाँको भनाई थियो। शान्तिप्रक्रियामा पुर्‍याएको योगदान स्वरुप काँग्रेस सभापति गिरिजाप्रसाद कोइरालालाई संयन्त्रको नेतृत्व दिईएको स्पष्ट पार्दै श्रेष्ठले अब भने माओवादी अध्यक्ष दाहालले संयन्त्रको नेतृत्व गर्ने बताउनुभयो।।