Saturday, November 1, 2014

ऐतिहासिक स्थल बेवारिसे

त्रिशूली नदी किनारको खेतमा दुई ठूला ढुंगा वर्षौंदेखि अलपत्र छन् । यस्तो दृश्य देशभर देख्न सकिन्छ तर रसुवाको नुवाकोट ४ दहमा रहेका यी दुई ढुंगाको कुरा बेग्लै छ । यिनै ढुंगामा बसेर नेपाल र चीनबीच युद्ध अन्त्य गर्ने सन्धि भएको थियो जसलाई 'बेत्रावतीको सन्धि' नामले चिनिन्छ । यी ढुंगाले नेपाल र चीनबीचको सन्धिलाई मात्र बुझाउँदैनन्, तिब्बत चीनमा गाभिएको समयको समेत प्रतिनिधित्व गर्छन् ।
सरोकारवाला निकायले चासो नलिँदा उक्त ऐतिहासिक स्थल चर्चामा छैन । विसं १८४९ असोज १५ मा नेपाल र चीनबीच सन्धि भएको थियो । तीमध्ये अग्लो कालो ढुंगामा चिनियाँ र तल्लोमा नेपाली पक्ष बसेर सन्धिपत्रमा हस्ताक्षर भएको थियो । तल्लो ढुंगा तुप्चे गाविसका दुर्गा पौडेलको जग्गामा परेको छ भने माथिल्लो सार्वजनिक जग्गामा । माथिल्लोभन्दा मास्तिर अर्को सानो ढ्यांग्रो आकारको ढुंगा पनि थियो । केही समय अघिसम्म सन्धिस्थल हेर्न स्थानीय बासिन्दा आउने गरेका थिए । ढ्यांग्रो भएको ढुंगा फालिदिएपछि कसैले चासो नदिएको पौडेलले बताए ।
सम्बन्धित निकायले चासो नलिएपछि उक्त स्थल गन्तव्य बन्न नसकेको विश्वहिन्दु महासंघ नुवाकोटका अध्यक्ष सोमप्रसाद पाण्डेले बताए । सन्धिस्थललाई व्यवस्थित गर्नसके स्वदेशी र विदेशी पर्यटकीय आकर्षणको केन्द्र बन्ने उनले बताए । ऐतिहासिक धरोहर जोगाउन सरकारी निकायले विशेष चासो दिनुपर्ने स्थानीय कृष्णप्रसाद रिजालले बताए ।
तिब्बतको आफ्नो मुद्रा नभएर नेपालबाट टकमारी गरेर लाने चलन थियो । उक्त मुद्रामा शुद्ध चाँदी नभएपछि तिब्बतसँग खटपट हुँदै दुई देशबीच युद्ध भयो । विसं १८४४ मा तिब्बतका काजी स्यामर्पा लामा त्यहाँ भएको खटपटका कारण शरण लिन नेपाल आए ।
उनलाई तिब्बत फिर्ता गर्नुपर्ने र मुद्राको विषय सुल्झाउनुपर्ने विवाद बढ्दै गयो । विसं १८४६ मा तिब्बतसँग गरिएको भोटको सन्धिले ५० हजार एक रुपैयाँ नेपाललाई बुझाउनुपर्नेमा दोस्रो वर्ष नबुझाई तिब्बतले सन्धि भंग गर्‍यो । त्यसपछि नेपालसँग युद्ध गर्न चीनको सहयोग माग्यो । विसं १८४९ असार १० मा टुंवाङको नेतृत्वमा आएको चिनियाँ सेना र नेपाली सेनाबीच रसुवाको धैबुङ तथा नुवाकोटका गेर्खु, चोकदे र दुधेलामाको डाँडामा युद्ध भएको इतिहासमा उल्लेख रहेको रिजालले बताए ।

नेपाली भाषाको उद्गमस्थल संरक्षणविहीन

नेपाली भाषाको उद्गम स्थलका रूपमा चिनिने डडेलधुराको अजयमेरुकोट संरक्षणविहीन हुँदा १५ सय वर्षअघिको पुरातात्त्विक महत्त्वको स्थल खण्डहर बन्दै गएको छ ।
१५ सय वर्षअघिको दरबारका भग्नावशेष, दरबार क्षेत्रबाट झन्डै ४ किलोमिटर दूरीमा रहेको गणिका नदीमा खुल्ने गुफा, तत्कालीन समयका अद्भुत कलाकृति भएका ढुंगादेखि थुप्रै ऐतिहासिक स्तम्भहरू रहेको अजयमेरुकोट क्षेत्र जीर्णसँगै बिस्तारै अतिक्रमणसमेत हुन थालेपछि संकटमा पर्दै गएको हो । स्थानीय बासिन्दा सम्मिलित कोट संरक्षण समिति भए पनि ती स्थलहरूको संरक्षण हुन सकेको छैन । 'नाम मात्रको संरक्षण भएको छ,' स्थानीय बासिन्दा जयराम दमाईं भन्छन्, 'बरु यो ऐतिहासिक धरोहरका नाममा आउने सानोतिनो बजेट केही व्यक्तिका लागि कमाइखाने भाँडो भएको छ ।'
नेपाल एकीकरणमा पश्चिम विजय गर्ने प्रमुख सामरिक अमरगढी किल्लादेखि ७ किलोमिटर दूरीमा रहेको अजयमेरुकोट संरक्षणका लागि न त राज्यले पहल गरेको छ न समुदाय स्तरबाटै कुनै प्रयास हुन सकेको छ । 'दरबार क्षेत्रका अद्भुत कलाकृतिहरू चोरी हुन थालेका छन्, झन्डै ८ सय वर्ष एउटा शक्तिशाली राज्यको राजधानी रहेको जस्तो ठाउँ नै रहेन,' ऐतिहासिक दरबार रहेको अजयमेरु गाविसका निवर्तमान गाविस अध्यक्ष हिक्मत ऐरले भने, 'स्थानीय स्तरमा गाविसको संरक्षण प्रयासले मात्र ऐतिहासिक धरोहरको संरक्षण हुन सक्दैन ।'
'डडेलधुरा सदरमुकामदेखि डेढ घन्टाको दूरीमा रहेको ऐतिहासिक कोटको संरक्षण हुन सकेको छैन,' डोटी राज्यको इतिहासका लेखक भोजराज भट्टराईले भने, 'अजयमेरुकोट मात्र नभई पुरै दरबार क्षेत्रको संरक्षण आवश्यक छ ।' उनका अनुसार जुम्लादेखि कणर्ाली नदीसम्मको शक्तिशाली डोटी राज्यको राजधानी रहेको अजयमेरुकोट नेपाली भाषाको उद्गम स्थल मात्र नभई १५ सय वर्षअघिको इतिहासको प्रमुख अनुसन्धान केन्द्र पनि हो । 'राष्ट्रगुरु योगी नरहरि नाथको प्रमुख खोज र अनुसन्धानको केन्द्र पनि अजयमेरुकोट रहेको थियो,' उनले भने ।
सुदूरपश्चिमका प्रमुख पर्यटकीय र धार्मिक स्थलहरू खप्तड, अपी साइपाल, बडीमालिका गन्तव्य क्षेत्रमा पर्ने यो ऐतिहासिक धरोहर बिस्तारै समाप्त हुँदै जान थालेपछि पुरातत्त्वविदहरूले चिन्ता व्यक्त गरेका छन् । संस्कृतिविद प्रा.डा. भोजराज पन्तले भने अजयमेरुकोटलाई छोडेर सुदूरपश्चिमको मात्र नभई नेपालको इतिहास नै अधुरो हुने बताए । उनले नेपाली भाषाको माउ डोटेली भाषाको मूल उत्पत्ति थलो मानिने अजयमेरुकोट पर्यटकीय रूपमा मात्र होइन, सांस्कृतिक र ऐतिहासिक दृष्टिकोणले पनि महत्त्वपूर्ण भएको बताए । 'डोटी, कुमाउ र कर्णाली प्रदेशको इतिहास अनुसन्धानकर्ताका लागि समेत अजयमेरुकोट प्रमुख अनुसन्धान स्थल हो,' उनले भने । कर्णाली प्रदेशका प्रसिद्ध इतिहासकार स्व. रत्नाकर देवकोटाका शब्दमा कर्णाली र डोटी राज्यको प्राचीन सभ्यताबारे अजयमेरुकोटबाट धेरै कुरा पाउन सकिन्छ । इतिहासकार देवकोटाको पुस्तक कर्णाली सेरोफेरोमा आधुनिक सभ्यताको उत्पत्ति केन्द्र अजयमेरुकोटलाई लिइएको छ ।
प्रसिद्ध इतिहासकार योगी नरहरिनाथसहित धेरै अनुसन्धानकर्ता र इतिहाकारहरूको लामो समयसम्म अनुसन्धानस्थल रहेको कोटको निर्माण पनि अद्भुत किसिमले भएको छ । दरबार भित्रैबाट ४ किलोमिटर सुरुङ मार्ग हुँदै गणिका नदी निस्कने गुफा, तेह्रौं शताब्दीका अद्भुत कलाकृति, कल्पना गर्न नसकिने ठूलाठूला ढुंगा काटेर बनाइएका दरबारका अवशेष हेर्न लायक छन् । पर्यटक निम्त्याउन चाहिने सबै पूर्वाधार भए पनि कोटको अवस्था भने दिनप्रतिदिन बिग्रँदै गएको छ । पछिल्लो समय कोट संरक्षणका लागि राज्यस्तरबाट बजेट निकासा भए पनि पुरातात्त्विक मापदण्डविपरीत स्थानीयहरूबाट मनोमानी ढंगले काम हुन थालेको छ ।
'अजयमेरुकोट नेपाली भाषाको उद्गम स्थल मात्र होइन,' सुदूरपश्चिमको संस्कृतिमा विद्यावारिधि गरेका डा. देवदत्त कलौनी भन्छन् ।

नेपाली एप्सको आफ्नै स्टोर

तपाईं कुन अपरेटिङ सिस्टम (ओएस) भएको स्मार्टफोन चलाउनु हुन्छ ? आइओइस, एन्ड्रोइड, विन्डोज, ब्ल्याकबेरी वा अरु कुनै ? ती सबै प्लेटर्फमका छुट्टाछुट्टै एप्लिकेसन्स (एप्स) स्टोर छन् । आफूलाई आवश्यक परेको एप्स सम्बन्धित प्लेटर्फमको भन्डारमा गएर डाउनलोड गर्‍यो । चलायो ।

एन्ड्रोइड मोवाइल चलाउनु हुन्छ भने अब ओएस डेभलपर कम्पनी गुगलकै प्लेस्टोरमा गएर मात्र एप्स डाउनलोड गर्नु पर्ने छैन । नेपाली एप्सको स्टोर छुट्टै छ 'एप्स झोला' नाममा । नामैले नेपालीपन झल्किने यस झोलामा नेपाली डेभलपरले डेभलप गरेका एप्स हुने नै भए, अन्तराष्ट्रिय स्तरमा चर्चामा रहेका केही एप्स समेत तपाईंलाई उपलब्ध हुने छन ।

गुगलले प्रोमोट गरेको गुगल डेभलपर गु्रप काठमाडौंका भुपाल सापकोटा, प्रभातमान श्रेष्ठ, हेम श्रेष्ठ र सुदीप तुलाधरले राजधानीमा आयोजित स्टार्टअप विकेन्डमा सहभागी हुदा नेपाली एप्सको स्टोरको कन्सेप्ट ल्याएका थिए । 'स्टार्टअप विकेन्डका दुई दिनको बन्द सेसनमै हामीले यसलाई तयार गरेका हौं,' डेभलपर टिमको नेतृत्व गरेका सापकोटाले भने, 'त्यसको छ महिनामा देखिएका एररहरु हटाएर रिलिज गर्‍यौं ।' समूहले ६ महिनाअघि यसको मोवाइल एप्स पनि बजारमा ल्याइसकेको छ ।

नेपालीको छुट्टै स्टोर किन आवश्यक पर्‍यो ? नेपाली डेभलपरहरुले विकास गरेका एप्स एन्ड्रोइड प्ले स्टोरमा राख्न आफ्नो छुट्टै एकाउन्ट क्रिएट गरेर २५ डलर तिर्नु पर्छ । त्यसरी रकम तिर्न नेपालमा इन्टरनेशनल पेमेन्ट गेटवेको सुविधा छैन । विदेशमा रहेका आफन्त वा साथीको सहयोगमा पैसा तिरेर एकाउन्ट बनाउनु पर्छ ।

'धेरै डेभलपरले प्ले स्टोरमा आफ्नो एप्स राख्न निकै सास्ती भोग्नु परेको छ,' सापकोटाले भने, 'त्यसलाई हटाउन हामीले नेपाली डेभलपरका लागि छुट्टै स्टोर डेभलप गरेका हौं ।' एप्स झोलामा आफ्नो एप्स राख्न डेभलपरहरुले १ हजार रुपैया तिरे पुग्छ । त्यसका लागि नेपाली पेमेन्ट गेटवे वा बैंकिङ च्यानलको प्रयोग गर्न सकिन्छ । त्यति रकम डेभलपरको एप्स डाउनलोड हुदा प्रयोग हुने ब्यान्डविथको खर्च मात्रै हो ।

एप्स झोला टिमले प्ले स्टोरमा तितरवितर अवस्थामा रहेका राम्रा नेपाली एप्सहरुलाई एकै ठाउमा अर्गनाइज गर्नु पर्ने अबस्था पनि देखेका रहेछन् । 'एप्स झोला भएपछि नेपाली एप्स खोज्न एन्ड्रोइड मोवाइल हुनेहरुले अरु कुनै स्टोर चाहार्नु पर्ने छैन,' सापकोटाले भने । 

एप्स झोलामा विभिन्न डेभलपरहरुले अहिलेसम्म विजनेश, इन्टरटेनमेन्ट, गेम्स, इजुकेसन, फिनान्स, लाइफस्टाइल, मिडिया, म्युजिक, ओपनसोर्स, प्रोडक्टिभिटी, सोसिइल टुल्स, ट्राभल्स क्याटागोरीका गरी ७० वटाजति एप्स राखेका छन् । यसमा युजर, एप्स डेभलपर र एप्स झोलाको टिम गरी १ हजार २ सयजति युजर बेस छ । त्यसमा ६० थरीका इन्डिपेन्डेन्ट डेभलपरहरु छन् ।

अहिलेसम्म उनीहरुले स्टोरबाट सित्तैमा एप्स उपलब्ध गराउदै आएका छन् । भविष्यमा थोरै शुल्क लिने सोचाइ उनीहरुको छ । 'राष्ट्रिय, अन्तराष्ट्रिय स्तरमा एप्सझोलाबाट धेरै एप्स डाउनलोड हुन थालेपछि केही शुल्क लिएर स्तरीय एप्स डाउनलोड गर्न दिने सोचाइ बनाएका छौं,' सापकोटाले भने, 'त्यसबाट हुने आम्नानीको ७० प्रतिशत डेभलपरलाई र ३० प्रतिशत स्टोरलाई छुट्याउने योजना छ । स्टोरलाई हुने आम्दानीको ठूलो हिस्सा एप्सझोलाको बजार प्रबर्धनमा खर्च गरिने उनले बताए ।

नेपाली एप्सको छुट्टै भण्डार पाउदा युजरहरुको रेस्पोन्स कस्तो छ ? 'युजरको रेस्पोन्स निकै राम्रो छ, टिम लिडर सापकोटाले भने, 'प्ले स्टोरमा देशबाहिरबाट भनसुन गराएर एकाउन्ट क्रिएट गर्न नसक्ने डेभलपरहरुलाई यसले अझ सजिलो बनाइ दिएको छ ।'

अपरेटिङ सिस्टम डेभलपरहरुका छुट्टै एप्स स्टोर छदैछन्, सामसङ, एचटिसीलगायतका मोवाइल हार्डवेयर निर्माता कम्पनीले पनि आफ्नै स्टोर डेभलप गरेका छन् । नेपाली डेभलपरको पहुच तिनका स्टोरसम्म पुग्दैन । त्यस्तो अवस्थामा नेपालमै एप्सको स्टोर हुदा प्रयोगकर्ता र डेभलपर दुवैलाई फाइदा पुग्ने देखिन्छ । तपाईंलाई कुन एप्स चाहियो ? एक पटक एप्सझोलामा ट्राइ गर्ने कि !