Sunday, March 28, 2010

चिट चोराउने बिषयमा झडप

सप्तरी, १५ चैत । एसएलसी परीक्षाको तेस्रो दिन आईतबार सप्तरीको भगवतपुर बडहरी केन्द्रमा चिट चोराउने समुहसाग प्रहरीको झडप भएको छ । परिक्षामा सहभागी विद्यार्थीहरुलाई जबरजस्ती चिट चोराउन उपस्थित भीडलाई नियन्त्रण गर्ने क्रममा भएको झडपमा २ प्रहरी र १ सर्वसाधारण घाइते भएका छन् ।

उत्तेजक भीडलाई नियन्त्रणमा लिन १ सेल अश्रुग्याास प्रहार गरिएको सप्तरीका प्रहरी उपरीक्षक शरद ओलीले जानकारी दिनुभयो । चिट चोराउने समुहलाई प्रहरीले अबरोध गरेपछि उनीहरु प्रहरीमाथि नै जाई लागेको बताइएको छ । यसैबीच जिल्लाका विभिन्न परीक्षा केन्द्रबाट १५ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।

फत्तेपुर परीक्षा केन्द्रबाट सोनम चौधरीको नामबाट परीक्षामा सामेल भएका नक्कली परीक्षार्थी धीरेन्द्र यादव र ओद्राहा केन्द्रबाट श्याम चौधरीको सट्टामा सामेल भएका नक्कली परीक्षार्थी बालकृष्ण चौधरी पक्राउ परेका हुन् । जिल्लाभरीमा १५ जना नक्कली परीक्षार्थी पक्राउ परेको जिल्ला शिक्षा कार्यालय सप्तरीले जनाएको छ ।

धम्किपछी प्रमुखबाट राजिनामा

धनकुटा, १५ चैत । हतियारधारी समुहले ज्यान मार्ने धम्की दिएपछि धनकुटा बहुमुखि क्याम्पसका प्रमुख केशव पोखरेलले पदबाट राजिनामा दिनुभएको छ । करिब १५ जनाको हतियारधारी समुहले पेस्तोल देखाउँदै शनिबार राजिनामा नदिए जिल्ला छोड्नु पर्ने धम्की दिएपछि आइतबार पोखरेलले राजिनामा दिनुभएको हो ।

पोखरेललाई हतियारधारी समूहले विगत एक हप्तादेखि टेलिफोनमार्फत राजिनामा दिन दवाव दिंदै आएको थियो । हतियारधारी समूहको हालसम्म पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । धम्की आउन थालेपछि स्थानीय प्रशासनलाई जानकारी दिएपनि सुरक्षाको प्रत्याभुति नभएकोले बाध्य भएर राजिनामा दिएको क्याम्पस प्रमुख पोखरेलले बताउनु भयो ।

घटनाको सम्बन्धमा प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले भने सुरक्षाको  व्यवस्था मिलाउने भने पनि पोखरेलले अस्वीकार गरेको जानकारी दिनुभयो । करिब ६ महिना अघि क्याम्पस प्रमुखमा नियुक्त पाखरेलको राजिनामापछि नेतृत्वमा जानेबारे अन्योलता सृजना भएको छ । 

सरकार तत्काल विघटन हुनुपर्छः वैद्य


१५ चैत, काठमाण्डौ । एकीकृत नेकपा माओवादीका वरिष्ठ उपाध्यक्ष मोहन वैद्य किरणले वर्तमान सरकार तत्काल विघटन हुनुपर्ने बताउनुभएको छ ।
वर्तमान सरकारबाट शान्ति प्रक्रिया तार्किक निष्कर्षमा पनि पुग्न नसक्ने र तोकिएको समयमा नयाँ संंविधान पनि जारी नहुने भएकाले सरकार विघटन हुनुको विकल्पन नभएको बताउनुभयो ।
सेना समायोजन र अन्तरिम संविधानकाविरुद्ध वोल्दै हिँड्ने वर्तमान सरकारका मन्त्रीहरु नै शान्ती र संविधान विथोल्न लागिको परेको आरोप लगाउनुभयो ।
राजधानिको जनसंचार अभियानमा आइतबार आयोजित साक्षात्कार कार्यक्रममा उहाँले माओवादी नेतृत्वको सहमतीय राष्ट्रिय सरकार नै वर्तमान गतिरोध अन्तयको उपयुक्त वाटो हुने ठहर गर्नुभयो ।
माओवादी अहिले पुर्ण रुपले नयाँ संविधान वनाउन लागिपरेको स्पस्ट पार्दै किरणले जेठ १४ गतेभित्र संविधान नवने जनताले स्वतः स्फुर्त रुपमा विद्रोह गर्ने वताउनुभयो । त्यसलाई माओवादीले साथ दिने स्पस्ट पार्दै उहाँले त्यो विद्रोह प्रकृती कस्तो हुन्छ भन्ने अहिलेनै निश्चित नभईसकेको वताउनुभयो ।
उच्च स्तरिय राजनैतिक संयन्त्रको नेतृत्व माओवादीले गर्नेमा अन्य दलहरुले विवाद गर्नु आवश्यक नभएको उपाध्यक्ष किरणको भनाई छ ।
सेना समायोजन पहिला गरेर अन्य दलहरुले संविधान नवनाउने माओवादी माथि दमनको रणनिति अपनाउने प्रतिगामी षडयन्त्रपनि स्पष्ट देखिन थालेकाले संविधान निमार्ण संगसंगै सेना समायोजन गर्ने माओवादीको आधिकारीक धारणा भएको उहाँले स्पस्ट पार्नुभयो ।

अपहरित क्याम्पस प्रमुखको अवस्था अज्ञात

नेपालगन्ज, १५ चैत । चार दिनअघि अपहरणमा परेका स्थानीय महेन्द्र बहुमुखी क्याम्पसका प्रमुख राजितराम पाठकको अवस्था अझै अज्ञात रहेको छ । उहाँको सकुशल रिहाइका लागि बाँके जिल्लाका विभिन्न सङ्घसंस्था, राजनीतिक दल, नागरिक समाज तथा विद्यार्थीले आग्रह गरेका छन् ।

क्याम्पसप्रमुख पाठकको अपहरणमा संलग्न अज्ञात समूहले टेलिफोनमार्फत रु. १५ लाख फिरौती माग गरेको उहाँकी धर्मपत्नी कृष्णा पाठकले बताउनुभयो । प्रहरीले श्री पाठकको व्यापक खोजी भइरहेको जनाएको छ । 

एउटै कम्युनिष्ट केन्द्र बनाऔं: दाहाल


काठमाडौं, चैत्र १५ - माओवादी अध्यक्ष पुष्पकमल दाहालले एउटै कम्युनिस्ट केन्द्र बनाउनुपर्ने बताएका छन् । उनले नेपालका कम्युनिस्ट पार्टीहरू 'सामन्तवाद र साम्राज्यवादविरोधी' भएको भन्दै एउटै केन्द्र बनाउन पहल गर्नुपर्ने बताए ।
'एउटै कम्युनिस्ट केन्द्र बनाउने पहल गर्नु अहिलेको आवश्यकता हो,' उनले आइतबार वामपन्थी पार्टीहरूको संयुक्त छलफल कार्यक्रममा भने, 'यो जनताको चाहना पनि हो ।'
मानव अधिकारकर्मी पद्मरत्न तुलाधरको घरमा बसेको माओवादी, एमाले, माले, संयुक्त, एकीकृत र संयुक्त माक्र्सवादीको संयुक्त बैठकमा दाहालले मुलुकमा कम्युनिस्टको बहुमत भए पनि एक हुन नसकेको उल्लेख गरे ।
एमाले नेता केशव बडालले कम्युनिस्ट पार्टीबीच भएका असहमतिलाई छलफल गरी सहमतिमा पुग्नुपर्नेमा जोड दिए । माले महासचिव सीपी मैनालीले पनि सबै कम्युनिस्ट एउटै ठाउँमा आउनु खुसीको कुरा भएको बताए ।
बैठकले मुख्यतः आगामी वैशाख १० गते नेपालका कम्युनिस्टहरूले संयुक्त रूपमा लेनिन जयन्ती मनाउने निर्णय गरेको छ ।

४७ सालकै संविधान ब्युँताऊः किसुनजी


काठमाडौ, चैत्र १५ - पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले २०४७ सालकै संविधान ब्युँताउन आग्रह गरेका छन् । आइतबार साँझ विज्ञप्ती जारी गर्दै उनले जेठ १४ गते भित्र संविधान बन्न सक्ने अवस्था नभएकाले ०४७ सालकै संविधान ब्युँताउन आग्रह गरेका हुन् ।
कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको निधन भएपछि पहिलो पटक विज्ञप्ती जारी गर्दै भट्टराईले जेठ १४ भित्र संविधान जारी नहुने भएकाले मुलुक संविधान विहीन हुन नसक्ने भएकाले ०४७ सालकै संविधान ब्युँताउन राजनीतिक दल तथा नागरिक समाजलाई आग्रह गरेका हुन् ।
प्रेश बिज्ञप्तीको पूर्णपाठः
मुलुक झण्डै संविधानविहीन अवस्थामा प्रवेश गर्न लागेको छ । आगामी जेठ १४ गते सम्ममा संविधान बन्ने कुनै सम्भावना देखिदैन । ०४७ सालको संविधान उत्कृष्ट हुँदाहुँदै पनि त्यसलाई लागू हुन पर्याप्त अवसर नै नदिई त्यसलाई हतारमा समाप्त गरिएकोले नै अहिले मुलुकमा संवैधानिक र राजनीतिक रिक्तता उत्पन्न भएको हो । यो अवस्था धेरै दिन रहन दिइएको खण्डमा मुलुकको स्वतन्त्रता, बैधानिकता, सामाजिक सद्भाव र समृद्धिमा प्रतिकुल असर पर्न जानेछ । संविधानसभा भित्रका दलहरुमा संघीयता, धर्म निरपेक्षता र गणतन्त्रजस्ता हतारमा आयात गरिएका राजनीतिक पोशाकहरुमा तीब्र मतभेद हुँदा त्यो नेपालको मौलिक पहिचान र आवश्यकता बिपरित भएको पनि उत्तिकै स्पष्ट छ ।
यस्तो अवस्थामा राष्ट्रिय अखण्डता र सद्भाव बनाउन स्व. बीपी कोइराला र गणेशमान सिंहले आहवान गर्नुभएको राष्ट्रिय मेलमिलापको सिद्धान्त नै उपयुक्त हुन्छ भन्ने मेरो मान्यता छ । संविधान बन्न नसक्ने र अराजकता बढ्ने अनि मुलुकको अस्तित्व समेत धरापमा पर्न सक्ने वर्तमान अवस्थालाई ध्यानमा राखी म हाम्रो देशका सवै नागरिक तथा राजनीतिक दलहरुसमक्ष तत्काल ०४७ सालको संविधानलाई पुनर्जीबित गर्नेतर्फ अगाढि बढ्न आग्रह गर्दछु ।
कृष्णप्रसाद भट्टराई 

एमआरपी मुद्रणबारे लेखाले बोलायो प्रधानमन्त्रीलाई


१५ चैत, काठमाण्डौ । सरकारले आफ्नो निर्देशन विपरित भारतलाई मेसिन रिडेवल पासपोर्ट (एमआरपी) छपाइ गर्न दिएको भन्दै सार्वजनिक लेखा समितिले प्रधानमन्त्री माधवकुमार नेपालसंग सोधपुछ गर्ने भएको छ ।
लेखा समितिको आइतबार बसेको बैठकले एमआरपी छपाइमा अनियमितता भएको आशंकामा सोधपुछ गर्न प्रधानमन्त्री नेपाललाई चैत २३ गते बोलाएको समितिको सभापति रामकृष्ण यादवले जानकारी दिनुभयो ।
सार्वजनिक लेखा समितिको निर्दशन बिपरित मन्त्रिपरिषद्को गत चैत ६ गते बसेको बैठकले एमआरपी छपाइ भारतमै मिलाउन परराष्ट्र मन्त्रालयलाई निर्दशन दिएको थियो ।
सरकारले टेन्डर प्रक्रिया रद्द भएको र समयसीमा थोरै भएको जनाउँदै एमआरपी छाप्न भारत सरकारको स्वामित्वमा रहेको सेक्युरिटी पि्रन्टिङ एण्ड मिन्टिङ कर्पेरेशनलाई दिने निर्णय गर्ने अधिकार परराष्ट्रलाई दिएको थियो । सरकारको निर्णय अनुसार परराष्ट्रले एमआरपी छाप्न भारतलाई जिम्मा दिईसकेको छ ।