Wednesday, November 12, 2014

जनमुक्ति सेनाले पनि हिन्दुराष्ट्रका लागि आन्दोलन गर्ने

काठमाडौं, कार्तिक २६ – बहिर्गमित जनमुक्ति सेना नेपाल संघर्ष समितिले हिन्दूराष्ट्रको पूनस्थापनाका लागि राष्ट्रव्यापी रुपमा आन्दोलन गर्ने घोषणा गरेको छ ।
उनीहरुले बुधवार पत्रकार सम्मेलन गर्दै पाश्चात्य संस्कृतिका ठेकेदारहरुले क्रिश्चियनहरुबाट डलर खाएर नेपाललाई धर्म निरपेक्षता राष्ट्र बनाएको भन्दै तत्काल हिन्दूराष्ट्र कायम गराउन आफूहरु आन्दोलनमा होमिने जानकारी दिएको हो ।
संघर्ष समितिका संयोजक लेनिन विष्टले वैदिक सनातन धर्म ॐ कार परिवारभित्र रहेका ८४ प्रतिशत हिन्दूहरुको अस्तित्व नै संकटमा रहेको भन्दै आफ्नो संस्कृति, धर्म जोगाउन सबै एकजुट भएर लाग्नुपर्ने धारणा राखेका छन् ।
उनले भने–‘‘नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गर्ने निर्णय २०६२/६३ को जनआन्दोलनको मर्म र भावना विपरित छ, यो निर्णयले लोकतन्त्रको ठाडो उपहास भएको छ । हामी कुनै पनि हालतमा नेपाललाई हिन्दू राष्ट्र बनाएर छाड्छौं ।’’ वैदिक सनातन हिन्दूराष्ट्र नेपाल संयूक्त संघर्ष समितिका संयोजक कुमार बहादुर थापाले नेपालमा हिन्दूराष्ट्र हटाउन सभामुख सुवासचन्द्र नेम्बाङ्ले ठूलो भूमिका खेलेको आरोप लगाएका छन् । थापाले अहिले पनि संविधानसभामा ५५१ जना सभासदहरु हिन्दू भएको जानकारी दिँदै बहुमतको कदर गरिनुपर्ने उद्घोष गरेका छन् ।
थापाले भने–‘‘ नेपालमा हिन्दूराष्ट्र कायम नगरीए पार्टीहरुको अस्तित्व नै समाप्त हुनेछ, किनकी सबै राजनीतिक दलभीत्र हिन्दूहरु छन । हामीलाई सबै दलका नेता तथा कार्यकर्ताहरुको औपचारिक अनौपचारिक समर्थन छ । ’’
थापाले आगामी मंसिर ३ गते संविधानसभा घेराउ तथा १०८ शंख घोष, ४ गते उपत्याकाव्यापी बृहत्त मोटरसाईकल ¥याली लगायतका विभिन्न संघर्षका कार्यमहरुको समेत घोषणा गरेका छन् ।
प्रमुख अतिथि श्री श्रीनिवासाचार्यले नेपालमा हिन्दूराष्ट्र केही बदमाशहरुले हटाएको आरोप लगाउँदै अहिले पनि नेपाली काँग्रेस, राप्रपा नेपाल र नेकपा एमालेका केही नेताहरुले आफ्नो राजनीतिक अभिष्ट पूरा गर्न हिन्दूराष्ट्रको माग गरेको आरोप लगाएका छन् ।
श्रीनिवासाचार्यले आफूमाथि ठूलो चलखेल भएको उल्लेख गर्दै धर्मलाई राजनीतिक मद्दा बनाउन नहुने उद्घोष गरेका छन् । उनले भने–‘ म गौमाताको रक्षा गर्न, हिन्दू धर्मको संरक्षण गर्नका लागि आफ्नो जीवन नै आहुति दिन पनि तयार छु, तर कसैले चलखेल गरे चुप लागेर बस्दिन् ।’’
त्यस्तै राप्रपा नेपालका सभासद विक्रम बहादुर थापाले नेपाल र नेपालीहरुको पहिचानलाई रक्षा गर्न सबै एक भएर लाग्नुपर्ने बताएका छन् । थापाले राप्रपा नेपालको एजेण्डा भन्दा पनि आफ्नो धर्म र संस्कृति बचाउन सबैले आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्ने धाराणा राखेका छन् ।
उनले भने–‘‘ ८१ प्रतिशत हिन्दूहरु भएको मुलुकमा धर्मनिरपेक्षता घोषणा गर्नु अत्यन्तै गलत हो, हामी जुनसुकै मूल्यमा पनि नेपाललाई हिन्दूराष्ट्र बनाईछाड्छौं ।’’