Friday, March 26, 2010

त्रिशूली ३ 'बी’ मा टेलिकमले लगानी गर्ने


काठमाडौं, १२ चैत
नेपाल टेलिकमले माथिल्लो तामाकोसीपछि त्रिशूली-३ बी जलविद्युत् आयोजनामा पनि लगानी गर्ने भएको छ ।
स्वदेशी लगानीमा बन्न लागेको माथिल्लो तामाकोसीमा ६ अर्ब ऋण र ६० करोड सेयर लगानी गर्ने निर्णय गरेको टेलिकमले त्रिशूली-३ बी आयोजनामा लगानी गर्ने भएको हो । टेलिकमले लगानी विविधीकरण गर्ने क्रममा नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्न लागेको ३७ मेघावाट क्षमताको सो आयोजनामा लगानीको तयारी गरेको छ । टेलिकमले अगामी सोमबार हुने दोस्रो वाषिर्क साधारणसभामा त्रिशूली-३ बीमा गर्ने लगानी औपचारिक घोषणा गर्नेछ ।
लगानीका विषयमा प्राधिकरण र टेलिकमबीच पटक-पटक भएको छलफलमा ५० करोडसम्म लगानी गर्ने मौखिक प्रतिबद्धता टेलिकमका अधिकारीले जनाइसकेका छन् । तर, लगानीको विषयमा औपचारिक निर्णय भने भइसकेको छैन । 'प्राधिकरणले निर्माण गर्ने आयोजनामा लगानी गर्न हामी इच्छुक भएका हौँ,' टेलिकम सञ्चालक समितिका अध्यक्ष सञ्चारसचिव सुशील घिमिरेले भने, 'त्रिशूली-३ बीका विषयमा प्रारम्भिक चरणको सहमति भएको छ ।'
घिमिरेका अनुसार, कम्पनीले पाउने सेयर हिस्सा र संरचनाको टुंगो लगाउन टेलिकमले नायव प्रबन्ध निर्देशक कन्हैयालाल गुप्ताको संयोजकत्वमा समितिसमेत गठन गरिसकेको छ । 'समितिले सैद्धान्तिक सहमतिका लागि खाका तयार गरेपछि मात्र सम्झौताको प्रक्रिया अघि बढ्छ,' घिमिरेले भने । घिमिरेले ऊर्जा संकटका कारण दूरसञ्चार क्षेत्र बढी समस्यामा परेकाले जलविद्युत्मा लगानी गर्न लागिएको जानकारी दिए । लामो लोडसेडिङका कारण दूरसञ्चार टावर एवं प्राविधिक केन्द्रहरूमा विद्युत् आपूर्ति हुन नसक्दा गुणस्तर खस्कँदै गएकाले ऊर्जा उत्पादन गर्ने क्षेत्रमा लगानी गर्ने नीति टेलिकमले लिएको उनले बताए ।
त्रिशूली-३ ए आयोजनाबाट निस्केको पानीबाट क्यास्केड आयोजनाका रूपमा त्रिशूली-३ बीको प्राधिकरणले निर्माण गर्न लागेको हो । ६० मेघावाटको त्रिशूली-३ ए चीन सरकारको सहयोगमा निर्माण भइरहेको छ । त्रिशूली-३ बीको निर्माणका लागि कम्पनी दर्ता गर्न प्रक्रिया अघि बढिरहेको प्राधिकरणका आयोजना विकास विभागका निर्देशक विष्णुबहादुर सिंहले बताए । उनले सार्वजनिक-निजी-साझेदारी
(पिपिपी) अवधारणामा विकास गर्न लागिएको आयोजनामा टेलिकमलाई लगानी गर्न आग्रह गरिएको जानकारी दिए । 'लगानीका लागि टेलिकमले अनौपचारिक सहमति जनाइसकेको छ,' उनले भने, 'स्थानीयवासीलाई दिने सेयर हिस्साको टुंगो लागेपछि टेलिकमको लगानी टुगो लाग्नेछ ।'
त्रिशूली-३ ए मा विदेशी लगानी भएका कारण आयोजना प्रभावित बासिन्दालाई सेयर दिन नसकेको प्राधिकरणले त्रिशूली-३ बीमा भने आयोजना प्रभावित रसुवा र नुवाकोटका स्थानीयवासीलाई प्राथमिकतामा राखेको छ । 'हामीले त्रिशूली-३ बीमा अधिकतम सेयर स्थानीयवासीलाई दिने निर्णय गरेका छाँै,' सिंहले भने । यसका लागि प्राधिकरणले स्थानीवासीलाई दिने सेयरको विषयमा आगामी मंगलबार छलफल गरी टुंगो लगाउनेछ ।
त्रिशूली-३ बी आयोजनाको कुल अनुमानित लागत ६ अर्ब छ । जसमा ७० प्रतिशत ऋण र ३० प्रतिशत सेयर हुनेछ । ३० प्रतिशतमध्ये स्थानीयवासीले लिने सेयरको टुंगो लगाई बाँकी सेयर प्राधिकरण र अन्य कम्पनीले लिनेछन् । आयोजना निर्माणमा स्थानीयवासीलाई बढीभन्दा बढी सहभागी गराई प्राधिकरणले प्राविधिक सहयोग गर्नेछ । यो आयोजना त्रिशूली-३ ए आयोजनासँगै अघि बढ्ने सिंहले जानकारी दिए । आगामी तीन वर्षभित्र दुवै आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

No comments:

Post a Comment