Wednesday, January 9, 2013

नेपाल–भारत सीमाको ३७२ वटा सीमास्तम्भ गायब, सरकार मुकदर्शक

नेपाल–भारत सीमा क्षेत्र अतिक्रमण तथा सीमा स्तम्भ (पिलर) हराउने र अन्यत्र सर्ने विवाद बेला–बखत भइरहन्छ, तर सरकारको ढिलासुस्ती तथा रजाइँ गर्ने प्रवृत्तिले सो क्षेत्रको अतिक्रमण र आपराधिक क्रियाकलापमा वृद्धि हुँदै आएको छ। प्रजातान्त्रिक, लोकतान्त्रिक, गणतान्त्रिक सरकारसमेत आफ्नै दुनो सोझ्याउनमा व्यस्त देखिन्छ, सरकारले मुलुकको क्षेत्र तथा सीमास्तम्भहरूलाई समेत सुरक्षित गर्न सकेको छैन। वर्तमान सरकारले नेपाल तथा नेपालीको सुरक्षा गर्न सजग र सचेत हुन जरुरी भएको नागरिक समाजको बुझाइ छ।

    नेपाल–भारत सीमावर्ती क्षेत्र अन्तर्गत मध्य क्षेत्रका बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा र चितवन जिल्लामा करिब ३४१ किमि सीमा पर्छ, र सो दूरीमा ठूलो, मझौला र सानो गरी २ हजार ५२२ वटा सीमा स्तम्भ हुनुपर्नेमा अहिले २ हजार १ सय ५० स्तम्भ मात्र कायम रहेको छ। तीन सय ७२ वटा सीमा स्तम्भ गत वर्षदेखि हराएको छ। ती सीमावर्ती क्षेत्रमा जजसको बसोबास बढी छ, तिनीहरूले सीमा क्षेत्र अतिक्रमण गरी घरबास तथा खेती गर्दै आएको प्राप्त समाचारमा जनाइएको छ।
    नेपाल–भारत खुला सीमावर्ती क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरूमध्ये जहाँ नेपालीहरूको बसोबास बढी छ, त्यहाँ भारतीय सीमा अतिक्रमण भएको छ भने जहाँ भारतीय बासिन्दाको बसोबास बढी छ, त्यहाँ नेपाली सीमा क्षेत्र अतिक्रमण गरिएको छ। नेपालीहरूले अतिक्रमण गरेको भारतीय जग्गामा घर–टहरा बनाई खेतीपाती गर्छन् भने भारतीयहरूले अतिक्रमण गरेको नेपाली जग्गामा पक्की भवन निर्माण गरी जिम्दारी पाराले खेतीपाती गर्दै आएका छन्। कुन पक्षले कति सीमा (जग्गा) अतिक्रमण गरेको छ, यथार्थ विवरण नभएको प्राप्त समाचारमा जनाइएको छ। 
    नेपाल–भारत सीमा स्तम्भको पहिचान गरी सीमा क्षेत्र छुट्याउने, राष्ट्रिय मुद्दा हो त्यसैले दुवै देशका उच्च स्तरीय पदाधिकारीहरूको सहमति बमोजिम वास्तविकता छानबिन गरी सीमा क्षेत्रको स्थलगत सर्वे तथा नापनक्सा आधिकारिक पार्नुपर्ने र सुरक्षाको आधिकारिक जिम्मेवारी लिनुपर्छ। सीमावर्ती क्षेत्रका गाउँ–बस्तीमा को नेपाली को भारतीय भनेर चिनिंदैन । दुवै देशका सीमाक्षेत्रका नागरिकको सामाजिक, सांस्कृतिक, परिवारिक, धार्मिक रितीरिवाज तथा खानपिन, रहनसहन एकनासको छ र एकै वंश, परम्पराका भएका हुनाले अनुहारमा समानता पाइन्छ। नेपालको अपराधी भारतमा र भारतको अपराधी नेपालमा अपराध गरी सुरक्षित आश्रय लिएको हुन्छ, त्यस्ता अपराधीहरूलाई नियन्त्रण गर्नको लागि दुवै देशका सीमावर्ती बासिन्दा तथा सुरक्षकर्मीहरूले एक अर्का सँग सहयोग–समन्वय गर्नुपर्छ  अनि मात्र सीमा सुरक्षा तथा अपराध नियन्त्रण हुने मध्य क्षेत्रीय सशस्त्र प्रहरी बल मुख्यालय रुद्रवाहिनी पथलैयाका सशस्त्र प्रहरी नायब महानिरीक्षक ऋषभदेव भट्टराईले प्रतीकलाई जानकारी दिएका छन्।
    यस मध्य क्षेत्र अन्तर्गत ७ जिल्लामा करिब ३४१ किमि सीमा दूरी पर्छ र साधन, स्रोत तथा जनशक्तिको  कमीले निर्धारित स्थानमा सशस्त्र सुरक्षा पोस्ट राख्न सकिएको छैन। गस्ती र चाहिने ठाउँ छापामारीमा समेत कमी छ तर पनि भएको साधन, स्रोत तथा जनशक्ति परिचालन तथा स्थानीय जनप्रतिनिधि, बासिन्दा, सञ्चारकर्मी, व्यवसायीहरूको सल्लाह, सुझाव, सहयोगले अपराध नियन्त्रण तथा चोरी–पैठारी–निकासीको मालसामान पक्राउमा सराहनीय भूमिका निर्वाह गरेको बताएका छन्।

No comments:

Post a Comment