Wednesday, November 21, 2012

दुर्घटनामा ज्यान गुमाएका गङ्गारामका छोराछोरी पढाउने जिम्मा माओवादीले लियो

गोलबजार (सिरहा) - शिक्षामन्त्री दीनानाथ शर्मालाई स्वागत गरेर फर्किने क्रममा दुर्घटनामा ज्यान गुमाउन पुगेका गङ्गारामका छोराछोरीलाई पढाउने जिम्मा एमाओवादी सिरहाले लिएको छ। 
पिप्रा प्रपी-४ घर भएका मृतक माओवादी कार्यकर्ता गङ्गारामका दुई छोरा, एक छोरी र श्रीमती छन्। माओवादीका मिथिला मधेस राज्य संयोजक तथा केन्द्रीय पोलिटब्यूरो सदस्य विश्वनाथ साह, प्रधानमन्त्रीका प्रेस सल्लाहकारसमेत रहेका केन्द्रीय सदस्य रामरिझन यादवलगायतका नेताहरु मृतक गङ्गारामको घरमै पुगेर उनको छोराछोरीलाई पढाउने प्रतिबद्धता जनाएका हुन्।
मृतक गङ्गारामको किरियाकर्म खर्चका लागि तत्काल रु १० हजार सहयोग स्वरुप प्रदान गरेको एमाओवादी सिरहाका सहसेक्रेटरी जिवछ यादवले जानकारी दिए । उनले भने, 'हामीले सक्दो सहयोग निरन्तर गरिरहने छौँ।'
गङ्गारामको गत आइतबार सिरहा चौहर्वा सडकखण्डको नहरामा मोटरसाइकल दुर्घटनामा मृत्यु भएको थियो। शिक्षामन्त्री दीनानाथ शर्मालाई बन्दीपुरमा स्वागत गरेर फर्किने क्रममा उनी दुर्घटनामा परेका थिए। रासस

No comments:

Post a Comment