Sunday, November 2, 2014

खेल हेर्दा युवतीलाई जेल

तेहरान (बीबीसी), कार्तिक १७ - पुरुषबीच भएको भलिबल खेल हेर्ने प्रयास गरेको अभियोगमा इरानमा एक युवतीलाई जेल सजाय दिइएको छ । इरानी मूलकी बेलायती नागरिक २५ वर्षीया गोन्चे गवामीलाई यस्तो एक वर्ष कैद सजाय दिइएको हो ।
लन्डनबाट कानुनमा स्नातक गरेकी उनलाई गत जुनमा तेहरान स्टेडियमबाट पक्राउ गरिएको थियो । उनका वकिल अलिजादेह तबातबाईका अनुसार सजायको स्पष्ट कारण खुलाइएको छैन । गवामी पक्राउ पर्नुको कारण भलिबल प्रतियोगिता नभई सुरक्षा जोखिम रहेको इरानी अधिकारीहरूको दाबी छ ।
उनलाई एक सय २६ दिनदेखि तेहरानको कुख्यात जेल 'एबिन पि्रजन'मा राखिएको छ । उनका परिवारजन र साथीहरूले रिहाइको माग गर्दै सामाजिक सञ्जालमा अभियान नै सञ्चालन गरेका थिए । गवामीका परिवार र वकिललाई पक्राउको आधार नदिइएको उनीहरूको भनाइ छ । 'निष्पक्ष र न्यायसंगत कानुनी प्रक्रिया हरेक नागरिकको अधिकार हो,' उनको रिहाइ माग गर्दै चलाइएको फेसबुक पेजमा उल्लेख छ, 'गवामीको त्यस अधिकारप्रति किन अधिकारीहरूले वास्ता नगरेका हुन् ?'
भलिबलका महिला प्रशंसक तथा महिला पत्रकारहरूलाई पनि तेहरानको आजादी स्टेडियममा प्रतियोगिता हेर्न प्रतिबन्ध लगाइएको थियो । सोही क्रममा गवामीलाई पक्राउ गरियो ।
इरानी प्रहरी प्रमुख जनरल इस्माइल अहमदी मोगादमको भनाइमा त्यस्ता अवसरमा महिला र पुरुष एकसाथ रहनु सार्वजनिक हितविपरीत हो । गवामीलाई पक्राउ गरिएको समयमा पनि मोगादमले प्रहरीले कानुन र व्यवस्थाको पालना गरिरहेको बताएका थिए । महिला र पुरुषबीच अशिष्ट व्यवहार हुनबाट बचाउन फुटबल प्रतियोगितामा एकसाथ सामेल हुन दिन नहुने इरानी अधिकारीहरूले बताउँदै आएका छन् ।

No comments:

Post a Comment