Thursday, March 18, 2010

:: गृहपृष्ठ » मुख्य समाचार » भागबण्डा नमिलेका कारण अन्तिम समयमा मन्त्रिपरिषद बैठक स्थगित

काठमाडौं, चैत्र ५ - राष्ट्र बैंकको गर्भनर र एमआरपी पासपोर्ट छपाइका बिषयमा निर्णय गर्न बस्ने भनिएको मन्त्रिपरिषदको बैठक बिहीबार अन्तिम समयमा स्थगित भएको छ । बैठकमा भाग लिन मन्त्रीहरु प्रधानमन्त्री कार्यालयमा पुगिसकेका थिए ।

'सबै मन्त्रीहरु उपस्थित भएर पनि काँग्रेस र एमालेको भागबण्डा नमिलेका कारण आजलाई स्थगित भयो' आपुर्तीमन्त्री राजेन्द्र महतोले संवाददाताहरुसंग भने ।

राष्ट्र बैंकको गर्भनरमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. युवराज खतिवडाका बारेमा कांग्रेसको नेतृत्वले सहमति जनाएपनि सो पार्टीका मन्त्रीहरुले संबैधानिक अंगहरुसंगै प्याकेजमा नियुक्ति गर्ने भनेपछि मन्त्रिपरिषद्को बैठक स्थगित गरिएको हो ।

मधेसी जनअधिकार फोरम -लोकतान्त्रिक) लगायतले पनि संबैधानिक समितिमा दावी गरेको छ । 'संबैधानिक नियुक्तिमा हाम्रो पनि दावी छ' उपप्रधानमन्त्री विजय गच्छेदारले भने, 'सबैलाई एकै चोटी प्याकेजमा नियुक्ति गरिनु पर्छ ।' दलहरुबीच भागवण्डा नमिलेका कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोकसेवा आयोग र महालेखा परिक्षकको कार्यालयमा पदाधिकारी नियुक्ति गर्न सकेको छैन ।

सत्तारुढ दल कांग्रेस र एमालेको विवादका कारण झण्डै दुई महिनादेखि रिक्त राष्ट्र बैंकको गर्भनरमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. युवराज खतिवडा नियुक्त गर्ने सहमति दुई पार्टीको नेतृत्वबीच बुधबार साँझ भएको श्रोतको दावी छ ।

गर्भनर नियुक्त गर्न बुधबार बसेको मन्त्रिपरिषदको बैठक पनि कांग्रेस र एमालेको अडानका कारण अनिर्णित बनेको थियो । गर्भनर सिफारिस समितिले खतिवडासँगै अर्थसविच रामेश्वर खनाल र राष्ट्र बैंकका डेपुटी गर्भनर वीरबिक्रम रायमाझीको नाम सिफारिस गरेको थियो । कांग्रेसले भने खतिवडा पार्टीको मान्छे भएकाले रायमाझी र खनाल मध्ये एकलाई गर्भनर बनाउने अडान राख्दै आएको छ ।

वित्तिय संकटका बेलामा मौदि्रक अर्थशास्त्री भएकाले केन्द्रीय बैंक हाँक्न सक्ने भन्दै एमालेले खतिवडालाई नै गर्भनर बनाउनुपर्ने अडान राख्दै आएको थियो । यसअघिका गर्भनर विजयनाथ भट्टराईको कार्यकाल माघ १७ गते सकिएपटि राष्ट्र बैंक नेतृत्वविहीन छ ।

No comments:

Post a Comment