Sunday, March 28, 2010

एउटै कम्युनिष्ट केन्द्र बनाऔं: दाहाल


काठमाडौं, चैत्र १५ - माओवादी अध्यक्ष पुष्पकमल दाहालले एउटै कम्युनिस्ट केन्द्र बनाउनुपर्ने बताएका छन् । उनले नेपालका कम्युनिस्ट पार्टीहरू 'सामन्तवाद र साम्राज्यवादविरोधी' भएको भन्दै एउटै केन्द्र बनाउन पहल गर्नुपर्ने बताए ।
'एउटै कम्युनिस्ट केन्द्र बनाउने पहल गर्नु अहिलेको आवश्यकता हो,' उनले आइतबार वामपन्थी पार्टीहरूको संयुक्त छलफल कार्यक्रममा भने, 'यो जनताको चाहना पनि हो ।'
मानव अधिकारकर्मी पद्मरत्न तुलाधरको घरमा बसेको माओवादी, एमाले, माले, संयुक्त, एकीकृत र संयुक्त माक्र्सवादीको संयुक्त बैठकमा दाहालले मुलुकमा कम्युनिस्टको बहुमत भए पनि एक हुन नसकेको उल्लेख गरे ।
एमाले नेता केशव बडालले कम्युनिस्ट पार्टीबीच भएका असहमतिलाई छलफल गरी सहमतिमा पुग्नुपर्नेमा जोड दिए । माले महासचिव सीपी मैनालीले पनि सबै कम्युनिस्ट एउटै ठाउँमा आउनु खुसीको कुरा भएको बताए ।
बैठकले मुख्यतः आगामी वैशाख १० गते नेपालका कम्युनिस्टहरूले संयुक्त रूपमा लेनिन जयन्ती मनाउने निर्णय गरेको छ ।

No comments:

Post a Comment