Sunday, November 25, 2012

मनमुटावको भ्रमलाई चिर्न प्रचण्ड र प्रम भट्टराईबीच भेट


काठमाडौं, मंसिर / एकीकृत माओवादी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री डा. बाबुराम भट्टराईवीच सोमबार बिहान भेटवार्ता भएको छ । राष्ट्रपतिको कदमपछि दुई शीर्ष नेतावीच अविश्वास एवं दुरी बढ्दै गएको भन्ने भ्रमलाई चिर्नको लागि वहाँहरुले आपसी वार्ता गर्नुभएको हो । ‘अध्यक्ष र प्रधानमन्त्रीवीच अन्तरविरोध छ भन्ने नकारात्मक म्यासेज बाहिर गयो, त्यसैले अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री भट्टराईवीच बिहान आपसी छलफल भएको हो र अब वहाँहरु मिलेर अगाडि बढ्ने सहमति भएको छ ।’- हेटौडा पुग्नुभएका प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार देबेन्द्र पौडेलले अनलाइनखबरसित भन्नुभयो ।
सल्लाहकार पौडेलले राष्ट्रपतिको कदमबारे पार्टीभित्र कुनै अन्तरविरोध नरहेको र अध्यक्ष प्रचण्ड नरम भएको भन्ने प्रचार सही नभएको दाबीसमेत गर्नुभयो । पौडेलले भन्नुभयो, ‘राष्ट्रपतिको कदमलाई पार्टीले औपचारिकरुपमै असंवैधानिक कदम बताइसकेको छ, तर, प्रतिक्रियावादीहरुले अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री बाबुरामवीच अन्तरविरोध छ भन्ने देखाएर खेल्न खोजेका छन् ।’प्रचण्ड र बाबुरामवीच सहमति भएको र अब वहाँहरु एक भएर अघि बढ्ने पौडेलले बताउनुभयो । ‘राष्ट्रप्रतिको कदमविरुद्ध सिंगो पार्टी एकढिक्का छ । सरकारले यसलाई असंवैधानिक भनिसकेको छ, संयुक्त गठबन्धनका प्रवक्ताले पनि यसको विरोध गरिसक्नुभएको छ । अब पार्टी एक ढिक्का भएर अघि बढ्छ ।’-उहाँले भन्नुभयो ।
‘महराजीलगायत हामी कतिपयले बोल्दा पार्टीको औपचारिक निर्णय आएको थिए, त्यसैल अभिव्यक्तिमा केही फरक परेको हुन सक्छ, तर यो कदमविरुद्ध अघि बढ्ने विषयमा एमाओवादी पार्टीमा अहिले कुनै असमझदारी छैन ।’-प्रधानमन्त्रीका सल्लाहकार पौडेलले दाबी गर्नुभयो ।

No comments:

Post a Comment