Tuesday, November 27, 2012

बालक अपहरण गर्नेलाई १४ वर्ष कैद


सप्तरी, मंसिर / सप्तरी राजविराज-५ का ६ वर्षीय बालक आयुष साहको अपहरण गरेको आरोप लागेका चारजनालाई जिल्ला अदालत सप्तरीले १४/१४ वर्ष जेल सजाय सुनाएको छ । उनीहरुसँग जनही एक लाख जरिवाना र १४ हजार पाँचसय क्षतिपूर्ति तिराउन आदेश दिएको छ ।
जिल्ला न्यायाधीश रितेन्द्र थापाको इजलासले बरही वीरपुर-५ का २१ वषर्ीय विनोद यादव, २१ वषर्ीय भोला भन्ने भोलेन्द्र यादव, वडा नम्बर १ का २६ वषर्ीय राकेश भन्ने वीरेन्द्र साह र राजविराज-७ का २२ वषर्ीय छोटुराज भन्ने ऐस अन्सारीलाई १४/१४ वर्ष जेल सजाय सुनाएको हो । उनीहरुलाई अपहरण तथा शरीर बन्धकमा १० वर्ष, संगठित अपराधको लागि दुई वर्ष र नाबालकलाई अपहरण गरेको कसुरमा थप दुई वर्ष गरी १४ वर्ष कैद सजाय सुनाएको अदालतका श्रेस्तेदार बेदप्रसाद उप्रेतीले जानकारी दिनुभयो ।
दोषी ठहरिएकामध्ये वीरेन्द्र साह र ऐस अन्सारी फरार रहेका छन् । राजविराज-१ स्थित गौतम शिशु सदनबाट पढेर घर फर्किरहेका बेला पुर्‍याई दिने बहानामा मोटरसाइकलमा आएका समूहले आयुष साहलाई गत २०६७ साल फागुन ९ गते अपहरण गरी २९ दिनसम्म बन्धक बनाएका थिए ।
भारतीय प्रहरीको सहयोगमा गत २०६७ चैत्र ७ गते आयुषलाई मुक्त गराई प्रहरीले विनोद र भोलेन्द्रलाई पक्राउ गरेका थिए । रासस

No comments:

Post a Comment