Tuesday, November 27, 2012

अर्को जनजाति पार्टी घोषणाको तयारी


काठमाडौं, मंसिर १२ / अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीमा नसमेटिएका जनजाति नेताहरुले अर्काे नयाँ पार्टी घोषणा गर्ने भएका छन् ।
बुद्धिजीवी चैतन्य सुब्बा, कृष्ण भट्टचन, एमाले त्यागेका पासाङ शेर्पा, कांग्रेसबाट आएका कुमार राईलगायतले केही साना दलहरुलाई मिलाएर नयाँ पार्टी घोषणाको तयारी गरेका हुन् । ‘ राष्ट्रिय जनमुक्ति पार्टी र परि थापा नेतृत्वको नेकपा एकीकृतलगायतका साना दलहरुसँग वार्ता गरिरहेका छौं’-सुब्बाले अनलाइनखबरसँग भन्नुभयो-’यो महिनाको अन्त्यसम्ममा पार्टीको औपचारिक घोषणा गर्छौं ।’
पार्टीको नाम ‘सामाजिक लोकतान्त्रिक बहुल राष्ट्रिय पार्टी’ नै रहनेछ । चैतन्य सुब्बाको समूहले उक्त नाम गत साउन २५ गते नै प्रस्तावित नामका रुपमा सार्वजनिक गरेको थियो ।
नेता कुमार राईका अनुसार पार्टीको विधान र घोषणापत्र निर्माण भइरहेको छ । पहिचानसहितको संघीयता र लोकतान्त्रिक समाजवादलाई मुख्य सिद्धान्त बनाउने नयाँ पार्टीले जातिबीचको सहअस्तित्वमा जोड दिने बताइएको छ । ‘हामीले जाति विशेषको मात्र नभई सबै जातिको राष्ट्रवादमा जोड दिन्छौं ।’ राईले अनलाइनखबरसँग भन्नुभयो- ‘जाति-जाति र राज्य-राज्यबीचको सहअस्तित्वका आधारमा अघि बढ्नुपर्छ भन्ने हाम्रो सिद्धान्त हुनेछ ।’
नयाँ पार्टीको नेतृत्व भने आलोपालो प्रणालीमा सबैले गर्ने भएका छन् । अध्यक्षमण्डल बनाएर शीर्ष नेताहरुले पालैपालो पार्टीको नेतृत्व गर्ने छन् । ‘हामीले सामूहिक नेतृत्व प्रणालीको विकास गर्दैछौं’ पार्टी गठनमा सक्रिय राईले भन्नुभयो-’महिला, दलित, जनजाति सबैले मौका पाउने भएकाले यो अवधारणामा सहमति गरेका हौं ।’

No comments:

Post a Comment