Tuesday, January 8, 2013

मिस यू कालापानी


‘Will miss you’ कम्प्युटरको स्क्रिनमा एकैसाथ आयो ‘हाहाहा’। ‘कालापानी तिर जादैछु’ टाइप गरेर कि–बोर्डको इन्टर थिच्दा उनले जिस्काएकी थिइन् ‘will miss you’ भनेर। मैले ‘1 week लाग्छ’ भन्दा जिस्काउदै थपिन ‘दिक्क लाग्यो।’ मलाई भने अघिल्लो दिन अघिदेखि नै दिक्क लागेको थियो।
४ असार, ६:२५ बजे बिहान। दिक्क मानिमानि, अनलाईनमा यसरी नै ‘कालापानी यात्रा’ को सपना बाड्दै थिए। दुई सातादेखिको योजना दुई दिन अघि मात्रै तुहिएको थियो। म कालापानी यात्रामा नजाने पक्का पक्की भो। त्यसैले झिसमिसेमै कम्प्युटर खोले। Google मा कालापानी खोज्न थाले। जि–मेल र फेसबुक अनलाईनमा भेटिएका साथीहरुलाई कालापानी यात्राको गफ चुट्न थाले। ‘आधा घण्टा पर्खिन्छौं। जसरी पनि आउ’ एक्कासी पत्रकार राजेश बागचन्दको फोन आयो। ‘डिएफओसाप जोर गर्दै छन, जसरी पनि आउ। बरु छिट्टै फर्किऔला’ उनी एकहोरो बोल्न थाले। यहि कुरा दाई (पत्रकार कर्ण बोहरा) लाई ‘सेयर’ गरेको त उनले झन ढिपी कसे। अब भने जानै पर्ने भो। अनलाईमा चुट्न थालेको गफ अनायासै साँचो हुने भो।
उनकै झोला समाते। कम्प्युटर अफ नगरी हिडे। कोठामा छरपस्टिएका जे–जे सामान हात परे, झोलामा कोचे। बसपार्क पुग्दा बिहानको ७ बजि सक्यो। म.१ ज.६३ नम्बरको जीप गुड्ने तयारीमा थियो। झोला पछाडी फाले, भित्र छिरेको त हुइकिहाल्यो। यस्तै गञ्जागोलका बीच अचानक ४ असारको बिहान कञ्चनपुरको महेन्द्रनगरबाट हिमाली पद यात्राका लागि निस्के। दार्चुलाका जिल्ला बन अधिकृत रमेश चन्द, नेपाल वान टेलिभिजनका राजेश बागचन्द र नागरिक दैनिकका विक्रम गिरी सहयात्री थिए। दार्चुला सदरमुकाम खलङ्गासम्मका लागि बन र महिला विकास कार्यालयका दुई जना लेखापाल अगाडी र पछाडी बसे।
समुद्र सतहदेखि ३ सय फिटको उचाईमा रहेको महेन्द्रनगर, पानी नपर्दा सूर्यको रापले तातेको छ। सूर्य नमुस्कुराउदै पसिनाले निथ्रुक्क भिजाउछ। यहि उधुम गर्मिलाई छल्दै जीप पश्चिमतिर हुइकियो। दार्चुला जानु पर्ने, तर जीपले विना रोकटोक महाकाली तरेर भारत टेक्यो। आफ्नै हिमाली जिल्ला पुग्न पनि भारत हुदै हिड्यौ। नेपालकै बाटो दार्चुला पुग्न अझै सहज छैन्। भारतीय सडकमै नेपाली नम्बर प्लेटको गाडी हुईकायौं। ‘बन विभाग’ लेखिएको नेपाली गाडी हुईकिदा पनि नेपालमा जस्तो सुरक्षाको नाममा खानतलासी र सास्ती खेप्नु परेन्। एघार घण्टापछि भारतको धार्चुला पुग्यौं। गाडी भारतमै छोडेर महाकाली माथिको झोलुङ्गेमा झुम्दै दार्चुलामा पाइला राखे।
हतपतको हिडाई लतपत भो। हिमाली पद यात्रामा, तयारी शुन्य। दार्चुला जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक दिल्लीराज विष्टको ‘स्लिपिङ्ग ब्याग’ समाते। बन कार्यालयको ‘म्याट’। चप्पलमै दार्चुला पुगेछु। एक जोडी जुता किने। अलिअलि औषधी र अरु सरसामान किनमेल गरे। क्यामेराको व्याट्रीले हैरान पार्‍यो। आफ्नो क्यामेरा भए पो थाहा हुन्थ्यो। दार्चुला पुगेपछि क्यामेरा हात लाग्यो। एउटै व्याट्रीले हिमालमा काम नगर्ने। थप ब्याट्रीका लागि दार्चुला र धार्चुलाका सबै पसलमा छापा हाने, कतै भेटिन्। एक दिन यस्तै सरसामानको चाँजोपाँजोमा वित्यो। ब्याट्रीको चिन्ताले त्यो रात महाकाली किनारमा उभिएको ‘कसरौल गेष्ट हाउस’ले पनि निन्द्रा दिन सकेन्।
७ः२६ बजे, ६ असारको बिहान। हिमाली पदयात्राका लागि ८ जनाको टोली फेरी भारततिर हानियो। दार्चुला भएर दुई दिन हिड्नु पर्ने बाटो, भारत भएर अढाई घण्टा गाडीमा हुईकिदा कट्छ। त्यहि फाईदा लिन भारतको धार्चुलाबाट महाकालीलाई दाहिने पारेर उत्तरतिर लाग्यौं। डिएफओ रमेश चन्द, पत्रकार राजेश बागचन्द, विक्रम गिरी त छदैथिए बन रक्षक मोहन धामी, जगतबहादुर विष्ट, रुकुम राज पन्त र देवेन्द्र लेखक थपिए। ‘यार्सागुम्बा रिसोर्स इन्भेन्ट्री मोनिटरिङ्ग’ का लागि डिएफओ रमेश चन्दले हिमाली यात्राको साईत जुराएका थिए।
अढाई घण्टामा दुई वटा गाडी फेरेर भारतको गर्ब्याङधार पुगे। केही मिनेटको हिडाईपछि भारतीय बाटो कट्यो। ठूलो ढुङ्गोमा लगाएको भर्‍याङ ओर्लेर महाकाली नदिको किनार छामे। दार्चुलाको राप्ला गाविस–८ दुम्लिङ्गमा समुद्र सहतदेखि ५ हजार ८ सय फिटको उचाईबाट झर्ने महाकाली नदीमा ठूल–ठूला ढुङ्गामाथि तेर्साएका डाडाहरुमा हातखुट्टाले हिड्दै महाकाली तरे। जीउ जिरिङ्ग भयो। ढुङ्गामा भर्‍याङ ओर्लिनु पर्थ्यो, डुङ्गामै तेर्साएका डण्डीमा हातखुट्टाले हिड्नु पर्थ्यो। अनि ठूल–ठूला ढुङ्गामा हाम फालेर किनार पुग्नु पर्थ्यो। यो दार्चुलाका उत्तरी भेगका बासिन्दाको दैनिकी हो।  हिउ पग्लियो की उनीहरुको नूनतेल पनि ठप्प हुन्छ, महाकालीमा तर्न नपाएर।
ढुङ्गा माथिको भर्‍याङ ओर्लिएर पदयात्रा सुरु भएको छनक मिल्यो। एक घण्टा उकालो चढेर दुम्लिङ्गमा पुगे। त्यही पेट पूजा गरे। बास बस्ने अर्को ठाउँ धेरै टाढा नभएकाले होला तत्कालै हिड्नु परेन्। महाकालीको पूर्वि किनारै किनार उत्तरतिर हानियौं। महाकालीमा मिसिदै गरेको कल्चु खोलाको पुल नटेकेरै उकालो लाग्यौं। साँझ ढल्किनै लाग्दा राप्ला गाविसको ‘कल्चु’ गाउँ पुगे। ७ हजार ९० फिटको उचाईमा रहेको कल्चु यो यात्राको अन्मित गाउँ हो। यो तीन वटा घरको गाउँ हो, चार परिवार बस्छन्। बादलुसंगको लुकामारी, हिउसंगको ख्यालठट्टा यहि डाँडामाथिको सानो गाउँबाट सुरु हुन्छ। उकाली ओरालीहरुले भोकाई सकेका थियौं। मोहीसंगको भात साह्रै स्वादिलो भो। बाक्ला लुगा र स्लिपिङ्ग ब्यागले पनि काम पाए। रातीको ९ बज्दो हो, उनीहरुसंग भलाकुसारी गर्दै थिए। सहयात्री ७ जना भने भतल्याङ्ग भुतलुङ्ग सुतेछन्। मेसो नै पाइन्, म पनि स्लिपिङ्ग ब्यागभित्र कोचिए।
डिएफओसाप कराउन थाले। यसो घढीमा हेरेको त २ बज्दै थियो। यति बेलै के आँखा खुल्थे। कुनै दिन राती २ बजेसम्म कम्प्युटरमै हुन्थे। चुपचाप पल्टिए। उनको व्युझाउने ध्याउन्ने एकनासको थियो। यताउता हेरे। सबै आ–आफ्नै सुरमा थिए, तैपनि मतलब राखिन्। कोही सरसामान मिलाउदै त कोही जुत्ता कस्दै। एक्कैछिनमा दैलोमा उभिएर कराउन थाले। नउठि सुकै पाइन्। हतार हतार बाहिर निस्के। आकाशभरी तारा थिए। यत्रतत्र कालो थियो। ३ बज्न १० मिनेट मात्रै बाँकि थियो। एउटा टर्च लाईट मेरो हातमा पनि पर्‍यो। आँखा मिच्दै पछिपछि लागे। आधा घण्टापछि खोला आयो। अञ्जुलीले खोलाको पानी अनुहारमा छ्याप छ्याप्ती फाले। बल्ल निन्द्रा खुल्यो। गुह्य कुरा बल्ल पत्तो पाए। राती नै नहिडेपछि समयमै गन्तव्यमा नपुगिने रैछ। बास बस्ने अर्को ठाउँ पनि रहेन्छ। खोलासंगै उकालो सुरु भो।
दुई घण्टा पहाड चढे। अलिअलि उज्यालो भो। डाँडाकाँडा, रुखविरुवा देखिन थाले। महाकालीको सुसाहट सुनिन थाल्यो। कुन्नी के हुदो रैछ, रातीमा महाकाली पनि नकराउने हो की निन्द्राले कान नखुलेका हुन्, पत्तै पाइन्। कल्चीको उकोलो आधाउधि पनि भएको थिएन्। डिएफओसापको अल्टी–मिटरले ८ हजार २ सय ३५ फिट उचाई देखायो। पेट खाली थियो। अरुले पानीको बोतलको विर्को खोले, मैले चाउचाउको पाकेट। घ्यू फाले, नून र खुर्सानी पाकेटभित्रै खन्याए। स्वाँस्वाफ्वाँफ्वा गर्दै केहीले हात ताने। उसो त १२ हजार फिट भन्दा माथि अक्सिजनको कमिले स्वास फेर्न गाह्रो हुन्छ, तर कल्चीको उकालोले लामो स्वास लिन बाध्य पार्‍यो। छैटौं टेकाइपछि उकालो काटेर ‘तल्लो कोठेरी’ पुग्यौं। यतिबेला बिहानको सवा ७ बजेको थियो भने दश हजार ६७ फिट नाघिएको थियो। सिरसिर हावाले पसिना आफै सुक्न थाले।
तल्लो कोटेरीमा प्रेमसिंह धामीको चिया पसल रैछ, दुई महिने। खाने कुरा केही नपाउने यो पसलमा रुपैयाका दुई गोटा आउने चकलेट, एउटैको पाँच रुपैया तिर्नु पर्छ, अरु सामानको त कुरै नगरे भो। किन्न पनि नपाईने, धित मरुन्जेल पिउन पनि नदिने पानी मिल्छ। अपिको फेदको ‘दुधीबन’ पुग्ने बाटोमा यो अन्तिम टहरा हो। यसपछि मान्छेको नाउमा बस्न,े ओढार पनि भेटिन्न्। चाउचाउ उमाल्यौं, चिउरा हालेर खान थाल्यौं। मनले मानेन्। चाउचाउको झोलमा तैरिदै गरेका चिउराको थाली समातेर पसल भित्र पसे। बासि रोटी देखेको थिए। केही नबोल्दै प्रेमसिंहको हात तीन रोटी समातेर मतिर तन्कियो। तीन रोटी, आठ जना। डिएफओसापले खान्न भने, उनकै छेउमै बसेका जगतले पनि खान्छु भन्न सकेन्। अरुलाई सोध्दै सोधिन, ६ टुक्रा पारेँ। सबैको थालीमा राखे। साह्रो रैछ, आधा रोटी पनि सिध्याएको थिइन, डिएफओसापका पाईला चलिहाले।
ओरालो र तेर्सोको नाम नै थिइन्। जति जति उक्लियो, उति उति बोटविरुवाहरु स–साना भेटिदै थिए। साढे ९ बजे कोटेरीको उकालो सक्यौं। ११ हजार ५१ फिटको उचाइको कोटेरी पहाडले स्वाँसप्रस्वाँसको गतिमा पनि तिव्रता ल्यायो। नहिड्दा पनि स्वाँस्वा र फ्वाँफ्वा उस्तै थियो। ठिक मध्यान्ह, हुमदुम्ती पुग्यौं। प्रेमसिंहको रोटीको म्याद सकिएको थियो। यार्सागुम्बा खोज्नेहरुको भिडभाड यहिबाट सुरु हुन्छ। हुमदुम्तीबाट नै हात र घुँडा टेकेर भूई नियाली रहेका मान्छेहरु देखिन थाले। स–साना टेण्टले मान्छे भएको आभास दिन थाल्यो। तर नजिक भने कोही थिएन्। चिउरा, नमकिन र चाउचाउ मिसायौंं। बोकेको पानी सकिएको थियो। खोक्दा खोक्दै बलजफ्ती निले। चपाउदा चपाउदै फेरी डिएफओसाप हिडि हाले। ५ मिनेट भन्दा बढि विश्राम मिल्दैन्थ्यो। जति बढि विश्राम गर्‍यो त्यति नै बाटो लम्बिन्थ्यो।
लगातार हिडेको साढे १० घण्टा भइसकेको थियो। बल्ल एउटा टेण्ट भेटियो। यो हुमदुम्ती खोलाको किनार हो। जहाँ डिएफओसापको अल्टीमिटरले १२ हजार फिट देखाइसकेको थियो। हिउ पग्लिएर आएको खोलाकै पानी पियौं। टेण्टमा बुढि आमा थिइन्। पाँच लिटरको प्रेसर कुकरमा आधाउधि चिया बसालिन्। चियापत्ती र दुध थिएन्। आमैले बझखार (बाँझको रुखबाट निकालिने सिलाजित जस्तै पदार्थ, चियापत्तीको सट्टा प्रयोग हुने) हालिन्। ठुलो कटौरा थियो। दुई कटौरा एक्लैले सिध्याए। सबैले थपिथपि पिए। तेस्रो पटक थप्न पालै पुगेन्। विस्कुट भएको झोला रित्तियो। हिउसंगको संगत सुरु भो। डिएफओसापले ‘हाई अल्टिच्युड’ शब्द पनि निकाले। खोला किनारमै हुमदुम्ती हिमाल टक्क अडियो। यसको टुप्पो आकाशमै जोडिएको जस्तो देखिन थाल्यो। हाईअल्टिच्युड शब्ले खुर्सानीको अचार खान दवाव दियो। आम मिसाएको एक डिब्बा अचार फेदमा रित्तियो।
दुई बज्नै लाग्दा हुमदुम्ती हिमालका लागि उकालो लाग्यौं। सिढि चढ्नुमा कुनै फरक थिएन्। अघिअघि लाग्ने डिएफओसाव आठौ्र नम्वरमा झरे। सबैको होसहवास उड्यो। पाईलै पिच्छे स्वाँस्वाफ्वाँफ्वाको कोकाहल सुनिन थाल्यो। ‘मेरो त व्याक गेयर लाग्दैछ’ डिएफओ रमेश चन्दले यति के भनेका थिए अर्कोले थपे ‘पुरानो गाडीको व्याक गेयर नै चल्छ।’ तीन पाईले चाल भो। दुई पाईला अगाडी त एक पाईला पछाडी। सबैलाई मेरै चिन्ता थियो। तर हुमदुम्तीको मध्यभागमा पुग्दासम्म म पहिलो नम्बरमा थिए। जगत र देवेन्द्र फर्किने कुरा गर्न थाले। हिमालसंग परिचित मोहनसंग उकालोको औषधी रैछ ‘छ्याङ’। एउटै जरकिन चार जनाको घाँटीसम्म पुग्यो। अनि त फकिन्छु भन्ने जगत र देवेन्द्रसंगै मोहन र राजेशले पनि सुइकुच्चा ठोके। छ्याङको अगाडी हाइअल्टिच्युडको प्रभाव परेन्। डिएफओ, पत्रकार विक्रम, बन रक्षक रुकुम र म ट्वाल्ल परे। हामी चारलाई भने झन झन समस्या बढ्न थाल्यो। हुमदुम्तीले साह्रै च्याप्यो।
साढे १३ हजार फिट उचाई पार गरिसकेका थियौं। हिड्नै नसक्ने भए। विक्रमको त झोला पनि मोहनले बोके। पाईला पिच्छे विश्राम लिन्थे। बेलुकीको ५ बज्नै लाग्दा हुमदुम्तीको टुप्पो चुम्यौं। सबै लम्पसार भए। यसको उचाई १३ हजार ९ सय ४० फिट थियो। टुप्पोमा धेरै समय बसेनौं, समस्या बढ्न सक्थ्यो। क्यामेरा झमिक झमिक गरेर दुधिबनका लागि ओरालो लागे। खुट्टा खलबलिए। जीउ लखतरान भो। पेटमा केही थिएन्। चाउचाउ र चिउरा निल्नै सकिन्। रुकमले काजु र किसमिस दियो। बेस्सरी चपाए, मुख भरियो। घाँटी भित्र छिरेन, बाहिर फाले। यो आरोलोमा भने म अन्तिम नम्बरमा झरे। सबै पछाडी फर्किदै हिड्दै थिए। राती ८ बजे दुधिबन पुगे। भोकभोकैको १७ घण्टा यात्रा टुङ्गियो। सुटुक्क टेण्टभित्र छिरे। निदाएको पत्तै पाइन्।
८ असारको सुरुवात थियो। गड्याम्म गुडुम्म आवाज आवाज आयो। एक्कासी निन्द्रा खुल्यो। घढीले सवा १ देखायो। हिम पहिरो गएछ। टेण्टभित्र सबै स्लिपिङ्ग व्यागमा मस्त थिए। जुरुक्क उठे। बाहिर निस्के। सेताम्य हिउमा बादलु लरखराउदै थियो। बादलु छामे, त्यसमाथि बम्किए। असाध्यै मजा आयो। संसारै विर्सिए। दुधिबन टल्किएको थियो। तारा, जुनकिरी जस्तै देखिदै थिए, हिउको चमक अगाडी। क्यामेरा क्लिकक्लिक गरे। थकान आफै हरायो। क्यामेरा प्ले गर्दा अनलाईन, आँखामा झुल्कियो। ४ असारको बिहान सम्झे। कम्प्युटर ‘सट–डाउन’ नगरी हिडेको थिए। जि–मेल र फेसबुक खुल्लै थियो। नयाँ मेसेज आयो होला। हिमाली यात्राको सपना बाँडेको थिए। अपिको काखमा सुस्ताउदै हिमाली पद यात्राको गफ चुट्न कति मजा आउथ्यो। अँ, ‘विल मिस यू’ भनेर जिस्काउने पेरिसकी लेक्चरर शोभा चन्दलार्ई भनिदिन्थे ‘अलवेज, विथ यू’। मेरो के विग्रिन्थ्यो। तर भन्न सम्भव भएन र छैन्। न बत्ती छ, न त इन्टरनेट नै। न स्काई मोवाइलमा नेटवर्क छ न त डाको लगाउदा आवाज पुग्छ। किनकी म अपिको काख दुधिबनमा छु उहाँ पेरिसमा।
नसुतेरै ताराहरुलाई हात हल्लाए। हिमालको चमक उस्तै थियो। झसमिसेमै टेण्ट चहारे। चियाको स्वागत मिल्थ्यो। कति चिया पिए गिन्ती नै छैन्। हिउमा चिया पिउनु पर्ने रैछ। पिउदा मजा पनि आउदो रैछ। दुधको खोजीमा थिए। अन्तिम टेण्ट भित्रमा पसे। दुध सोध्दा, मनिरा बुढाथोकी (१८) ले मनतातो पानीमा सेतो धुलो खन्याइन्। दाउराको छेस्कोले केही बेर चलाएर गिलास मतिर बढाइन्। गाईभैसीको होला भनेको त डिब्बाको मिल्यो। त्यहि दुधले पनि ज्यान आयो। त्यो दिन यार्सागुम्बा र यार्सागुम्बा खोज्नेहरुका गफ सुने। पुरै दुधिबन चहारे। हिउसंग मज्जाले लडिबुड खेले। धित मरुन्जेल हिउ खाए। बादलुसंग लुकामारी खेले।  दिन ढल्केको पत्तै भएन्। टेण्टभित्र छिर्न थाले, छ्याङ खोज्न। म उही अन्तिम टेण्टभित्र पसे। कसैलाई सुईको दिइन्। दुध पिएको कुन्नी कसरी थाहा पाएछन् रातभरी जिस्काए। ‘बच्चाबच्चीलाई भोक लाग्यो होला दुध चुसाउ’ मलाई जिस्काउदै भन्थे ‘पल्लो टेण्टमा बुढि आमैछिन त्यही पुर्‍याइदेउ, दुध चुसाउलिन।’ यस्तै यस्तै हासिमजाक मै निन्द्राले च्याप्यो।
हरे, फेरी उहि डिएफओसापको आवाजले निन्द्रा खुल्यो। असार ९ को बिहान हो, ३ बजेको थियो। ‘हिड्ने तयारी गर’ भन्दै कराउन थाले। उनले कराउदा कराउदै एक घण्टा वित्यो। दुधिबनको छेउमै ‘नन्जु’ हिमाल टल्किएको थियो, उत्तरमा ‘जेठाजु र बुहारी’ हिमाल ठिङ्ग उभिएका थिए। हात हल्लाउदै उकालो लागे। टेण्टहरु मस्त निन्द्रामा थिए। सित्तैमा दुध खुवाउने मनिरालाई पनि ‘बाई’ भन्न पाइन्। १२ हजार ९ सय ३० फिट उचाईमा रहेको दुधिबनबाट तीन घण्टामै १३ हजार ९ सय ५६ फिट उचाइ चढिएछ। त्यही दुधिबनको टुप्पोबाट फेरी जोखिमको यात्रा सुरु भो। हिउ नै हिउ, भिरै भिर हिड्नु पर्थ्यो। मोहनले इशारा गर्दै हिड्ने बाटोको के देखाएका थिए, जगत, देवेन्द्र र रुकुम पछाडी फर्के। तीनै जना छुट्टिएर ओरालो लागे। ४८ वर्षीय डिएफओ रमेश चन्दले साहस भरे, अनि राजेश, विक्रम, मोहन र म हिमालको टुप्पै टुप्पो चहार्न थाले।
जता हिड्यौ त्यतै बाटो हुन्थ्यो। हिउ नै हिउ थियो। तीन घण्टाको हिडाईपछि ‘नान्था’ हिमाल चुम्यौं। यहाँ पुग्दा अल्टीमेटरले १५ हजार फिट देखाउदै थियो। केही समय फोटो सेसन चल्यो। चार जनाले विस्कुट, चिउरा र नमकिन खायौं। मंगलवार, डिएफओसापको व्रत रैछ। काजु र किसमिस चपाए। यो उचाईबाट हिमाललाई नाघ्दै हिड्दा थकित जीउमा आफै ज्यान भरिन्थ्यो। बादल तल तल झथ्योे, पहाड निचो निचो हुदै खस्किन्थ्यो। नान्थाकै रेञ्जमा ४ घण्टा हिडे। त्यसपछि हिउमा तेर्सो तेर्सो हिड्दा हिड्दै १४ हजार १ सय फिटमा ओर्लियौं। त्यहिबाट अपिलाई हात हल्लाए, अर्को पल्ट भेट्ने बाचा गरी। अनि ओह्रालो झर्‍यौं। मध्यान्ह १ बजे ५ हजार १ सय ३७ फिटमा झरिसकेका थियौं। यसपछि भने स्वाँसप्रस्वासको गति कम भयो तर थकान बढ्न थाल्यो। लगातार हिडेको नौ घण्टा भएको थियो। चिउरा, चाउचाउ र विस्कुटले ज्यान भर्ने गरेपनि ब्रत बसेका डिएफओसापले भने पानी पनि पाएन्। ‘कसैले अहिले दुधिबन जानैपर्छ भन्यो भने, या त उ मर्थ्यो या म’ कुन्नी के झोक चलेछ डिएफओसाप फतफताए। अनायासै आएको यो वाक्यले थकानको मापन गर्थ्यो।
भिरबाट तल झर्दा या त डिएफओसाप अन्तिम हुन्थे या म। बाँया खुट्टाले काम गर्न छोडिसकेको थियो। लठ्ठीको सहारा लिए। एक प्याकेट मुभ सिध्याए। कति रिलिफ भएन्। खुच्लिक्क खुच्लिक्क गर्दै बाँया खुट्टो घिसारे। १५ घण्टापछि राप्ला गाविस–८ दुम्लिङ्ग पुग्यौं। पेट खाली थियो। चिया, विस्कुट, चाउचाउ र चिउराले काम गरेन्। सुटुक्क होटल भित्र पसे, उही सेता धुलो मततातो पानीमा हालेर मस्तले पिए। रात त्यही वित्यो। सबै मस्त निदाए, मलाई भने खुट्टाले हैरान पार्‍यो। राती २ बजेपछि मात्रै आँखा लागे।
१० असार, दुम्लिङ्गबाट तल झर्न खोज्यौ। हिउ पग्लिएछ, महाकाली उर्लेर आयो। ढुङ्गामाथिको भर्‍याङ, काठका डण्डी सबै लगेछ। महाकाली तर्नै गाह्रो भो। तल्लो दुम्लिङमा तुइन रैछ, त्यसकै सहरा लिन हिडे। मोहन घरतिर लागेपछि हामी ७ जना मात्रै रह्यौं। साढे ८ बजेतिर महाकाली किनारमा पुग्यौं, तुइनको नजिक। असारी, मथुरा, जानकी र दिवान बुढाथोकी हामीलाई महाकाली तार्न कस्सिए। दुई पटक झोला तारे। तेस्रो पटक डिएफओसापलाई तारे। हाम्रो टोलीका पाँच जना तुईनमा महाकाली तरिसकेका थिए। छैटौं नम्वर जगत तर्दै थिए। बीचमा पुग्दा डोरी चुडिँयो। विचरा महाकालीको विचमा अडिए। सबैको सातो पुत्लो गयो। उनलाई गुमाउने पक्का जस्तै भयो। कोही केही बोल्न सकेन्। मान्छे न हो, साहस भर्न सके जेपनि गर्न सक्छ। उनलाई साहस दिदै गर्दा, हात चाल्दै फिर्ता भए। बल्ल ढुक्क भइयो। झन्नै उनको ज्यान गएको।
उनलाई त दोस्रो प्रयासमा तारियो तर अन्तिम म थिए। करिब एक घण्टाको अवधिमा उनीहरु चार जनाले तुईमान २५/२६ चक्कर लगाईसकेका थिए। जसले गर्दा तान्ने डोरी चुँडिएकेा थियो। जगत त बचे अब मेरो के हुने? सबैको अनुहार मलिन थियो। मुटु काप्न थाल्यो। त्यही तुईनमा दुई जनाले ज्यान गुमाएका थिए। जे होला, होला भन्ने सोचेको त सहजै तारे। म त हलुको नै रहेछु, उनीहरुले कष्ट गर्नै परेन्। हलुको पनि किन नहुनु, हिमाली यात्रामा ८ किलोग्राम तौल गुमाइसकेको थिए। चारै जनासंग हात हल्लाए। एक्कासी असारी बोलिन ‘अर्को वर्ष पनि आउनु होला, कालापानी जानेगरी।’ अनायासै असारीको कालापानीले फेरी झस्कायो।
पेरिसकी लेक्चररले त जिस्काउन ‘will miss you’ भनेकी थिइन् तर मैले साच्चै कालापानी मिस गरे। मन मनै भने ‘miss you, कालापानी।’ हुन पनि हो, कालापानी मिस हुन बेर छैन्। कालापानीका लागि नेपालीलाई अनुमित छैन्। आफ्नै भूमिमा टेक्न पनि दार्चुला जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनु पर्छ। दार्चुलाका सिडिओसापले हत्तपत्त अनुमति दिदैनन्। सिडिओसापबाट पाएको अनुमतिले भारतीय सुरक्षाफौजबाट अर्को अनुमति लिनु पर्छ। जुन सम्भव छैन्। नेपाली भन्ने वित्तिक्कै प्रतिबन्धित जस्तै छ। भारतीय सुरक्षाफौजले नेपालीलाई कालापानीका लागि अनुमति दिदैन्। त्यही भएर हाम्रो यात्रा कालापानीतिर हानिएको रहेन्छ, तुईन तर्दा चेत आयो।
अहिले कालापानीमा भारतीय सुरक्षाकर्मी परेड खलिरहेका छन्। भारतीय झण्डा फरफराइ रहेको छ। सामरिक महत्वको यस क्षेत्रमा नेपाल तर्फसमेत नेपाली सुरक्षाकर्मीको उपस्थिति छैन्। अन्य देशका मानिसले कालापानी हेर्न र चहार्न पाउछन् तर नेपाली भन्ने वित्तिक्कै प्रतिबन्धित हुन्छ। यस्तै अवस्था रहने हो भने नेपाल र अढाई करोड नेपालीले ‘मिस यू कालापानी’ भन्न बाहेक केही रहने छैन्। नचाहादा नचाहदै पनि महाकालीको किनारै किनार दक्षिणतिर हुईकिए। आँखा चिम्ले, दुबै हात हल्लाउदै भने ‘Miss you, कालापानी।’

No comments:

Post a Comment