Wednesday, January 9, 2013

नेपाल–भारत सम्बन्धमा खुल्ला सीमाको मार

 -- युवराज पाण्डे, पूर्वसचिव–नेपाल सरकार

नेपालको सीमाना तीनतिर भारतसँग र एकतिर चीनको तिब्बत स्वशासित प्रदेशसँग जोडिएको छ। सीमाना जोडिएका मुलुकमा एउटा मुलुकमा केन्द्र बनाएर अर्को मुलुकमा अपराधिक क्रियाकलापको सञ्चालन गर्ने संभावना रहन्छ। त्यसैले सीमा जोडिएका मुलुकहरूले सीमानामा रहेको अर्को मुलुकबाट आफ्नो सुरक्षा व्यवस्थामा आघात पुग्ने हो कि भनेर पनि ध्यान दिएका हुन्छन्। नेपालका दुईवटा छिमेकीले पनि नेपालको भूभागबाट आआफ्नो मुलुकको सुरक्षा व्यवस्थामा आघात नपुगोस् भन्ने चाहना राखेको पाइन्छ। छिमेकी मित्र भारतले समय समयमा नेपालका अन्य मित्र राष्ट्रहरूका विरोधी गतिविधिको सञ्चालन गरेको आशंका प्रकट गर्दै आएको कुरा बेलाबखतमा सञ्चार माध्यमबाट सार्वजनिक भएको पाइन्छ। अर्को मित्रराष्ट्र चीनले पनि तिब्बतमा अशान्ति उत्पन्न गर्नका निम्ति नेपालको भूभागको प्रयोग हुन नसक्ने अवस्था नेपाल सरकारले बनाउनुपर्छ भन्ने चाहना प्रकट गरेको पाइन्छ। नेपालले पनि आफ्ना छिमेकी मुलुकको भूभाग नेपालको राष्ट्रिय हितमा आघात पुर्याचउनका निम्ति प्रयोग नहोस् भन्ने चाहना राख्ने कुरालाई स्वभाविक रुपमा लिनुपर्छ।  
 नेपालको छिमेकी राष्ट्रसंग खुला सीमाना रहेको हुनाले अपराधीहरूले नेपालमा अपराध गरेर भारतमा गई आश्रय लिने र भारतमा अपराध गरेर नेपालमा आई लुक्ने संभावना रहेको कुरालाई अस्वीकार गर्न गाह्रो पर्दछ। नेपालको दक्षिणी सीमावर्ती तराई क्षेत्रमा अपराधिक क्रियाकलापमा संलग्न रहेका कतिपय व्यक्ति र समूहहरूले भारतमा गएर लुक्ने या योजना बनाउने गरेको कुरा कतिपय सुरक्षा विशेषज्ञहरूले पनि बताउदै आएका छन्। त्यसैले, भारत र चीनसँगको सीमाको प्रभावकारी ढंगले अनुगमन गरी एक अर्को मुलुकबाट एक अर्को मुलुकमा अपराधिक गतिविधि हुन नसक्ने अवस्था सिर्जना गर्नको निम्ति नेपालले चीन र भारतसँग सहकार्य गर्नुपर्छ र आवश्यकताअनुसार भारत र चीनको सहयोग प्राप्त गर्ने प्रयास गर्नुपर्छ भन्ने कुरामा विशेषज्ञहरूले जोड दिंदै आएको पाइन्छ। नेपालको वैदेशिक व्यापारको ठूलो हिस्सा भारत र चीनसँगको व्यापारले ओगटेको पाइन्छ। त्यसमा पनि नेपालको संसारका अरु सवै मुलुकसँगको कुल व्यापारभन्दा नेपालको छिमेकी राष्ट्र भारतसँगको व्यापार धेरै गुणा बढी रहेको पाइन्छ। नेपालको भारत र चीनसँगको व्यापारमा नेपालले ठूलो घाटा पनि व्यहोर्दै आएको पाइन्छ। भारतसँग बढी व्यापार हुने भएकाले भारतसँगको व्यापार घाटा तुलनात्मक रुपले गम्भीर रहेको कुरा पनि स्पष्ट नै छ। भारतसँग खुलासीमाना रहेको र खुला व्यापारिक नाकाहरू वाहेकका अरु सीमावर्ती ठाउँमा पनि पर्खाल वा तारबार जस्ता कुनै पनि छेकवार नभएका हुनाले भारतसँग कुनै अवैध व्यापारको परिणाम पनि निकै ठूलो छ र त्यसबाट नेपालको अर्थतन्त्रमा गम्भीर असर पर्दै आएको छ भन्ने कुरा पनि अध्येता र अनुसन्धानहरूले बताउदै आएका छन्।  
भारतबाट आयात हुने धेरै बस्तुहरू सीमावर्ती खुला नाका छलेर अरु ठाउँबाट तस्करी गरेर नेपालमा ल्याउने काम कतिपय तस्करहरूले गरिरहेका छन् भन्ने कुरा पनि कतिपय तथ्य प्रमाणहरूले स्पष्ट पारेको पाइन्छ। भारतबाट उपभोग्य बस्तु र तयारी मालसामानको नेपालमा तस्करी हुँदा वर्षेनी नेपाललाई अवर्ौं रुपैयाँ बराबरको राजश्वमा घाटा हुदै आएको कुरा पनि उत्तिकै स्पष्ट छ। रक्त चन्दन जस्ता प्रतिबन्धित बस्तुहरूको तस्करीका निम्ति पनि तस्करहरूले नेपाल र भारतको बीचमा रहेको खुला सीमानको प्रयोग गर्दै आएको पाइन्छ। नेपालबाट पनि कतिपय जडिबुटी आदि बस्तुको अवैध ढंगले भारतमा तस्करी हुन्छ भन्ने कुरा पनि बेला बखतमा त्यस्ता मालसामानहरू सीमावर्ती क्षेत्रमा वरामद हुने गरेका घटनाहरूले नै स्पष्ट पार्छन्। त्यसैले नेपालको भारतसँगको सीमानाको समुचित व्यवस्थापन र नियमन दुवै मुलुकको हितमा रहेको देखिन्छ।  
नेपाल र भारत सरकारले नेपाल र भारतको सीमावर्ती क्षेत्रमा रहेका दुइदर्जन बढी स्थानहरूलाई व्यापार एवं पारवहन नाकाको रुपमा स्वीकार गरेको देखिन्छ। नेपालमा नून, तेल, लत्ता कपडा र मेसिनरी पार्टपूर्जाहरू जस्ता अत्यावश्यक वस्तुहरूको आयात गर्नका निम्ति र नेपालबाट भारतमा निकासी हुने वस्तुको निकासी गर्नका निम्ति यी नाकाहरूको प्रयोग हुने भएकोले यी नाकाहरू नेपालको अर्थतन्त्रको निम्ति समेत अत्यन्त उपयोगी रहेको कुरामा शंका छैन। एक अर्का मुलुकका मानिसहरू एक अर्को मुलुकमा आउन जानका निम्ति पनि यी नाकाहरूको प्रयोग हुन्छ। यी नाकाहरूमा दुवै मुलुकका भन्सार र सुरक्षा निकायका इकाइहरू समेत रहेको हुनाले यी नाकाहरूबाट अवैध व्यापार हुन नसकोस् र एक मुलुकबाट अर्को मुलुकमा अवैध हातहतियार र विस्फोटक सामग्री लिएर अपराधीहरू आउन, जान नसकुन् भन्ने कुरामा दुवै मुलुकहरू केही हदसम्म सजग रहँदै आएको पनि पाइन्छ। तर पनि बेलाबखतमा नेपालमा भारतीय भूभागबाट अवैध रुपले ल्याइदै गरेका हातहतियार र गोलावारुद्ध जस्ता विस्फोटक र विध्वंशक वस्तुहरू र मसीनरी पार्टपूर्जा तथा अन्य सामग्रीहरू सीमावर्ती क्षेत्रमा वरामद भएका घटनाहरू सार्वजनिक हुदै आएको घटनाले सीमावर्ती क्षेत्रबाट अर्को मुलुकमा अवैध ढंगले मालसामानको ओसारपसार वा तस्करी हुने गरेको देखिन आउछ। त्यसैले सीमावर्ती क्षेत्रमा हुने तस्करीको नियन्त्रण र अपराधिक क्रियाकलापको सञ्चालनका गर्नका निम्ति सीमावर्ती क्षेत्रको उपयोग हुन नदिनका निम्ति दुवै मुलुकले थप उपायको अवलम्बन गर्न आवश्यक देखिन्छ।  
यसका लागि दुई मुलुकको बीचमा भएको सम्झौताअनुसार आवागमन र पारवहनको निम्ति छनौट वा पहिचान गरिएका नाकाहरूलाई खुला राखी बाँकी रहेको सीमा क्षेत्रलाई तार वारले छेक्ने उपाय सीमा क्षेत्रको व्यवस्थापन प्रभावकारी बनाउनको निम्ति अत्यन्त प्रभावकारी हुन सक्ने कुरा कतिपय अध्ययन र विश्लेषणहरूले स्पष्ट पारेका छन्। व्यापारिक नाकाहरू खुला राखेर अरु ठाउँमा तारवार लगाउदा एक मुलुकबाट अर्को मुलुकमा हातहतियार र विस्फोटक पदार्थको तस्करी हुने संभावना कम भएर जाने कुरा स्पष्ट छ। त्यसैगरी एक मुलुकबाट अर्को मुलुकमा तयारी र अन्य मालसामानको ओसार पसार वा तस्करी हुने संभावना समेत घट्ने भएकोले नेपाल र भारतको बीचमा हुने व्यापारको आयातन यथार्थमा कति छ भन्ने कुराको पहिचान गर्न समेत संभव हुन्छ। अवैध व्यापारको नियन्त्रणले नेपालको राजश्व आयमा पनि सो अनुरुपको वृद्धि हुने कुरा स्पष्ट छ। अपराधिक व्यक्ति र समूहले नेपालको भूभाग भारतीय हितको विरुद्धमा प्रयोग गर्ने संभावना पनि कम हुने कुरा पनि उत्तिकै स्पष्ट छ। त्यसैले, नेपाल र भारतको बीचको खुला सीमानामा रहेका दुवै मुलुकको बीचमा भएको सम्झौताअनुसार पहिचान गरिएका आवागमन एवं व्यापारिक नाकाहरू वाहेकको नेपाल र भारतको सीमानामा तारवार लगाउने काम भारत र नेपाल दुवैको हितमा रहेको हुनाले त्यसका निम्ति तत्काल पहल गर्नुपर्छ।

No comments:

Post a Comment