Wednesday, January 9, 2013

दुखिरहने कालापानी


बच्चु/दार्चुला


uploads-nepalkosimana_206102660
भारतले नेपाली सीमा अतिक्रमण गरेको कुरा निस्कने वितिक्कै कालापानीको नाम आउछ। सबैको ओठमा कालापानी झुण्डिन्छ। वर्षौंदेखि भारतीय अतिक्रमणको चपेटामा परेको कालापानी जति चर्चित छ, त्यक्तिकै वेवास्ता पनि गरिएकोे छ। तर हिमाली जिल्ला दार्चुलाबासीलाई भने कालापानीको घाउले सधै दुखाइ राख्छ।
उत्तरतिर चीन र दक्षिणमा भारतसंग जोडिएको दार्चुलामा सीमा सम्बन्धी अन्य स्थानमा विवाद छैन्। ‘कालापानीमा मात्रै हो, दार्चुलाको अन्य क्षेत्रमा विवाद छैन्’ दार्चुलाका प्रमुख जिल्ला अधिकारी खम्बुराज थानीले भने। चीनसंगको उत्तरि सीमा हिमालले छुट्याएकेा छ, जहाँ अहिलेसम्म सीमा अतिक्रमणको विवाद आएको छैन्। दक्षिणतिरको अधिकासं भाग महाकाली नदीले भारतसंग छुट्याएको छ। बैतडीसंग जोडिएको लाली गाविसदेखि उत्तरतिरका उकु, दत्तु, धाप, खलङ्गा, चपरी, ब्रहमदेव, हुती, धौलाकोट, सुनसेरा, राप्ला र चीनसंग जोडिएको व्यास गाविसको अधिकासं भागलाई महाकालीले भारतबाट अलग राखेको छ। महाकाली सीमा रक्षक भएर बगेको छ। जसका कारण भारतले नेपाली भूमिका अतिक्रमण गर्न सकेको छैन्। तर त्रीदेशीय विन्दु कालापानी भने वर्षौंदेखि भारतीय अतिक्रमणमा परेको छ। जुन सरकार फेरबदलसंगै चर्चामा आउछ, अनि त्यत्तिकै आझेमा पर्छ।
नेपाल, चिन र भारतको सीमानामा कालापानी त्रिकोणाकारमा रहेको छ। कुटी याङ्दी (काली) र लिपु खोलाले यसलाई त्रिकोणाकारमा ढालेको छ। सामरिक महत्वको यो क्षेत्र करिब १९ हजार ६ सय हेक्टर (१९५ वर्गकिलामिटर) छ। त्रिकोणाकारको कालापानीको उत्तरतिर चिनको तिब्बती क्षेत्र छ भने पश्चिमी क्षेत्रमा बग्ने काली (कुटी याङ्दी) नदीले भारतीय क्षेत्र छुट्टयाएको छ। काली र लिपु खोलाको दोभान ‘धर्मशाला’ हो। धर्मशालामा पुग्ने काली र लिपु खोला मध्ये कुन महाकाली नदीको उद्गम नदी भन्ने एकिन नभएकाले विवाद भएको सीमाविद ऋषीराज लुम्सालीले बताए। नेपालले काली अर्थात कुटी याङ्दीको मुहानलाई महाकाली नदीको मुहान भन्दै आएको छ  भने भारतले लिपु खोलाको मुहानलाई महाकाली नदीको मुहान भन्दै कालापानीमा अतिक्रमण गरेर कब्जा जमाएको छ। कालीको मुहानलाई महाकाली नदीको मुहान मान्दा कालापानी नेपालमा पर्छ भने लिपु खोलको मुहानलाई महाकालीको उद्गम स्थल मान्दा कालापानी भारतमा पर्छ। यहि विवादका कारण कालापानीको एक सय ९५ वर्ग किलोमिटर नेपाली भूमि भारतले कब्जा गरिरहेको छ।

कुन हो महाकालीको उदगम स्थल?
कालापानीको पश्चिमतिरबाट बग्ने काली अर्थात कुटी याङ्दीको मुहान नै महाकालीको उद्गम स्थल भएको नेपाली पक्षको दावी छ। काली नदीका नामले नै महाकाली नाम रहन गएकेा स्थानीय बासिन्दाको भनाई छ। अहिले पनि दार्चुलाबासी मात्रै नभएर बैतडी, डडेल्धुरा र कञ्चनपुरबासी समेत महाकाली नभनेर काली नदी नै भन्ने गरेका छन्। ऐतिहासिक तथ्यहरुले पनि कुटी याङ्दीको मुहानलाई नै महाकाली नदिको उद्गम स्थल देखाएको लुम्सालीको दावी छ। सन् १८१६ को सुगौली सन्धीको दफा ५ ले काली अर्थात कुटी याङ्दीलाई नै महाकालीको उदगम स्थल र महाकाली नदी साझा नभएर नेपालको भएको स्पष्ट पारेको उनको जिकिर छ। सुगौली सन्धीको दफा ५ मा  ‘The raja of Nepal renounces for himself his heirsm and successors, all claim to or connection with the countries laying to the west of the river Kali, and engages never to have any concern with those countries of inhabitants there of ‘  उल्लेख छ।
त्यस्तै सन् १८१६ को सन्धी कै आधारमा सन १८३७ को जे.बी.टासनको भारतीय नक्सामा पनि कुटी याङ्दीलाई नै महाकालीको उद्गम स्थल देखाइएको छ। र कुटी याङ्दीलाई नै महाकाली नदी मानिएको छ। यस अतिरिक्त कुन नदी मुल नदि हो भनेर छुट्याउन नदीको लम्बाई, सहयाक नदिको लम्बाई र जलाधार क्षेत्रले पनि कुटी याङ्दीनै महाकाली नदी भएको लुम्सालीले बताए। कञ्चनपुरको दक्षिणमा भारतसंग जोडिएकेा कुतिकभरदेखि महाकाली नदिकोे लम्बाई उत्तरमा भारतको लासारयाकीबाट आउने लासारयांकी र कुटीयाङदी, लिपु खोला र टिङ्कर खोला मिलेर आउने नदीको संगम स्थलसम्मको लम्बाई एक सय ७५ किलोमिटर रहेको छ। त्यहाँबाट लासारयांकीसम्मको लम्बाई भन्दा कुटी याङदी, लिपुखोला र टिङ्कर खोला मिलेर आउने नदीको लम्बाई र पानीकेा मात्रा बढि भएकाले लासारयांकीका विषयमा विवाद नआएकेा लुम्सालीको भनाई छ।
त्यसभन्दा उत्तरतिरको धरमशालाबाट कुटी याङदीबमे लम्बाई लिपु खोलाकेा भन्दा बढी भएकाले अन्तराष्ट्रिय माफद48डका आधारमा पनि कुटी याङ्दी अर्थात काली नदीको मुहान नै महाकाकालीकेा उद्गम स्थल भएको सीमाविद लुम्सालीको दावी छ। ऐतिहासिक तथ्य तथा बैज्ञानिक अध्ययनले कालापानी नेपालकै भएको देखाएपनि भारतले ३७ वर्षदेखि अतिक्रमण गरेर कब्जा जमाएको छ। सन् १९६२ मा चीनसंग भएकेा युद्धपछि मात्रै कालापानीमा भारतीय सेनाले कब्जा जमाएकेा छ। नेपालको लिपु भञ्ज्याङ नाका भएर चीनसंग युद्ध गर्न र सो नाका भएर आउने चिनीया फैाजलाई रोक्न सन् १९६२ मा भारतीय फौज कालापानीमा बसेको लुम्साली बताउछन्। ‘त्यतिबेला नेपाल सरकारसंग अनुमति मागेर अस्थायी शिविर बनाएको थियो’ लुम्साली भने ‘युद्ध सकिएपनि भारतीय सेना फिर्ता गएन, कब्जा गरिराख्यो।’ तत्कालिन परराष्ट्रमन्त्री ऋषीकेश शाहले तत्कालिन राजा महेन्द्रलाई भारतीय फौज कालापानीमा बसेको विषयमा जानकारी समेत गराएका थिए। अस्थायी रुपमा बसेकाले तत्कालिन राजा महेन्द्रले पनि चासो नलिएको लुम्सालीकेा भनाई छ।

अहिले कस्तो छ कालापानी ?
३७ वर्ष अघि पाल टागेर बसेको भारतीय सेनाले अहिले भने क्याम्प नै खडा गरेको छ। जमिन मूनी ठूल–ठूला घरहरु बनाएकेा छ। बाह्रै महिना हिउ परिरहने यस क्षेत्रमा भारतीय सेनाले अतिसंवेदनशिल क्षेत्र घोषणा गरेर सुरक्षा स्थिती मजबुत पारेको छ। अन्य क्षेत्रमा प्रान्तिय सरकारको मातहतमा सुरक्षा फौज राखेको भएपनि कालापानीमा केन्द्रीय सरकारको मातहतमा भारतीय सेना राखिएकेा छ। ठूलो संख्यामा भारतीय सेना राखिएकेा दार्चुलाका प्रमुख जिल्ला अधिकारी खम्बुराज थानीले बताए। ‘पुरै क्षेत्रभरी भारतीय सेना छ’ प्रजिअ थानीले भने। भारतीय सेनासंगै अन्य सुरक्षा बलहरुलाई समेत कालापानीमा राखिएको छ। दार्चुला सदरमुकाम खलङ्गादेखि उत्तरतिरको महाकाली नदीको क्षेत्रलाई भारतले संवेदनशिल क्षेत्र घोषणा गरेर विषेश सुरक्षा फौज तैनाथ गरेको छ।
दार्चुला भन्दा दक्षिणको पश्चिमी सिमा क्षेत्र र नेपालको दक्षिणी सिमा क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसवि) खाइएको भएपनि सो क्षेत्रमा भारतीय सेना सहितको संयुक्त सुरक्षा फौज तैनाथ गरिएकेा छ। यता नेपालतिरमा भने नेपाल प्रहरी छ। कालापानी क्षेत्रमा भने नेपाल प्रहरी पनि छैन नेपाली बस्ती पनि छैन्। कालपानीबाट दुई घ48टाको पैदल दूरीमा नेपाल प्रहरीका सीमा सुरक्षा चौकी रहेका छन्। कालापानी भन्दा दुई घ48टा पैदल दूरीमा व्यास, सितापुल र तिङ्करमा सीमा प्रहरी चौकी रहेको दार्चुला प्रहरी प्रमुख एव प्रहरी नायव उपरिक्षक दिल्ली राज विष्टले बताए। यसका अतिरिक्त दार्चुलामा सीमासंग जोडिएका सबै गाविसमा प्रहरी चौकी छन्। तर नेपाली सेना र सशस्त्र प्रहरीले कालापानी त परै जावस दार्चुलाको नेपाल भारत सीमा समेत देखेको छैन्।
भारतीय सुरक्षा फौज बाह्र महिना कालापानीमा बस्छ भने नेपाल प्रहरी कालापानी भन्दा दुई घ48टा टाढाको व्यास, तिङ्कर र सीतापाईलमा पनि भौतिक सुविधाको अभावमा हिउका कारण ६ महिनामा मात्रै बस्छ। भारतीय सुरक्षा फौजले नेपाली नागरिकलाई कालापानी जानमा पनि रोक लगाएको छ। नेपाली बाटो भएर जान मुस्किल छ भने भारतीय बाटो भएर नेपालीले जान अनुमति लिनु पर्छ। भारतीय सरकारबाट अनुमित नलिई कालापानी जान मिल्दैन्। नेपाली बाटो भएर पनि कालापनी नजिक पुग्न सकिदैन्, भारतीय सुरक्षा फौजले नियन्णमा लिईहाल्छ। भारतीय सुरक्षा फौजको अवरोधका कारण नै कालापानी नजिक नेपाली बस्ती छैन्। नेपाली नागरिकले कालापानी नजिक जानै पाउदैनन्।
स्थानीय स्तरमा जति आवाज उठाएपनि भारतीय सुरक्षा फौजको अगाडी जंगलको कराई हुन्छ। यसका लागि केन्द्रबाट पहल गर्नु पर्ने स्थानीय बासिन्दा, राजनीतिक दल तथा स्थानीय प्रशासनिक अधिकारीहरुको भनाई छ।
‘त्यत्रो भारतीय फोर्सको अगाडी नेपाल प्रहरी गएर के गर्न सक्छ, बोले के हुन्छ?’ दार्चुलाका प्रहरी प्रमुख विष्टले दैनिक गुजराका लागि भारत आवतजावत गर्न सहज वातावरण बनाउन बाहेक सीमा समस्यामा प्रहरीले केही गर्न नसक्ने बताए। राजनीतिक दलका प्रमुखहरु पनि केन्द्रबाट समस्या समाधानका लागि पहल गर्नु पर्ने बताउछन्। ‘यो स्थानीय स्तरबाट समाधान हुने समस्या नै हैन, केन्द्रबाट पहल गर्नु पर्छ’ नेकपा एमाले दार्चुलाका सचिव गणेश ठगुन्नाले भने। दाुर्चलाका प्रमुख जिल्ला अधिकारी थानीले पनि स्थानीय स्तरमा बोल्नुको औचित्य नभएको बताए।
स्थानीय बासिन्दा भने काठमाडौंले कालापानीको वेवास्ता गरेको आरोप लगाउछन्। ‘कसले सुन्छ, यहाँको कुरा?’ दार्चुलाको व्यास गाविस तिङ्करका जेठारा तिङकरीले भने ‘सीमा अतिक्रमणको पीडा कस्तो हुन्छ, काठमाडौंलाई के थाहा?’ आफ्नै घर खेतमा विदेशी सुरक्षा फौजले दुख दिदाको पीडा आफूहरुलाई मात्र थाहा भएको उनकेा गुनासो छ। दार्चुलाबासीहरु कालापानी अतिक्रमणले सधै पीडा थपिरहेको दुखेसो गर्छन। सामरिक महत्वको कालापनीको समस्या तत्काल समाधान गर्नु पर्नेमा स्थानीय बासिन्दाको जोड छ। हुन पनि हो, समयमै कालापानी समस्या नसुल्भि्कए सदाका लागि कालापानी गुमाउनु बाहेक अर्को विकल्प रहने छैन्।

No comments:

Post a Comment