Wednesday, March 24, 2010

कांग्रेस र एमाले संविधान जारी गर्न चाहँदैनन् : यादव

वीरगन्ज, चैत ११- मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले कसैगरी पनि तोकिएकै समयमा संविधान जारी गर्नुपर्ने बताएका छन्।
संविधान निर्माण कार्यमा अवरोध पुर्‍याउन विभिन्न शक्ति लागिपरेको बताउँदै उनले जनताले प्राप्त गरेको उपलब्धिलाई व्यवस्थित गर्नका लागि  जेठ १४ गते नै संविधान जारी हुनुपर्ने बताए।

'दलबीच यस्तै खिचातानी रहे जेठ १४ गते संविधान बन्ने अवस्था  छैन', वीरगन्जको तेजारथ टोलमा बुधबार पार्टी कार्यालय उदघाटन गर्दै  यादवले भने-  संविधान चाहने आम नागरिकले समयमै संविधान जारी गराउन दलहरुलाई बाध्य गराउनुपर्छ।' समयमै संविधान जारी गर्ने नसके मुलुक अन्यौल र अराजकतातर्फ उन्मुख हुने उनले सुनाए। 

वर्तमान सरकार अहिलेसम्मकै असफल सरकार रहेको दाबी गर्दै  अध्यक्ष यादवले शान्ति, सुरक्षा र आर्थिक सुरक्षा दिन नसकेकाले यसको हैसियत समाप्त भएको बताए। कङ्ग्रेस र एमालेले  संविधान जारी गर्न नचाहेको उनको आरोप छ। राज्य पुनर्संरचना समितिले जारी गरेका १४ प्रदेशको अवधारणा न्यायसङ्गत नरहेको बताउँदै यादवले मधेश हकहितका लागि आन्दोलनमा उत्रने बताए।

सङ्गठन निर्माण र आन्दोलनको तयारीमा आफ्नो पार्टी जुटेको बताउँदै उनले मधेशी दलसँग भएको सम्झौता लागू गराउन चैत २६ र २७ गते मधेश बन्द आह्वान गरेको जानकारी पनि उनले दिए।

No comments:

Post a Comment