Wednesday, March 24, 2010

नेपाली भूमिमा भारतको सडक


झापा १० चैत
पश्चिमी झापाको खजुरगाछीमा भारतले नेपाली भूमि मिचेर सडक निर्माण गरेको छ । खजुरगाछी- १ को फत्तेपुरबाट खनियाँबाँधसम्मको दसगजा क्षेत्रमा भारतले करिब सात सय मिटर सडक निर्माण गरिसकेको छ । भारतले दसगजाको दुई किलोमिटर क्षेत्रमा एक सातादेखि सडक निर्माण गर्न थालेको हो 
सीमासम्बन्धी अन्तर्राष्ट्रिय नियमअनुसार दुई देशको सीमारेखाको दुवैपट्टी नौ मिटर भूभागमा बसोबास र भौतिक पूर्वाधार निर्माण गर्न पाइँदैन । तर, भारतीय पक्षले ३४ र ३५ नम्बर सीमास्तम्भको सात सय मिटर क्षेत्रमा बाटो बनाइसकेको सीमासुरक्षा बेस क्याम्प खजुरगाछीले जनाएको छ । सडक १२ फिट चौडाइँको छ 
'सरकारकै निर्देशनअनुरूप बाटो बनाएको भन्ने जवाफ भारतीय सुरक्षाकर्मीले दिएका छन्,' बेसक्याम्पका प्रहरी निरीक्षक श्याम राउतले भने, 'पटकपटक सडक निर्माण कार्य रोक्न निर्देशन दिँदासमेत भारतीय पक्षले टेरेको छैन ।' पाँच दिनअघि मात्र झापाका प्रमुख जिल्ला अधिकारी नेतृत्वको टोलीले सीमाक्षेत्रको निरीक्षण गरी सडक निर्माण कार्य रोक्न निर्देशन दिएको थियो 
नेपाली टोलीसँगको छलफलमा भारतीय अर्धसैनिक बल एसएसबीका एस आई समीर दासले उच्चतहमा सहमति गरेर मात्र सडक निर्माणलाई निरन्तरता दिने सहमति जनाएका थिए । तर, सो सहमतिविपरीत भारतीय पक्षले सडक निर्माण कार्य जारी राखेको छ । भारतीय पक्षले सडकमा ग्राभेलिङ गर्न थालेको खबर पाएपछि त्यसबारे बुझ्न गएका जनपद र सशस्त्रका दुई प्रहरीले भागेर ज्यान जोगाएका छन् 
यसअघि भएको सहमतिविपरीत भारतीय पक्षले सडक निर्माण कार्यलाई निरन्तरता दिएपछि नेपाली सुरक्षाकर्मी त्यसबारे बुझ्न गएका थिए । सडक ग्राभेलिङ भइरहेको पाइएपछि त्यसलाई रोक्न खोज्दा भारतीय पक्षले उनीहरूमाथि आक्रमण गरेको इलाका प्रहरी कार्यालय गौरीगञ्जले जनाएको छ । उनीहरूले प्रयोग गरेको एउटा मोटरसाइकल भारतीय पक्षले नियन्त्रणमा लिएको छ । सीमासुरक्षा बेस क्याम्प खजुरगाछीका सशस्त्र प्रहरी निरीक्षक श्याम राउतले नेपाली सुरक्षाकर्मीलाई भारतीय पक्षले कुटपिट गरी मोटरसाइकल नियन्त्रणमा लिएको बताए । उनले नेपाली सुरक्षाकर्मीले प्रयोग गरेको मे१प ८३११ नम्बरको मोटरसाइकल भारतीय पक्षले नियन्त्रणमा लिएको जानकारी दिए । प्रहरीले कुटाइ खानेहरूको नाम भने सार्वजनिक गरेको छैन      
भारतीय पक्षले भने सडक निर्माण गर्न प्रयोग गरिएको ट्रयाक्टरका चालकलाई नेपालका प्रहरीले बाँधेर कुटपिट गरेकाले आफूहरूले त्यसको प्रतिकार गरेको दाबी गर्दै आएको छ । प्रहरीको कुटपिटबाट ट्रयाक्टरचालक बेहोस भएपछि नियन्त्रणमा लिन खोज्दा ती प्रहरी भागेको एक भारतीयले बताए । बाटो निर्माण कार्य रोक्न र मोटरसाइकल फिर्ता गर्ने विषयमा मंगलबार भएको छलफलमा भारतीय पक्षले चालकको साथबाट हराएको १० हजार भारतीय रुपैयाँ र एउटा मोबाइलवापतको पैसा नदिएसम्म मोटरसाइकल फिर्ता नदिने अडान राखेको छ 

No comments:

Post a Comment