Wednesday, March 24, 2010

एसएलसी आजदेखि


काठमाडौ, चैत्र १२ - देशभर बिहीबार बिहान ८ बजेदेखि एसएलसी परीक्षा हुँदैछ । परीक्षामा नियमित र एक्जाम्टेड गरी ४ लाख ५६ हजार ७ सय १९ परीक्षार्थी सहभागी हुनेछन् । त्यसनिम्ति १५ सय ४८ परीक्षा केन्द्र तोकिएको छ ।
नियमिततर्फ ४ लाख १२ हजार ५ सय ९२ जनामध्ये १ लाख ९३ हजार ४९ छात्रा छन् । एक्जाम्टेडतर्फ ४४ हजार १ सय २७ छन् । तीमध्ये २५ हजार १ सय ७६ छात्रा छन् । यस वर्षको परीक्षार्थी संख्या गत वर्षभन्दा ४५ हजार बढी हो ।
विगतभन्दा परीक्षा मर्यादित तुल्याउन कडाइ गरिने उल्लेख गर्दै शिक्षा मन्त्रालयले सचिवको संयोजकत्वमा सबै अञ्चलमा अनुगमन समिति गठन गरेको छ । हरेक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा परीक्षा समिति र हरेक केन्द्रमा सर्वपक्षीय अनुगमन समिति गठन गरिएको जनाइएको छ ।
परीक्षार्थीले मोबाइल, चिट, गाइड, गेसपेपरजस्ता कुनै पनि सामान प्रयोग गर्न पाउने छैनन् । अनियमितता गर्नेलाई कडा कारबाही गर्ने परीक्षा नियन्त्रक चित्रप्रसाद देवकोटाले बताए । अपांगता भएका विद्यार्थीले प्रमाणका आधारमा लेखक राख्न र बढीमा १ घन्टा थप समय पाउनेछन् ।
एसएलसीमा सबैभन्दा बढी काठमाडौंबाट ३२ हजार ३ सय ५० विद्यार्थी सहभागी हुनेछन् । यसैगरी सबैभन्दा कम मनाङबाट ९१ परीक्षार्थीले जाँच दिनेछन् ।
अभिभावक संघले परीक्षाका लागि शान्त र भयरहित वातावरण बनाउन र चैत २० सम्म देशभर बन्द, हडताल नगर्न आग्रह गरेको छ । राष्ट्रिय मानव अधिकार आयोगले एसएलसी परीक्षा अनुगमन गर्ने जनाएको छ ।

No comments:

Post a Comment