Saturday, March 27, 2010

चिनले ल्हासा हुँदै नेपालसम्म रेलमार्ग जोड्ने

हङकङ, चैत १४ - चीनले तिब्बतको राजधानी ल्हासाबाट नेपालको सिमानासम्म रेल लाईन विस्तार गर्ने भएको छ। रक्षामन्त्री विद्या भण्डारीसँग शुक्रबार बेइजिङमा भएको भेटमा चिनियाँ कम्युनिष्ट पार्टी स्थाई समितिका पोलिटब्यूरो सदस्य जोउ योङकाङले उक्त जानकारी दिएका हुन्।'योङकाङले तिब्बतको राजधानीबाट नेपालको सिमासम्म रेल पुर्‍याउने बचन दिएका छन्,' बेइजिङमा मन्त्री भण्डारीसँगै रहेका प्रेस सल्लाहकार सुवास देवकोटाले भने। केही वर्षदेखि द्विपक्षीय छलफलमा यो कुरा उठ्दै आए पनि विस्तृत योजना बनेको छैन।
ग्रेट हल अफ दि पीपुलमा भएको ४५ मिनेट लामो भेटमा ५५ वर्ष पुरानो नेपाल-चीन सम्बन्धलाई अझै सुदृढ बनाउनेबारे छलफल भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ। 'राष्ट्रिय स्वाधिनता, सार्वभौमिकता तथा अखण्डताको रक्षाका लागि नेपालको प्रयासलाई चीन समर्थन गर्दछ र नेपालले छनोट गर्ने विकासको मोडलको पनि सम्मान गर्दछ", वरिष्ठ चिनियाँ नेता योङकाङको भनाई उद्धृत गर्दै सिन्ह्वाले लेखेको छ।
कम्युनिष्ट नेता योङकाङले नेपालसँग भ्रमण आदान-प्रदान र सहयोग बढाउने बताउँदै १४ सय किलोमिटर लामो नेपाल-तिब्बत सिमा क्षेत्रको सुरक्षाका लागि सहकार्यमा जोड दिएका छन्। उनले तिब्बत विरोधी गतिविधि नियन्त्रण गरेकोमा नेपालको प्रशंशा पनि गरे।
भेटमा मन्त्री भण्डारीले निस्वार्थ सहयोग गर्ने चीनको तरिकालाई नेपाली जनताले सम्मान गरेको बताइन। चीन भ्रमणमा रहेकी रक्षामन्त्री भण्डारीले बिहिबार चिनियाँ रक्षामन्त्री जनरल लियाङ ग्वाङलिएसँग भेट गरेकी थिइन।

No comments:

Post a Comment