Saturday, March 27, 2010

हराएका मूर्ति भारतमा भेटिए

शेरबहादुर केसी, बुटवल, चैत १४-  कपिलवस्तुको बहादुरगन्जस्थित रामजानकी मन्दिरबाट हराएका पुरातात्त्विक महत्त्वका मूर्ति भारतमा फेला परेका छन्। उत्तर प्रदेशको सिद्धार्थनगर जिल्लास्थित डुमरियागन्जमा भारतीय प्रहरीले नेपालबाट हराएका पाँच वटा अष्ठधातुको मूर्तिसहित एक जनालाई पक्राउ गरेको छ। फेला परेका मूर्तिमा राम, जानकी, लक्ष्मणका ठूला मूर्तिसहित पाँच वटा छन्।
भारतीय प्रहरीले मूर्ति डुमरियागन्ज थानामा राखेको छ भने पक्राउ परेका भारतीय नागरिक लालु राजभरलाई मूर्ति चोरेको अभियोगमा अदालतमा मुद्दा चलाएको छ। डुमरियागन्जस्थित शिवम् गेष्ट हाउसनजिकैबाट युपी ४२ पी ००९६ नम्बरको मोटरसाइकलमा राखेका दुई वटा झोलामा मूर्ति फेला पारेको प्रहरीले जनाएको छ।  मूर्ति चोरीमा संलग्न अर्का अभियुक्त महेन्द्र केवट फरार रहेको भारतीय प्रहरीको भनाई छ।
भारतीय प्रशासनले बरामद मूर्तिहरु भारतकै भएको दाबी गरेको छ। उनीहरुले उक्त मूर्ति भारतको डुमरियागंन्जकै एक राम जानकी मन्दिरको भएको बताएका छन्। तर पक्राउ परेका राजभरले भने मूर्ति नेपालबाटै चोरी गरेर ल्याएको भारतीय प्रहरी तथा अदालतसमक्ष बयान दिएका स्रोतले जनाएको छ।
भारतीय प्रहरीले ती मूर्ति मुद्दाको छिनोफानो नभएसम्म भारतमै रहने बताएका छन्। उक्त मूर्ति नेपालको भए/नभएबारे केही तथ्य फेला नपरेको हुँदा भारतकै मन्दिरको हुन सक्ने भारतीय प्रहरीको दाबी छ। तर नेपालको कृष्णनगर सिमानाका प्रहरी निरीक्षक कृष्ण केसीले भने उक्त ५ वटै मूर्ति नेपालको रहेको बताएका छन्। उनले चैत २ गते बहादुरगन्जस्थित रामजानकी मन्दिरबाट मूर्ति हराएको बताएका छन्। उनले भेटिएका मूर्ति भारतबाट ल्याउन आन्तरिक पहल भइरहेको पनि नागरिकलाई बताए।
भारतको सिद्धार्थनगरस्थित जिल्ला अदालतले सप्रमाण ल्याएमात्र मूर्ति नेपाललाई सुम्पने बताएको छ।  भारतीय सहारा राष्ट्रिय दैनिकले चैत ५ गतेको अङ्कमा बरामद मूर्तिको अन्तर्राष्ट्रिय मूल्य १० करोड रुपैयाँ पर्ने जनाएको छ।

No comments:

Post a Comment