Saturday, March 20, 2010

'इतिहास पुरुष' गिरिजाप्रसाद कोइरालाको निधन/ आइतवार अन्त्यष्टि गरिने


काठमाडौ, चैत्र - नेपाली राजनीतिका शिखर पुरुष गिरिजाप्रसाद कोइरालाको शनिबार निधन भएको छ । काँग्रेस नेता शेरबहादुर देउवाका अनुसार उनको निधन १२ बजेर १० मिनेट जाँदा भएको हो ।
'केन्दि्रय समितिको आकस्मिक बैठक बस्यो र डाक्टरहरुको सिफारिस र निर्णय अनुसार उहाँको निधन १२ बजेर १० मिनेटमा भएको निर्णय भयो' देउवाले भने । 
आइतवार बिहान ८ बजेदेखि दशरथ रंगशालामा श्रद्धाञ्जलीका लागि पार्थिक शरिरलाई राखिने छ । त्यसपछि शव यात्रा गरिने छ ।
कोइरालाको निधनको खवर सुनेपछि मण्डिखाटनरस्थित छोरी सुजाताको निवासमा भीड बढ्न थालेको छ । काँग्रेस नेताहरु आइपुगीसकेका छन् ।
सञ्चारकर्मीहरुको पनि उल्लेख्य भीड छ । मन्त्रीहरु आकस्मिक मन्त्रिपरिषद्को बैठकका लागि प्रधानमन्त्री कार्यालयतर्फ लागेका छन् । मन्त्रिपरिषद्ल् कही छिनमा कोइरालालाई दिइने सम्मानका सम्बन्धमा निर्णय गर्ने छ ।
उपस्थित भीडको अनुहार मलिन देखिन्छ । सबै जनाको मुखमा अव मुलुकको राजनीतिक कसरी अघि बढ्छ भन्ने प्रश्न छाएको देखिन्छ । संविधान जारी गर्ने मिति नजिकिंदै गर्दा र शान्ति प्रकृयामा अवरोध भइरहेको बेलामा यसका प्रमुख अभियन्त कोइरालाको निधनमा यो प्रश्न आउनु स्वभाविकै हो । 
यसअघि बिहान माओवादी अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष बाबुराम भट्टराई स्वास्थस्थिति बुझेर फर्केका थिए । राष्ट्रपति र  प्रधानमन्त्री कोइरालाको अन्तिम् दर्शनका लागि आउने कार्यक्रम छ । उपराष्ट्रपति परमानन्द झा कोइराला निवास आइपुगेका छन् ।
यस्तो थियो कोइरालाको स्वास्थ्य:
'मैले कहिल्यै उहाँलाई यस्तो गलेको देखेको थिइनँ,' कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको स्वास्थ्यमा समस्या आएपछि शुक्रबार साँझ मन्डिखाटार भेट्न पुगेका प्रधानमन्त्री माधवकुमार नेपालले प्रतिक्रिया दिँदै भने, 'पहिलोपटक मैले उहाँ (कोइराला) थकित र गलेको देखें । नत्र बिरामी अवस्थामा पनि उहाँको अनुहारमा चमक पाउँथें ।'
बिहीबार राति एकाएक पखाला चलेपछि कोइरालाको स्वास्थ्यमा समस्या बढेको छ । अस्पताल नलगी चिकित्सकहरूले मन्डिखाटारस्थित निवासमै विशेष सुविधासहित उपचार गरेका छन् । प्रधानमन्त्री नेपाल मन्त्रिपरिषदका २३  सदस्यहरूसहित साँझ साढे ५ बजे कोइरालालाई भेट्न पुगेका थिए । प्रधानमन्त्रीले छोटो कुराकानी गरे पनि अन्य मन्त्रीहरू कोइरालालाई हेरेर मात्रै फर्किए ।
'प्रधानमन्त्री जाँदा गिरिजाबाबु सुतिरहनुभएको थियो । स्वास्थ्य अवस्थाबारे चिकित्सक अर्जुन कार्कीले 'बि्रफिङ' गर्नुभयो,' प्रधानमन्त्रीका प्रेस सल्लाहार विष्णु रिजालले भने, 'करिब पन्ध्र मिनेट बसाइमा गिरिजाबाबुले धेरै बोल्ने प्रयत्न गर्नुभयो तर सक्नु भएन । र्फकने बेलामा दुई वाक्य मात्रै बोल्नु भयो । उनका अनुसार गिरिजाबाबुले प्रधानमन्त्रीलाई 'राष्ट्र हितमा काम गर्नुहोस्, राष्ट्रको समस्या सहमतिका साथ अघि बढाउनुहोस्' भन्ने सुझाव दिएका थिए । दुई दिनअघि माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई
पनि कोइरालाले 'तपाईं जिम्मेवार भएर स्थितिलाई सम्हालेर लैजानु होस् । तपाईंमा जिम्मेवारी छ' भनेका थिए ।८७ वर्षीय कोइरालाले बुधबार सहिद गंगालाल हृदय केन्द्रको शय्याबाट समेत शान्ति प्रक्रिया र संविधान निर्माण कार्य अघि नबढेकोप्रति चिन्ता व्यक्त गरेका थिए । 'मुखले मात्रै होइन, उहाँको आँखा र अनुहारले समेत शान्ति प्रक्रिया निष्कर्षमा पुग्ने हो कि होइन, संविधान बन्ने हो कि होइन भन्ने चिन्ता व्यक्त गरेको म अनुभव गर्छु,' कांग्रेस केन्द्रीय सदस्य कृष्ण सिटौलाले भने । बिहीबार राति १२ बजे कोइरालालाई अचानक पखाला चल्न थालेको थियो । पखालाले च्यापेपछि शिथिल कोइरालालाई १ बजे श्वासप्रश्वासको समस्या पनि थपियो । चिकित्सकले त्यतिबेला उनको स्वास्थ्य जोखिममा रहेको बताएका थिए । पखालाले शुक्रबार दिउँसोसम्म सताएको थियो । अस्पताल लाने छलफल भए पनि कोइरालाकै इच्छामा निवासमै विशेष सुविधासहित उपचार थालिएको छ । स्लाइनबाट एन्टिबायोटिक दिइएको छ भने अक्सिजने मात्रा बढाइएको छ । प्रतिमिनेट दुई लिटर अक्सिजन दिइँदै आएकामा शुक्रबार चार लिटर पुर्‍याइएको छ । कोइरालाको स्वास्थ्यमा निरन्तर उतारचढाब आउन थालेपछि चिकित्सकले 'पूर्ण जोखिमको अवस्थामा पनि नरहेको र बुढौली उमेरका कारण जोखिममुक्त पनि नरहेको' बताएका छन् ।
उपचारमा चिकित्सकहरु जगदीश अग्रवाल, मनबहादुर केसी, अर्जुन कार्की,  आनन्द शर्मा र जेजुनाथको टोली संलग्न छ । चिकित्सकले छाती, आँखा, मस्तिष्क र होमोग्लोबिन परीक्षण गरेका थिए । अग्रवालका अनुसार कोइरालामा रक्तअल्पता देखिएको छैन र रगतमा पनि कुनै खराबी छैन । उनको स्वास्थ्य अवस्था बुझ्न दिउँसैदेखि बाहिर प्रतीक्षारत सञ्चारकर्मीलाई साँझ मात्रै अग्रवालले जानकारी गराएका थिए । 'पखाला नियन्त्रणमा आएको छ, स्वास्थ्य स्थिर छ,' उनले भने, 'रक्तअल्पताको समस्या भने देखिएकोछैन ।' कोइरालालाई गत आइतबार रक्तअल्पता (होमोग्लोबिन) देखिएका कारण सहिद गंगालाल हृदय केन्द्रमा चार दिन भर्ना गरिएको थियो । चिकित्सकहरूले बुढौली उमेरमा रगत दिएका कारण पनि शिथिलता बढेको हुन सक्ने बताएका छन् । 'बुढौली उमेरका कारण जोखिममुक्त भनेर भन्न सकिँदैन तर उच्च जोखिममा पनि छैन,' अग्रवालले भने ।
जुनसुकै बेला पनि उच्च जोखिम आउन सक्ने भन्दै कोइरालालाई कडा निगरानीमा राखिएको छ । सहयोगीका अनुसार दुई/तीन जनाको टोली चौबीसै घन्टा निगरानीमा बस्न थालेको छ । पछिल्लो समय छोरी सुजाताको मन्डिखाटारस्थित निवासमा बस्दै आएका कोइरालाको स्वास्थ्य बुझ्न कार्यकर्ता र सञ्चारकर्मीको भीड छ । संविधानसभा निर्वाचन र शान्ति प्रक्रियाको नेतृत्व लिएका कोइराला पछिल्लोपटक राजनीतिक अभिभावकको भूमिकामा छन् । उनले सबै दलका नेताहरूलाई सहमति, सहकार्य र एकताको बाटोबाट अघि बढ्न आग्रह गर्दै आएका छन् ।
कोइरालाको उपचारमा संलग्न डा. अर्जुनबहादुर कार्कीका अनुसार कोइराला बिहान पाँच बजेदेखि अचेत अबस्थामा पुगेका हुन् । त्यसपछि उनको प्रत्रिक्रिया छैन । अचेतअबस्थाबकाट फर्काउनका लागि डाक्टरहरुले प्रयास जारी राखेको उनले बताए । तर, परिवार र कोइरालाकै आग्रह अनुसार अस्पताल नलगिएको पनि उनले बताए ।

No comments:

Post a Comment