Friday, March 26, 2010

पूर्वराजालाई राष्ट्राध्यक्षको सम्मान



काठमाडौ, चैत्र १३ - जानकी मन्दिर गुठी र त्यसका महन्थले नागरिक भइसकेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई संविधानविपरीत राष्ट्राध्यक्षको सम्मान दिएका छन् । गुठी र महन्थले रामनवमीको उपलक्ष्यमा जानकी मन्दिर दर्शन गर्न आएका शाहलाई त्यस्तो सम्मान दिए पनि धनुषा प्रशासन मौन रह्यो । गुठी र महन्थले बुधबार मन्दिरमा पूजाअर्चना गर्न आउँदा र जाँदा पूर्वराजालाई राष्ट्रपति रामवरण यादवलाई सरह राष्ट्राध्यक्षको सम्मान दिएका थिए ।
राज्यको ऐतिहासिक निधि सम्पत्ति र नीति नियमभित्र रहेको जानकी मन्दिरका महन्थ र गुठीले पूर्वराजालाई राष्ट्राध्यक्षको सम्मान दिएर संविधानको मात्र होइन राष्ट्रपतिको समेत अपमान तथा राष्ट्रिय मर्यादाको गम्भीर उल्लंघन गरेको संस्कृति मन्त्रालयका एक अधिकारीले बताए । 'राष्ट्राध्यक्षलाई दिइने सम्मान अरू कसैलाई दिन मिल्दैन । जानकी मन्दिर र त्यसका महन्थसमेत संविधानबमोजिम राष्ट्रिय मर्यादाभित्र रहनुपर्छ, मर्यादाबाहिर जान पाइँदैन,' संस्कृति मन्त्रालयका सचिव मोदराज डोटेलले भने ।
पूर्वराजालाई मन्दिरमा आउँदा र जाँदा राष्ट्राध्यक्षलाई मात्र ओढाइने विशेष प्रकारको छाता ओढाएर स्वागत र बिदाइ गरिएको थियो । मन्दिर र गुठीका तर्फबाट निमित्त महन्थ रामरोशन दासले पूर्वराजाको बिदाइ र स्वागत गरेका थिए । महन्थको आदेशमा मन्दिरकै कर्मचारीले शाह आउँदा र जाँदा विशेष प्रकारको छाता ओढाएर र चँवर हल्लाएर सम्मान दिएका थिए ।
'राष्ट्रपति रामवरण यादव मन्दिरमा पूजाअर्चना गर्न आउँदा र जाँदा जुन छाता ओढाइयो र चँवर हल्लाइएको थियो । निमित्त महन्थले जसरी स्वागत र बिदाइ गरेका थिए, पूर्वराजा आउँदा र जाँदा पनि त्यही छाता ओढाइयो, चँवर पनि त्यही हल्लाइयो,' प्रत्यक्षदर्शीले कान्तिपुरसित भने ।
निमित्त महन्थले राष्ट्रपतिको जसरी स्वागत र बिदाइ गरेका थिए, पूर्वराजालाई पनि त्यसरी नै स्वागत र बिदाइ गरे ।' महन्थ रामतपेश्वर हरिद्वारमा गएकाले निमित्त महन्थ दासले राष्ट्रपति र पूर्वराजाको स्वागत र बिदाइ गरेका थिए । निमित्त महन्थ दासले स्वदेशी र विदेशी राष्ट्राध्यक्षलाई ओढाउने गरिएको छाता पूर्वराजालाई समेत ओढाइएको स्वीकार गरे । उनले पूर्वराजा ज्ञानेन्द्रलाई पूर्वराष्ट्राध्यक्ष भएकाले राष्ट्राध्यक्षकै हैसियतमा छाता ओढाइएको र चँवर हल्लाइएको दाबी गरे ।
'स्वदेशी तथा विदेशी राष्ट्राध्यक्ष मन्दिरमा आउँदा र जाँदा स्वागत र बिदाइका क्रममा यो छाता ओढाइन्छ । पूर्वराजा ज्ञानेन्द्र पनि निवर्तमान राष्ट्राध्यक्ष भएकाले स्वदेशी तथा विदेशी राष्ट्राध्यक्षलाई ओढाउने छाता ओढाएका हौं,' निमित्त महन्थले भने । बुधबार एकै दिन तीन घन्टाको अन्तरालमा राष्ट्रपति यादव र पूर्वराजालाई त्यही छाता ओढाएर स्वागत र बिदाइ गरिएको थियो । राष्ट्रपतिले बिहान ८ बजे र पूर्वराजा ज्ञानेन्द्रले बिहान ११ बजे जानकी मन्दिरमा पूजाअर्चना गरेका थिए ।
'अति विशिष्ट अतिथिको सेवामा प्रयोग हुने छाता एउटामात्र भएकाले राष्ट्रपति र पूर्वराजालाई एउटै छाता प्रयोग गरिएको दाबी निमित्त महन्थको छ ।
उनका अनुसार त्यसबाहेक यो छाता विश्वविख्यात सन्त, महन्थको स्वागत र बिदाइ तथा हरेक वर्ष विवाह पञ्चमीमा राम-जानकीको डोली र सीताको जन्म भएको दिन जानकी नवमीको उपलक्ष्यमा जानकीको डोली निकाल्दामात्र ओढाउने गरिन्छ ।
गुठी संस्थानका प्रशासक वीरेन्द्र थपलियाले जानकी मन्दिर गुठी र महन्थबाट पूर्वराजालाई राष्ट्राध्यक्षको सम्मान दिएको घटनाबारे गुठीले भन्दा पनि प्रहरी प्रशासनले हेर्नुपर्ने विषय भएको बताए । 'सम्मान कसलाई दिने या नदिने कुरा प्रहरी प्रशासनको हो ।
जनकपुर मन्दिर गुठी र महन्थबाट कसरी गल्ती हुन गएको हो म पनि बुझ्छु,' उनले भने । त्यसबारेमा धनुषाका प्रमुख जिल्ला अधिकारी हरिराज पन्त र प्रहरी प्रमुख सर्वेन्द्र खनालसित बुझ्न खोज्दा सम्पर्क हुन सकेन ।

No comments:

Post a Comment