Friday, March 26, 2010

'गल्ती गरेको भए सजाय भोग्न तयार’

काठमाडौं/ दक्षिण एसियाली खेलकुदका कीर्तिमानी खेलाडी दीपक विष्टले आफूले गल्ती गरेको भए जस्तोसुकै सजाय भोग्न पनि तयारी भएको बताएका छन् । बिहीबार सिंगापुरमा युथ ओलम्पिक खेलकुद प्रतियोगिताको बैठकमा भाग लिएर फर्केपछि उनले सो कुरा बताएका हुन् । उनी चार दिनअघि नेपालको प्रतिनिधित्व गर्दै सेभ द मिसनका रूपमा सिंगापुर गएका थिए 
नेपाल तेक्वान्दो संघ तथा राष्ट्रिय खेलकुद परिषद्लाई कुनै जानकारी नदिई त्यसतर्फ गएका कारण उनलाई कारबाही गरिएको थियो। संघले दीपकलाई केन्द्रीय सदस्य र खेलाडी संरक्षण समितिको सचिवबाट निलम्बन गरेको छ । संघकै बाटो पछ्याउँदै परिषद्ले उनलाई एक वर्ष प्रतिबन्ध लगायो । संघ तथा परिषद्ले स्टार खेलाडीमाथि कारबाही गर्दा यतिखेर खेलकुद क्षेत्रमा ठूलै भूकम्प चलेको छ सिंगापुर पुग्दा आफूलाई कारबाही गरेको सुन्दा निकै दुःखी भएको उनले बताए । 'मुलुकका लागि जीवन अर्पण गरेको खेलाडीमाथि नै कारबाही गरेको सुन्दा निकै दुःखी भएँ,' उनले भनेनेपाल ओलम्पिक कमिटी (एनओसी) को लहलहैमा लागेर सिंगापुर गएर दीपकले ठूलो गल्ती गरेको जनाउँदै संघ र परिषद् थप कारबाही गर्ने प्रक्रियामा छन्। तर, दीपक भने आफूले जानाजान गल्ती नगरेको दाबी गर्छन् । 'जानाजान मैले केही पनि गल्ती गरेको छुइनँ, त्यो अन्जानमा भयो,' दीपकले नयाँ पत्रिकासित भने, 'त्यहाँ राष्ट्रको प्रतिनिधित्व गरी गएको थिएँ, मैले कुनै अपराध गरेको छैन राष्ट्रको प्रतिनिधि भएर जानु गल्ती मानिन्छ र ?'सागमा कीर्तिमान राखेका कारण एनओसीले खेलाडीको सम्मानकै रूपमा आफूलाई त्यहाँ पठाएको उनको दाबी छ । एनओसीले एथलेटिक्स कमिटीका अध्यक्षको हैसियतबाट आफूलाई छनोट गरेको स्पष्ट पारे । 'न त्यहाँ म खेलाडी भएरै गएको थिएँ, न परिषद्कै पदाधिकारीका रूपमै गएँ, केवल एक अध्यक्षको हैसियतले गएको हुँ,' जानुको कारण देखाउँदै उनले भने, 'जुन कोहीसँग पनि सम्बन्धित छैन ।' उनका अनुसार एनओसीले जानकारीस्वरूप परिषद्लाई बोधार्थका रूपमा पत्र पठाएको थियो राखेपका उपाध्यक्ष पीताम्बर तिमिल्सिना र संघका पदाधिकारीले नजानू भने पनि त्यसवेला हवाईजहाजभित्र भएका कारण नफर्केको उनले जानकारी दिए । 'त्यसवेला म केही पनि गर्नसक्ने अवस्थामा थिइनँ र त्यही वेलादेखि मन खल्लो भइसकेको थियो,' विमानभित्रको क्षणलाई सम्झँम्दै उनले भने।एक तेक्वान्दो खेलाडी भएको नाताले तेक्वान्दो संघप्रति कुनै प्रतिशोध नभएको उनले बताए। आफूलाई हुर्काएको संघप्रति सदैव माया तथा सम्मान रहने उनको भनाइ छ एक इमानदार र राष्ट्रप्रति माया गर्ने खेलाडीका कारण कुनै पनि विवादास्पद काम आफूले नगरेको उनको थप दाबी छ। 'मैले १५-२० वर्ष राष्ट्रका लागि नै खेलेँ, खेलाडीकै हितका लागि सिंगापुर गएको थिएँ,' दीपकले भने, 'त्यहाँ मैले हाम्रै खेलाडीको समस्या पनि राखेँ।''आइओसीका अध्यक्ष ज्याकसमक्ष नेपालका चार खेलाडी भिसाका कारण युथ ओलम्पिक खेलमा सहभागी हुन नसक्ने जानकारी दिएँ,' उनले भने, 'अध्यक्ष ज्याकले वाइल्ड कार्डका रूपमा ती खेलाडीलाई सहभागी गराउन सकिने बताए ।'यसैबीच, राष्टिय खेलकुद परिषद् (राखेप) ले बिहीबारै सबै संघका पदाधिकारीसँग दीपकको घटनाप्रति सुझाव तथा सल्लाह लिएको छ । बैठकमा सहभागी पदाधिकारीले यससम्बन्धमा छलफल गरेको तथा उनीहरू दीपकबारे सकारात्मक भएको बैठकमा सहभागी एक सदस्यले जानकारी दिए । यता परिषद्का सदस्य-सचिव हरिबाबु चौधरीले छानबिन समितिको प्रतिवेदनपछि दीपकको बारेमा थप निर्णय हुने बताए । 'अब दीपकले छानबिन समितिलाई दिएको सफाइको आधारमा थप कारबाही हुनेछ,' सदस्य-सचिव चौधरीले बताए । परिषद् स्रोतका अनुसार दीपकमाथि थप कुनै पनि कदम नचाल्न परिषद्लाई दबाब आइरहेको छ यता एनओसीका महासचिव जीवनराम श्रेष्ठले परिषद्को कार्य निरंकुश शासकीय प्रणालीअनुरूप भएको बताए। 'खेलाडीलाई सम्मान गर्नुका सट्टा उल्टै कारबाही गर्छ, यो शैली त निरंकुश र निकम्मा व्यक्तिले मात्र गर्न सक्छ,' श्रेष्ठले भने, 'खेलाडीको सम्मान गर्न सक्दैन भने के कामका लागि परिषद्चाहियो ?' ओलम्पिक कमिटीले खेलाडीको सम्मानका लागि नयाँ अभियान थालेको दाबी गर्दै श्रेष्ठले भने, 'दीपक राष्ट्रका महान् खेलाडी हुन्, उनले राष्ट्रलाई अन्तर्राष्ट्रिय जगतमा चिनाएका छन्, उनकै सम्मानका लागि सिंगापुरमा सेभ द मिसनका रूपमा पठाएका हौँ ।' कारबाही स-सम्मान फिर्ता नलिए आफू त्यसविरुद्ध सडकमा उत्रनेसमेत उनले बताए । 'दीपकमाथिको कारबाही फिर्ता नभए सबै पक्ष मिलेर आन्दोलन गर्नेछौँ,' उनले भने, 'खेलाडी हकहितका लागि हामी जे गर्न पनि तयार छौँ ।'

No comments:

Post a Comment