Friday, March 26, 2010

पुलिसलाई पछ्याउँदै एनआरटी


काठमाडौ, चैत्र १३ -  जावलाखेलमाथि ४-३ को जित दर्ता गर्दै एनआरटी बिहीबार सहिद स्मारक सानमिगेल 'ए' डिभिजन लिगको दोस्रो स्थानमा उक्लिएको छ । सयन मोसाभीको ह्याटि्रक सहयोगमा एनआरटीले नवौं चरणको समाप्तिमा २० अंक जोडेर शीर्षस्थानमा रहेको पुलिससँगको दूरी एक अंकमा छोट्याएको छ । थ्री-स्टारलाई पछि पार्दै उसले एक स्थान फडको मारेको हो ।
अर्को खेलमा संकटालाई १-० ले हराएर आरसीटीले जितको लय पक्रेको संकेत गरेको छ । तैपनि उसको खेल भने स्तरीय रहेन । 'खेल एकदमै स्लो रह्यो,' आरसीटी प्रशिक्षक मधु कार्कीले भने, 'लोड बढी भएकाले खेलाडी थकित देखिए ।' चार महिनायता निरन्तर खेल्नुपरेकाले थाकेका धेरै खेलाडी घाइते रहेको उनले प्रस्ट्याए, 'कमजोरी फिटनेसको हो ।'
पन्ध्र वर्षपछि लिग च्याम्पियन बन्ने धुनमा रहेको एनआरटीले सुरुआती १३ मिनेटमै तीन गोल गरेको थियो । उसले ३८ मिनेटभित्र ४-१ को अग्रता लिएर पनि जावलाखेललाई दुई गोलको मौका दियो । एकै खेलमा कीर्तिमान सात गोल सुरुको एक घन्टामा सम्भव भएका थिए ।
पहिलो मिनेटमै गोलको खाता खोलेका डेनिस स्ट्राइकर मोसाभीले १३ औं मिनेटमा दोस्रो गोल गरे । पहिलो गोल डिफेन्डर र दोस्रो गोलकिपरको गल्तीको फाइदा उनले उठाए ।
मोसाभीले ३८ औं मिनेटमा ह्याटि्रक पूरा गरे । लिगमा यो तेस्रो ह्याटि्रक हो । यसअघि जावलाखेलका योगेश श्रेष्ठ र थ्री-स्टारका सन्तोष साहुखलले यो उपलब्धि आत्मसात् गरेका थिए ।
यसअघि तीन गोल गरेका मोसाभीको लिगमा गोल संख्या ६ पुगेको छ । सर्वाधिक गोलको सूचीमा उनी आठ गोल गरेका साहुखलपछि दोस्रोमा छन् । दसौं मिनेटमा रञ्जित श्रेष्ठले पेनाल्टी बक्स बाहिरबाटै सशक्त रूपमा प्रहार गरेको बल एनआरटीको दोस्रो गोलमा परिणत भएको थियो ।
पहिलो हाफमा प्रभावशाली प्रदर्शन गरेको एनआरटीविरुद्ध जावलाखेलले ३४ औं मिनेटमा पहिलो गोल गरेको थियो । मैदान छिरेको दोस्रो मिनेटमै गोलको खाता खोलेका सब्स्िटच्युट राज पौडेलले पहिलो हाफको इन्ज्युरी टाइममा दोस्रो गोल थपेर जावलाखेललाई २-४ को स्थितिमा पुर्‍याएका थिए ।
विक्रम लामाले ६० औं मिनेटमा गोल गर्दै ललितपुरको क्लबलाई ३-४ मा पुर्‍याएर खेलमा फर्काउने प्रयास गरेका थिए । पाएका अवसर सदुपयोग गर्न नसकेपछि जावलाखेल अंक खोस्न असफल रह्यो ।
'तीन अंक चाहिएको थियो, त्यो पूरा भयो,' एनआरटी प्रशिक्षक डिकेन सुवालले भने, 'व्यावसायिक स्तरको फुटबल भने खेल्न सकेनन् । बल होल्ड गरेर खेल्न
नसकेपछि दोस्रो हाफमा दबाब झेल्नुपर्‍यो ।' जावलाखेलका सुनिल रावत ८३ औं मिनेटमा दोस्रो पहेंलो कार्ड पाएपछि मैदान छोड्न बाध्य भए ।
तेस्रो जितपछि आरसीटीको खातामा ११ अंक पुग्यो ।
शीर्ष सातमा रहेका मच्छिन्द्र र आर्मीभन्दा यो एक अंक कम हो । कीर्तिमान ६ पल्टको लिग विजेताका लागि बुद्ध लामाले ४९ औं मिनेटमा निणर्ायक गोल गरे ।
दीपक राईको क्रसमा गोलकिपर सुमन लिगल चुकेपछि बुद्धले हेडद्वारा पहिलो बारमै बललाई जाली चुमाएका थिए ।
संकटाले पनि राम्रो खेल्न सकेन । पूरा खेलमा उसले जम्मा एकमात्र पोस्ट आक्रमण गर्‍यो । सुजल लिम्बूले २५ यार्ड दूरीबाट प्रहार गरेको बल २६ औं मिनेटमा आरसीटी गोलकिपर दिलीप क्षेत्रीले उत्कृष्ट रूपमा पञ्च गर्दै बचाए ।
आरसीटीका तीन आक्रमणले पहिलो हाफमा गोलपोस्टको दिशा लिन सकेनन् । दुई जित दर्ता गरेको संकटा सातौं हारपछि रेलिगेसन क्षेत्रमा कायमै रह्यो ।
एनआरटी ४-३ जावलाखेल
आरसीटी १-० संकटा
आजका खेल
पुलिसविरुद्ध थ्री-स्टार
आर्मीविरुद्ध मनाङ-मस्र्याङदी
अंक तालिका
टिम    खेल    जित    बराबर    हार    गोल    अंक
    पुलिस    ९    ६    ३    -    १४-३    २१
    एनआरटी    ९    ६    २    १    १४-८    २०
    थ्री-स्टार    ९    ५    २    २    १३-६    १७
    मनाङ-मस्र्याङदी    ९    ५    २    २    ९-५    १७
    पे|mन्ड्स    ९    ५    -    ४    ५-१४    १५
    आर्मी    ९    ३    ३    ३    १३-१०    १२
    मच्छिन्द्र    ९    २    ६    १    ८६    १२
    आरसीटी    ९    ३    २    ४    १०-१०    ११
    जावलाखेल    ९    २    १    ६    १३-१८    ७
    एपीएफ    ९    २    १    ७    ६-१६    ७
    संकटा    ९    २    -    ७    ७-१३    ६
    ब्वाइज युनियन    ९    १    २    ६    ९-१७    ५

No comments:

Post a Comment