Wednesday, March 17, 2010

चेपाङको जीवनस्तर परिवर्तन


हेटौंडा, चैत्र २ - जिल्लाका चेपाङ समुदायले मौरी पालन गरेर वाषिर्क ७ टनभन्दा बढी मह बजारमा पुर्‍याउने गरेका

छन् । महको उत्पादनले उनीहरूको जीवनस्तरमा परिवर्तनका संकेत देखा परेका छन् ।

विगतमा चेपाङहरूले मह उत्पादन गरे पनि बजारको व्यवस्था थिएन । अहिले बजारको समेत व्यवस्था भएकाले मौरीपालन व्यवसायतर्फ चेपाङहरू आकषिर्त भएका छन् । मकवानपुर र चितवनको सीमामा पर्ने लोथरबजारमा चेपाङद्वारा उत्पादित सामानहरूको प्रवर्द्धन गर्न स्थापित जनचेतना कृषि सहकारी संस्थाले गत आर्थिक वर्ष ०६५/०६६ मा ७ टनभन्दा बढी मह काठमाडौं पठाएको जनाएको छ ।

राजधानीको जावलाखेलस्थित हिमालय हनी उद्योगलाई सहकारीले ५ वर्षदेखि मह उपलब्ध गराउँदै आएको छ । सहकारीले लोथरमा स्थापना गरेको मह संकलन केन्द्रमा मकवानपुरको काँकडा र राक्सिराङ तथा चितवनको कोराक गाविसका चेपाङले उत्पादन गरेको मह संकलन हुने गरेको छ । सहकारीले यस क्षेत्रका २ सय ४ जना चेपाङ मौरीपालक कृषकसँग मह खरिद गर्ने गरेको सहकारीका व्यवस्थापक दिनेश चेपाङले बताए । 'अन्य व्यापारीसँगको प्रतिस्पर्धामा सहकारीले १ सय ६० देखि १ सय ८० रुपैयाँ प्रतिकेजीमा मह खरिद गर्ने गरेको छ,' उनले भने । हिमालय हनी उद्योगलाई सहकारीले प्रतिकेजी २ सय रुपैयाँका दरले बिक्री गर्ने गरेको छ ।

मकवानपुरको काँकडा र राक्सिराङ तथा चितवनको कोराक गाविसमा चिउरीको जंगल भएकाले गुणस्तरयुक्त मह उत्पादन हुने गरेको छ । चिउरीको मह स्व्ाास्थ्यवर्द्धक र गुणस्तरयुक्त हुने उत्पादकको दाबी

छ । यस क्षेत्रका कृषकले घरपिच्छे १० वटासम्म मौरीको घार राखेका छन् । केही मौरीपालक कृषकले वाषिर्क ५० हजार रुपैयाँसम्म महबाट आम्दानी गर्ने गरेका छन् । चेपाङ जातिको बसोवास रहेको यो क्षेत्रलाई जिल्ला कृषि विकास कार्यालयले सेरेना जातको मौरीका लागि पकेट क्षेत्र तोकेको छ । यो जातको मौरीबाट उत्पादित महको बजार व्यवस्थ्ाापन सिसिडिएन नामक संस्थाले गरेको हो ।

काँकडालगायत यस क्षेत्रका कृषकले मौरी पालन व्यवसायबाट गरेको आम्दानी देखेर छिमेकी गाविसका कृषकसमेत यो व्यवसायप्रति आकषिर्त भएका छन् । मकवानपुरका चेपाङ जातिले उत्पादन गरेको चिउरीको महको माग बजारमा बढ्दो छ । चेपाङ जातिले उत्पादन गरेको चिउरीको मह खरिद गर्न उपभोक्ता एवं व्यापारीले पहिल्यै अर्डर गर्नुपर्छ । चिउरीको महको बजार व्यवस्थापनको जिम्मेवारी लिएको लोथरस्थित जनचेतना कृषि सहकारी संस्थामा मह खरिद गर्न उपभोक्ता तथा व्यापारीहरूले कम्तीमा एक साता कुर्नुपर्ने अवस्था छ । 'विगतमा महको माग यस्तो थिएन, अहिले निकै बढेको छ,' बजार व्यवस्थापक चेपाङले भने, 'चिउरीको मह लिन आउनेहरूलाई दिन सकिएको छैन ।' विगतमा महले बजार नपाएपछि एमडिआई नामक संस्थाको सहयोगमा यो सहकारी संस्था स्थापना गरिएको हो ।

'मागअनुसार मह उपलब्ध गराउनै सकिएको छैन,' सहकारीका सल्ल्ााहकार तथा सभासद् गोविन्द चेपाङले भने । चार वर्षअघि स्थापना भएको सहकारीले पहिलो वर्ष ३० हजार रुपैयाँको मह बेचेको थियो । अहिले साढे ३ लाख रुपैयाँको बेचेको

छ । चिउरीको महको गुणस्तर राम्रो भएकाले बजारमा यसको माग बढेको हो । चिउरीको मह मंसिरदेखि जेठसम्म उत्पादन हुने गर्छ ।

चिउरी फुल्ने सिजनमा चितवन, हेटौंडा र बाराका मौरी पालक कृषकले मौरी चराउन काँकडा, राक्सिराङ र कोराक गाविसका लैजाने गरेका छन् । अन्यत्रबाट गएका मौरी पालक कृषकहरूले एक सिजनमा १ लाख रुपैयाँभन्दा बढीको चिउरीको मह बिक्री गर्ने गरेका छन् । विगतमा चेपाङ जातिले परम्परागत ढंगले मौरी पालन गरेकाले मह उत्पादन कम हुने गरेकेा थियो । उनीहरूले खोपे घारमा सेरेना जातको मौरीबाट मह उत्पादन गर्दै आएका थिए ।

No comments:

Post a Comment