Friday, March 19, 2010

क्रान्ती साँच्चैको उत्सव



माओवादी उर्लेर आयो

आउने थिएन, माकुने बौलायो

यो गीत हो । दोहोरी गीतको भाका । यो भाका तपाईंको गाउँघरमा गुञ्जिदैन होला । अनि शहरका गल्ली र महलमा पनि गुञ्जिदैन । 

यो भाका सुन्न मन लाग्यो ? सम्भव भए, तपाईं सिधै देशको प्रमुख प्रशासनीक केन्द्र सिंहदरबार वरिपरि पुग्नुहोस् । बुधबार दिनभर यहीं भाका गुञ्जियो, सिंहदबार वरिपरी । 

त्यो बाटो हिंड्ने बटुवालाई सुनाइएको थिएन । यो त एउटा उत्सवमा गुञ्जिरहेको भाका हो । त्यो उत्सव नागरिक सर्वोच्चतको लागि माओवादीले चालेको दोस्रो चरणको आन्दोलनको उत्सव हो । 

नाम जिल्ला प्रशासन कार्यालय घेराउ कार्यक्रम । छन त ठूल्ठूला स्वरमा नाराबाजी पनि भइरहेको छ । नारा घन्काउँदै नागरिक सर्वोच्चताको माग गरिदैछ, कठपुतली सरकारको राजिनामाको माग भइरहेको छ । 

तर यो कुनै ठूलै महोत्सव जस्तो छ । त्यत्तिमात्र फरक हो, यहाा स्टलहरू खडा गरिएका छैनन् । 

तपाईं जता हेर्नुहोस् र सुन्नुहोस्, उही साँस्कृतिक महोत्सवकोजस्तो दृष्य र गीत सङ्गीतका धुनहरू । युवाहरू मच्चीमच्चि नाचिरहेका र उमेर धल्किएकाहरू पनि कम्मर मर्काइरहेका । 

बुधबार सिंहदबार छेउमै रहेको काठमाडौं जिल्ला प्रशासन कार्यालय घेर्न गएका माओवादी कार्यकर्ता र शुभचिन्तकहरूले देखाएका हुन् यी दृष्य । 

प्रचण्डले केही दिन अगाडि भनेका थिए, \'हाम्रो आन्दोलन उत्सव जस्तै हुनेछ ।\' बुधबार दिउँसोको जिल्ला प्रशासन कार्यालय वरिपरि देखिने दृष्य उत्सव जस्तै थिए । बसिरहेकालाई पनि उठौं उठौं लाग्ने, उठीरहेकालाई नाचौं नाचौं लाग्ने । जम्मैका गीतका भाका, गीतका टुक्का कठपुतली सरकारको गतिविधिलाई आधार बनाएर उनिएका थिए । यही एमालेले महाकाली बेचेको, यिनै माधवले राजाको पाउमा दाम चढाएको, दुई ठाउँबाट हारेर पनि प्रधानमन्त्री भएको, यस्तै यस्तै .........।

त्यो जिल्ला प्रशासन घेराउ, कुनै धर्ना बस्न गएको जस्तो छैन । \'मलाई त उत्सवमा आएको जस्तै भइरहेको छ\', बबरमहलमा नाचिरहेका एकजना मजदुरले भने । \'हामी यसै गरी नागरिक सर्वोच्चताको स्थापना गर्छौं र कठपुतली सरकारलाई ढालेर छाड्छौं,\' उनीसँगैकाले थपे । 

यो उत्सवजस्तो काठमाडौं जिल्ला प्रशासन कार्यालय घेराउ प्रतिनिधिमात्रै हो । भक्तपुर ललितपुरमात्रै होईन देशका सबै जिल्ला प्रशासनमा यस्तै भएका छन्, जिल्ला प्रशासन कार्यालय घेराउ, तर उत्सव जस्तो लाग्ने । कार्यालयलाई घेराबन्दीमा राखेर प्रशासनको दैनिक कामकार्यलाई पनि ठप्प पारेको छ अनि भव्यताकासाथ नाचगान गरेको छ मनोरञ्जन पनि चेतना फैलायो पनि । 

यो विजय भइसकेको अवस्था होईन । तर पनि विजयउत्सव जस्तै लाग्छ, आजकल प्रशासन घेराउ, स्थानीय निकाय घेराउको दृष्य देख्दा । आ-आफ्ना साँस्कृतिक झाँकी, बाजागाजा लिएर सबै सडकमा । 

बिहीबार पनि यस्तै गर्दैछन यी मान्छे । उत्सवलाई मनाईरहेजस्तै गर्ने गरी । सबैभन्दा ठूलो उत्सव त २६ र २७ कात्तिकमा गर्ने तयारी छ माओवादीको । त्यसदिन, कम्तिमा ३ लाख जनालाई सिंहदरबार घेराउ गर्न ल्याउँदैछ माओवादी ।  त्यो पनि प्रशासन घेराउ जस्तै उत्सव रे । प्रशासन घेराउमा सानो सङ्ख्यामा सानै उत्सव भयो, सिंहदबार घेरामा ठूलै सङ्ख्या, ठूलै उत्सव हुने होला ।

No comments:

Post a Comment