Friday, March 19, 2010

सात महिनादेखि नुनसमेत पाएका छैनन्

बाजुरा, ५ चैत

सुदूरपश्चिमको विकट पहाडी जिल्ला बाजुरामा चैतको सुरुवातमै भोकमरीले सताएको छ । खाद्यान्न लिन सदरमुकामस्थित खाद्यसंस्थानको डिपोमा आउने भोकमरीपीडित सधैँ रित्तो हात र्फकन बाध्य छन् । खाद्यसंस्थानले 'गोदाम खाली छ' भन्दै फर्काउने गरेको उनीहरूले बताएका छन् । बाजुरामा नुनसमेत अभाव भएको छ ।

सरकारले अनुदानमा दिने नुन सात महिनाअघि नै र यस वर्षको खाद्यान्न कोटा पनि फागुनको दोस्रो सातामै सकिएपछि बाजुरामा भोकमरी चलेको हो । 'आफूले उब्जाएको अन्नले तीन महिना पनि खान पुग्दैन, सरकारले दिएको अनुदान पनि सकियो भनेर फर्काउँछन्, अब कसरी बाँच्ने ?' सदरमुकाममा नुन र खाद्यान्न लिन आएका स्थानीयवासीले गुनासो गरे ।

उत्तरी भेगका ११ र सदरमुकामनजिकका ६ गाविसमा भोकमरी लागेको स्थानीय एक गैरसरकारी संस्थाका अध्यक्ष गगन रावलले बताए । यी गाविसमा लामो समयसम्म खडेरी पर्नाले खेतबारीमा लगाएको खाद्यान्न बाली नष्ट भएको उनले बताए । 'अन्न त छैन-छैन, कन्दमुलसमेत छैन,' रावलले भने, 'खाद्यसंस्थानको गोदाम रित्तिएको छ, अब बाजुरामा चरम भोकमरी चल्ने देखिन्छ ।'

खाद्यसंस्थानको मार्तडी शाखा र कोल्टी डिपोका लागि यस वर्ष सात हजार पाँच सय क्विन्टल चामल स्वीकृत भएको थियो । साताको दुईपटक मात्र वितरण गर्दा पनि एक हजारदेखि १२ सय क्विन्टलसम्म चामल खपत हुने भएकाले समस्या भएको संस्थानले जनाएको छ । थप चामल नआउन्जेल कोल्टीमा खाद्यान्न वितरण गर्न नसकिने संस्थानको भनाइ छ । कोल्टी खाद्यडिपोबाट चामल माग गरिए पनि कहिले आउने हो, अत्तोपत्तो नभएको डिपोस्रोतले बताएको छ ।

जिल्ला खाद्यसुरक्षा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले जिल्लाका पूर्वी भागमा खाद्यसंकट भएको स्वीकार गरेका छन् । उनले भने, 'सदरमुकाममा खासै समस्या छैन, खाद्यसंस्थानमा चामल सकिएको हुनाले पूर्वी क्षेत्रका केही गाविसमा अभाव देखिएको छ ।'

८ चैतसम्म जसरी पनि सो क्षेत्रमा चामल वितरण गरिने उनले बताए । हाल कोल्टी खाद्यडिपोमा पाँच सय ५० क्विन्टल मात्र चामल स्टक रहेको र त्यति चामल एक दिन वितरण गर्न पनि नपुग्ने भएकाले वितरणमा ढिलाइ भएको उनले प्रजिअ पाण्डेले जानकारी दिए ।

बाजुरामा अहिले नुन प्रतिकिलो ५० देखि ५५ रुपैयाँ पर्छ । 'त्यो पनि भनेको वेलामा पाइँदैन,' साप्पाटाका मनबहादुर रोकायाले भने, 'नुनसमेत खान नपाउने दिन आए, यो समस्या कसले बुझिदेला ।'

जिल्ला कृषि विकास कार्यालयले दिएको जानकारीअनुसार गत वर्षभन्दा यस वर्ष जिल्लामा ७० प्रतिशतले खाद्यान्न उत्पादनमा ह्रास आएको छ । बाजुरामा वाषिर्क ३० हजार मेटि्रकटन खाद्यान्न चाहिने भए पनि १७ हजार मेटि्रकटन मात्र उत्पादन हुने गरेको कार्यालयले जनाएको छ ।

No comments:

Post a Comment