Friday, March 19, 2010

दलको साथ खोज्दै माओवादी


काठमाडौं, ५ चैत

राष्ट्रिय सरकार निर्माणका लागि भन्दै माओवादीले संविधानसभामा प्रतिनिधित्व गर्ने साना दलहरूसँग छलफल सुरु गरेको छ । शान्ति र संविधान निर्माणमा राष्ट्रिय सहमति बनाउन वर्तमान सरकार असफल भएको भन्दै माओवादीले छलफल थालेको हो 

माओवादी संविधानसभा दलको कार्यालयमा बिहीबार भएको बैठकमा माओवादीले राष्ट्रिय सरकारका लागि सहयोग गर्न साना दलहरूलाई आग्रह गरेको छ । छलफलमा शान्ति र संविधान निर्माणबारे पनि कुराकानी भएको छ 

माओवादी नेता भट्टराईले बैठकपछि सञ्चारकर्मीसाग सरकार विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने निर्णय नभैसकेको जानकारी दिए । उनले नयाँ सरकार बनाउने उपायमध्ये अविश्वासको प्रस्ताव पनि एक हुने बताए 

'वर्तमान सरकार शान्ति र संविधान निर्माणका लागि बाधक छ, छिटोभन्दा छिटो राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि उपाय खोज्नुपर्छ,' नेता भट्टराईले भने । सहमतिमा सरकार नछाडे जुनसुकै विधिबाट भए पनि राष्ट्रिय सरकार निर्माणका लागि प्रयत्न गरिने उनले बताए 

'जनताबाट पराजित र तिरस्कृतहरूले राष्ट्रिय सहमतिको नेतृत्व गर्न सक्दैनन् भन्ने मान्यता हो, सहमतिबाट यो सरकारले बाटो खुला गरे गर्छ, अन्यथा सबै उपाय अपनाउन सकिन्छ,' भट्टराईले भने, 'त्यसमध्ये अविश्वासको प्रस्ताव पनि एक हुन सक्छ ।'

बैठकमा सहभागी अन्य दलका नेताहरूले पनि राष्ट्रिय सहमतिको सरकारको आवश्यकता औँल्याएको नेता भट्टराईले बताए । शान्ति र संविधान निर्माणको काम अहिलेको सरकारबाट पूरा नहुनेमा साना दल रहेको उनको भनाइ छ 

संसद्को सातौँ अधिवेशन आह्वान

काठमाडौं/ राष्ट्रपति डा.रामवरण यादवले व्यवस्थापिका संसद्को सातौँ अधिवेशन आगामी २२ चैतमा आह्वान गरेका छन् । अन्तरिम संविधानमा गरिएको व्यवस्थाबमोजिम प्रधानमन्त्री माधवकुमार नेपालको सिफारिसमा राष्ट्रपति यादवले अधिवेशन आह्वान गरेका हुन् 

प्रमुख प्रतिपक्षी दल माओवादीले विशेष अधिवेशन बोलाउन हस्ताक्षर अभियान सुरु गरेका बेला प्रधानमन्त्री नेपालले बिहीबार राष्ट्रपति यादवलाई भेटेर अधिवेशन आह्वान गर्न सिफारिस गरेका थिए । भेटमा समयसामयिक राजनीतिका विषयमा समेत छलफल भएको थियो 

No comments:

Post a Comment